November 25, 2010

भ्रमपीडा !

शिव प्रकाश


उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको
  सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ – “मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?”
“म के हुँ ?”
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।