September 29, 2008

जय दुर्गे !

Durga2 श्रोह्र श्राद्धको समाप्तिसंगै हिन्दू धर्माबलम्बीहरुकालागी एकदमै पवित्र र महत्वको पर्व शुरु हुन्छ। असत्य माथि सत्यको विजयको प्रतिकको रुपमा धुमधाम संग मनाईने यो यो कालरात्रीलाई बोलीचालीको भाषामा हामी नवरात्री पनि भन्छौं ।

यस पावन अवसरमा माता नवदुर्गाको आराधना गरिन्छ। यो नौ दिनमा माताको नौ रुप अर्थात:

१‍) शैलपुत्री २) ब्रह्मचारिणी ३) चन्द्रघंटा ४) कुष्मांडा ५) स्कंधमाता ६) कात्यायिनी ७) कालरात्री ८) महागौरी र ९) सिद्धिदात्री को आराधना गरेमा यस लोक र परलोक दुवैमा सुख शान्ति मिल्ने विश्वास गरिन्छ ।

आश्विन शुक्ल प्रतिपदाको दिनमा घर-घरमा कलश स्थापना गरेर यो आराधनाको शुरुवात गरिन्छ । साथै कलशको वरिपरि वा घरको पूजाकोठा वा पवित्र स्थानमा जौ छरेर जमरा रोपिन्छ । यो पवित्र जमरा दशौं दिन अर्थात विजया दशमिको दिनमा मातको प्रसादको रुपमा टिका संगै शिरमा लगाउँदा माताको आशिर्वाद प्राप्त हुने विश्वास गरिन्छ ।

शास्त्र र पुराणका अनुशार : भगवान रामले दुर्गा सहित शस्त्र पूजा गरी शक्ति संपन्न भई दशमीको दिनमा रावण माथी विजय प्राप्त गर्नु भएको थियो। र त्यसै बेलादेखी नवरात्रीमा शक्ति एवं शस्त्र पूजा को परम्परा कायम भयो ।

त्यस्तै अन्य केहि मान्यताका अनुशार इंद्र भगवानले यहि दशमिका असुरहरु माथी विजय प्राप्त गरेका थीए। महाभारतको युद्ध यसै दिन प्रारंभ भएको गाथा पनि छ भने पांडवहरु आफ्नो गुप्तवास पश्चात यसै दिनमा पांचाल आएका थिए। त्यस्तै अर्जुनले पनि यहि दिनमा द्रौपदीलाई स्वयंवरमा प्राप्त गरेका थिए भन्ने कथन पनि छ ।

प्रसंगहरुलाई जे जस्तो गरी जोडे पनि वा बयान गरे पनि वास्तबमा यो विजयको उत्सव हो र यस उत्सवले असत्य माथि सत्यको जित हुने दर्शाउँछ ।

अन्य समयमा गरीएको आराधना र शाधना भन्दा यो समयमा छिट्टै सिद्धि र सफलता मिल्ने आस्थाका कारण यस समयमा माता दुर्गाको विशेष पूजा-आराधना गरिन्छ।

भिन्न भिन्न लक्ष वा कामना पूर्ण गर्नको लागी माताको भिन्न भिन्नै मन्त्र वा श्लोकले माताको आराधना गरिन्छ। आउनुहोस हामि पनि जानिराखौं के का लागी कसरी माताको आराधना गर्ने:

विपत्ति नाश को लागी: शरणागतदीनार्थपरित्राण परायणे। सर्वस्तयार्तिहरे देवि नारायणि नमोऽस्तुते।।

शत्रु नाशको लागी: सर्वाबाधाप्रशमनं त्रैलोक्यस्या‍‍‍खिलेश्वरी। एवमेव त्वया कार्यमस्मद्‍वैरी विनाशनम्।।

सर्वबाधा निवारणको लागी: सर्वाबाधाविनिर्मुक्तो धनधान्यसुतान्वित:। मनुष्यों मत्प्रसादेन भविष्यति न संशय।।

भक्ति प्राप्तिको लागी: नतेभ्य: सर्वदा भक्त्या चण्डिके दुरितापहे। रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।।

मोक्ष प्राप्तिको लागी: त्वं वैष्णवो शक्तिरनन्तवीर्या विश्वस्य बीजं परमासि माया। सम्मोहितं देवि समस्तमेतत् त्वं वै प्रसन्ना भुवि मुक्ति हेतु:।।

मंगल प्राप्तिको लागी: सर्वमंगमांगल्ये शिवे सर्वार्थसाधिके। शरण्ये त्र्यम्बके गौरी नारायणि नमोस्तुऽते।

जे होस, संगारमा आईसकेको विजया दशमीले संसारभरि छरिएर रहेका सम्पूर्ण नेपालीको भलो गरोस र माता दुर्गाको कृपाले हामी सवैको कल्याण होस ।

म यहि पोष्ट मार्फत सबै ब्लगर मित्रहरु र दौंतरीका शुभ चिन्तक तथा पाठकहरुमा हार्दिक मंगलमय शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।

"जयन्ती मंगला काली भद्रकाली कपालिनी । दुर्गा क्षमा शिवा धात्री स्वाहा, स्वधा नामोस्तुते ।।"

जय दुर्गे !