September 19, 2009

रमाईलो दशैं खुशी कि पिडा?

आयो दशै ढोल बजाइ गयो दशैं रिण बोकाइ। आउन पनि दशैं ढोल नै बजाएर आउंछ। जब दशै नजिकन्छ ठुला साना,धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक आउंछ। आखिर बर्षभरी गरेको दू:ख सबै बिर्सेर रमाउने बेला पनि त यही हो। आफन्त हुन या झगडिया मित्रबर्ग, सबै दशैंको शुभकामनामा बाधिन्छन।

जब बिस्तारै चिसो बढ्छ,धानका बालाहरु पहेंला हुन्छन र एक किसिमको बतासले गाला चुम्छ,बाताबरण मात्रै हैन मन पनि दशैंमय बन्दछ। अनि पिंगमा हुइकिने,आफन्तसंग भेटीने, नया कपडा पहिरिने,मिठो मसिनो खाने आदी कल्पनाले यो मन त्यसै चंगा भइसकेको हुन्छ। एक जना मात्र हो र सबै जना नै खुसी,एक ठाउं मात्र हो र जताततै रमाईलो, कस्ले बनायो होला यस्तो गज्जबको चाड? दशैंको कल्पना गर्दा यो तन त्यसै उफ्रिन्छ अब मनको त कुरै नगरौं। मन त कांहा हो कांहा, समालेर सकिसाध्य छैन।

कसैलाइ खुसीको बम्पर उपाहार पर्छ भने यही दशैमा नै पर्छ। तोते बोली देखी अहिले सम्मको सबै खुसी एकै पटक ल्याउंछ दशैंले। बर्षै पिच्छे आउने दशैंले अहिलेको मात्र होइन पोहोर परार सालको पनि खुसी समेटेर ल्याउंछ। यस्तो खुशीमा बर्षै भरीको सबै दु:ख भुल्न पाउंदा त्यो भन्दा बम्पर उपाहार के पर्नुपर्यो?

घरमै बसेकालाइ घर सिंगार पटारको चटारो,घर भन्दा अली पर बसेकालाइ कुम्लो काम्लो पोको पारेर बस,प्लेनको टिकट समातेर स-परिबार घर फर्किन र आफन्तजन भेट्ने रन्को, यो नापेर नापी साध्य छैन। दशै आउन एक महिना अघी देखी फेशबुक टिका र जमराले छाएको थियो। कतीले त फोटोमै घर जाने प्लेन र खसी बोका उपाहार दिएका थिए। केटा केटी देखी बुढा पाका,घर पसल देखी इन्टेरनट सबै दशैंमय भएका छन।

यसरी बाताबरण उल्लासमय भएको बेलामा बिभिन्न कारणबस शहरकै कोठामा अल्झिएका या अरबको तातो मरुभूमीमा दशैंको न्यानोपन लिन बाध्य मन भने पक्कै बोझिलो भएका होलान। जापान,बेलायत,अष्ट्रेलिया,अमेरिका आदीका नेपाली मनहरु दशैंको आशिर्बाद फोनबाट थाप्दा पक्कै पनि आंखा रसाउने होलान। दू:ख त देशमा मात्र होइन बिदेशमा पनि त्यती नै छ। बर्षै भरिको दू:ख स्वदेशकाले दशैंमा बिर्सदां बिदेशीनेको दू:ख दशैंमा झन बल्झिएर आउंछ। दशैं जस्तो चाडमा बिदेशमा लाटेकोसेरो जस्तै धुमधुम्ती बस्दा आंफू बरिपरिका झिलीमिली बत्ती पनि जुनकिरी जस्तै धमिला लाग्दछन, बिदेशको चमक धमक त बेकारको रबाफ रैछ भनेर बल्ल चेत खुल्दछ।

बाताबरण जस्तै होस,समय दशैंको हो। हामी जे जस्तो अबस्थामा हौंउ,यो महान चहाड धुमधामले मनाउन पर्दछ। सके आफन्त नसके नेपाली दाजुभाइ दिदीबहिनी मिलेर भए पनि बर्षभरीको दू:ख भूलेर यसपालीको दशैं सदाजसो रमाइलो गरी मनाउनुहोला। बिजया दशमी २०६६ को संपूर्ण दौंतरी मित्रबर्गहरुलाइ मंगलमय शुभकामना। स्वदेश,बिदेशमा बस्ने सबै दौंतरी मित्रबर्गहरुले दशैंको शूभकामना यही पोस्टमा साटासाट गर्नुहोला।