July 6, 2009

गजल

तिम्रो यादमा मैले भए जति आँसु पिएको छु
नआउ फेरी च्यात्न बल्ल मैले छाती सिएको छु

नाफा नोक्सान जोख्न नखोज भो मायाको तुलोमा
मन घाटा खाएरै नि तिम्लाई मुटु दिएको छु

कस्को आँखाले हेर्यौ चोखो मायामा खोट देखिछौ
आखिर खुशी दाइजो दि आँसु मैले लिएको छु

उजाड उराठ हृदयमा आशाको मुना भाँची
बिना अर्थको जिबन एकचोटि फेरि जिएको छु

कतै नजर मिले चिन्ने कोशीस नगर्नु बेर्थै
तिम्रो यादमा तड्पी अब त सियो झै खिएको छु


ब्लगर सुजनसंग ब्लग बार्ता


ब्लगभित्र ब्लग दौंतरीको नियमीत स्तम्भ भएको त तपाइहरुले अनुभव पक्कै गर्नुभएको होला। दौतरीले चारैतिर छरिएर बसेका नेपाली ब्लगरलाइ आफ्नो बारेमा जानकारी गराउने तथा अन्य पाठक बिच परिचित गराउने उदेश्य राख्दै यो स्तम्भ जारी राखेको छ। प्राय जसो पुराना ब्लगर निम्ताइरहेकोमा यस पटक लोकप्रिय तर नया ब्लगरलाइ ल्याएका छौं। उहांको बारेमा मैले गन्थन गर्नु भन्दा उहांबाटै थाहा पाउन उचितहोला। ल त लागौं सुजन शर्माको ब्लग यात्राको भलाकुसारी तिर।

१ ब्लगीगं दुनियामा कहिले र कसरी आइपुग्नुभयो?
ब्लगहरु पढ्न थालेको त धेरै भयो तर आफै चलाउन थालेको भने छ महिना जत्ती हुँदै छ। दौँतरी र यस्तै अरु साथी -भाईहरुको ब्लग हेर्दाहेर्दै यो अभिब्यक्ति र फुर्सदको समय उपयोग गर्ने रचनात्मक माध्यम भएकोले बिस्तारै यसमा लागेकी हुँ।

२ तपाइको ब्लगको परिचय भेट्टाउनै मुश्किल भयो,तपाइको ब्लगको अलीकती परिचय दिनुहोस न?
फोटो ब्लग मा फोटो मात्र नराखि सो सम्बन्धी साधारण जानकारिहरु समेत दिने हिसाबले यो ब्लग सुरु गरेको थिएँ। त्यसैले ब्लगको सब-टाईटल पनि मैले “Pictomation” भन्ने आफ्नै शब्द बनाएर यो ब्लग लाई Picture with Information अर्थात फोटो सहितको जानकारीहरु दिने प्रयास गर्दैछु । तर लेख्दै जादाँ कहिलेकाहिँ जानकारी मात्र नभई अन्य अनौपचारिक कुराहरु पनि पर्दो रहेछ। त्यसैले ब्लगको खासै परिचय त म आफै पनि खोज्दै छु।

३ ब्लग साज सज्जा देखी प्रस्तुती निकै भव्य छ नि,छोटो समयमै कसरी सम्भव गराउनुभयो?
हा हा हा, यो साज सज्जा मिलाउन चाँहि मलाई त्यत्ती आउँदैन । यसको सबै श्रेय चाँही आफ्नै बुढा लाई दिनु पर्ला। फुल टाईम फ्री टेक्निकल सर्भिस प्रोभाईडर घरमै भएकोले सजिलो भाको छ।

प्रस्तुतीको बारेमा भने, साहित्य,राजनिती र ठुला-ठुला कुरा लेख्‍ने दख्खल छैन। त्यसैले फोटो ब्लगीङमा लागेकी हु। फोटो मात्र राख्दा खेरी फोटोले भन्न छुटाउने र नसक्ने केही कुराहरु पनि हुने हुनाले सो सम्बन्धी केही कुराहरु भने लेख्‍ने कोसिस गर्छु।

