February 25, 2008

फागुनमा तिहार

खै परदेश आउने भनेर यहाँ सम्म आईयो -- खर्च बर्च नी निक्कै लाग्यो। अहिले सम्म उतै बस्या भए आफ्नै देश परदेश हुने रे छ। अन्त जानै नपर्ने।

अचेल मलाई तिहार तिहार जस्तो लागिराछ समाचारहरु पढ्दा। तिहाराँ कागलाई बोलाएर भात खान दिन्थे --कुकुरलाई बोलाएर माला लाईदिन्थे। तिहारको दिन सकिदा नसकिदा कागले ढुङगा भेट्थ्यो। कुकुरले लात। भारतिय दुताबासमा अचेल तिहार लागेको रे छ -- कागहरुलाई भात खुवाँउदै गर्या कुकुरहरुलाई माला लाई दिदै गर्या समाचार पढीरथें।


ह्याप्पी तिहार।

माओबादीले सुरु गरेको बिखण्डनबादी सोचाई, अनि आँखा चिम्लेर बाँडेका ति लाखौ नागरिकता अहिले रोजगारीमा लागेका छन। "यो सबै राजाको चलखेल हो निरमाया---" भन्ने लयको चक्का (सिडी) प्रचण्डको अध्यक्ष्यतामा बिमोचन गर्ने कि "ग्र्याण्डडिजायनले मार्यो नी बरीलै" भन्ने भाकामा गिरिजाले चक्का बिमोचन गर्ने भन्ने बारेमा बालुबाटार र बुद्धनगरमा गम्भिर बैठक बसीरहँदा बल्खुमा "दौरा सुरुवाला नी सिलाईयो मात्रै नी कामरेड--" बोलको गीतमा माधब सर रियाजमा मग्न रे भन्ने सुनियो। मधेसमा चैं "नईँ नागरिकताबाले देश ले जाएँगे " धुनले बजार पिटिरहेको छ अरे।

तर जे होस --- नेपालको आन्तरिक मामलामा हस्तक्षेप नगर्ने निती भारतले सात आठ पटक कामरेड प्रचण्डलाई दुताबासमा बोलाएर होस वा दिल्लीमा सम्झौता हिन्दीमा लेखेर होस प्रस्ट पारेकै छ। अब यो यस्तो अन्योलको बेलामा पनि तिहार जस्तो रमाइलो महोत्सब आफ्नै खर्च पानीमा भारतिय दुताबासले आयोजना गरेर हामी सबैलाई ठुलो गुन लगाएको छ।