October 26, 2009

बसन्त जीलाइ भूंडी उत्तर

चाइन्जोकालाइ ह्यां भुडीको रमिता भइराको बेलां म के नरमिते कुरा गरौं। ए म त दौंतरीमा पो रहेछु। खास त बसन्त जी कै ब्लगमा उत्तर दिन लाग्या हो। तर प्रश्न भन्दा उत्तरै लामो हुने हो कि भनेर फेरी यै दौंतरीमा आइपुगें। बल्ल बल्ल हिजो बांदर कथा लेख्ने भ्याको थिएं। अब एक हप्तालाइ ब्लग लेख्ने कोटा पुग्यो भनेको यो भूंडीको उत्तर भने नलेखि रहन सकिन।एक मन त बसन्त जी को भुंडी ले गती छाडेछ म पनि त्यी भूंडी पूराणमा रंगियु कि जस्तो लाग्यो। तर भन्छन नि असल साथिले नाका फोहोरलाको तुरुन्त भनिहाल्छ रे। अरु भने मुसुमुसु हांसेर मात्र बस्छन् रे। यसो भुमिका बांधेको आफ्नै कुथुरो पोख्न हो के। खै कुरा बुज्या?

स्कुल पढ्दा दिनमै २-३ घण्टा पढिन्थ्यो। खै धेरै हिंडेर हो कि के हो स्कुल क्यामपस पढ्दा सम्म हात खुट्टा सधै खिरीला भए। मोटा साथी देख्यो कि खुब डाहा लागेर आउने। कक्षा १० मा एक जना मोटी साथी थिइन। ज्यान मात्रै आलू जस्तो थिएन पढाइ पनि करिब करिब आलु नै थियो। सारै दिक्क लागेर होला तिनकी आमा स्कुलमै आएर माडसाब सं गुनासो गरिछिन - खाना खाए पछी सुत्छे,स्कुल जाने बेलामा बल्ल उठ्छे। बल्ल मोटोपनको रहस्य खुल्यो। मोटाउने फर्मुला थाहा पाएर म त्यसै दंग थिएं। मलाइ पनि लाग्यो एस.एल.सी त सकियोस अनि मैले जान्या छु। दिन,महिना गर्दै एस.एल.सी पनि सकियो। अब भने म मोटाउनको लागी एकाग्र भएको थिए। कम्तिमा पनि म १३-१४ घण्टा सुत्न थालें। मोटाउने भइयो भनेर म त्यसै फुलेल थिएं। हिउंद मासा,गाउं घरमा काम पनि नहुने,एस.एल.सी पनि सकयो पढ्ने त कुरै भएन। कि खाने कि सुत्ने मेरो दिनचर्या त्यही हुन थाल्यो। खै के कुरा मिलेनछ म त २ हप्ताको लामो सुताइ पछि बिरामी पो भएं। अलि अलि ज्वरो आउने र ज्यान दुखेर चलाउनै नहुने भयो। मलाइ यकिन भयो यो मोटाउने फर्मुला गलत पर्यो भनेर। त्यस पछी भने मोटाउने रहर कहिल्यै लागेन।

अमेरीका आएपछि भने यै खिरीलो शिरर आकर्षक भयो। ह्यां त कुरो उल्टो पो रहेछ - जती दुब्लो उती राम्रो। मन मनै सोचें धन्न त्यती बेला बिरामी भइएछ नत्र भने त यो अमेरीमा बिजोग नै हुनेरहेछ। पहिलो त कालो कपाल देख्ने बितिक्कै मान्छेहरु मुन्टो उता फर्काइहाल्छन। झन मोटो भए त कुरै नगरौं। एक दुइ जना मोटे साथीहरु गुनासो पोख्थे जे खाए पनि घटिंदैन। मन मनै सोच्थे आफु त दुब्लै छु के रे तिमीहरु जे सुकै खाऔ। तर जब जागिर खान लागियो त्यस पछी भने आफुलाइ पनि त्यही दशा सुरु भयो। २-३ महिना भयो म मोटोपन घटाउने अध्ययन तिर लागेको छु। तर आफ्नो तौल भने घट्ने तरखर देखिदैन। तौल भन्दा पनि ठुलो समस्या त्यही भूंडीमा गएर अड्किएको छ। फेरी बसन्तजीको ब्लगमा पनि त्यही भूडीको महात्मा जांदै रहेछ। अब भने बसन्त गुरुको गणेश बनेर महात्मामा भाग लिने निधो गरें।

मुल मन्त्र त अल्छीको कुरो जैसीले जान्दैन। त्यो मन्त्र यी हड्डी मात्रै भएका हातमा मासु थपिए पछी खुलस्त भयो। जब लाउने गरेका पाइन्टहरु पेटी नगाउनु पर्ने भयो त्यती बेला सम्म त हाइसन्चो भएको थियो। पेटी लगाउन भुले पनि खासै फरक नपर्ने भो। जब पाइन्टका टाक नै लगाउन नमिल्ने भो त्यस पछी भने केही गडबढ भहेको महशुस भयो। आफ्नै शरिरको जांच आफैंले गरें। एउटा साथीले प्वाक्क बोलीहाल्यो - जिउ त ठिकै छ भुंडी भने अलि घटा है। अब जांचबुझ गर्नै नपर्ने भो। कुरो आएर अड्कियो यही भूंडिमा। कहिल्यै जिउ घटाउन नपर्ने सोच भएको मान्छेलाइ परेन अब समस्या? यही भुडी घटाउने धुनमा भोगेका अनुभव एकै हरफमा लेख्दै छु है।

ब्याम गर्दैमा भूंडी घट्दैन। नपत्ताए यो नक्शा हेरौं एउटा पाउरोटी पचाउन कती उफ्रनु पर्नेरहेछ। जिउ मात्र होइन भूंडी घटाउन खानाको मात्रा घटाउनै पर्दछ। त्यसमा पनि चिल्लो,गुलियो निमीट्यान्न नै पार्नुपर्दछ, मासू पनि कम गरेकै बेस। एकै पटक भन्दा एक दिन दुइ दिन गरेर खाना घटाउंदा सघाउ पूग्दछ। सुत्नु भन्दा ३,४ घण्टा पहिलै खाएको निकै उत्तम। खाजामा सलाद खांदा भुंडीलाइ मात्र असर पर्ने होइन की जिउ नै चंगा हुन्छ। ब्याम गर्दा तौल तथा भूडी घटाउन सहयोग गर्दछ र जिउ फूर्तीलोको साथै तनाब मुक्त बनाउंछ। भुडींमा जोड पर्ने खालको ब्याम गरेर अझ सुनमा सुगन्ध। छोटो तर मलाइ प्रभावकारी भएको अनुभव थाहा भए पनि नभए पनि भुडीं घटाउने कार्ययोजनामा समाबेश गर्नुहोला,यस्ले कस्तो ल्याउंछ परिणाम अर्को पटक ब्लगमा भलाकुसारी गरौंला।
फोटो स्रोत: टाइम पत्रीका