November 12, 2009

एक्लिएको असमञ्जस माओवादी र दिल्लीले देखाएको ठेंगा

-एकलव्य


कामरेड प्रचण्डको चिन यात्राबाट हासिल अपेक्षाकृत कमजोड उत्साह, २२ दलको माओवादीसंग झुक्न हुन्न भन्ने अडान, झलनाथ कामरेड र उपेन्द्र यादवको दिल्ली तिर्थाटन ( यादवका भनाइमा नेपाली राजनीतिका लागि दिल्ली मक्का मदिना सरह हो ) पछि माओवादीले सञ्चालन गरिरहेको आन्दोलन तेस्रो चरणमा पुगे पनि , अहिलेको कठपुतली ( माओवादीका दृष्टिमा) सरकार झनै बलियो हुँदै गरेको हो कि जस्तो देखिन थालेको छ । माओवादीको श्वरमा एकतावद्द हुँदै सरकार बिरुद्ध आँधीबेहरी सिर्जना गरी सरकार पल्टाएर , प्रचण्डसरकारदेखि आँफूले खाँदै आएको उपप्रधानमन्त्रीको जागिर फिर्ता लिइछाड्छु भन्ठान्ने निर्णयसाथ आन्दोलनको रसदपानी र ईन्धन जुटाउन लागेका उपेन्द्र यादबलाई अचानक दिल्ली दरबारवाट आएको निम्तो र यही सरकारमा सहभागी हुनु भन्ने उताका गडफादरको ऊर्दीले पार्नु असमञ्जसमा पारेको प्रतित हुन्छ । तर भारतीय जनता पार्टी , नेपालको पुरानो राजदरबार र नेपाली माओवादीको समेतको विस्मयकारी गर्भाधानबाट जन्मेको फोरम र यसका हिजोका वामपन्थी र आजका हामपन्थी उपेन्द्र यादवको असमञ्जस भने अर्को गच्छेदारको रूपमा जयप्रकाश गुप्ताले आफ्नो मुखमा आउनै थालेको गास फेरि खोसिदिने पो हुन कि भनेर अरू बढ्दै र त्यही डरबाट आक्रान्त बन्दै गएको छ । यसो भयो भने फोरम , साँचो नेपाली अर्थमा सँधै पार्टी फोर्न खोज्ने दुस्साहसीहरूको फोरौँ पार्टी बनेर तेस्रो धडमा रुपान्तरित नबन्ला भन्न पनि सकिन्न । फोरम फोरिएर चोइटिँदै जाँदा , संसदमा पार्टीको संख्या बढ्दै जाने तर कामरेड प्रचण्डका जमातीहरू घट्दै जाने हुनेछ ।

जुनबेला संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा महासचिव वान कि मूनले नेपालका राजनैतिक दलहरू वृहद शान्ति प्रकृयाको मर्मलाई निष्कर्षमा पुर्‍याउन, सहकार्यसहित अगाडि बढ्नु पर्छ भनेर बोल्दै थिए त्यही बेला एमालेका अध्यक्ष झलनाथ कामरेड र फोरम नम्बर २ का अध्यक्ष यादव , नेपालको राजनीतिका बारेमा दिल्लीमा मन्त्रणा गर्दै व्यस्त थिए । लाजै पचाएर संरासंघले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गरेको आरोप २२ दलले लगाइरहँदा, दिल्लीले नेपालको राजनीतिलाई हस्तक्षेप गरेको कुरालई मानौँ दलहरूले यो त भारतले दिएको अभिभावकत्व हो भनेर अर्थ्याउने प्रयत्न गरिरहेका थिए ।

