August 13, 2010

प्रधानमन्त्रीको चुनाव, कथाको लट्ठी र यथार्थको जुत्ता !

भन्नलाई राजनैतिक सरगर्मी भन्ने शब्द प्रयोग गरिए पनि नेपालको राजनीति आजकल तात्दा-तात्दै चिस्सिएको छ ।

हरेक बिहान ‘सहमतिको खोजी हुँदै’ भन्ने जस्ता विषयले  भरिने पत्र पत्रिका र खबर जगत साँझ हुँदासम्म विमतिका निष्कर्षले ढाकिएका हुन्छन्। हरेक सम्बाद विवादमा, भेटघाट मतभेदमा र कुराकानी खिचातानीमा परिणत भइरहेका छन् । त्यसैले नेताहरुको बोली प्रति आम जनताको दृष्टि झनै हल्का र उदासिन हुन थालेका छन् ।

यता, माकुने सरकारले राजीनामा नदिँदासम्म राष्ट्रको प्रमुख समस्या नै माधव कुमार नेपाल भएको र उनले राजीनामा दिनासाथै सब कुरा ठीक हुने दाबी गर्दै हिँडनेहरु अहिले ‘हामीले त्यस्तो भनेका नै थिएनौं’ भन्न थालिए सकेका छन् भने राजीनामा दिएर ‘बाटो खोलीदिएको’ दाबी गर्ने दल पनि तटस्थताको  श्रृंखलाबद्ध  गज्जबको नाटक मञ्चन गरेर बसेका छन् । उता मैदानमा भिडीरहेको र आफूलाई प्रमुख दावेदार जताउँदै आएको अर्को दल पनि लगातार चारौं पटकको हार पछि पनि मैदानमा डटिरहने उद्घोषकासाथ लागेकै छ।

एकातर्फ कामचलाउ सरकारकै नाममै सही, आफ्नो काम चलीरहेकाले न यीनलाई नै कुनै कुराको परवाह भएको देखिन्छ भने अर्कोतर्फ ‘अर्कोपाली त कस्सो नजितिएला’ भन्दै साम, दाम, दण्ड, भेद आदि नीति अख्तियार गर्दै हीँडेका दुवै दललाई पनि कामचलाउ सरकारको डेढ महिना लामो शासन ‘सामान्य’ नै लागेको छ ।