December 16, 2009

नौलौ पानाको शुरवात !!


ए रीति भन्नेहरू

यो समाज भन्नेहरू

परंपरा मान्नेहरू

के दिन सक्छौ मेरा सपनालाई
जो गर्भमै तुहिन पुगे?
के दिन सक्छौ ती भ्रूणहरूलाई

जो सुन्दर संसारको लागि

गर्भाधान हुन आतुर थिए?

साँच्चै!
म तिनको हत्या गर्न चाहन्नँ
म मतियार हुन चाहन्नँ

कसैको उत्तेजना र रहरको चपेटामा

आफूलाई समाहित गर्न चाहन्नँ।


म राजी खुशीले

संसार निर्माण गर्न चाहन्छु
तिनलाई जीवन्त देख्न चाहन्छु
के दिनसक्छौ ती मेरा सबै रातलाई
जो मेरो अस्तित्वका प्रमाण थिए?
के दिन सक्छौ मेरा आँखालाई
जसमा मेरा खुशी र रहर थिए?

त्यो आँखाको आँसु
जसले गाजलै पखालेको थियो
म त्यस्को रंगबाट भविष्य श्रृजित गर्न चाहन्छु
आडम्बर र विश्वासघातले भरिपूर्ण
अमानुषिक प्रहारहरूप्रति चुनौति दिन चाहन्छु

के दिन सक्छौ मेरा ती अतितलाई?
जो मेरो भविश्यको मार्गदर्शक थिए

फिर्ता गर्न सक्छौ ती मेरा पदछापहरू?

जो नयाँ गन्तब्यमा प्रेरित थिए
हैन भने,
मेरो खुशीको हरेक पाटामा प्रश्नचिन्ह किन?
मेरो सफलताका मोडमा कर्तब्यको आहाल किन?
अड्चन किन?!!
के फिर्ता गर्न सक्छौ ती सबै अवसरहरू?


तिमी फेरी भन्छौ होला,

संस्कारले बाँध्छ
अब मलाई जवाफ चाहिएकोछ,
संस्कार बनाउने को?!
के नारी मात्रै परंपरा हो?
के नारी मात्रै संस्कार हो?!!


भयो, पुग्यो मलाई,
अब चुडाउन चाहन्छु म त्यस्ता परंपरा
जो मेरा हत्कडी हुन्
ऊखाल्न चाहन्छु ती चलनचल्तीहरू

जसले नेल भई मलाई बाँधेको छ
धेरै भयो बाध्यताका कडिहरुमा जकडिएको!!

च्यात्न चाहन्छु ती भित्ते पोष्टरहरू
जो मेरो अस्मितामाथि रमाइरहेछन।
धेरै भयो परंपराको कारागारमा जेलिएको
फक्रन चाहन्छु म खुल्ला आकाशमुनि
यो समयको माग हो
यो इतिहासको लागि नौलो पानाको शुरुवात हो !!