Showing posts with label अभिव्यक्ति. Show all posts
Showing posts with label अभिव्यक्ति. Show all posts

August 13, 2010

प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !

भन्नलाई राजनैतिक सरगर्मी भन्ने शब्द प्रयोग गरिए पनि नेपालको राजनीति आजकल तात्दा-तात्दै चिस्सिएको छ ।

हरेक बिहान ‘सहमतिको खोजी हुँदै’ भन्ने जस्ता विषयले  भरिने पत्र पत्रिका र खबर जगत साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन्। हरेक सम्बाद विवादमा, भेटघाट मतभेदमा र कुराकानी खिचातानीमा परिणत भइरहेका छन् । त्यसैले नेताहरुको बोली प्रति आम जनताको दृष्टि झनै हल्का र उदासिन हुन थालेका छन् ।

यता, माकुने सरकारले राजीनामा नदिँदासम्म राष्ट्रको प्रमुख समस्या नै माधव कुमार नेपाल भएको र उनले राजीनामा दिनासाथै सब कुरा ठीक हुने दाबी गर्दै हिँडनेहरु अहिले ‘हामीले त्यस्तो भनेका नै थिएनौं’ भन्न थालिए सकेका छन् भने राजीनामा दिएर ‘बाटो खोलीदिएको’ दाबी गर्ने दल पनि तटस्थताको  श्रृंखलाबद्ध  गज्जबको नाटक मञ्चन गरेर बसेका छन् । उता मैदानमा भिडीरहेको र आफूलाई प्रमुख दावेदार जताउँदै आएको अर्को दल पनि लगातार चारौं पटकको हार पछि पनि मैदानमा डटिरहने उद्घोषकासाथ लागेकै छ।

एकातर्फ कामचलाउ सरकारकै नाममै सही, आफ्नो काम चलीरहेकाले न यीनलाई नै कुनै कुराको परवाह भएको देखिन्छ भने अर्कोतर्फ ‘अर्कोपाली त कस्सो नजितिएला’ भन्दै साम, दाम, दण्ड, भेद आदि नीति अख्तियार गर्दै हीँडेका दुवै दललाई पनि कामचलाउ सरकारको डेढ महिना लामो शासन ‘सामान्य’ नै लागेको छ ।



June 3, 2010

नो वर्क नो पे

विजयकुमार श्रेष्ठ

नेपाल एक कृषी प्रधान देशको नामले चिनीएको देश हो । ९० प्रतिशत नेपाली जनताहरु कृषी पेशामा आत्म निर्भर भएर बाचेका छन । आफ्नो पाखुरा खियाएर दैनिकी गुजारा गर्नलाई नेपालीलाई कसैको गुलामी गर्न बाध्य हुनु पर्ने अवस्था सृर्जना होला भन्ने कुरा स्वीकार्य छैन । देशको भौगोलीक वातावरणलाई नियालेर हेर्ने हो भने नेपालको भुमी नेपाली जनतालाई अपुग होला जस्तो लाग्दैन । देशमा देखिएका परिर्वतनीय माहोलमा चर्किन गएको फोहोरि राजनिती खिचातानीले गर्दा नेपाली जनता गरिवीको रेखा मुनी भासिन बाध्न हुनु परी रहेको छ । ईश्वरीय वरदान पाएर पनि वरदानीए उपहारलाई सहि तरिकाबाट सदुपयोग गर्न पछि परेकाले गर्दा पनि नेपाली जनताले असोचनिय नैरास्यताको माहोललाई अङ्गाल्न पर्ने दिन सृजना हुदै आईरहेको छ । देशमा कानुन भन्दा माथि बसेर हैकम चलाउनेहरुको विगविगी वढ्दै गएकोले गर्दा आज हामीले असोचनिय भयानक परिस्थितीको समना गर्नु पर्ने समयलाई मौलाउन दिन बाध्य भएका छौ ।



May 10, 2010

भविष्यबाणी सफल भयो - गुरु केदार बराल

FUTURE PREDICTION CAME TO BE TRUE


bisham thakuri

I was born in Manshir 27, 2038, in Okhaldunga, Pokali. I still remember I was taken away by Lord Shiva’s assistant “Ban Jhakri” while I was of seven. I was in an unconscious state then. When I woke up, I found myself in a cascade. I was kept and trained on shamanism “dhami/jhakri”, spiritual connections, prediction, and spells for a year and then the Lord Shiva’s Assistant “ban jhakri” took me back to the same place from where he picked me a year back. After meeting my parents I came to know they tried to search me and after a while they thought I might have been dead and then they held my funeral as well. From this point of time I started working as a shaman “dhami/jhakri”.


May 7, 2010

अन्धकार भित्रको प्रकाश !

Better to light a candle than to curse the darkness.  ~Chinese Proverb

हिजों काठमाण्डौंको कंलककीमा साँझ ४ बजेतिर “यो कठपुतली सरकार ढल्नलाई ठिक्क परेको छ... निभ्न लागेको दियोको अन्तिम धप्का जस्तै बलेको हो, अब कुनै पनि बेला ढल्नसक्छ...” भनेर बाबुराम भट्टराईले भाषण गरेको केही घण्टा पछि तिनै नेताहरुले मलिन अनुहार र पराजित मानसिकता लुकाएर “जनता जनता बिच नै युद्ध गराउने षडयन्त्र भएकोले...” भन्दै आम हडताल फिर्ता लिएको घोषणा गरे।

हिजैको दिनमा काठमाण्डौको वसन्तपुरमा आम नागरिक, विद्यार्थी, प्राध्यापक, डक्टर, ईन्जिनियर, कलाकार र समाजका विभिन्न तपक्काका लाखौं मानिसहरु पनि शान्तिको कामना गर्दै शान्ति जुलुसमा सहभागी भएका थिए ।

हुन त आफ्नो पक्षमा नलेख्ने पत्रकारलाई ‘सामन्ती’को तक्मा र आफ्नै वैचारिक दास हुन नस्विकार्ने नागरिकलाई ‘भिजलान्ते’को पगरी भिराएर माओवादी नेतृत्बले स्वस्फूर्त रुपमा शान्ति कामनाका साथ निस्केका नागरिक लाई ठाउँ ठाउँमा आफ्ना ‘जनता’ लगाएर रोक्न नखोजेको पनि होईन, तर हजार व्यवधान र बाधा अडचन बिच वसन्तपुरमा जम्मा भएको भिडमा रहेको आम नागरिकको जमातको अवमूल्यन गर्ने नेतृत्ववर्ग सोच्नै पर्ने कुरा के छ भने:

 जनता केवल देशका हुन्छन् कुनै पनि दल वा वादका हुँदैनन्



May 2, 2010

बोष्टन हैन प्योङयाङ जाऔँ

कतिपय क्रान्तिकारी मित्रहरू युरोप , अमेरिका, जापान र अष्ट्रेलियामा बस्छन् तर उत्तर कोरिया र क्यूवाको गीत गाउँछन् । एउटा नाम चलेको ब्लगमा साम्राज्यवादी भनिने गरेको अमेरिकाको न्यू योर्क र बोष्टनमा बसेर, नेपालमा अराजकता अव्यवस्थाका अर्को नाम बनेका माओवादीको किर्तन गाउने माओवादी भाटहरूका लेख पनि कहिले काहीँ पढ्न परेको छ । यो देख्दा अवश्य उदेक लाग्छ । यी उग्र कम्युनिष्ट व्यवस्थाका मतियारहरू किन यति धेरै आडम्बरी बनेका होलान् भनेर । यदि उनीहरूले समर्थन गरिरहेको र भजन गान गरिरहेको उत्तर कोरियन वा क्यूबाली ढाँचाको उग्र कम्युनिष्ट व्यवस्था साँचै नेपाली जनताको मुक्तिदाता विचार हो भने , ती व्यवस्थाले नै राज्य चलिरहेका मुलुकहरु संसारका सबै भन्दा अछूत र निम्न कोटिका किन बने मैले अहिलेसम्म बुझेको छैन । किन हिजोका पूर्व युरोपेली कम्युनिष्ट राष्ट्रहरूको त्यो हविगत भयो ? किन हिजोदेखि आजसम्मका सबै कम्युनिष्ट राष्ट्रहरु नरसंहार र पछौटेपनको अर्को नाम मात्र भएर इतिहास बने ? नेपालका माओवादीले अँगालेको राजनैतिक विचार र दर्शनले नेपालको कायापलट हुने भए , किन एउटा अपवाद चीनलाई छाडेर बाँकि कम्युनिष्ट संसार यति बिघ्न तुच्छ बन्यो ?



