August 25, 2009

बन्धुहरु लाज लाग्यो !

आज नागरिक न्युजमा छापिएको एउटा बिचित्रको समाचार देखेर अचम्म लाग्यो । अचम्म यस अर्थमा कि नेपाललाई “समृध्द” बनाउन एअरपोर्टमा १-२ सय ट्रली र देवघाटमा वृध्दाश्रम बनाएर नेपाललाई सहयोग गर्ने नेपालबाट बिदेशिएका Non Returning Nepali (एन आर एन) हरुले आफ्नो सम्मेलन गर्न नेपाल सरकारसंग चन्दा मागेको भनेर समाचार लेखिएको थियो र त्यति मात्र हैन त्यस संस्थाले त्यस्तै सम्मेलनको लागि भनेर नेपालीहरुले तिरेको करबाट पहिले पनि रु ४५ लाख सम्मेलनका लागि मात्र लिइसकेको रहेछ ।

समाचारको अंश:
“अर्बौ लगानी भित्राउँछौँ भनेर दोहोरो नागरिकतालगायत सुविधा खोज्दै आएका गैरआवासीय नेपालीको संगठन (एनआरएन) आफ्नो महाधिवेशन गर्नसमेत नेपाल सरकारसँग आर्थिक रूपमा निर्भर रहने गरेको छ। आगामी असोज २७ देखि २९ सम्म काठमाडौंमा हुने चौथो अन्र्तराष्ट्रिय महाधिवेशनका लागि एनआरएनले सरकारसँग २५ लाख रूपैयाँ उपलब्ध गराउन माग गरेको छ। यसअघि २००३, २००५ र २००७ मा तीनैवटा अन्तर्राष्ट्रिय सम्मेलन र महाधिवेशन गर्दा सरकारसँग क्रमशः १०, १५ र २० लाख रूपैयाँ लिएको थियो। एनआरएनले प्रत्येक दुई-दुई वर्षमा गैरआवासीय नेपालीको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै आएको छ।“

आफ्नो भलाईको लागि विदेशिने अनि उतैको नागरिकता लिने र कुनै पहिचान नभएपछि इज्जतको भोक मेटाउन नेपाल र नेपालीकै भर्याङ रोज्ने अनि पैसाको लागि पनि विश्वकै एउटा दरिद्र मुलुकको भर पर्नु पर्ने ? नेपालीमूलका नेपालीलाई नेपालको माया छ भने जहिले पनि जहां पनि जसरी पनि आफ्नो देशको लागि सहयोग गर्न सक्छन । टाइ र कोट लगाएर „आप्रवासीहरुको“ भेला गर्दैमा देशको काचुली फेरिने भए नेपाल मात्र हैन अमेरिका, बेलायत र जापानीहरुले पनि गैर आवासियहरुको संस्था खोल्थे होलान ।

धेरैलाई चेतना भएकै कुरो हो एन आर एन चलाउने एउटा बलियो हिस्सा नेपालको खुकुलो कानुन र देशका स्रोतहरुमाथि आफ्नो पकड जमाउन चाहन्छ । त्यसरी नेपाल बन्दैन “आप्रवासी बन्धुहरु” ! बरु सक्नुहुन्छ भने आ-आफ्नो स्तरबाट सा सानो सहयोग आफ्नो गाउं ठाउंलाई दिए हुन्छ । देशमा शान्ति र स्थायित्व हुन्छ भने “कोडाक” मात्रै हैन „बिलगेट्स“ पनि लगानी गर्न नेपाल आउन सक्छन । नत्र नोक्सानको लागि एन आर एनका नाइकेहरु पनि नेपालमा लगानी गर्न जादैनन । विदेशमा समेत यस्ता कार्यक्रमहरुलाई सरकारले पैसा दिन्छ भनेर एकजना बुज्रुकले भन्नु भएछ । कहि पनि शुध्द बिचार लिएर समाज सेवा गर्न तम्सेका व्यक्तिहरुले चिया देखि गाडि भाडासम्मको पैसा आंफै ब्यहोर्छन ।

६०० जना सहभागीलाई १ करोड चाहिन्छ रे ! ए बाबा , ३०० रु प्रति व्यक्ति भन्दा सस्तोमा लन्च सहित पांच तारे होटलहरुले हल उपलब्ध गराउंछन भने वर्षौंमा एक पटक नेपाल जानेहरुले ४ दिनको लागि १००० रु खर्च गर्न सक्दैनन ? दशैंको मौका पारेर फ्रिमा देश दर्शन गर्ने र एउटा गरिब देशको सरकारको पैसामा “छुट्टी मनाउने” आप्रवासीहरुको देशप्रतिको माया बुझिनसक्नुको छैन र !

यहि नेर एउटा प्रसंग निकालीहालौं सन २००७ को यस्तै सम्मेलनमा रुसबाट सयौंको संख्यामा नेपालिहरु वा नेपालीमूलकाहरुले निशुल्क नेपाल दर्शन गर्न पाएका थिए , आखिरमा अहिले थाहा भो पैसा राष्ट्रकै ढुकुटीबाट जांदोरैछ ।

धन्य छ बन्धुहरु तपाईहरुको नेपाल प्रेम !

समाचार लिंक :
http://www.nagariknews.com/news-highlights/139-highlights/4321-2009-08-25-02-52-02.html