January 3, 2009

एक छिन हासौंन - ११

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]
अँ त, मैले मेरो अन्तिम अनुभूतिमा यही शिर्षकमा लेख या अनुभव लेख्नुपर्दा भोगिएका भोगाइहरु बाँड्छु भनेर अघिल्लो अंकमा भनिसकेकिछु त्यसैले मैले बाचा त पूरा गर्नै पर्छ। पाठकबृन्द, साहित्य मेरो निजी जीवनको रहर र उदेश्य भएको हुनाले यस्लाई मैले जत्ती अमूल्य ठान्छु अरुको निम्ती त्यती अमुल्य नहुन पनि सक्छ। एक त बिदेशको बसाइ, यहाको सधैं हत्तारको काम, समयको महँगी त्यस्तै छ आफ्नो मनको कुरा आफ्नो श्रीमान, श्रीमतिलाई पोख्न पनि साइत जुराउनु पर्छ। रात, बिहान, साँझ योटै मानेर काम गर्नु पर्छ। आफ्नो ब्यवसायको होस् या अर्काको काम होस्, ठीक समय र पलामा चल्नु पर्छ। आफ्नो भनेर धर छैन।

यस्तै मेरो पनि स्थिती छ। यौटा सानो रेस्टुराँ छ। बिहानदेखी गोरु जोत्तिए झै जोत्तिनु पर्छ। आफ्नो भनेर धर छैन, ''डिउटी इज डिउटी'' किन कि यो अमेरिका हो, यहाँ सबै समान छन। ''काम गर खाउ'' को सिद्दान्त लागु हुन्छ यहाँ। म आफ्नो देशमा हुँदाको सम्झना गर्छु कहिलेकही। म काठमान्डुबाट झापा र झापाबाट काठमाडौं यात्रा गर्दा बाटामा पर्ने मुङ्लिनको होटेल रेस्टुराँहरुमा खाना खान पसेको सम्झिन्छु। होटेलका साहु, साहुनीहरु गल्ला नछाडी गमक्क परेर खाली पैसा लिन र दिन मात्र बस्छन। होटेलमा आएका ग्राहकहरुले जे जस्तो खाउन, तर पैसा मात्र समाउन पाए पुग्यो। ती सिङाने, मैलो, धैलो केटाहरुले ग्राहकहरुलाई जस्तोसुकै सेवा गरुन साहु,साहुनिलाई मतलब छैन। अनी हाम्रो देशको मान्यता भनौ वा सोच, मालीक-मालिकनी भए पछी जुठो थाल उठाउनै नहुने। उनिहरुले सेवा गर्नै नहुने खालका मनस्थिती छ । तर यहाँ त्यस्को ठीक उल्टो छ। को मालिक, को म्यानेजर, को वेटर?, बस ग्राहकको सेवामा सबै लाग्नु पर्छ। काम को बाँड,फाँड छैन। म मालिक्नी हुँ भनेर धर छैन। हो यस्तै परिस्थितीको दासी हुँदै म आफ्नो कलमलाई साथ मागी रहेकी छु।

