March 6, 2010

सार्बजनिक पार्कहरुको अभावमा काठमाण्डौंको दुरावस्था


काठमाण्डौको अव्यबस्थित सडकहरु, सडकको आसपासमा खोलिएका जथाभाबी खुद्रा पसलहरु, उकुसमुकुस पार्ने धुलो धुँवा, सवारीसाधनबाट निस्कने आवाज, अव्यबस्थित ढलनिकाश, जथाभाबी रहेका फोहोरका थुप्रोहरु, सडकको वरिपरी राखिएका निर्माण सामग्रीहरु, मनलाग्दी तवरले पार्किङ गरिएका सवारीसाधनहरु आदि कुराहरुले यो शहरलाई राजधानी शहरको सामान्य मापदण्ड भन्दा निकै पछाडी पारेको छ । तिब्र शहरिकरण सँगै खुला ठाउँहरु तथा सार्वजनिक पार्कहरुको बिस्तार तथा व्यबस्थापनमा सम्बन्धित निकायहरु उदासिन छन्। खुला हरियाली ठाऊँहरु तथा सार्बजनिक पार्कहरु शहरी जिवनका “लाईफ ब्लड” हुन्। यस्ता ठाउँहरुको विस्तार तथा व्यवस्थापन शहरी क्षेत्रमा मानव जिवनको प्रत्यक्ष सुरक्षा र व्यवस्थापन हो।
वाताबरणिय हिसाबले कचौरा आकारको काठमाण्डौ उपत्यका आफैमा त्यति उत्तम मान्न सकिन्न त्यसमा पनि फोहोर र अव्यबस्थित शहरीकरणले आक्रान्त पारेको यहाँ स्वच्छ तथा खुला वातावरण कल्पना बाहिरको कुरा भएको छ । काठमाण्डौ स्थित विभिन्न हस्पिटलहरुमा बुझ्दा वायु प्रदुषणको कारणले दिनानुदिन दम रोगीहरुको संख्या बढिरहेको छ । यसैगरी आँखाको समस्या, सुगर, वाथ तथा विभिन्न स्केलका मानसिक रोगीहरु बढ्ने क्रम तिब्र छ।
लगभग २००० बर्ष पुरानो काठमाण्डौ सभ्यता खुला ठाउँ तथा सार्वजनिक पार्हरुको संरक्षण, विस्तार तथा मनोरञ्जनात्मक हिसाबले पार्कहरुको विकाश गर्नेकुरामा सबैभन्दा कान्छो देखिएको छ। सार्वजनिक पार्कहरुको संरक्षण र विस्तार सम्बन्धी इतिहास हेर्दा युरोपमा १६ औं शताब्दीको पुनर्जागरण युगसगैं आवश्यकता महसुस भएको पाइन्छ। लगभग १८ औं शताब्दीको मध्ये तिरबाट मनोरञ्जनात्मक हिसाबमा सार्वजनिक पार्कहरुको विकाश भएको थुप्रै उदाहरणहरु छन् तर यस क्रमलाई तिव्रता दोश्रो विश्वयुद्धको समाप्ती पछि सरकारी तवर बाटै भएको पाईन्छ। हाल आएर विभिन्न शहरहरुमा खुला ठाउँहरु घटने क्रम रहेपनि सरकारी सतर्कता कायमै रहेको छ। वासिङटन डि.सी. मा मात्रै लगभग ३५ प्रतिशत ठाउँ खुला तथा सार्वजनिक पार्कहरुको लागि तथा संसारका थुप्रै प्रमुख शहरहरुमा लगभग १० देखी १५ प्रतिशत क्षेत्रफल यस्ता ठाउँलाई छुट्याईएको पाइन्छ। डब्लु. एच. ओ. को मापदण्ड अनुसार शहरी इलाकामा घटीमा ११ वर्ग मिटर खुला हरियाली क्षेत्रफल १ जनाको लागि चाहिन्छ, यस हिसाबले पनि ४० लाख जनसंख्या भएको काठमाण्डौ उपत्यकाको लागि शहरमा लगभग ४४ वर्ग किलोमिटर अर्थात जम्मा ६६५ वर्ग किलोमिटर क्षेत्रफल भएको उपत्यकाको ७ प्रतिशत भुभाग खुला तथा सार्वजनिक पार्कहरुको लागी छुट्याउनु पर्दछ। तर उपत्यका स्थित ५ नगरपालिकाहरुको तथ्याङ्क हेर्दा पोखरी, नदिनाला,खेलकुद मैदान र पार्कहरुको संयुक्त क्षेत्रफल लगभग ३ प्रतिशत मात्रै छ त्यसमा पनि सार्वजनिक पार्कहरुको क्षेत्रफल त सुन्य दशमलव ५ प्रतिशत भन्दा कम छ। मनोरञ्जनात्मक हिसाबले बनाईएको पार्क त काठमाण्डौमा सुन्य नै छ।
सरकारी निति हेर्दा छैटौं पञ्चबर्षिय योजना (सन १९८०-१९८५) देखि पछिका हरेक योजनाहरुमा वाताबरण संरक्षण सम्बन्धी कुराहरु उठिरहेका छन्। संयुक्त राष्ट्र संघ को सन १९९२ को वाताबरण तथा विकाश सम्बन्धी रियो सम्मेलनमा नेपालको तर्फबाट औपचारिक हस्ताक्षर भई त्यसै सालमा वाताबरण सुरक्षा परिषदको स्थापना गरिएको थियो। सन १९९७ मा वाताबरण संरक्षण सम्बन्धी ऐन तथा नियमहरु बनाउनुको साथै सन २००२ मा नै उपत्यकाको दिर्घकालिन विकाश योजना अन्तर्गत सार्वजनिक पार्क तथा जलाधार क्षेत्र संरक्षण सम्बन्धी विषय पास गरिसकेको छ। हाल ३ बर्षे अन्तरिम योजनामा वातावरण संरक्षण तथा व्यबस्थापन अन्तर्गत अनुमानित रु. १३० मिलियन रकम मध्ये रु. ३० मिलियन रकम युयन पार्क निर्माणमा तथा ४ दशमलव ५ प्रतिशत रकम सामाजिक जागरणमा छुट्याईएको छ। यसका साथै शहरी विकाश योजना अन्तर्गत पनि खुला तथा सार्वजनिक पार्क सम्बन्धी शिर्षकमा रकम छुट्टिएको पाईन्छ। निति निर्माणमा त्यति कमजोर नदेखिए पनि कार्यान्वयनमा सरकार तथा महानगरपालिका मौन नै छ। नयाँ निर्माण गर्नु त कहाँ हो कहाँ भएका पार्कहरु पनि फोहोर र अब्यवस्थित छन्।
शहरी जीवनमा सार्वजनिक पार्कहरुले व्यक्तिको शारिरिक तथा मानसिक अवस्थालाई सन्तुलन राख्‍न ठुलो भुमिका खेल्दछ। स्वभाविक रुपले यस्ता पार्कहरु हुँदा दैनिक शारिरिक कसरत गर्ने, साथीभाईहरु सँग घुलमिल हुने, व्यापार व्यवसायमा तनाव हुँदा खुला ठाउँहरुको आनन्द लिने प्रवृतिको विकाश भई विभिन्न रोगहरु जस्तै डिप्रेशन, उच्च रक्तचाप, मुटुरोग, सुगर, दम ईत्यादि स्वत रुपमा कम हुँदै जान्छ। यस्ता ठाउँहरुको नियमित प्रयोगले मानिसहरुको मानसिक अवस्थामा प्रवलता आई दैनिक काम गर्ने जोस जाँगरमा व्यापक विस्तार हुन्छ। अमेरिकी डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन सेन्टरको रिपोर्ट अनुसार सार्वजनिक पार्कहरुको आवतजावतमा सहज बनाएपछि साबिकको भन्दा २५ प्रतिशत बढी मानिसहरु हप्‍तामा ३ दिन भन्दा बढी शारिरिक अभ्यास गर्ने भएका छन् त्यसैगरि उनिहरुमध्ये धेरैमा ४८.