May 13, 2008

सुखको पर्याय

शिव प्रकाश
मात्तिएका यौवनहरु
पात्तिएका जीवनहरु
आधुनिकता भित्र
यौनका नवीन सँस्करण
घामजूनको पर्वाह छैन
वसन्तको उन्मादलाई जिस्क्याउँदै
छताछुल्ल पोखिन्छन्
सभ्यताको आडम्बर ओढेको
सभ्य शहरभित्र
समय
आधुनिकतको
उत्ताउलो रहरमा रमाइरहेछ छ ।
आधुनिकताभित्र
जीवनको अर्थ - रोमान्स
यौन साधनामा समाधिस्थ
रहरलाग्दा युवा युवतीहरु
डरलाग्दा मुद्रामा
साधनारत
यौवनको राग
फूलको मदमोहकता जस्तै
मादोन्मात
जीवनलाई साँधिरेहछन्
चाखिरहेछन्
जीवनका क्षणीक स्वादहरुमा
सुखानुभूत बाँचिरहेछन् ।
सयमले उत्ताउलो रहर बोकेको
आधुनिकताभित्र
बाँच्नुको पर्याय - सुख !
सुखको पर्याय - सम्भोग !
भोकभन्दा बढी भोग
आवश्यकताभन्दा अझ बढी
रहर बनेको छ
जीवनयापनभित्र जीवनपान
समय नै यस्तो छ
समयको यो उत्ताउलो रहरसँग
मालाई पनि कताकता
मात्तिन-पात्तिन मन लागेको छ
भोकभन्दा बढी भोग
सुखको पर्याय - सम्भोग !
बोस्टोन अमेरिका
May 09, 2008