घरमा ''ल्याप टप'' छ, समय छैन। रातको करिब १०/११ बजे घर पूग्छौ, त्यही पनि दिनभरिको थकाईले हैरान भएर। घर पुग्ना साथ फेरी एक्छिन कम्प्युटर अन गर्छु। श्रीमान रन्किनु हुन्छ ''न त रेस्टुराँमा आराम गर्छौ न त घरमा, यो तरिकाले जिउलाई कसरी आराम हुन्छ?” । हुन पनि हो, म सधैं हत्तारमा नै हुन्छु। रेस्टुराँ नजिक लाइब्रेरी छ एक्छिन मौका मिल्यो कि त भागेर लाइब्रेरी पुगिहाल्छु। मेरो ध्यान समय चोर्ने देखी अरुकेहीमा छैन। एक घण्टाको ब्रेक हुन्छ सब आराम गर्छन म भने लाइब्रेरितिर नै कुलेलम ठोक्छु। अब त अत्ती भएर मेरा म्यानेजरले समेत तपाईं आराम गर्नु होस् किन यस्तो दौड्धूप गर्नु हुन्छ भनेर गाली गर्न थालिसके। अब त उसैलाई पनि छल्न थालेकिछु मैले। हो, मैले अघिल्लो अंकमा भनेकिथिए मान्छेले नचाहेर पनि ढांट्नु-छल्नु पर्दोरहेछ भनेर। यो मेरो बाध्यता हो। किन कि लेखन क्षेत्रको दुईदशक बित्न लागेछ। म कसरी आफ्नो कलमलाई चिर निन्द्रामा सुताउन सक्छु र ? जत्ती समय बित्दै जान्छन। झन लेखकिय भावनाले सताएको महसुश हुन्छ। भावनारूपी सन्तानहरु जन्मन उद्वेलित हुन्छन। यसैले पनि साहित्यरूपी सन्तान जन्माउने पीडाले म छट्पटिन्छु अनी कसरी त्यो पीडा शान्त हुन्छ र? । यसरी म वाध्य बन्छु आफ्ना भावनाहरु ओकल्न। समय मेरो लागी धेरै अमुल्य छ, तर पनि म यस्लाई आफ्नो कैदमा राखेर यात्रा गरी रहेकिछु। मेरो थकाई, गलाई, ब्यस्तपनलाई भुलिरहेकिछु। धेरै लामो यात्रा भएकोले म कसैको पनि गाली, उपहास, निरुत्साह गर्नेखालका कुराहरुबाट पछी भागदिन। मेरो जीवनको लक्ष बस ''कलम'' हो। यसैले मलाई इज्जत, सम्मान र आज यहाँसम्म ल्याइपुर्‍याएको  छ। अहो ---ब्रेकको समय सकिन लागेछ!। ''भरै फेरी एकान्तमा रुनु त छदैछ '' भने झै काम गर्नु त छदैछ। धन्यवाद दौतरी, तिमी मेरो भावना बिसाउने फाटिलो आगनको छात्ति भैदियौ। जहाँ मैले पारीलो घामको किरण चोरेर तिम्रो छात्तिमा बिस्कुन सुकाउने अवसर पाए। मेरा भावनाहरु अरु कसैलाई सन्तुष्टी दिन भनेर पोखिएको हैन, म आँफैलाई सान्त्वना दिन मात्र दौतरिसँग सुटुक्क केही समय र स्थान मागे। म अनुग्रहित छु दौतरी तिमीसँग। तिमी सधैं सबैसँग मन मिल्ने दौतरी बन्नु। अल्पायुमा नै हरेस नखानु। तिम्रो फराकिलो छात्तिमा सबैले मनका तरङहरु पोख्न पाउन। यहि मेरो मेरो कामना। शुभ दिन।



गजल - आफैले घाटी शेर साथी

सुमन सुधा
आँबु खैरेनी तँनहु

कस्तो हुन्छ प्रेमजाल त्यो अभागीलाइ हेर साथी
बेचविखन भयो उसको माया गएन खेर साथी

दुवै तर्फ युद्ध चल्यो मरे घाइते भए मुनाहरु
वरिपरी शत्रु हुन्छन् फ्याकी जाल बेर साथी

लाखौं मौरी घुम्छन् यँहा त्यही वासनका लागी
बनी बगैचाको माली रानी मौरी घेर साथी

आउदा जादा चौबाटोमा धेरै जिवहरु भेटिन्छन्
नचिन्ने गरी छेपाराले झै रुप रँग फेर साथी

वियोगान्तमा पिडा हुदाँहुदै अब मृत्यु पक्का भयो
किन ढिला गर्छौ आफैले घाँटी शेर साथी


पुरानो बर्षको बिदाइ

हस्त गौतम मृदुल

छोडेर गयौ अचानक हरे माया नै मारेर।
सुन्दर सपना संधैका लागी ओझेलमा पारेर।

आउदा कति हर्षित थिएं हर पल रमाएं।
सफल्ताको शिखरमा पुगी प्रभुत्व जमाएं।

आत्मीय पन टु टाइ जादा मन मेरो धर्कियो।
नसकी खप्न बिछोडको पींडा छाती नै चर्कियो।

साचुला संधै ति क्षेणहरु संगसंगै बसेको।
बिर्सने छैन जीवनमा कैलै मायाले डसेको।

मनको शान्ती अटल खुशी संधैलाइ हरायो
गुलाफको फुल सम्झिदा खेरी रोइरने गरायो।


नया बर्षको प्रण

नेपालियन

अंग्रेजी नयाँ बर्ष, बिश्वका अधिकांश मानिसहरुले धुमधाम गरेर मनाए। नया सालको अघिल्लो साझ झिलीमिली बत्ती,पटाका र मदिरा जन्य पद्दार्थ तथा अन्य तरिकाले मनोरन्जन गरेर बित्ने गर्छ। अनि प्राय मानिसहरुले नया साल संगै आफुलाइ नया ब्यक्तीमा परिणत गर्ने प्रण गर्ने गर्छन। कोही चुरोट त्याग्ने, कोही मदिरा त्याग्ने कोही आफ्नो ओजन घटाउनै आदी आदी। दौंतरीमा हामी साहित्यको लागी, देशको लागी सोचेर समय खर्चने गर्छौं। के तपाइहरुले यो नया साल आफुलाइ खर्चीनु भयो त? भयो भने के कस्ता प्रण गर्नु भयो त?