४ प्रतिशत बढि शारिरिक अभ्यास गर्ने आदत भएको छ साथै सार्वजनिक पार्कहरुमा आवतजावत बढ्दा युवाहरुको आपराघिक मनोवृतिमा धेरै नै कमि आएको छ। सन् १९९६ को अमेरिकाको सर्जन जनरलको विस्तृत विवरण अनुसार नियमित अभ्यास गर्ने मानिसहरु अकाल मृत्यु, मुटुरोग, उच्च रक्तचाप, कोलोन क्यान्सर तथा डायबिटिजका समस्याहरुबाट बच्न सक्छन् तथा उनिहरुको स्वास प्रस्वास र पाचन प्रणालीमा व्यापक सुधार हुन्छ।
वातावरणिय हिसाबले हेर्दा २४ घण्टासम्म १० कोठालाई चाहिने बराबर को कुलिङ इफेक्ट एउटा ठुलो रुखबाट त्यति नै समयसम्म हुने वाष्पिकरणले प्रदान गर्न सक्दछ। यु.यस. फरेस्ट सर्भिसका अनुसार ५० बर्षको अवधीमा एउटा रुखले ३१,२५० डलर बराबरको अक्सिजन उत्पादन, ६२,००० डलर बराबरको वायु प्रदुषणमा रोकथाम, ३७,२५० डलर बराबरको पानी प्रशोधन तथा ३१,२५० डलर बराबरको भुक्षय रोकथाम गर्दछ । त्यसैगरी शतप्रतिशत रुखहरुले ढाकेको ठाउँमा रुखहरुले १४ प्रतिशत सल्फर डाईअक्साइड, १५ प्रतिशत ओजोन, १३ प्रतिशत धुलोको शुक्ष्म कणहरु, ८ प्रतिशत नाइट्रोजन डाईअक्साइड तथा ०.०५ प्रतिशत कार्बन मोनोअक्साइड घटाऊँदछ। सार्वजनिक पार्कहरु सम्बन्धी सरोकार राख्‍ने अमेरिकी संस्था ‘द ट्रष्ट फर पब्लिक ल्याण्ड’ को अनुसार पार्कहरु तथा प्रशस्त हरियाली भएको ठाउँहरुमा मानिसहरुको चहलपहल बढनाले पर्यटकिय बिजिनेस तथा अन्य ब्यापार बिजिनेसमा अत्यधिक बृद्धि हुनुका साथै यस्ता ठाउँहरुमा घर जग्गाको मुल्य अन्य ठाउँहरुको तुलनामा धेरै हुनेगरेको छ।
सन २००१ मा नेदरल्याण्डमा गरिएको हरियाली र स्वास्थ्य सम्बन्धी विस्तृत अध्ययन प्रतिवेदनमा दुईटा प्रमुख कुरा सार्वजनिक गरियो। पहिलो: हरियाली भएको ठाउँमा स्वास्थ्य सम्बन्धी सिकायत कम देखियो, दोश्रो : सबैखाले प्राकृतिक हरियाली जस्तै शहरी खुला तथा सार्वजनिक पार्कको हरियाली; कृषि तथा खेतिपातीको हरियाली र बन जंगलको हरियाली स्वास्थ्यको लागी उत्तिकै प्रभावकारी देखियो।
यी तथ्यहरुलाई मध्यनजर राख्दा काठमाण्डौमा सार्वजनिक पार्कहरुको प्राथमिकताका साथ विस्तार तथा व्यबस्थापन गर्नुपर्ने देखिन्छ साथै देश भरि नै शहरीकरण हुदैं गरेका ठाउँहरुमा सार्वजनिक पार्कहरु निर्माणको लागि प्रयाप्त ठाउँ र रकम छुट्याउनु पर्ने जरुरी छ। हेर्दा मनोरञ्जनको लागी मात्र जस्तो लागेपनि यी कुराहरु मानिसको प्रत्यक्ष शारिरिक, मानसिक तथा सामाजिक अवस्थामा सरोकार राख्‍ने कुराहरु हुन्।
- ई. दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com