४ तपाइमा लेख फुर्न सप्ताअन्त नै चाहिन्छ जस्तो छ नि, लेख पनि २७,२१,१४ आदी मितीमा आउदा रहेछन?
हा हा हा, निकै ध्यान दिएर हेर्नु भएछ। हुन त साहै ब्यस्त हुन्न, त्यहि पनि हप्ताभरी घर-परिबार र कार्यालयको काममा समय बित्ने हुनाले ब्लग तयार गर्नलाई प्राय: सप्ताहअन्त कुर्नु पर्दो रहेछ।

५ मठ मन्दिर निकै धाउनु भएछ,कुनै रमाइलो अनुभव सुनाइदिनुहोस न?
ईश्‍वरमा आस्था भएकोले कहिलेकाही भ्याएसम्म मन्दिरहरु जान रुचाउँछु । खासै वयान गर्न लायक अनुभव त छैन, तैपनि धर्म हाम्रो जीवनको एउटा अभिन्न पाटो हो र धर्मले मानिसलाई बन्धन हैन मुक्तिको मार्ग देखाउने भएकोले कुनै पनि मठ मन्दिर वा चैत्यमा पुग्दा आत्मिक शान्ति त मिल्छ नै ।

६ किन होला महिला ब्लगर पुरुषको तुलनमा निकै कम छन?
नेपाली महिलाकै कुरा गर्ने हो भने, हाम्रो सामाजिक ब्यबस्थाले पनि केही असर गरेको होला जस्तो लाग्छ। त्यसो त केही बर्ष यता घरमा मात्र सिमित नरहेर कार्यालय, बन्द- ब्यापारमा पनि महिलाहरुको सहभागिला बढ्दै गएको देखिन्छ। यस हिसाबले हेर्दा ब्लगमा पनि महिला सहभागिता क्रमिक रुपमा बढ्दै जाने निश्‍चित छ। यस बाहेक प्राविधिक झन्झटका कारण पनि सहभागितामा केहि कमी आएको हुन सक्छ।

७ तपाइ नित्तान्त नया ब्लगर,पूराना ब्लगरलाइ केही सल्लाह दिनुहुन्छ कि?
ओहो कस्तो प्रश्‍न सोध्नु भाको । मैले त पुराना ब्लगरहरु बाट सिक्ने पो हो त, के सल्लाह दिनु र!!

८ तपाइको ब्लगको पुछारमा त पैसा कमाउन सिकाउनु भएको रहेछ,कसरी कमाउने हो अन्य ब्लगरलाइ पनि सिकाइदिनुहुन्छ कि?
ओहो!!, त्यो मैले राखेको होईन। यो ब्लगको टेम्पलेट संगै झुन्डिएर आएको हो । त्यो टेम्पलेट ईडिट गर्न बाँकि नै रहेछ सम्झाईदिनु भएकोमा धन्यबाद। अब निकाल्ने छु।

९ ब्लगिंग दुनियाका रमाइला नरमाइला कुरा के भेट्टाउनुभयो?
नरमाईलो त केहि छैन बरु ब्लग लेख्न थालेपछि धेरै कुराहरु जान्ने र सिक्ने मौका पाएकी छु। विविध बिषयमा भिन्न भिन्न ब्यक्तिहरुको धारणा, बिचार र अनुभबहरु बुझ्न ब्लग एकदमै राम्रो माध्यम भएकोले रमाईला कुराहरुनै बढी भेटेकी छु।

१० फुर्सदमा के गर्नहुन्छ?
फुर्सदको समय यसो कमप्युटर अगाडी रहने त छँदै छ, त्यस बाहेक घुम-घाम र परिबार संगै रहेर बिताउँछु।