उत्तम बिचारले मानिसलाइ नया स्वरुपमा खडा गराउंछ र त्यसले मानिसको छुट्टै पहिचान निर्माण गराउंछ। भन्छन नया प्रण कायम राख्न सबैलाइ खुलेर नै भन्दा सबै भन्दा प्रभावकारी हुन्छ रे। उदाहरणको रुपमा यदी तपाइ ले अब नया साल संगै चुरोट त्याग्ने भन्नु भयो भने भोली देखी तपाइ अरुको अगाडी त चुरोट खान संकोच मान्नु हुन्छ नी। मन मनै भन्नु भयो भने त - "ए चुरोट त्याग्ने भनेको खाइयो, भोली देखी छोड्नु पर्ला” भन्नुहुन्छ। अनि तपाइको भोली कहिल्यै आउदैन।

हामी नया बर्ष संगै नया त भयौं, तपाइले के नया प्रण गर्नुभयो? निसंकोच सकारत्मक सोच राखेर ब्यक्तित्व बिकासको निम्ती हामी प्रत्यक दौंतरीहरु उपस्तीत होउं, दौंतरीको सहि उदेश्य नै त्यही हो। सबै सामु दौंतरीमा पोखेर आगामी साल आफुमा नया ब्यक्तीत्वमा परिणत गर्नुहोला। यही रहनेछ दौंतरीको तर्फबाट नया साल २००९ को सबै भन्दा उत्तम शुभकामना।



सडक सुनसान् छ ।

पोस्तक श्रेष्ठ
मिनीसोटाको जाडो। धेरै दिन भयो घाम नलागेको। आज त झन् एकतमास संग हिंउ पनि परिरहेको छ। घरका छानाहरु हिंउको बाक्लो पत्रले ढाकिएका छन्। नांगा मेपलका रुखहरु पनि हिंउले ढाकेर सेत्ताम्मै फुलेका जस्ता देखिन्छन्। उनी झ्यालबाट बाहिर हेरिरहन्छिन्-हिंउले ढाकेका छानाहरुलाई, रुखहरुलाई। सडक पनि सुनसान् छ-उनको जीन्दगी जस्तै। पर पर सम्म कोही देखिदैन। हिंउ अविरल् परिरहन्छ। उनी अतितको गर्भमा बिलिन हुदै जान्छिन्। हराउंदै जान्छिन्।उसले उनीलाई स्कूलदेखि नै मनपराएको रहेछ। कलेज पुगे पछि भने औपचारीक प्रस्ताव आयो। तर त्यो प्रेम प्रस्तावलाई उनले त्यति गम्भिररुपमा लिईनन्। उनी आफैंलाई थाहा छैन, उनी कुन पदार्थले बनेकी थिईन् तर उनीलाई यो प्रेम भन्ने चिज बिल्कुलै महसुस् भैरहेको थिएन। प्रेममा केही दर्द हुन्छ, भावुकता हुन्छ, केही तडप, केही रोमान्च हुन्छ। उनलाई यो सब केही पनि त भैराखेको थिएन ।मानौं उनमा कुनै संवेदना नै थिएन। उनको ध्यान कहि कतै थियो त पढाइमा, व्यक्तिगत बिकासमा। तर उसंग घुमफिर्, भेटघाट, पार्टी भने मज्जैसंग हुन्थ्यो। धुलिखेल्, नगरकोट, थानकोट, गोदावरी, ककनी कुनै घुम्ने ठाउँ बाकिराखेनन् । उसले बेला बेलामा मौका छोपेर प्रेम प्रसंग ल्याउथ्यो। "ठिकै छ नि, म यहिं छदै छु नि, अहिले नै बिहे गर्ने हो र" उनले टारिदिन्थिन्। उ त्यसपछि चुप लाग्थ्यो।