8 Comments:

कृष्ण पौडेल said...

लथालिङ्ग देशको भताभुङ्ग चाला । यो मुलुकमा राम्रो कामको शुरूवात कुन विन्दुबाट गर्ने भनेर भगवान पनि रनभुल्ल पर्थे होला । सभ्यताको यो संसारमा हामी र हाम्रो मुलुकको हविगत देखेर मात्र हैन भोलिका लागि पनि कुनै सम्भवना नदेख्दा अवाक हुन्छ यो मन !

Prabesh said...

हाम्रो देश राम्रो देश तर राम्रोसँग मिलाउन नजानेको.....

Anonymous said...

We are are not poor but poorly and horribly managed to the brink of being a failed state. We don't need politicians to govern but a corporate CEO or apolitical benevolent despot to marshal and manage the nation as a company/corporate house .

विदारक

MANU said...

Because we suck everywhere.

Nepalean said...

खासमा हाम्रो देशको अबस्था निकै दयनिय छ। दिनेशजी ले उठाएको कुरा प्राय कसैले ध्यान दिएको जस्तो मानेको छैन। एक प्रकारमा त्यो अनौठो होइन किनकी जुन देशमा न्युतम आबश्यक्ताको अभाव छ त्यसमा पार्क र मनोरन्जनको कुरा कताबाट प्रमुख बिषयमा पर्नु? तर त्यसो भनेर धरै छैन। बस्ने घर मात्र थुपारेर सास फेर्ने खुला ठाउं समाप्त पार्नुले हरेक ब्यक्ती श्वास समबन्धी समस्याबाट ग्रसित हुन्छन। रोगी जनशक्तीबाट देश कता जान्छ? अझ नेपाल जस्तो घुस्या र फटाहाको देशमा भएका चौतारी,पोखरी,मठ,मन्दिर आदी लाइ ब्यक्तीगत रुपमा कब्जा गर्ने होड छ,कताबाट थप पार्क बनाउनु?

हाम्रै गाउंका एक जना इन्जिनियर थिए, पार्क बनाउन आएको बजेट कागजमा पार्क बनाएर पैसा हजम पारेछन। नियम कानुन न हो, यता उता गरेर जेलजान बाट बचे। यस्ता घटना नेपालमा कती होलान कति?

सार्बजनिक जग्गा मिच्ने कुरामा भने पोखराको रानिपौवामा एउटा पूरानो पोखरी थियो। बर्षौं पूरानो सार्बजनिक पोखरीलाइ केही बर्ष पहिले माटोले भरेर पोखरा जेसिजको अफीस बनाउन साइट तयार पारिएको थियो। यस्तो छ नेपालको हालत, भएका पार्क त हटाइन्छन नया कता बाट बन्नु?

Dinesh Chandra Panthy said...

मलाई खासमा इन्डिया र चाइना धुमे पछी यो लेख लेख्ने हौसला भयो। चाइनामा त एकदम ब्यबस्थित छ सहरहरु। तर इन्डियामा पनि सहरमा सार्बजनिक पार्कको बिस्तारमा सरकार एकदम लागेको छ। बेङलोरमा मेरो गत महिनाको धुमाईले सहरमा सार्वजनिक पार्कको महत्वलाई छर्लङ्ग पार्‍यो। नेपोलियन जी ले भने जस्तो नेपालमा यसको महत्व बारेमा बुझ्ने कसैलाई फुर्सद नै छैन। राजनितिक खिचातानीले सबतिर गोलमोल भएको छ ।
अब मेरो बिचारमा यसको बिस्तार, ब्यबस्थापन र उपयोग गर्ने जिम्मा प्राइभेट कम्पनिलाई दिनुपर्छ। पैसा तिरेर पनि सार्वजनिक पार्कमा मनोरञ्जन गर्ने ठाउँ नेपालमा छैन।

Prajwol said...

Abroad, first they plan roads then housing developments. In Nepal, housing development first then (hopefully) a road access. No wonder there are no parks.
Even in the biggest concrete jungle of the World, NYC, there are parks like Central Park, and other half dozen parks. So, I second the author views on parks being the life blood of a city.
If Historical Heritage Sites are to be excluded; KTM unfortunately gives an impression of a slum, only slightly better looking.

Dinesh Chandra Panthy said...

प्रज्वल जी सँग मेरो सहमति छ।

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !