August 22, 2008

गजल - माया दीई खोस्ने

माया दीई खोस्ने भन्दा दुश्मननै जाती
सुम्सुमाएर घोप्दा रछन आफ्नैले छाती

सबका लागि उत्सब भो,मुटु चिर्ने खेल
जूनतारा निदाएछ पुर्णिमाको त्यो राती

गान्धी बोकी बुध्द बोल्ने बजार भरी कती
हासीहासी नासी दिने कस्ले चिन्छ घाती

तेरो मेरोको घेरो किन बनायौ तेडोमेडो
बाङगो पनि सिधा भन्ने मनै छ कि काती

मन्दिर भत्कियो मुर्ती बेखबर कता पुगे
सुकेरै गयो आखिर पूजाको फूलपाती


टाइ र कालो टोपिको कक्टेल: माओवादी राष्ट्रिय पोषाक

-एकलव्य
(फोटो साभार: नेपालन्यूज डट कम) उपराष्ट्रपति बन्न पुगेका विवादास्पद पूर्व न्यायधीश परमानन्द झाको शपथ ग्रहणमा प्रयुक्त भएको हिन्दी भाषाको झटारोले केही दिन नेपाली पहाडिया राष्ट्रवादलाई आन्दोलनको खुराक दिने काम गर्‍यो । हिन्दी फिल्म र गानाको आनन्द मात्र सेवन गर्ने बानी परेका हामी पहाडे नेपालीलाई किन हो कुन्नि यी पूर्व न्यायधिशको धोती-कूर्ता धारणगरी हिन्दी भाषामा शपथ लिने शैली त्यति हजम हुन सकेन । राष्ट्रवादी कोणबाट जनतामा स्वत:स्फूर्त बिरोध बढ्दै जाँदा, केहि सय थान थोत्रा टायरहरूले बीच सडकमा अकारण शहादत प्राप्त गर्न पर्‍यो
र काठमाण्डुको गन्धे वातावरणले कार्बनको केही ताप ऊर्जामा तात्ने मौका पायो, केही दिनहरूले बन्दको कलंक बोक्नु पर्‍यो र हाम्रो हरितन्नम अर्थन्त्रलेअरू केही लत्रिनु पर्‍यो । कामरेड बादलले पनि थप्नु भो " राष्ट्रवादी नेपालीले यो कुराको बिरोध गर्नु पर्छ र गर्दै जानु पर्छ " । यति बेला माओवादी राष्ट्रपति पद गुमाएको झोकमा थियो ।
तर, भर्खरै प्रधानमन्त्री बनेका माओवादी नेता पुष्पकमल दाहाल उर्फ प्रचण्डको शपथ ग्रहण समारोहणको पोषाक र बादलजी समेत सम्मिलित हिजो मात्र उनले शपथ ख्वाएका मन्त्रीहरूको वस्त्रधारण शैलिलाई हेर्दा र त्यसपछि प्रकट ( प्रकट हुन नसकेको ) भएको हाम्रो प्रतिकृयालाई देख्दा भने यो निष्कर्षमा पुग्नै पर्छ कि हिजो झाको पोषाक माथिको हाम्रो बिरोध केवल खोक्रो राष्ट्रवादको प्रलाप मात्र थियो र पूर्वाग्रही मात्र थियो ।

पुष्पकमल दाहाल र उनका मन्त्रीहरूको शपथ ग्रहण जस्तो राष्ट्रिय समारोहमा लागाइएको पोषाकलाई हेर्दा यस्तो लाग्छ कि हाम्रो राष्ट्रिय वेशभूषा एउटा परम्परागत पहाडे नेपाली र पश्चिमा आवरणको अनौठो कक्टेल बन्ने प्रयासमा छ । पाइण्ट, सर्ट , कोट र टाइ माथि कालो टोपी देख्दा लाग्छ क्रान्तिकारीहरूले हरेक कुरालाई जस्तो नया र पुरानोको 'फ्युजन' ( कक्टेल वा किमा:) बनाउनमा चरम विश्वास राख्छन् कि जस्तो देखिन्छ । हुन सक्छ यही भएर सत्तामा पुगेका प्रधानमन्त्रीको सुरक्षा गर्न पनि यिनले सरकारी सुरक्षा दस्ताका साथमा , हिरोहोण्डा मोटरसाइकलमा चढेका सफारी-सूटधारी मिलिसियाहरू परिचालन गरी 'फ्यूजन' नै गराइदिए !

माओवादी त डरलाग्दा क्रान्तिकारी शक्तिहरू हुन् र यिनको बिरोध गर्दा ज्यानै जान सक्ने डर भएकाले पनि मान्छेहरू कामरेडहरूको पहिरनमा झल्केको राष्ट्रवादमाथिको रत्यौलीको बिरोध गर्न डराउँछन् कि जस्तो देखिन्छ । हैनभने तराईया जनकपुरका झाले फोरम र भारतमाताको पक्षमा हिन्दीमा शपथ लिनु र प्रधानमन्त्री लगायतको उनको टिमले यो विचित्र पोषाक धारण सहित शपथ लिनुमा धेरै कुराको तादात्म्यता नै छ, उस्तै उस्तै त हो नि यी दुवै घटनाको चरित्र । हामीले हाम्रो बिरोध तराईया भएर हिन्दीमा सपथ लिने कुनै झाको जति गर्नु पर्ने हो , त्यति नै नेपाली भएर पाइण्ट-कोट- टाइ-टोपीको तमाशा पहिरनमा प्रधानमन्त्री र मन्त्रीपदहरूको शपथ लिनेहरूको पनि गरेको हुनुपर्थ्यो। तर , हाम्रो बिरोधको तरिका र प्रवृत्तिमा नै मौलिक बिरोधाभाष रहेको यो स्थितिमा यसको आशा राख्नु पनि बढी हुनसक्ने देखिएको छ । यसले हाम्रो राष्ट्रवाद एउटा खोक्रो औचित्य निर्देशित मात्र रहेछ भन्ने कटु सत्य उजागर गर्छ ।

हुनसक्छ, हिंस्रक क्रान्तिको आमूल परिवर्तनकारी नारा सहित सत्तासीन बन्न पुगेका माओवादीलाई आवरणमा नै केही परिवर्तन देखाउन पर्ने वाध्यता रहेको हुनाले यसो गरिएको हुनसक्छ, तर उनीहरूले नै भन्ने गरे जस्तो यो परिवर्तन मौखिक दावा र सस्तो आवरणमा देखाइने खालको नभएर आचरण र व्यवहारमा खोजिएको हो भन्ने कुरा यिनले बुझिदिएको भए जाती हुन्थ्यो । सायद सारमा गर्न सकिने परिवर्तन धेरै छैनन् क्यारे भनेर यो प्रदर्शनको परिहास रचिएको पो हो कि ! निश्चय पनि एउटा बहुजातीय , बहुभाषीय र बहुधार्मिक मुलकमा विविधता हुन्छन् तर नेपाल राज्यको अब लेखिने संविधानले नेपाली भाषा, वेशभूषा र राज्य समरचनाका बारेमा अर्को व्यवस्था नगरेसम्म , हाम्रो युगौँ पुरानो संस्कृति र स्थापित मौलिकताका पक्षमा हाम्रा नेताहरू उभिदिन सकेको भए, यसको सन्देश सकारात्मक हुने कुरामा ढुक्क हुन सकिन्थ्यो । संसारका जुनसुकै मुलुकमा जातीय, भाषिक र धार्मिक विविधता कुनै कुनै रूपमा रहेकै हुन्छन्, तर पनि एउटा मुलुकको समष्टि परिचयका कुरा आउँदा हिजोआज नेपालमा राजनैतिक नेताले देखाउने गरेजस्तो तमाशा संसारमा बिरलै देख्न पाइन्छ ।

हुनसक्छ , नेताहरूले यो स्वच्छन्द वस्त्रधारणको तरिकाले विचरण गर्न पाइने शैलिलाई कायम राख्दै गएभने, मेरो गाउँका सँधै लगौँटी लगाएर डुल्ने गोरे बुढा पनि एकदिन सिंहदरबार हेर्ने रहरले त्यही पहिरनमा ६०१ जना पहलमानहरू मल्लयुद्द गर्ने रङ्गशालामा पुग्ने छन् । अनि मानवीय स्वतन्त्रताको यो बिद्रुप रूप देखेर अर्धनग्न भएपनि आफ्नो कौपिन पहिरनको मौलिकतामा गर्व महशूस गर्ने छन !