आईएस्सी पछि उ पढ्न भारत गयो केही बर्षको लागि । तर उसले हरेक महिना जस्तो पत्र लेखिरहन्थ्यो। इन्टर्नेट, इमेल् आइसकेको थिएन। उसको दुई-तीन पत्र पछि उनी एउटा पत्र लेख्थिन्। उसको पत्रमा मायाको कुरा हुन्थ्यो, हरेक सुख-दु:ख् बांड्ने कुरा हुन्थ्यो। जीवन भरको साथको कुरा हुन्थ्यो। तर उनी पढाइको कुरा लेख्थिन्, भविष्य निर्माणको कुरा लेख्थिन् । उसले सिविल इन्जिनीयरिंगको डिग्री लिएर नेपाल फर्कियो र एउटा जलबिद्युत परियोजनामा काम पनि गर्न थाल्यो। यता उनीले पनि स्नातक सकिन् र एउटा गैर सरकारी संस्थामा जागीर खान थालिन्। अब उसले बिहेको लागि जोड गर्न लागेको थियो। तर उनी अझै बिहेको लागि तयार थिइनन्। उनको लक्ष अझ पर पर सर्दै थियो। अब उनी जीम्याट परीक्षाको तयारी गर्न लागिरहेकी थिइन। उनी एम् बि ए पढ्न अमेरीका जान चाहन्थिन्। उनी डीभी फर्म पनि भरिरहन्थिन् र उसलाई पनि डीभी फर्म भर्न उक्साइरहन्थिन्। तर उ विदेश जान त्यति लालायित देखिन्थेन। उ त्यति धेरै महत्वाकांक्षी थिएन। उसको पारिवारीक आर्थिक स्थिति ठिकै थियो। उसले हासिल गरेको शिक्षा र उसको नोकरीमा उ संतुष्ट देखिन्थ्यो। उसले उनलाई संझाउने हर कोशीस् गर्‍यो।

हेर- हामीले एक् तहको शिक्षा हासिल गरिसक्यौं। हामी दुबैको जागीर र आम्दानी पनि राम्रो छ। नेपालमा हाम्रो जीवन आरामदायी नै हुनेछ। हामीलाई किन विदेश जान पर्‍यो र। आफ्नै देशमा बसौं। उमेर ढल्किन लागेका बाबु-आमालाई छोडेर जानु राम्रो होइन। उनको जवाफ हुन्थ्यो -हेर, तिमी जे सुकै भन, म कुवाको भ्यागुता बन्न चाहन्न। मेरो गन्तब्य अझै टाढा छ। मेरो लक्ष अझै प्राप्त भैसकेको छैन। म औसत नेपाली भन्दा माथि पुग्न चाहन्छु। तिमी पनि जी आर इ तयारी गर। हामी दुबैजना संगै अमेरीका जानु पर्छ।

अन्तत: उ अमेरीका जान राजी भएको थियो। उसलाई मन त थिएन, तर उनको चाहनाको अगाडी उसले आत्मसमर्पण गरेको थियो । त्यसपछि उसले पनि जी आर ई को तयारी गर्न थालेको थियो। दुबैले अमेरीकाका विश्वविध्यालयहरुमा पत्राचार पनि थालेका थिए। दुबै जना खुशी नै थिए। सबै कुरा सहजरुपमा अघि बढिरहेको थियो। अकस्मात, एउटा अनपेक्षित कुरा भयो। । उनलाई एउटा नातेदार मार्फत् अमेरीका बाट बिहेको प्रस्ताव आयो। युवक अमेरीकी पासपोर्टवाला रहेछ। त्यसपछि उनी अब उ बाट तर्केर हिंड्न थालेकि थिईन्। अमेरीकी राहदानीवाला संग बिहे गरेर जान पाउनु भन्दा अरु सजिलो उपाय अरु के हुन सक्छ र। उनले प्रस्ताव सहर्ष स्वीकार गरिन्। युवकको बारेमा धेरै सोधिखोजी गर्न जरुरी पनि ठानिनन्।

यता उसलाई भनिन्, माफ गर, घर परिवारले मेरो बिहे अन्तै छिनिदिएछन्। तिम्रो मेरो साथ यहाँसम्म मात्र हुने भयो। तिमीसंग बिताएका क्षणहरु मेरो लागि सम्झना रहने भयो। यो सुनेर उ स्तब्ध भएको थियो।