सुजाताको उपप्रधानमन्त्रि पदको चढान , कामरेड झलनाथ र उपेन्द्र यादवको दिल्ली मन्त्रणा, माओवादीको अपेक्षाकृत कम उपद्रवी खालको आन्दोलन आदि कुराले इंगित गर्न खोजेको कुरा एउटै छ , वर्तमानमा नया दिल्लीको संस्थापन पक्षको आशीर्वाद खुलेर नै वर्तमान नेपाली सत्ता गठवन्धन वा माधव नेपालको सरकार उपर छ । एमाले पार्टीको अध्यक्ष भएर पनि पार्टी भित्रबाटै माधव नेपाल सरकार बिरूद्ध खडा लबीको नेतृत्व गरिरहेका झलनाथ होऊन अथवा , शुरूदेखि माधव नेपाल सरकार बिरुद्ध उभिएर कामरेड प्रचण्डको इशारमा आन्दोलनको डंका पिटेर सरकारका लागि अस्थिरता पैदा गर्न सक्ने नेपाली राजनीतिका यी २ पात्रहरूलाई नया दिल्लीले आफ्नो आतिथ्यतामा के मेजमानी गर्‍यो होला , तिनैले जानून तर यो सर्वसाधारण प्रेक्षकहरूलाई पनि अनुमान हुन सक्ने कुरा हो कि यिनलाई दिल्लीले आफ्नो एजेण्डाप्रति राम्ररी सचेत गराउन कै लागि बोलाएर फिर्ता पठाएको छ ।

कामरेड प्रचण्ड र उनको पार्टीले आँफ्नो दल सत्तामा रहेका बखत होस् अथवा सत्ता बाहिर रहँदा होस् , भावनात्मक बहकाउमा बहँदै जाँदा परिपक्व राजनीतिका साँध सीमालाई ख्याल गर्न चाहेनन् । हिजोको क्रान्तिकालीन अवस्थामा कार्यकर्तालाई सुर्‍याउन भनिने वा गरिने काम र कुराहरू तथा आजको परिवर्तित राजनीतिलाई आवश्यक पर्ने परिपक्व निर्णायक कर्तव्य र योजनाहरूको सीमालाई चिनेर अघि बढ्ने संयोजनकलाको सर्वथा अभाव रहेको माओवादीको नेतृत्वमा कामरेड प्रचण्ड नेता भन्दा बढी अभिनेता हुन मन पराइरहे । आफ्नो एकात्मक र अतिवादी एजेण्डालाई मुलुकमा लाद्न , चर्का कुराको प्रक्षेपण गर्ने अनि , एक पाइला पछि हटेत फेरि दुई पाइला अगाडि बढ्दै अरूको अस्तित्वलाई ह्याकुले मिचाइँले पत्तासाफ गर्नु माओवादीको अभिष्ट रहेकाले नै , उसको यो प्रवृत्ति अरूले चिन्दा , आज माओवादी नेपाली राजनीतिका अरू घटकहरूका नजरबाट एक्कलिएको हो , अछूत बनेको हो । ऊ विश्वासिलो हुन चाह्यो र प्रष्टियो भने , २४० स्थान एक्लै संविधानसभामा ओगट्ने यत्रो विशाल पार्टीलाई अरू ६० स्थान जुटाएर सरकार बनाउन गाह्रो नहनु पर्ने हो जबकि ऊ भन्दा संख्यात्मक रूपमा आधा सानो एमालेले सरकारको नेतृत्व गर्न सकिरहेकै छ ।

माओवादीले आँफू किन अछूत हुन पुगेँ भनेर आत्ममूल्यांकन गर्न नखोज्नु र यो परिदृश्यबाट आँफूलाई मुक्त गर्न नखोज्नु तर आन्दोलनको सडक र तमाशे राजनीतिबाट अरूले उसका निम्ति बहुमत जुटाइदिएर टेको लगाई उसको सरकार खडा गरिदिनु पर्ने मान्यता राखूञ्जेल , उसलाई उपेन्द्र यादव मात्र हैन अरू धेरैको विश्वासले छोडिसक्ने हो कि भन्ने सम्भावना उत्तिकै छ ! तर माओवादी जति अविश्वासिलो भए पनि ऊ परिवर्तनकारी शक्ति हो भन्ने कुरा स्वीकार्नु पर्छ । देशलाई जातीय राजनीतिको आदिम विचार र वर्ग संघर्षको कम्युनिष्ट राजनीतिको दुर्गन्धित किमा मा रूपान्तरण गर्न खोजे पनि , माओवादीमा धेरैको आशा पनि अडेको थियो र अझै छ । तर निरंकूश कम्युनिष्टपथ प्रतिको मोह , विश्वमान्य लोकतन्त्रप्रति उसले देखाउन पर्ने ओठे आशक्ति र अन्तरपार्टी खिचातनीको लबी राजनीति बीच, असमयको सफलताले उसमा सिर्जना गरेको दम्भका कारण आफ्नो सफलताको बोझ कै तल दबेर माओवादी दिग्भ्रान्त नहराओस् , यो कामना गर्नै पर्छ ।