February 10, 2010

काल-दृश्य

-डा. मधु माधुर्य, मस्को

.... कसले गर्छ आज-भोली परायाको हित ?
भित्र-भित्रै लाए सबले स्वार्थसंग मित !
जता जाऊ, त्यता हेर पैसा कै छ जीत
स्वर्ग, मर्त्य, पाताल गाउँछन् यमराज कै गीत

चिप्लो बोली मानिसको सस्तो भाउ छ हाटमा
जिउंदै मान्छे जलाइन्छन् दिलको आर्यघाटमा
"शुद्ध" घोषित नदि आखिर टुकुचामै खस्छ
भोट माग्ने गोमन नेता जन्मभूमि डस्छ

द्वन्द, हड्ताल, नेपालबन्द हाम्रै पेवा भयो
दक्षिण-सीमा खुम्चिएर नक्सै सानो भयो
देश बचाउने कुरै छैन कुर्सी मात्र खोज्छन
विसर्जनको चिहान जाने छोटो बाटो रोज्छन

हल्लै हल्ला " सतीको श्राप" नेता उस्तै परे
सबै जान्ने बुझ्नेले नै "मृत्यु-वीज" छरे
आँटले कोहि शहिद भए कोहि जिउंदै मरे
कस्लाई के थाह अझै पनि के हुने हो भरे

नाङ्गो जन्म सबको उस्तै अन्तिम मृत्यु पनि
बिर्से सबले मानव-लक्ष्य दानवरुपी बनी ?
घडीभित्र नजरबन्द द्रव्य-काललाई चुट
ब्युझाई चित्त-वृत्ति युगको धुलोबाटै उठ
धुलोबाटै उठ ...