April 26, 2010

माओवादी पार्टी अर्थात नेपालको सबैभन्दा नाफामूलक कम्पनी

-सम्यक

- लगभग डेढ वर्ष अघि बालाजुमा चार्टर्ड एकाउण्टेण्ट नारायण बजाज र अन्यहरूबाट माओवादी पार्टीले एउटा रूग्ण ( जनमैत्री ) अस्पताल लगभग ३० करोडमा किने । यो रकम बाबुराम भट्ठराई अर्थमन्त्री भएका बेला , नेपालका केही वाणिज्य बैँकहरूलाई दबाब दिएर बनाइएको एउटा कन्सोर्टियमले ऋणको रूपमा उपलब्ध गरायो । हालसम्म, माओवादी पार्टीले यो ऋण रकमको एक पैसा साँवा वा व्याज तिरेको छैन । कन्सोर्रटियम बनाएर ऋण दिएका ५ वटा बैँकका पदाधिकारीहरू ‘ऋण फिर्ता देऊ’ भन्न सक्ने हैसियतमा छैनन् किनभने , कुनै बेला सरकार पनि बन्न सक्ने लुटेराहरूलाई चिढाएर ज्यानको धम्की किन लिइमाग्नु ।

- माओवादी पार्टीले आफ्नो कोटेश्वर पेरिस डाँडामा रहेको हेडक्वार्टर भवन किन्न लालीगुराँस सहकारी लगायत अन्य संस्थाबाट ३ करोड भन्दा बढी बैँक ऋण लियो तर यो रकमको साँवा र व्याजको एक पैसा उसले सम्बन्धितलाई फिर्ता बुझाउन आवश्य ठानेको छैन ।


April 22, 2010

राष्ट्रिय व्ययाम क्रान्ति : योगदेखि सत्ता कब्जासम्म

मुलुकका राजनैतिक गतिरोधहरू पार लाग्नै नसक्ने भएर हो कि गत एकाध महिना यता नेपालमा राजनैतिक अशान्ति नै ओझेलमा पार्ने गरी , शारीरिक सुस्वास्थ्यका लागि कसरत र व्ययामका शृंखलाहरू सञ्चालित भएका देखिँदैछन् ।
छिमेकी मुलकबाट पाल्नु भएका योगगुरू रामदेब बाबाले , हाम्रो मुलुकका राजनीतिका चटकहरू मञ्चन भैरहने टुँडिखलेमा नै ल्याएर सारा नेताहरूलाई स्वाँ स्वाँ र फ्वाँ फ्वाँ पार्दै उनीहरू भित्र उकुस मुकुस भैरहेको अतिपोषणको विषलाई झार्न लगाउनु भयो । नेताहरू पनि राजीखुशी सबै आसनमा ठसठसी कन्दै समाधिस्थ भए । हाम्रा पोटिला र मधुमेही नेतागणहरू आरनको खलाँती झैँ राम्रै गरी
 टकटकिए भस्त्रिका र कपालभाति मार्फत । यो विचित्र योग मेलामा, सबै पार्टी र नेताहरूको अलग अलग उपस्थितिले के कुरा साबित गर्‍यो भने हाम्रा नेताहरू भलै एकापसको शत्रूताले एकार्काको आँखामा प्रत्यक्ष आँखा गाडेर हेर्ने सम्बन्धमा नरहेका किन नहुन , बीचमा एकजना दादा वा बाबा उभिएर उनीहरूकाका हात समाइदिने र ताते गराइदिने हो भने ई एक ठाउँमा जम्मा भएर शरीरलाई खलाँति झैँ बजाउन र हाँसो नलागे पनि अट्ठाहास हाँस्न तयार बनाउन सकिन्छ । संवादबिहीन हाम्रा


April 19, 2010

दलहरूको नियत: संविधान हैन सत्तामा बसेर चुनाबमा जाने दाऊ

कृष्ण पौडेल
एक समय भन्ने गरिन्थ्यो हिंसात्मक द्वन्दमा जाकिएको देशमा यसको थोक कर्ताधर्ता माओवादीलाई शान्ति प्रकृया ल्याएपछि नेपालका सबै समस्याहरू हल हुनेछन् । त्यसपछि भन्ने गरियो संविधानसभाको निर्वाचनले सबै नेपाली समस्याहरू छुमन्तर गर्नेछ । अब संविधानसभाको विधिवत पधावधि सकिन एक महिना र केही दिन बाँकि हुँदै गर्दा , नेपाल र नेपालीका समस्या झनै बढिरहेका छन् , घट्ने कुराको नामोनिशान छैन । लाग्छ, नेपालीको नियति त्यो छेपारोको बनेको छ जुन प्रतेक रातको अप्ठ्यारो जाडोमा भोली बिहानै उठेर घर बनाउने कुरा त गर्छ तर बिहानको घाममा तातिएर रातको जाडोलाई हरेक दिन बिर्सन्छ ।

अब त नेपाली राजनीतिक पार्टीहरू संविधान बन्दैन भन्ने कुरामा ढुक्क हुन पुगे होलान् तर यो भनेर आफ्नो नाकामायबीको दूर्गन्ध छर्न कोही अघि पर्न चाहेको छैन र अझै पनि दलहरूले चाहेमा संविधान दशै दिनमा बन्न पनि सक्छ जस्ता कूतर्कहरू सुन्न पाइएकै छन् । हुनत, यस्तो श्वर क्रमश: कमजोड हुँदै छ । राम्रोको जसमात्र आँफूले लिन अघि सर्ने तर नराम्रो कुराको अपजश अरूकै टाउकोमा फ्याँकेर आँफू पानी माथिको ओभानो हुन खोज्ने प्रवृत्ति नेपाली राजनीतिका खलनायकहरूको जन्मजात चरित्र रहेको हुँदा हाम्रो राजनीतिमा बेलाबखत मञ्चन हुने


April 18, 2010

के नया नेपाल हतारमा आयातित गरिएकै हो त?

हिजो आज समाचारमा संबिधान नबन्ने पक्का भन्ने खबर आएको छ। २ बर्ष सम्म ५०० मान्छे जम्मा भएर छारो फोस्रो नगर्नु ले भट्टराइ बाजेले भनेको कुरा याद आयो'यो गणतन्त्र हतारमा आयात गरिएको तयारी पोशाक हो'। कुनै कपडा नभै भएन भनेर जोर जुलुम गर्दै धेरै पैशा तिरेर ल्यायो,केही दिन लागाए पछि कता फाल्ने भन्ने झन्झट जस्तो। यदि हाम्रा नेतालाइ पूरानो संबिधान बेकाम लागेर नया संबिधान चाहिएकै भए त २ बर्ष सम्ममा संबिधान बन्नुपर्ने होइन र? २०४६ सालको संबिधान एकै बर्षमा पूरा भएको हो क्यारे। ति संबिधान बनाउने यिनै पार्टी हुन, लेख्ने मान्छे अझै जिउंदै छन। तर २ बर्ष सम्म ५०० मान्छेहरुले किन बनाउन सकेनन संबिधान?

प्रश्न सजिलो छ,उत्तर गार्हो छ। देश चलाउन सजिलो हुंदैन,संबिधान बनाउने कुरो झनै गार्हो हो। काम जति सुकै गार्हो होस,नया संबिधानको आबश्यक्ता भित्र मनबाटै खट्किएको भए त संबिधान पक्कै बन्थ्यो। आखीर संबिधान सभा त पार्टीको लागी राजनितीक एजेन्डा रहेछ,जनतालाइ केही न केही। संबिधान सभा ताका म नेपालमा थिए। चुनाब आउन महि


March 20, 2010

अस्तायो एउटा राजनीतिक ध्रुव

नेपाली राजनीतिका शिखर पुरुष काँग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको चैत ७ गते शनिबार मध्यान्न निधन भएको छ । उहाको निधन १२ बजेर ११ मिनेट जाँदा भएको हो । लामो समयदेखी छातीको रोगबाट ग्रसित कोइरालाको छोरी सुजाता कोइरालाको घरमा राखेर उपचार गर्दा गर्दै निधन भएको हो । कोइरालाको निधनले मुलुक स्तब्ध भएको छ । नेपाली राजनीतिमा शिखर पुरुषका रुपमा परिचित कोइराला पाँच पटक नेपालको प्रधानमन्त्रि हुनुभएको थियो । अहिले सम्म नेपाली राजनीतिमा निर्णायक मुभिकामा रहनु भएका कोइरालाको निधनले नेपाली राजनीतिको मोडमा पनि परिवर्तन ल्याउने पक्का छ । सबै जनाको मुखमा अव मुलुकको राजनीतिक कसरी अघि बढ्छ भन्ने प्रश्न छाएको देखिन्छ । कोइराला कसरी नेपाली राजनीतिमा महानायक हुनुभयो त ? उहाको संक्षिप्त जीवनी

नाम : गिरिजाप्रसाद कोइराला
जन्ममिति: १९८१ साल असार
जन्मस्थान : बिहार, सहरसा, टेडी, भारत
पिता : कृष्णप्रसाद कोइराला
माता : दिव्या कोइराला
शिक्षा : आइ ए
राणा प्रधानमन्त्री चन्द्रशम्शेरले पिता कृष्णप्रसाद कोइरालालाई राजद्रोहको मुद्घा लगाइ सर्वस्वहरण सहित देश निकाला गरेपछि ४५ जनाको परिवार सहित भारतको वनारस निर्वासनमा पुगेको कोइराला परिवार बिक्रम सम्बत् १९७५ मा भारत बिहार राज्यको सहर्षा जिल्लाको टेडीमा पुग्यो । त्यही जन्मभयो, गिरिजाप्रसाद कोइरालाको । उहाँं गर्भमा रहेका बेला मातापिता गिरिजादेबिको मन्दिरमा जाने गर्नुहुन्थ्यो र उहाहरुको सन्तान जे जन्मे पनि गिरिजाप्रसाद या गिरिजा देवि राख्ने सल्लाह अनुसार उहाँको नाम गिरिजाप्रसाद राखिएको बताइन्छ । कोइराला परिवारको आय स्रोत खेतिपाती थियो । चन्द्र शम्शेरको मृत्यु पछि पिता कृष्णप्रसाद कोइराला बिक्रम सम्बत १९८६ मा विराटनगर फर्कनुभयो । त्यतीबेला गिरिजाप्रसाद कोइराला ५ वर्षको मात्र हुनुहुन्थ्यो । पछि बि सं १९०३ साल असोज २ मा पिताजी कृष्णप्रसाद कोइरालाले राणाशासन बिरुद्घ बिराटनगरबाट जनताका थोत्रा कपडा हुलाक मार्फत पठाएपछि राजद्रोहको मुद्दा लगाइ सर्वस्वहरण सहित पुन देश निकाला गरेको थियो । पीताकै प्रेरणाबाट राणाशासन विरोधी भावना जन्मिएको थियो, गिरिजाप्रसाद कोइरालामा । त्यसैले उहा २३ वर्षको उमेरेदेखि नै आन्दोलनको नेतृत्व गर्ने तहमा पुग्नुभयो । उहाले २३ वर्षको उमेरमा नै बिराटनगर जुटमिलमा चर्किएको आन्दोलनको नेतृत्व गर्नुभएको थियो । सन् १९४८ मा त उहा नेपाल ट्रेड युनियन कांग्रेसको संस्थापक अध्यक्ष नै बन्नुभयो । सन् १९५२ देखि १९६० सम्म कांग्रेसको मोरङ जिल्ला सभापति बन्नुभएका कोइरालालाई सन् १९६० मा पक्राउ गरी सात वर्षसम्म जेल हालियो । उहाले त्यतिबेला जेलमा नै २१ दिने भोकहडताल समेत गर्नुभयो । जेलबाट छुटेपछि भारत पुग्नुभएका कोइराला ११ वर्षपछि बीपीसंगै मेलमिलापको नीति लिएर नेपाल फर्कनुभयो । सन् १९७५देखि ९१ सम्म पार्टीका महामन्त्री बन्नुभएको थियो, गिरिजाप्रसाद कोइराला । २०३९ साल साउन ६ गते बीपी कोइरालाको निधन पछि पार्टी गिरिजाप्रसाद कोइरालासहित गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको सामुहिक नेतृत्वबाट अगाडि बढेको थियो । २०४८ सालको चुनावपछि जेठ १६ गते बनेको सरकारमा तत्कालिन महामन्त्री गिरिजाप्रसाद कोइराला नै प्रधानमन्त्री हुनुभयो । त्यसपछि २०५३ साल बैसाख २९ गते काठमाडौंमा सम्पन्न कांग्रेसको नवौं महाधिवेशनबाट सभापतिमा गिरिजाप्रसाद कोइराला निर्वाचित हुनुभयो । २०५७ साल माघ ९ गते कांग्रेसको दशौं महाधिवेशन कास्कीको पोखरामा सम्पन्न भयो । यो महाधिवेशनबाट गिरिजाप्रसाद कोइराला पुन पार्टी सभापतिमा निर्वाचित हुनुभयो । २०६२ साल भदौ १४ गतेदेखि १७ गतेसम्म ललितपूरमा सम्पन्न एघारौं अधिवेशनमा पनि गिरिजाप्रसाद कोइराला सभापतिमा पुन निर्वाचित हुनुभयो । जनआन्दोलन सफल भएपछि पनि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री बन्नुभयो भने उहा १३ वर्षदेखि नै कांग्रेसको सभापतिमा हुनुहुन्छ । दिल्लीमा भएको १२ बुदे समझदारीदेखि शान्ति सम्झौताहुदै नेपालको शान्ति प्रकृयामा महत्वपूर्ण भूमिका रहेको छ, ८७ बर्षीय कोइरालाको । नेपाली प्रजातान्त्रिक आन्दोलनका अग्रज तथा पहिलो बिराटनगर मजदुर आन्दोलनका नेता कोइरालाले निरंकुश राणा शासनबिरुद्ध जनक्रान्ति, पञ्चायती व्यवस्थाबिरुद्धको संयुक्त आन्दोलन र २०६२÷ ६३ को लोकतान्त्रीक आन्दोलनमा अग्रणी भूमिका पूरा गर्नुभयो, कोइरालाले । लोकतन्त्र प्राप्तिपछि भारतिय प्रधानमन्त्री मनमोहन सिंहबाट एसियाकै महान नेताको सम्मान पाउनुभएका कोइराला १० बर्ष लामो युद्ध गरेको माओबादीलाई शान्ति प्रकृयामा ल्याउन महत्वपूर्ण स्थानमा रहेर काम गर्नुभयो । संसारमै साम्यवादी आन्दोलन संकटमा रहेको चर्चाका बीच पनि कोइरालाले शशस्त्र युद्धमा रहेको पार्टीलाई शान्ति प्रकृयामा ल्याउन सफल हुनुभएकाले पनि उहाको नाम विश्वमा चर्चित छ । ०४६ को जन आन्दोलनपछि नेपालका कम्युनिष्ट प्रति कडा रुपमा प्रस्तुत हुने कोइरालाको छवी कम्युनिष्ट विरोधीका रुपमा समेत चर्चामा थियो । २०४६ सालको जनआन्दोलनपछिको दशकमा उहाको नाम कम्युनिष्ट विरोधीकै पर्यायकै रुपमा आउने गरेको थियो । माओवादी युद्धको सुरुमा माओवादीलाई निस्तेज पार्न कोइरालाले चालेको कदमका कारण उहा त्यतिबेला कम्युनिष्टका लागि अनुदार व्यक्तिका रुपमा चित्रण हुनुभयो । तर २०६२ सालमा भने उहा युद्ध लडिरहेको कम्युनिष्ट पार्टीसंग समेत हातेमालो गर्न पुग्नुभयो । युद्धकालमै माओवादीसंग राजतन्त्रबिरुद्ध सहमति गरेपछि कांग्रेसभित्रै समेत कोइरालाको कडा आलोचना भयो । तर कोइरालाको ब्यक्तित्वका अगाडी त्यो बिरोध गौण बन्यो । पहिले राजतन्त्रका समर्थक कोइरालाले नै डेढसय वर्ष पूरानो राजतन्त्रका बिरुद्ध आन्दोलनको अगुवाइ गर्नुभएको थियो । राजतन्त्रको पतनपछि लोकतन्त्र स्थापना भैसकेपछि पनि कोइराला नेपाली राजनीतिको केन्द्रभागमा नै रहदै आउनु भयो । ८६ बर्षिया कोइराला बिगत लामो समय देखि अस्वस्थ्य हुनुभएपनि नेपालको राजनीतिमा उहाको भूमिकालाई अहिलेसम्म पनि निर्णायक रुपमा हेर्ने गरिन्थ्यो ।


March 14, 2010

बाबुरामद्वारा संविधानसभामा गयल दिनको भत्ता फिर्ता

यो खबर केही पहिल्यै थाहा भए पनि आज मात्र पत्र पत्रिकामा पढ्न पाइयो। जम्मा २० दिन गयल भए बापत ४ हजार रुपयां फिर्ता गरेछन। यो पैसाले आउन त केही आउदैन। मन्त्रीहरु चाहेको गाडीमा चढ्न तछाड मछाड गरिरहेको बेलामा यि माओबादी नेताले चालेको पाइला राम्रो नै मान्नुपर्दछ। हुन त यो ४ हजारले ४ लाखको बिज्ञापन गरेको जस्तो पनि लाग्दछ। आखिर नेता न परे। बिज्ञापनै सही तर पैसाको लालचमा मन्त्री देखी पिउन सम्म फसेको समयमा यो एउटा नैतिक शिक्षा हुन सक्छ। सायद यस्ता नैतिक शिक्षाले बुज्रुकहरुको दिमाग त के खुल्ला,कानुनकै सुर्काना चाहिने हो। तर कानुनका मतियार नै पैसाको थैलीमा भुलेको समयमा ४ हजार रुपायाले ४ लाखको नैतिकता सिकाएको छ।

एक हप्ता अघी आएका मेरा साथिले भन्दै थिए नेपालमा खसीको मासु ५०० रुपया किलो छ रे। बाबुरामले फिर्ता गरेको पैसा त ८ किलो मासु बराबर भयो। बुझ्नेलाइ श्रिखण्ड नबुझ्नेलाइ खुर्पाको बिंड भन्छन नि, हो त्यस्तै । घुस्यालाइ यो ८ किलो मासु हो,नैतिकवानलाइ एउटा ठुलो शिक्षा।

पैसा फिर्ता गर्ने बेलामा उनले भनेछन"आगामी दिनमा पनि उपस्थित नभएको दिनको संविधानसभाको बैठकभत्ता सचिवालयलेनै कट्टागरी उपलब्ध गरिदिनुभएमा म जस्ता सभासद्माथि नैतिक प्रश्न उठ्ने थिएन"। यस्ले भने अरु गयालवाला सभासदला धर्मसंकटनै पार्यो है। को भन्दा को कम भनेर तमासामा उत्रने हाम्रा सभासदले अब भट्टराइको ४ हजारको प्रतिप्रस्धासंग कसरी उत्रने हुन कुन्नी?

March 12, 2010

माओवादी हिंसादेखि जातिय भिडन्त तर्फ - त्रासदिको सम्भावना ।

माओवादी कम्युनिष्टहरूको हिंसात्मक युद्ध अब कम्युनिष्ट शैलिको जनवादी गणतन्त्रीय शासन पद्दतिको स्थापना हैन जातिवादी राज्य बिभाजनको नेपाली मुद्दामा गएर ठोकिएको छ । कम्युनिष्ट विचारमा निहित वर्ग संघर्षको मुद्दालाई जातिय जामा पहिराएर नेपालको कायापलट गर्ने माओवादी चाहनाको यो अतिवादले अर्को अतिवादलाई जन्म दिने सम्भवाना प्रबल हुँदै गएको छ । १०४ जातको मिश्रित बसोवास भएको नेपालमा केहीलाई रैथाने र केही अरूलाई पराइ बनाएर पस्किन खोजिएको जातिवादी संघियता भित्र लुकेको माओवादी अभीष्ट के हो बुझ्न सकिएको छैन तर यदि कुनै अर्को बीचको बाटो अपनाएर बहुजातिय मुद्दामा सबै जातिका लागि स्वीकार्य हुने बाटो नखोजेर कसैलाई वर र कसैलाई पर राख्ने नीति अपनाइने हो र अझ यस्तो नीतिले बहुमत जातिलाई नै आफ्नै मुलुक भित्र दोस्रो दर्जामा झार्न खोजेको हो भने , नेपालमा अर्को डरलाग्दो द्वन्द अवश्यम्भावी छ । तर अपशोस यस्तो जातिय द्व्न्द झनै भयानक हुन सक्छ किनभने यो संसारमा देखिइसकेको छ । हिंसावादीलाई हिंसा रमाईलो हुन सक्छ , तर हामी कतै अर्को भयानक भीडन्त तर्फ त जाँदै छैनौँ ?

प्रतेक १० वर्षको अन्तरालमा सम्पन्न गरिने नेपालको राष्ट्रिय जनगणनालाई आधार मान्दा नेपालको कूल जनसंख्याको १% भन्दा बढी हिस्सा ओगट्ने जाति समूहहरू जम्मा १८ वटा छन् । कूल १०४ विविध जातका मानव समूहहरू बसोवास गरिआएको नेपालमा कूल जनसंख्याको १% भन्दा बढी हिस्सा ओगट्ने जातहरूले देशको सम्पूर्ण जनसंख्याको ८०% भन्दा केही बढी हिस्सा ओगटेको कुरा माथिको तथ्यांकमा देख्न सकिन्छ , जुन पछिल्लो पल्ट गरिएको वि सं २०५८ सालको जनगणनामा देखाइएको थियो ।


जात
जनसंख्या
कूल जनसंख्यामा %
साक्षरता %
क्षत्री
३५९३४९६
१५ .८०%
६० .११
बाहुन
२८९६४७७
१२ . ७४%
७४ . ९०
मगर
१६२२४२१
. १४%
५५ . ९०
थारु
१५३३८७९
. ७५%
४७ . १२
तामाङ
१२८२३०४
. ६४%
४५ . ०४
नेवार
१२४५२३२
. ४८%
७१ . २२
मुसलमान
९७१०५६
. २७%
३४ . ७२
कामी
८९५९५४
. ९४%
४१ . २७
यादव
८९५४२३
. ९४%
४० . ८३
राई
६३५१५१
. ७९%
५८ . १९
गुरूङ्
५४३५७१
. ३९%
५९ . ७९
दमाई
३९०३०५
. ७२%
४३ . ५३
लिम्बू
३५९३७९
. ५८%
५८ . १२
ठकूरी
३३४१२०
.४७%
६३ . ३२
सार्की
३१८९८९
. ४०%
३८ . ३३
तेली
३०४५३६
. ३४%
५१ . ४२
चमार,हरिजन
२६९६६१
. १९%
१९ . २४
कोइरी
२५१२७४
. ११%
४३ . ८८
कूल ८०.६९%
राष्ट्रिय औषत ५३.७३%

मगर,गुरूङ, नेवार, तामाङ, राई , लिम्बु र + थारू = ३१.७७%
परिवर्तित नेपालमा जातिय संघियताको मुद्धालाई विशेषत: माओवादी , केही जातिवादी संगठन र पार्टीहरू तथा केही अन्य दलले चर्काइरहेको सन्दर्भमा , वर्तमान संविधानसभाको राज्य पुनर्संरचना सम्बन्धी समितिले पनि माओवादी पार्टीको खाका प्रस्ताव अनुरूप नै हुने गरी प्रस्ताव आफ्नो समिति मार्फत संविधानसभा अध्यक्षमा बुझाएको छ । यो प्रस्तावको विपक्षमा नेपाली कांग्रेस र केही मधेशवादी पार्टीहरू देखिए भने माओवादी र केही एमाले सभासदहरू र खास गरी माओवादीको बलमा यसले विवादास्पद रूपमा अगाडि बढ्ने मौका पायो । यदि यही प्रस्तावलाई आधिकारिक र अन्तिम मान्ने हो भने अबको नेपाल मुलुकलाई बिभिन्न १४ जातिय र केही भाषिक तथा गैर जातिय नाम दिइएर बाँडिएका प्रान्तहरू वा प्रदेशहरूमा रूपान्तरिक भएको हामीले पाउनेछौँ । यो प्रस्तावित नक्शाले मूलत नेपाल देशमा बसोवास गर्ने जनजाति नामधारी ७ वटा जाति समूहहरूलाई तिनका जातिका नामबाटै राज्यहरू दिने विष्मयकारी प्रस्ताव अघि सारेको छ । नेपालको पहाडी भेगमा विशेष रूपमा बसोवास गर्ने मंगोल परिवारका मानिने मगर,गुरूङ, नेवार, तामाङ, राई , लिम्बु र पश्चिम तराईको थारू जाति गरेर नेपालको कूल जनसंख्याको ३१.७७ % हिस्सा ओगट्ने निश्चित जातहरू अब उप्रान्त नेपालमा अग्राधिकारधारी राज्य प्राप्त विशेष जातिमा दरिने छन् भने बाहुन, क्षत्री , ठकुरी , यादव , दलित लगायतका ९७ जातका नेपालीहरू जसले जनसंख्याको ६८.३३ % भाग ओगटेका छन् तिनका लागि कुनै जातिय नक्शाका थातबास प्राप्त हुने छैनन् ।

जनसंख्यामा सबैभन्दा ठूलो जातिसमूह बाहुन–क्षत्री-ठकुरी-सन्यासी (३२%) लाई आजसम्मको शासनरत समूह ठानेर सबै अवसरबाट बिमुख बनाउने क्रान्तिकारिता देखाउन खोजिँदैछ एकातिर भने र पहाडी दलित कामी-दमाई-सार्की-गाइने (१२%) र अन्य तराईया दलितलाई (७%) लाई जातिय उत्पीडनको निराकरण गर्ने यो वैज्ञानिक क्रान्तिकारिताले कुनै भाग छुट्याउन सकेको छैन ।
उता कथित जनजातिहरूको समूहमा सबैभन्दा शिक्षित, हालसम्मका सबै व्यापरिक, औद्योगिक, आर्थिक, सरकारी अवसरहरूमा अगाडि रहेका नेवारहरूले राज्य प्राप्त गर्नेछन् । हासम्म पनि जनजाति कोटाका अधिकांश अवसरहारू नेवारहरूको कै पोल्टामा पर्दै आएको पनि हो । उता जनसंख्याको केवल १.५८% हिस्सा भएको लिम्बुहरू ९ वर्तमान नेपालका पूर्वी ९ जिल्ला सग्लै लिम्बुवानमा पर्नु पर्छ भनेर चर्को आवाज गर्दैछन् भने जातीय नक्शाको यो अंशवण्डामा परस्पर स्वयं एकार्काको नक्सा र हिस्सामाथि अर्को जातिको असन्तुष्टि पोखिने क्रम जारी छ । उता , सारा तराई मेचीदेखि महाकालीसम्म एउटै मधेश पर्देश हुनुपर्ने रडाको बोकेर मधिशे घटकहरूको आफ्नो विचित्र संघियताको राजनीतिमा रमिता गरेको गर्‍यै छन् । यो विडम्बनापूर्ण माग र अधिकारको कोलाहल भित्र बहुसंख्यक ७०% नेपालीहरूको परिचय भने हराउन पुगेको छ । आफ्नै मुलुभित्र अब अमुक अमुक जातिको भएका कारणले परगेलिनुपर्ने स्थतिको निर्माण जनतान्त्रिक साम्यवादका पक्षधरहरू गर्न गइरहेका छन् ।

यदो आगामी नेपालको नक्शा यस्तै रूपमा हुने भयो भने त्यति बेलाको नेपालमा जातिय दंगा वा युद्धका क्रिया-प्रतिकृयाहरू शुरू नहोलान् भन्ने सकिन्न। कुनै जाति विशेषले केही कुरा प्राप्त गर्दा अरू जातिले मौकाहरूबाट बञ्चित हुनु पर्ने कुरा संविधानत: वा कानूनत: लागू गर्न खोजियो भने राज्यको यो विभेदकारी नीति र योजना बिरूद्ध बिद्रोह त हुन्छ नै तर मेलमिलापको सम्बन्धमा आधारित मिश्रित बसोवासको हाम्रो समाजमा जातिय द्वेषको विषाक्त आगोले ल्याउने बिभिषिका डरलाग्दो हुन सक्नेछ ।

बीसौँ शताब्दिको उत्तरार्धमा विश्वमा मच्चिएका वा मच्चाइएका जातिय वैमनस्यताका युद्धहरू दोस्रो विश्व जत्तिकै विनाशकारी नभए पनि जनसांख्यिक प्रभाव , हत्या हिंसा र द्वन्दका कारण करोडौँको ज्यान जाने खालका रहेका थिए । रुवाण्डा र बुरुण्डी, पुर्व युगोस्लाभिया र पूर्व सोभियतसंघ र अहिलेको डार्फुर घटनाहरूले करोडौँ मान्छेको ज्यना लिने क्रम जारी राखेको छ - बिभिन्न खालका जातिय युद्धहरूको स्वरूपमा ।