उनको अमेरिकी राहदानीवाला युवकसंग टिकाटाला भयो। त्यसपछि फियान्से भिजामा अमेरीका प्रस्थान् अनि अमेरीकामा बिवाह। तर उनीलाई यी सबै बिकासक्रम् एउटा यान्त्रिक घटना लागिरहेको थियो। पति साधारण युवक् थिए। अमेरीकी पासपोर्ट बाहेक आहा भन्नु पर्ने खास केहि थिएन। शिक्षा अन्डर् ग्र्याड मात्र। सेप्टेम्बर ११, २००१ पछिको आर्थिक मन्दीमा परेर जागीरबाट बर्खास्तगीमा परेपछि एउटा भारतीयको रेस्तुरेन्टमा कार्यरत। उनका संगतहरु पनि आम मानिसहरुसंग। जो संग पनि बोल्ने, हल्का-फुल्का कुरा गर्ने। यथार्थ कल्पना भन्दा नितान्त फरक। उनी खिस्रिक्क परिन्। तर यी सबै कुराबाट ध्यान् हटाएर पढाइ जारी राख्ने निधो गर्छिन्। श्रीमानबाट कुनै आपत्ती हुंदैन।

उनी पुर्णकालिन बिध्यार्थी भएको कारण श्रीमानले दुई-दुई ठाउंमा काम गर्न थाल्छन्। कोठाको भाडा, रासन पानी, स्वास्थ्य बीमा, कारको इन्स्टल्मेन्ट, फोनको बील, बत्तीको बील र उनको कलेजको शुल्क समेतको भार सबै श्रीमानको थाप्लोमा पर्छ। उनको एम बी ए सकिन्छ। एउटा राम्रो कम्पनीमा जागीर पनि मिल्छ। छिट्टै ब्यबस्थापकीय तहमा पदोन्नती पनि हुन्छ। तर श्रीमानसंग खटपट पनि बढ्दै जान्छ। शिक्षा कम् भएको, तल्लो स्तरको जागीर र संगत पनि तल्लो स्तरकै मानिसहरु । भित्र भित्र दबिएका यी बिषयहरु सतहमा निस्कन्छन्। उनको संगत भने उच्च तहमा, धेरै पढेका, राम्रो जागीर भएका, एलिट वर्गमा हुन्छ। भिन्नता बढ्दै जान्छ। दूरी बढ्दै जान्छ र अन्तत: पार पाचुके हुन्छ। आफुले डीग्री हासिल गरुन्जेल् श्रीमानले भोग्न परेको दुंखको यहाँ सम्झना हुँदैन।

त्यसपछि, उनको हिमचिम एउटा गोरा सहकर्मीसंग हुन्छ। लन्च डेट, डिनर् डेट हुदै सम्बन्ध बेडरूम सम्मै पुग्छ। उनीहरु अब एउटै अपार्ट्मेन्टमा बस्छन्। पश्चिमा संस्क्रिती-ब्वाइ फ्रेन्ड-गर्लफ्रेन्ड । बेला बेलामा उनी बिवाहाको कुरा ल्याउछिन्। हनी, बिवाह पछि त प्रेमको अन्त्य भैहाल्छ नि। हाम्रो प्रेमको अन्त्य होस भन्ने म चाहन्न। गोरेले कुरा टारीदिन्छ। समय बित्दै जान्छ। उनका आँखा वरीपरि अब उमेरका रेखाहरु देखा पर्न थालेका छन्। हाँस्दा गालामा चाउरी पनि पर्न थालेछ। फुलेका एक्-दुई केश राशी पनि देखिन्छन्। गोरे केटा साथी पनि अब पहिले जस्तो रमाईलो छैन। घर पनि ढिलो आउने, केही भन्दा झनक्क रिसाउने, कहिले आउदै नआउने गर्न थाल्छ। उसको इमान्दारीतामा शंका लाग्छ। केही दिनको चियो- चर्चा पछि गरे पछि पत्ता लाग्छ-उ अर्कै तरुनीसंग लहसीसकेछ। उनी अकासबाट खसेजस्तो हुन्छिन्। पत्ताल् धसिए जस्तो हुन्छिन्। तर उनी के गर्न सक्थिन् र? अब गोरे साथी संग बसिरहनुको कुनै अर्थ छैन। उनी अब एक्लै बस्छिन्। उनी नितान्त एक्लै हुन्छिन्। साथ छ त उनको एकाँकीपन। साथ छ त उनको अतित । महत्वाकांक्षाको उडान अब सकिएको छ। उनी अब अवतरण भैसकेकीछन्, यथार्थको धरातलमा।


पर चर्चमा घन्टा बज्छ। उनी अतितको घुम्टोबाट बाहिर निस्किन्छिन्। यतिबेलासम्म हिँउ थामिईसकेको हुन्छ। सडक अझै सुनसान छ-उनको जीन्दगीजस्तै।