March 13, 2008

गजल - आदेश

टोडन फोडन खप्पिश रछौ चिनो पठाकोछु
छाती खोप्न सजिलो होला छिनो पठाकोछु

बेला कुबेला नजर जुध्ला भनी नडराउ
भरोसा कुहिएर गन्हाको सिनो पठाकोछु

बाटो पर्दा कतै नजर पर्ला घरमा भनी
सुकुमबासी भै भात्किएको छानो पठाकोछु

सुदामाको कुटी भित्र माया नै त थियो दिन
धेरै धन कमायौ कि भर्न मानो पाठाकोछु

बधाई र कामना मेरो कोशेली तिमीलाई
आसुले रुझ्दै लेखेको अन्तिम पानो पाठाकोछु


ब्रतबन्धको रत्यौली

नपढने बिद्यार्थीलाई जसरी परिक्षा नजिक आउँदा डर लाग्छ जनताको विश्‍वास नभएका दललाई पनि चुनाव नजिक आउँदा त्यस्तै भयले गाल्छ ।

प्रसंग नेपालमा हुन लागेको संबिधान सभाको चुनाव र माओबादी दलकै हो, हिजोको हिमाल खबर.कम मा "प्रचण्डको चेतावनि" शिर्षक दिएर यौटा समाचार छापिएको छ । कुरो घुमाएपनि, सिधा भने पनि समाचारको सारले के देखाँउछ भने कामरेडहरुलाई नजिकिदै गएको चुनाबले सातो लिएको छ। त्यसैले अझ पनि कुनै न कुनै बहानामा चुनाव सार्ने भरमग्दुर प्रयासमा छ माओबादि ।

जन-युद्ध, जन-मुक्ति वा मुखको बोलिमा जेसुकै भनिए पनि माओबादिको अहिले सम्मको कार्य केबल, जन-हत्या, जन-शोषण र जन-दबाबमै बढि देखिएको छ । अर्को रमाईलो कुरा चाँहि प्रचण्ड र बाबुरामले गिरिजा कोईरालासंग भेट्दा "शहीद तथा बेपत्ता परिवारलाई राहत दिनुपर्ने" माग पनि राखेछन्। आफुले कब्जामा लिएका जनताका घर-बारी र सम्पति अझै फिर्ता नगरेका गुटलाई यसरी 'सहिद' र 'बेपत्ता परिवारलाई राहत दिनुपर्ने' माग राख्दा सुन्नेहरुलाई निक्कै लज्जा महशुस भएको हुनुपर्छ ।

जे होस, जे जस्तो माग वा अटको थापेर भए पनि माओबादी नपढ्ने बिद्यार्थीले परिक्षा सार्न जे जति जुक्ति लगाउँछन त्यत्तीनै तिडकम लगाएर चुनाव पछाडी सार्ने निहुमा पुगेको बिस्तारै भान हुन थालेको छ।

बोली र 'गँजडी गफ' मा ८०% नेपाल हाम्रो कब्जामा छ भने पनि साँच्चै चुनाव आउँदा ८% भोट पाउन पनि गार्‍हो हुन्छ, यो कुरो हालैको तराई आन्दोलन पछि पनि कामरेडहरुलाई प्रष्ट भएको हुनु पर्छ । जनता कतिबेला, कसरि र केबाट आन्दोलित र परिचालित हुन्छन भन्ने कुरो हाम्रो जस्तो शिक्षामा पछाडि रहेको देशमा सजिलै भन्न सकिने कुरो होईन । त्यसैले आफुहरुले बिगतमा गरेका कूकर्म सम्झेर भोट पाउने आशा गुमाउदै जादाँ कामरेडहरुले गर्न सक्ने अन्तिम काम भनेको कुनै न कुनै बहानामा चुनाव भाँडनु नै हो ।

फेरि सुनिन्छ आजकल काठमाणडौका भित्ताहरु प्रचण्डलाई राष्ट्रपति बनाउने नाराले भरिएका छन, अब यो केबल संबिधान सभाको मात्रै चुनावहो र यसले प्रधान मन्त्री वा राष्ट्रपति छान्ने होईन भन्ने बारेमा राष्ट्रपतिका दाबेदारलाई समेत थाहा नभएको हो की, नत्र कहिले संबिधान सभाको चुनाव गर्ने कहिले नया संबिधान लेखिने अनि फेरि कहिले हो त्यो नयाँ संबिधान अनुशार राष्ट्रपतिय चुनाव हुने???।

अहिले केवल संबिधान सभाको चुनाव मात्रै हुन दिनुहोस, त्यसपछि जनताको मन जित्ने केहि गरेर देखाउनु, अनि बिस्तारै राष्ट्रपतिय चुनाव भएछ भने उठेर जित्नु होला तर यसरी ब्रतबन्धमा रत्तेली खेल्दैमा कहाँ बेहुली पाईन्छ हो?।

जसरी ब्रतबन्ध गरिसकेपछि मात्रै बिहे गरिन्छ त्यसरी नै नया संबिधान बनेपछि मात्रै राष्ट्रपतिको चुनाव हुन्छ, त्यसैले हतार नगर्नोस‍ । नपढने बिद्यार्थी परिक्षा देखेर तर्से जस्तो गरेर केहि हुन्न राष्ट्रपति बन्ने त्यस्तो रहर छ भने कमसेकम संबिधान सभाको चुनाव त हुन दिनुहोस् ।

जसरी ब्रतबन्धको बेलामा रत्यौली खेले पनि, कसार खाए पनि, जग्गे नै गाढे पनि त्यो भिन्दै संस्कार हो र ब्रतबन्धमा दुलहि पाईदैन, त्यसरि नै अहिले चुनावै भए पनि, भोटै हाले पनि यो केवल संबिधान सभाको चुनाव मात्र हो यसले राष्ट्रपति पक्कै छान्दैन आत्तिएर हुदैन कामरेड धैर्य गर्नुस ।