एउटा जातिय अतिवादले अर्को अतिवादलाई जन्म दिन्छ । यो भन्नै पर्ने हुन्छ कि निस्चित जात समूहलाई राज्य बाँड्न हतारो गर्दा र अरू जातिको संवेदनशिलतालाई लत्याउन खोज्दा , यसका योजनाकारहरूले मुलुकको भविष्यलाई डरलाग्दो आगोको भुँवरीतर्फ हुत्याउन खोजिरहेका छन् ।

'जनताको आत्मनिर्णय र समान अधिकार' भन्ने संयुक्त राष्ट्रसंघको सिद्धान्त चीनको तिब्बत, भारतको कास्मिर वा संयुक्त राज्य अमेरिकाको कुनै पनि प्रान्तमा लागू हुन सक्ने प्रकृतिको छैन । हालको रसियाको चेचेन राज्य र बेलायतको उत्तरी आयरल्यान्डबारे पनि त्यो आत्मनिर्णयको अधिकार लागू हुने नहुने प्रस्ट छैन । यसलाई नेपालमा लागू गर्न न राष्ट्रसंघ चासो देखाउन बाध्य हुनर्ुपर्छ न त्यो नेपाली वस्तुस्थितिको विशिष्टतास“ग मेल खान्छ । त्यसो हुनाले आत्मनिर्णयको अधिकारले सूचीकृत उपनिवेश भूभागलाई आफूलाई उपनिवेश लाद्ने मुलुकभित्रै पूर्ण स्वशासन लिएर बस्ने कि छुट्टै स्वतन्त्र राज्यको हैसियतमा बस्ने भन्ने छनोटको अधिकारको प्रत्याभूति गरेको हो । श्रीलंकाको लिट्टे व्रि्रोहीहरूमा त्यो अधिकार प्रत्याभूति हुनुपर्छ भन्ने छैन । त्यसकारण यो अधिकार विशेष परिस्थितिमा विश्वयुद्धताका शक्ति दबदबा हुने राज्यहरूको कारण उपनिवेश बन्न पुगेका भूभागमा मात्र लागू हुने हो । लागू हुनुपर्ने भूभाग -हवाई, पुर्र्टो रिको, अलास्का, ग्रिनल्यान्ड इत्यादि) मा पनि यो लागू भएको छैन ।

जातीय द्वन्दको पछिल्लो परिणाम नाइजेरियामा अस्तिमात्र ३ घण्टाभित्र १००० जना मान्छेको हत्या भएको छ र यो श्रृंखला जारि छ ।यस्ता सम्भावना देखिँदै जाँदा नेपालका भावी सम्भावनाहरूमा प्रश्न उठ्नु स्वाभाविक भएको छ ।

के लोकतान्त्रिक युगमा प्रवेश गरेको भनिएको हाम्रो चेतना र कार्यशैलिले हिजोको आफ्नै र बाँकि विश्वको इतिहास अनि अनुभवबाट केही सिक्न पर्ने हैन ?

March 6, 2010

सार्बजनिक पार्कहरुको अभावमा काठमाण्डौंको दुरावस्था


काठमाण्डौको अव्यबस्थित सडकहरु, सडकको आसपासमा खोलिएका जथाभाबी खुद्रा पसलहरु, उकुसमुकुस पार्ने धुलो धुँवा, सवारीसाधनबाट निस्कने आवाज, अव्यबस्थित ढलनिकाश, जथाभाबी रहेका फोहोरका थुप्रोहरु, सडकको वरिपरी राखिएका निर्माण सामग्रीहरु, मनलाग्दी तवरले पार्किङ गरिएका सवारीसाधनहरु आदि कुराहरुले यो शहरलाई राजधानी शहरको सामान्य मापदण्ड भन्दा निकै पछाडी पारेको छ । तिब्र शहरिकरण सँगै खुला ठाउँहरु तथा सार्वजनिक पार्कहरुको बिस्तार तथा व्यबस्थापनमा सम्बन्धित निकायहरु उदासिन छन्। खुला हरियाली ठाऊँहरु तथा सार्बजनिक पार्कहरु शहरी जिवनका “लाईफ ब्लड” हुन्। यस्ता ठाउँहरुको विस्तार तथा व्यवस्थापन शहरी क्षेत्रमा मानव जिवनको प्रत्यक्ष सुरक्षा र व्यवस्थापन हो।
वाताबरणिय हिसाबले कचौरा आकारको काठमाण्डौ उपत्यका आफैमा त्यति उत्तम मान्न सकिन्न त्यसमा पनि फोहोर र अव्यबस्थित शहरीकरणले आक्रान्त पारेको यहाँ स्वच्छ तथा खुला वातावरण कल्पना बाहिरको कुरा भएको छ । काठमाण्डौ स्थित विभिन्न हस्पिटलहरुमा बुझ्दा वायु प्रदुषणको कारणले दिनानुदिन दम रोगीहरुको संख्या बढिरहेको छ । यसैगरी आँखाको समस्या, सुगर, वाथ तथा विभिन्न स्केलका मानसिक रोगीहरु बढ्ने क्रम तिब्र छ।
लगभग २००० बर्ष पुरानो काठमाण्डौ सभ्यता खुला ठाउँ तथा सार्वजनिक पार्हरुको संरक्षण, विस्तार तथा मनोरञ्जनात्मक हिसाबले पार्कहरुको विकाश गर्नेकुरामा सबैभन्दा कान्छो देखिएको छ। सार्वजनिक पार्कहरुको संरक्षण र विस्तार सम्बन्धी इतिहास हेर्दा युरोपमा १६ औं शताब्दीको पुनर्जागरण युगसगैं आवश्यकता महसुस भएको पाइन्छ। लगभग १८ औं शताब्दीको मध्ये तिरबाट मनोरञ्जनात्मक हिसाबमा सार्वजनिक पार्कहरुको विकाश भएको थुप्रै उदाहरणहरु छन् तर यस क्रमलाई तिव्रता दोश्रो विश्वयुद्धको समाप्ती पछि सरकारी तवर बाटै भएको पाईन्छ। हाल आएर विभिन्न शहरहरुमा खुला ठाउँहरु घटने क्रम रहेपनि सरकारी सतर्कता कायमै रहेको छ। वासिङटन डि.सी. मा मात्रै लगभग ३५ प्रतिशत ठाउँ खुला तथा सार्वजनिक पार्कहरुको लागि तथा संसारका थुप्रै प्रमुख शहरहरुमा लगभग १० देखी १५ प्रतिशत क्षेत्रफल यस्ता ठाउँलाई छुट्याईएको पाइन्छ। डब्लु. एच. ओ. को मापदण्ड अनुसार शहरी इलाकामा घटीमा ११ वर्ग मिटर खुला हरियाली क्षेत्रफल १ जनाको लागि चाहिन्छ, यस हिसाबले पनि ४० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकाको लागि शहरमा लगभग ४४ वर्ग किलोमिटर अर्थात जम्मा ६६५ वर्ग किलोमिटर क्षेत्रफल भएको उपत्यकाको ७ प्रतिशत भुभाग खुला तथा सार्वजनिक पार्कहरुको लागी छुट्याउनु पर्दछ। तर उपत्यका स्थित ५ नगरपालिकाहरुको तथ्याङ्क हेर्दा पोखरी, नदिनाला,खेलकुद मैदान र पार्कहरुको संयुक्त क्षेत्रफल लगभग ३ प्रतिशत मात्रै छ त्यसमा पनि सार्वजनिक पार्कहरुको क्षेत्रफल त सुन्य दशमलव ५ प्रतिशत भन्दा कम छ। मनोरञ्जनात्मक हिसाबले बनाईएको पार्क त काठमाण्डौमा सुन्य नै छ।
सरकारी निति हेर्दा छैटौं पञ्चबर्षिय योजना (सन १९८०-१९८५) देखि पछिका हरेक योजनाहरुमा वाताबरण संरक्षण सम्बन्धी कुराहरु उठिरहेका छन्। संयुक्त राष्ट्र संघ को सन १९९२ को वाताबरण तथा विकाश सम्बन्धी रियो सम्मेलनमा नेपालको तर्फबाट औपचारिक हस्ताक्षर भई त्यसै सालमा वाताबरण सुरक्षा परिषदको स्थापना गरिएको थियो। सन १९९७ मा वाताबरण संरक्षण सम्बन्धी ऐन तथा नियमहरु बनाउनुको साथै सन २००२ मा नै उपत्यकाको दिर्घकालिन विकाश योजना अन्तर्गत सार्वजनिक पार्क तथा जलाधार क्षेत्र संरक्षण सम्बन्धी विषय पास गरिसकेको छ। हाल ३ बर्षे अन्तरिम योजनामा वातावरण संरक्षण तथा व्यबस्थापन अन्तर्गत अनुमानित रु. १३० मिलियन रकम मध्ये रु. ३० मिलियन रकम युयन पार्क निर्माणमा तथा ४ दशमलव ५ प्रतिशत रकम सामाजिक जागरणमा छुट्याईएको छ। यसका साथै शहरी विकाश योजना अन्तर्गत पनि खुला तथा सार्वजनिक पार्क सम्बन्धी शिर्षकमा रकम छुट्टिएको पाईन्छ। निति निर्माणमा त्यति कमजोर नदेखिए पनि कार्यान्वयनमा सरकार तथा महानगरपालिका मौन नै छ। नयाँ निर्माण गर्नु त कहाँ हो कहाँ भएका पार्कहरु पनि फोहोर र अब्यवस्थित छन्।
शहरी जीवनमा सार्वजनिक पार्कहरुले व्यक्तिको शारिरिक तथा मानसिक अवस्थालाई सन्तुलन राख्‍न ठुलो भुमिका खेल्दछ। स्वभाविक रुपले यस्ता पार्कहरु हुँदा दैनिक शारिरिक कसरत गर्ने, साथीभाईहरु सँग घुलमिल हुने, व्यापार व्यवसायमा तनाव हुँदा खुला ठाउँहरुको आनन्द लिने प्रवृतिको विकाश भई विभिन्न रोगहरु जस्तै डिप्रेशन, उच्च रक्तचाप, मुटुरोग, सुगर, दम ईत्यादि स्वत रुपमा कम हुँदै जान्छ। यस्ता ठाउँहरुको नियमित प्रयोगले मानिसहरुको मानसिक अवस्थामा प्रवलता आई दैनिक काम गर्ने जोस जाँगरमा व्यापक विस्तार हुन्छ। अमेरिकी डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको रिपोर्ट अनुसार सार्वजनिक पार्कहरुको आवतजावतमा सहज बनाएपछि साबिकको भन्दा २५ प्रतिशत बढी मानिसहरु हप्‍तामा ३ दिन भन्दा बढी शारिरिक अभ्यास गर्ने भएका छन् त्यसैगरि उनिहरुमध्ये धेरैमा ४८.४ प्रतिशत बढि शारिरिक अभ्यास गर्ने आदत भएको छ साथै सार्वजनिक पार्कहरुमा आवतजावत बढ्दा युवाहरुको आपराघिक मनोवृतिमा धेरै नै कमि आएको छ। सन् १९९६ को अमेरिकाको सर्जन जनरलको विस्तृत विवरण अनुसार नियमित अभ्यास गर्ने मानिसहरु अकाल मृत्यु, मुटुरोग, उच्च रक्तचाप, कोलोन क्यान्सर तथा डायबिटिजका समस्याहरुबाट बच्न सक्छन् तथा उनिहरुको स्वास प्रस्वास र पाचन प्रणालीमा व्यापक सुधार हुन्छ।
वातावरणिय हिसाबले हेर्दा २४ घण्टासम्म १० कोठालाई चाहिने बराबर को कुलिङ इफेक्ट एउटा ठुलो रुखबाट त्यति नै समयसम्म हुने वाष्पिकरणले प्रदान गर्न सक्दछ। यु.यस. फरेस्ट सर्भिसका अनुसार ५० बर्षको अवधीमा एउटा रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्पादन, ६२,००० डलर बराबरको वायु प्रदुषणमा रोकथाम, ३७,२५० डलर बराबरको पानी प्रशोधन तथा ३१,२५० डलर बराबरको भुक्षय रोकथाम गर्दछ । त्यसैगरी शतप्रतिशत रुखहरुले ढाकेको ठाउँमा रुखहरुले १४ प्रतिशत सल्फर डाईअक्साइड, १५ प्रतिशत ओजोन, १३ प्रतिशत धुलोको शुक्ष्म कणहरु, ८ प्रतिशत नाइट्रोजन डाईअक्साइड तथा ०.०५ प्रतिशत कार्बन मोनोअक्साइड घटाऊँदछ। सार्वजनिक पार्कहरु सम्बन्धी सरोकार राख्‍ने अमेरिकी संस्था ‘द ट्रष्ट फर पब्लिक ल्याण्ड’ को अनुसार पार्कहरु तथा प्रशस्त हरियाली भएको ठाउँहरुमा मानिसहरुको चहलपहल बढनाले पर्यटकिय बिजिनेस तथा अन्य ब्यापार बिजिनेसमा अत्यधिक बृद्धि हुनुका साथै यस्ता ठाउँहरुमा घर जग्गाको मुल्य अन्य ठाउँहरुको तुलनामा धेरै हुनेगरेको छ।
सन २००१ मा नेदरल्याण्डमा गरिएको हरियाली र स्वास्थ्य सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा दुईटा प्रमुख कुरा सार्वजनिक गरियो। पहिलो: हरियाली भएको ठाउँमा स्वास्थ्य सम्बन्धी सिकायत कम देखियो, दोश्रो : सबैखाले प्राकृतिक हरियाली जस्तै शहरी खुला तथा सार्वजनिक पार्कको हरियाली; कृषि तथा खेतिपातीको हरियाली र बन जंगलको हरियाली स्वास्थ्यको लागी उत्तिकै प्रभावकारी देखियो।
यी तथ्यहरुलाई मध्यनजर राख्दा काठमाण्डौमा सार्वजनिक पार्कहरुको प्राथमिकताका साथ विस्तार तथा व्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै देश भरि नै शहरीकरण हुदैं गरेका ठाउँहरुमा सार्वजनिक पार्कहरु निर्माणको लागि प्रयाप्त ठाउँ र रकम छुट्याउनु पर्ने जरुरी छ। हेर्दा मनोरञ्जनको लागी मात्र जस्तो लागेपनि यी कुराहरु मानिसको प्रत्यक्ष शारिरिक, मानसिक तथा सामाजिक अवस्थामा सरोकार राख्‍ने कुराहरु हुन्।
- ई. दिनेश चन्द्र पन्थी
[email protected]

March 2, 2010

पुष्पकमल दाहाल 'प्रचण्ड' लाई पत्र (राजधानी दैनिक, माध ०७, २०६६ मा प्रकाशित )

आदरणिय पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यु,
मलाई थाहा छ तपाईंका दिनहरु बढो व्यस्ततामा बितिरहेका छन्। कहिले पार्टीको आन्तरिक प्रशिक्षण, कहिले पत्रकार सम्मेलन, स्पस्टिकरण, कहिले विदेश बस्ने कार्यकर्ताहरुको प्रशिक्षण,कहिले यता कहिले उता अनगिन्ति कार्यक्रमहरु, देश दौडाहा सायद स्वअध्ययनको लागि त समय सुन्य नै होला। यहाँलाई यो पत्र प्रत्यक्ष पढ्ने समय होला भनेर त मैले सोचेकै छैन तर पनि शुभेच्क्षुक तथा सल्लाहकार मार्फत यहाँ सम्म पुगेपनि मेरो वर्तमान इच्छा पुरा हुने थियो। लेख्न त मलाई ठेली नै लेखेर दिने इच्छा छ तर समयलाई बिचार गरेर केहि खास कुरामात्रै लेख्दै छु।
केहि तालिमको कारणले छिमेकी मुलुक भारतमा जाने काम परेकोले यहाँको पार्टीले आयोजना गरेको पौष ५, ६ र ७ को बन्दको प्रत्यक्ष अनुभव त हुन पाएन तर पौष ७ मा बानेश्वरमा दिनु भएको भाषण चाँही तात्तातै सुन्न पाएँ। तँपाईंको भाषण सुन्न म प्राय अफिसमा व्यस्त हुँदापनि समय निकाल्ने गर्छु। भारतमा हुँदा पनि त्यस्तै गरें। सुन्दै गएँ रमाईलो लाग्दै गयो, दर्शकदिर्धाबाट पनि वा वा र स्याबासी त वर्षीरहेकै थियो। बोल्दै जाने क्रममा खुले आम तपाईंले हेर्दा सुन्दा भारत विरोधी जस्तो तर प्रत्यक्ष रुपमा भारतले नेपाल प्रति झन ठाडो हस्तक्षेप गर्न सक्ने वातावरण बनाईदिनु भएको छ। तपाईंले हाम्रो मालिक दिल्ली हो भन्दा, अब हाम्रो प्रत्यक्ष वार्ता भारतसँग हुन्छ भन्दा पहिलो पटक नेपाली हुनुको गर्व हराए जस्तो लाग्यो। सायद मलाई जस्तै धेरै देशभक्त नेपालीहरुलाई पनि लाग्यो होला। हुन त तपाईंले भनेको कुरामा सत्यता छ तर एउटा जिम्मेवार नेताले त्यसरी सार्वजनिक रुपमा बोल्दा दीर्धकालिन हिसाबमा भारतले अब हस्तक्षेप गर्न कुनै भित्री मार्ग अपनाउनु पर्ने छैन। अत्यन्तै निजी कुरामा ऊ अब ठाडै हस्तक्षेप गर्न सफल हुने छ। ऊ अब आफुलाई स्पष्ट बैधानिक मालिक ठान्ने छ। सायद दिल्ली कुनै जिम्मवार नेपाली राष्टिय नेताले खुलारुपमा यो अभिव्यक्ति बोलेको सुन्ने दिन पर्खिरहेको थियो जुन तपाईंले पुरा गरिदिनुभएको छ। तपाईंले सोच्नुभएको होला जापान विरुद्धको लडाईंमा खास राष्ट्रवादी आफुभएको प्रमाणित गरि माओले आफ्नो शक्ति व्यापक विस्तार गर्न सफल भए जस्तै आफुपनि विदेशीहरुको दोहोलो काडेर नेपाली जनताको व्यापक समर्थन बटुल्छु भनेर तर परिस्थिती फरक छ।
हो, माओवादी पार्टी हाल नेपालको सबैभन्दा ठुलो पार्टी हो तर तपाईंको पार्टीलाई ठुलो जनताले त्यसै बनाएका होईनन्। कांग्रेस, एमाले तथा अन्य पार्टीहरुमा व्याप्त विकृती सर्वहाराको निम्ति आन्दोलन गर्ने तपाईंको पार्टीमा नहोला तथा तपाईंहरुलाई मुलधारको राजनितिमा समेट्न पाए दिर्धकालिन शान्तिको सुरुवात होला भनेर नेपाली जनता लागेका हुन्। तपाईंहरुको राजनितिक दर्शन राम्रो नराम्रो भनेर विश्लेषण गर्नसक्ने नेपाली जनता अल्पसंख्यक नै छन् त्यसैले तपाईंको पार्टी राम्रो र गौरवशाली भन्दापनि अरुमा छाएको विकृतीको फाइदा तपाईंहरुलाई भएको हो। अझैंपनि तपाईंको कार्यकर्ताहरुको रटान र जडसुत्रवादीताले गर्दा फरक र विश्लेषणात्मक बिचार राख्नेको टाउको फोडिने अवस्था छ।
राजनितिक फाइदाको लागी तपाईंहरुको सस्तो र उत्तेजनात्मक अभिव्यक्तिले अनेक जातजातीहरु बिचको सदभावलाई झन वैमनस्यतामा परिणत गर्दैछ। स्वाधिन देश भित्र पराधिनता महसुस गर्ने समुह तपाईंहरुकै कारणले बढदैछ। हुन त तपाईंहरु आफुलाई सबभन्दा राष्ट्रवादी भन्नुहुन्छ तर तपाईं तथा तपाईंको कार्यकर्ताहरुको सार्वजनिक अभिव्यक्ति सुन्दा सुरुवात ‘हाम्रो गौरवशाली पार्टी’ भन्नेबाट सुरु हुन्छ।
प्रसङ्ग अलि तपाईंमा नै केन्द्रित गरौं। पहिलो पल्ट वालुवाटारमा सार्वजनिक हुँदा तपाईंलाई हेर्न सारा नेपाली जनता लालायित थिए। यत्रो जनयुद्धलाई नेतृत्व दिने व्यक्ति अब सार्वजनिक जीवनमा आएपछि देशमा कायापलट हुन्छ भन्ने आशा सबैमा थियो। पुरै वेईमानीले ढाकेको राजनितिक वृत्तमा तपाईं जस्तो योद्धा आएपछि एउटा राजनितिक संस्कार संस्थागत होला भन्ने ठुलो अभिलाशा थियो । यस्तै आशामा नेपाली जनताले तपाईंको नेतृत्वलाई विश्वाश गरि माओवादी पार्टीलाई सबभन्दा ठुलो बनाए, तपाईं प्रधानमन्त्री हुनुभयो लगभग नौ महिना सरकार चलाउनु भयो तर ढाकछोप जसरी भएपनि तपाईंको सरकारको आधारभुत संस्कारमा परिवर्तन भएन। सरकारमा रहुन्जेल तपाईंभन्दा पनि बरु बाबुराम जी बढि चर्चामा रहनुभयो, अर्थमन्त्रीको राम्रो भुमिका निभाउनु भयो। आफ्नै सरकारको एउटा सेनापति त्यो पनि डेड दुई महिनामा स्वत समयावधि सकिनेवालालाई व्यबस्थापन गर्न नसक्नु तपाईंको कमजोरी नै हो ।
रङ् फेरिईरहने तपाईंका अभिव्यक्तिहरु हाल आएर तपाईं प्रतिको विश्वाशमा तगारो बन्न थालेका छन्। तपाईं कहिले गान्धी बन्छु भन्नुहुन्छ, कहिले त्यसैलाई बेवास्ता गर्दै पार्टी र सरकारमा आफ्नै नेतृत्वको विकल्प देख्न चाहनुहुन्न। हुँदा हुँदा आफ्नै समकक्षीलाई स्वकल्पित आरोप लगाई चरित्र हत्या गर्न पछि पर्नु हुन्न। आफूलाई निर्विकल्प नेतृत्वको ठाँउमा राख्न तपाईं सफल त हुनुभएकै हो, यसमा तपाईंको व्यक्तिगत खुबीको खुलेरै प्रसंशा गर्नुपर्छ। भर्खरै पनि सरकारको नेतृत्व आफैंले गर्ने कुरा पार्टीबाट पास गराईसक्नु भएको छ। तपाईंले बोलेको र बोलीलाई नाधेको त मैले बिसौं पटक अनुभव गरिसकें। माओवादी पार्टी तपाईंको व्यक्तिगत हो भने त मैले भन्नु केहि छैन नत्र आफ्नो समकक्षीको नेतृत्वमा विश्वाश गर्न नसक्नु तपाईंको ठुलो कमजोरी हो । के कहिल्यै तपाईंले आफुलाई पार्टीमा नेतृत्वविहिन या भनौं अध्यक्ष विहिन भुमिकामा हेर्ने आँट गर्नुभएको छ ? के कहिल्यै तपाईं आँफु पार्टीको केबल सल्लाहकारमा बसि अरु समकक्षीहरु नेतृत्वमा रहेको देख्ने आँट गर्नु भएको छ? आजै देखी तपाईं हरेक ठाऊँमा आफ्नो निर्विकल्प भुमिका खोज्नुहुन्छ भने तपाईंको पार्टी काँचको टुक्रा रहेछ भन्ने बुझ्नुपर्छ जुन तपाईंले नेतृत्व गर्न नसक्दा सयौं टुक्रा हुनेछ।
एउटा स्वतन्त्र धरातलमा उभिएर तपाईंको पार्टीले अंगालेको बाटोमा समाहित हुने या नहुने भनि बिचार गर्दा तपाईंको ‘कन्फ्युज्ड पर्सनालिटी’ ले जहिले पनि दोधारमा पार्छ। तपाईं आफुलाई यथार्थ लोकतन्त्रवादी भन्नुहुन्छ आफ्नै फोटो पार्टीको केन्द्रिय देखि हरेक कार्यालयमा झुन्याउनु हुन्छ, अब त हुँदा हुँदा पत्रकार सम्मेलनमा बस्तापनि पछाडी आफ्नै फोटो फ्रेममा सजाउन थाल्नु भयो। मैले बुझेअनुसार त मान्छे मरे पछी उसको योगदानको उच्च कदर गर्दै त्यसो गर्नु पर्ने हो। विदेशतिर पनि युग परिवर्तन गर्ने धेरै नेताहरु देखियो, पढियो तर यस्तो बिचित्र त कतै थाहा पाइएन। यसको मतलब तपाईंमा आन्तरिक रुपले व्यक्तिवादिताको प्रबलता छ भन्ने स्पष्ट हुन्छ। हुन त यो ठुलो कुरा नहोला तर नेतृत्वको हरेक शैली जनताले नियालीरहेका हुन्छन् विचार गर्नुहोला।
परिस्थति अनुसार मान्छेहरुको दिमाग भुट्न त तपाईं अत्यन्त चतुर मान्छे। केहि दिन अगाडी खन्ना गार्मेन्टमा समकक्षीलाई आरोप लगाउँदा बदनाम हुने डरले त्यो बाट बच्न भर्खरै तपाईंकै भातृसंगठन नेवा राज्य समितिले आयोजना गरेको कार्यक्रममा आफुमाथीको सुरक्षाको खतराको सवाल उठाउनु भयो। सुरक्षाको खतरा त तपाईंलाई मात्रै होइन संसारभरि नै नेतृत्वमा बस्ने सबैलाई हुन्छ तर तपाईंले कसरी प्रसंग बदल्न खोज्दै हुनुहुन्छ त्यो रोमान्चकारी छ । तपाईंको अभिव्यक्ति अनुसार पनि त राजा पृथ्वीनारायण शाह, राजा विरेन्द्र नेपालीहरुले मन मष्तिष्कमा सजाउनुपर्ने व्यक्तित्व रहेछन् नि तर तपाईंका कार्यकर्ताहरुले सिंहदरवार अगाडी पृथ्वी शालिकको हात भाँच्दा तपाईं कहाँ निदाउनु भएको थियो? त्यसैगरि तपाईंकै कार्यकर्ताहरुले पोखरामा पृथ्वी तथा विरेन्द्र शालिक भत्काउँदा कुन गुप्तवासमा तपाईं बस्नु भएको थियो? किन सार्वजनिक अपिल निकाल्न सक्नुभएन ? तपाईंले राष्ट्रिय सभागृहमा देशभक्त भनेका कुन व्यक्तित्वलाई तपाईंका कार्यकर्ताहरुले सार्वजनिक सम्मान गरेका छन्?
प्रचण्ड जी, सास रहुन्जेल आस पलाउँछ भनेजस्तै फेरिपनि तपाईंप्रति केहि न केहि आस त सबैको छ। राष्ट्रिय राजनितिमा अलि चल्दापुर्जा त तपाईं नै हुनुहुन्छ, आफ्नो पार्टीको त तपाईं निर्विकल्प नेता तपाईंको बोली व्यबहार केहि न केहि ‘मेसेज’ दिने पक्कै हुनुपर्छ। पार्टीको तल्लो निकाय देखि फेरि एकपल्ट तपाईंले फरक विचारलाई सम्मान गर्न ‘स्कुलिङ’ गर्नुपर्ने आवश्यकता छ। कार्यकर्तालाई सिकाउनु होला कि माओवादी नामले मात्र सच्चा कम्युनिष्ट भईदैन अन्य पार्टीमा लागेका मान्छेहरु व्यक्त नगरेपनि व्यवहारत सच्चा कम्युनिष्ट हुनसक्छन् सम्मान गर्नुपर्छ। भन्नुहोला कि कार्ल माक्सले कम्युनिज्ममा पुग्ने प्रमुख बाटो वर्ग संगर्षलाई भन्नुभएको थियो तर अहिलेको विज्ञान तथा सुचना प्रविधीको व्यापक विस्तारले अँझै छिटो सम्भवत वर्ग संगर्ष बिना नै कम्युनिज्ममा पुग्ने वातावरण सिर्जना हुँदैछ। अँझै थप्नुहोला कि अब वर्गविहिन तर विविधतामा आधारित समाज एकदलिय सर्वहारावर्गको अधिनायकत्वबाट भन्दा बहुदलिय लोकतान्त्रिक व्यवस्थाबाट छिटो हुने छ।
लेख्दा लेख्दै लामो हुन थाल्यो, दिमागमा अनगिन्ति कुराहरु खेलिरहेका छन्, पत्रिकाले छाप्ने नछाप्ने पनि पक्का छैन । पत्रमा जति गाली गरेजस्तो लागेपनि तपाईंको एउटा शुभेच्छुकले लेखेको सम्झनु होला। हामीलाई हाम्रो नेता भनेर गर्व गर्न मिल्ने व्यक्ति चाहिएको छ। समय मिलेमा र केहि त लेख्नै पर्ने लागेमा फेरि लेख्ने वाचा गर्दै विदा हुन्छु। धन्यवाद।

तपाईंको शुभेच्छुक
दिनेश चन्द्र पन्थी
भलायखर्क-१, लम्जुङ
[email protected]

March 1, 2010

के हाम्रा नेताहरु लंगौटी नै हुन त ?

Politicians are like diapers.  They both need changing regularly and for the same reason.  ~Author Unknown

“राजनेताहरु डायपर (लगौंटी) जस्तै हुन । समान कारणको लागि यि दुबैलाई समय समयमा फेरीरहनु पर्दछ” - अज्ञात

केही समय अघिसम्म माथीको उद्दरण पढ्दा म केवल हाँस्ने मात्रै गर्थें। तर जब जब आफ्नै देशका नेताहरुको हालीमुली र रजाईमा देशको हालत झन झन खस्किदैं जान थाल्यो, तब मलाई यो उद्दरण मजाक हैन हाम्रै नियतिको तितो यथार्थ जस्तो लाग्न थालेको छ।

हामी नेपालीहरु कति अभागी छौं भन्ने बुझ्न अरु केही गर्नु पर्दैन, नयाँ बन्न लागेको संविधानको बारेमा सोधे मात्रै पुग्छ । ९० दिनभन्दा कम समयमा सयभन्दा बढी बुँदामा छलफल गरेर नयाँ संविधान जारी गर्नुपर्ने समय आउँदा, प्राय: ‘जिम्मेबार’ हरेक दलका निर्लज्ज नेताहरु जेठ १४ गते नयाँ संविधान जारी हुन सक्दैन भन्ने वक्तयबाजी गर्न थालेका छन ।

समयमै संविधान बन्न नसक्दाको अबस्थामा के हुन्छ त ? । प्रक्रियागत वा कानूनी हिसाबमा यसका विकल्प जटिल वा पूर्वनिर्धारण गर्न नसकिने भएपनि केही सम्भाव्य पाटाहरु यस्ता हुनेछन :

१) हालको संविधान सभाको आयु लम्याउने: हुन त नेपाली जनताले यो संविधान सभालाई तिनै सभामा रहेका लाउके र टाउकेका लेखा जोखाका आधारमा चाहिनेजत्ती समयका लागि भनेर नै चयन गरेका हुन, तर भन्नलाई जेसुकै भने पनि यिनै लघुबुद्दी भएका नेताहरुकै कारण संविधान समयमा बन्न नसक्ने करिब करिब प्रष्टै भैसकेको छ । अब कानूनी हिसाबमा मिल्ने नमिल्ने जेसुकै भएपनि व्यवहारीक हिसाबमा भने यही सभालाई नै निरन्तरता दिन समयाबधि थप गर्ने विकल्पलाई १ नम्बरको विकल्पको रुपमा अघि सारीनेकुराको भने अहिले नै ठोकुवा गर्दा पनि फरक पर्दैन ।

२) नयाँ जनमत लिन आम चुनाव गर्ने: नीतिगत र कानूनी प्रक्रियाको कुरा गर्ने हो भने नेपाली जनताले हालका कुर्सीआसीन भातमारा सभासद र नेताहरु (यो शब्द धेरै ब्लगरसाथीहरुले प्रयुक्त गर्नु भएको र जे कामको लागि छानिएका हुन सोही काम पुरा गर्न नसकेपछि उपयुक्त पनि भएकोले यहाँ प्रयोग गर्दैछु) लाई केवल दुईबर्षको लागि छानेका हुन। दुइ बर्ष पुरा भएपछि नेपाली जनताको म्याण्डेटको अबधि पनि सक्कीनेछ र उपर्युक्त अबधिका लागि पठाईएका भातमाराहरुले अरु भात मारेर कुर्सीमा बस्नु कुनै पनि हालतमा सही हुँदैन । यसका लागि जनताले योग्य व्यक्ती चुन्ने अर्को मौका पाउनु पर्छ ।

एकातर्फ बिगतका दुई बर्षको अबधिमा हाम्रा नेताहरुको असली अनुहार जनताले झनै नजिकबाट चिन्ने अबसर पाए भने अर्कोतर्फ यस अबधिमा क्षेत्रीय र विश्व राजनितीमा पनि निकै परिवर्तन आएका छन । यस परिप्रेक्षमा साँच्चै जनताकै राज भएको आभास दिने हो भने नेपाली जनताले आफ्ना प्रतिनिधि पून चुन्ने मौका पाउनै पर्छ ।

३) हतार हतार घाँडो पन्छाउने: एकथरी पर्यव्यक्षकहरु अन्तिम अबस्थामा आएर नेताहरुले झारा टार्ने खालको नयाँ संविधान बनाउनेमा चिन्तीत छन र यसको सम्भाबनलाई नकार्न पनि सकिन्न ।

२ बर्षसम्म जनताले संविधान बनाउन दिएको म्याण्डेटको चरम दूरुपयोग गरी सत्ताको लडाई र विभिन्न उचित-अनूचित मागहरुका साथ संसद वहिष्कार गरी बसेका भातमाराहरुले निश्चित समयाबधि सकीदैं जाँदा विभिन्न दवाबका कारण झाराटार्ने संविधान जारी गर्न सक्ने स्थिति खतरनाक भएपनि एकदमै सम्भाव्य पनि छ । जति जति संविधान जारी गर्ने मिति नजिकीदैँ छ, त्यति त्यति नै यसप्रतिको शंका र सम्भावना बजारमा प्रवल छ ।

अन्तरीम संविधान नै पटक पटक संसोधन गरीने देशमा यस्तै हतारमा संविधान बनेमा त्यसको दूरगामी असर के कस्तो भयाबह हुन्छ सजिलै कल्पना गर्न सकिन्छ ।

यहाँ कुनै एक दलप्रति वायस नभै वा कुनै एउटा गुटप्रति पूर्वाग्रह नराखी कुरा गर्ने हो भने २ बर्षको आफ्नै समयसिमामा संविधान बनाउन नसक्ने सबैदल यसप्रति जिम्मेबार छन र यो समयाबधिले सबै दल र नेताहरु राष्ट्रिय चिन्तन भन्दा सत्ताको स्वादमै रमाएको टडकारै पुष्टी गरेको छ ।

यहाँनेर मलाई माथिको उद्दरणको एकदमै सम्झना हुन्छ । डायपर वा नेपाली भाषामा भन्नु पर्दा लंगौटी एक पटक भिजेपछि पून प्रयोग गर्न मिल्दैन, वा त्यसलाई फेर्नु नै बुद्दीमानी हुन आउँछ ।

हुनत केही समय अझै बाँकी छ र माथी दिईएका केही विकल्प बाहेक अन्य विकल्पहरु पनि आउन सक्नेछन । परम आशावादी नेपाली जनताले अझै आशावादी हुन छाडेका छैनन र हामी पनि आशा गरौं निश्चित समयमा नै नेपालको संविधान जारी हुनेछ । तर यदि जारी हुन सकेन भने यसका विकल्पहरु पक्कै खोजिनेछन र यसको विकल्प खोज्नै पर्ने स्थितिमा नयाँ चुनाव गर्नु नै उचित हुनेछ ।

म आशा गर्छु समय छँदै हाम्रा जिम्मा पाएका जनप्रतिनिधिहरुले नयाँ सम्बिधान जारी गर्नेछन र हामीले हाम्रा नेताहरुलाई माथीको उद्दरणसंग दाँज्नु पर्दैन । हैन भने भिजेको लंगौटी जत्ति सक्यो त्यत्ती छिटो फेर्नुमा नै नेपाल र नेपाली जनताको हित हुने कुरा भन्नु पर्दा संकोच लिनु पर्ने देख्दिन म । भिजेको लंगौटी जत्ती बेर शरिरमा रहन्छ त्यत्तीनै त्यो शरिरको लागि हानिकारक हुन्छ। म चाहन्छु हाम्रा नेताहरुले समय छँदै आफू लंगौटी नभएको प्रमाणीत गरेर माथिको उद्दरणलाई गलत सिद्द गरिदिउन ।