११ तपाइको दौंतरी प्रतीको अनुभव के छ?
दौतरी धेरै अघि देखि नै पढ्दै आएकी छु । प्राय: ब्लगहरु एकजना ब्यक्तिले चलाउने हुदाँ कुनै एउटा ब्लगमा रचनारहरुमा बिधागत विभिधता भएपनि आदर्श वा मुल बिचार एउटै देखिन्छ । तर दौंतरी भने एउटै ब्लगमा धेरै जना सर्जकहरु लाग्नु भएकोले एकै बिधामा पनि बैचारिक, भावनात्मक र नैसर्गिक भिन्नता भेटिन्छ ।यो दौंतरीको एकदमै राम्रो पक्ष हो।

समर्थन वा बिरोध जे भएपनि सिष्टता र सालिनताको दायरा ननाघिकन विबेचना गरीने र मर्यादित भाषामा लेखहरु आउने हुनाले पनि दौँतरी अन्य व्यक्तिगत ब्गलहरु भन्दा भिन्न र राम्रो लाग्छ मलाइ ।

१२ आगामी ब्लग भित्र ब्लगमा कसलाइ बोलाउने सल्लाह दिनुहुन्छ?
एउटा बिचार है, तपाईहरु दौँतरीमा लेख्‍ने पनि धेरैजना हुनुहुन्छ, कहिलेकाही आफ्नै दौँतरी परिवारका लेखकहरुलाई पनि यसमा राख्‍न मिल्छ कि ? । हामीलाई पनि तपाइहरुको बारेमा अझ बढी जान्ने अवसर मिल्थ्यो नी !

१३ तपाइलाइ भन्न मन लागेको तथा मैले सोध्न छुटाएको त्यस्तो केही कुरा छन कि?

खासै केहि छैन, यस क्षेत्रमा भर्खरै जस्तो प्रवेश गरेको मलाई आफ्नो कुराहरु राख्‍ने मौका दिनु भएकोमा धेरै धेरै धन्यवाद । साथै दौँतरीको उत्तरोत्तर प्रगतीको कामना गर्न चाहन्छु ।



हराउदै गएको अस्तित्व

आचार्य प्रभा
(अमेरिका )
जब म पसलमा सजिएको हुन्छु
बिभिन्न रङमा सुसज्जित भएर
मेरा शरीरभरी नानाथरिका बुट्टाहरु कुंदिएका हुन्छन
बत्तुहरु जडिएका हुन्छन म बिभिन्न आकरमा बिभाजित हुन्छु
सुरिलो,होँचो,गोलाकार वा अरु कुनै आकार ...........,
आउँछन ग्राहकहरु अनी पर्छन मक्ख !
मलाई सुम्सुम्याउँछन्,
मेरो तारिफ गर्छन्,
मेरो बनावटमा दँग पर्छन,
अनी.... कल्पना गर्छन्
कोठाको कुनै टेबलमा मलाई सजाएर
त्यो कोठाको सौन्दर्याता बढेको ,
त्यो क्षण,त्यो पल,म सबैको
आकर्षणको बस्तु बन्छु
जस्ले मलाई पैसामा मोलेर लैजान्छन ।
अन्त्यमा.... जब म
चाहनाको अन्तिम लक्ष वा स्थानमा पुग्छु
मेरा घाँटीभरी कोच्याएर
जब बिभिन्न फूलहरु सजिन्छन
रातो,पँहेलो,नीलो वा अरु कुनै ........
सयपत्री,गोदावरी,गुलाफ वा अरु केही ......
तब..... मेरो आकर्षण फूलहरुको सौन्दर्यमा
परिभाषित हुन्छ ,
मेरो अस्तित्व फूलहरुको अगाडी
अस्तित्वहिन हुन्छ ,
अनी म फूलहरुको उपस्थितिमा
पलायन हुन्छु ,
म..... केवल फूलहरुको भरिया मात्र हुन्छु ,
अनी हुन्छु उस्को श्रिङारको रक्षक
तब...... म निस्सार,निस्साहाय,निरीह बन्छु
मेरो अस्तित्व अनी महत्व राख बन्दै जान्छ
अनी...... म सबैको सामिप्यताबाट
ओझेल बन्दै जान्छु ,
आफ्नो हराउँदै गएको अस्तित्वसँग
आँफै बिरानो बन्छु,
बस बिरानो बन्छु ।