May 20, 2011

विष वृक्ष रोपेर अमृत फल्छ र ,बाबुरामजी ?


लमजुङ दुराडाँडा पाणिनी संस्कृत मा वि का विज्ञान र गणित विषय शिक्षक तथा नयनियुक्त प्रधानाध्यापक मुक्ति अधिकारीको रूखमा बाँधेर गोली ठोकी मारिएको फोटो सायद नेपाली मिडियामा सर्वाधिक सर्कुलेटेड फोटो मध्ये एक हो । यो फोटो माओवादी कथित जनयुद्धका समयमा असहमतहरू विचार बोकेर बाँचेका ग्रामीण तहका चेतनशिल शिक्षक र सामान्य राजनैतिक कार्यकर्ताहरूको तत्कालीन समयमा हविगत के-कस्तो थियो भन्न काफी छ ।
तर, माओवादी शान्ति प्रकृयामा आइसके पछि , लमजुङका ती शिक्षक मुक्ति अधिकारीको हत्या जायज थियो त ? भन्ने प्रश्न माओवादी नेता बाबुराम भट्टराईलाई एउटा टेलिभिजन साक्षात्कारका क्रममा सोधिएको थियो । बाबुराम भट्टराईले सो प्रश्नको गोलमटोल जवाफ दिँदै भनेका थिए ‘ व्यक्तिगत रूपमा मुक्तिसरको हत्या गलत थियो होला , तर इतिहासले समीक्षा गर्दा कतिपय हत्याहरू आवश्यक हुन्छन्’ । विपक्षीहरूले समेत मूर्धन्य विद्वान ठानेका भट्टराईको त्यो खालको जवाफ , माओवादी हिंसा र हत्याका दुष्कर र दुर्नाम अतिचारहरूको रक्षाका खातिर प्रकट गरिएको एउटा अमानुस तर्क थियो । हत्या, हिंसा र जोरजुलुम कै कारण माओवादीले नेपाली जनमानसमा त्रास र हाहाकार मच्चाउन सफलता प्राप्त गर्‍यो र त्यही त्रास र आतंकका छायामा सम्पन्न चुनाबमा ऊ सबैभन्दा ठूलो राजनैतिक दल बनेर समविधानसभा सम्म आइपुग्यो । धेरै नेपालीले उसका पक्षमा यस कारण पनि मत दिएका थिए कि , ठूलो दलको जिम्मेवारी वोधले उसले आफ्ना हिंसा र दुष्कर्मका उच्छृङ्खलताहरू त्याग गर्ला । तर त्यसो भएन , माओवादी ठूलो दल भएर पनि उसका युद्धकालीन उन्मादी व्यवहारहरू वाइसिएल , छापामार र हिंस्रक कार्यकर्ता मार्फत प्रदर्शन भइरहे । अरू माथि , हत्या र हिंसाको जोरजुलुम कायम रहँदासम्म माओवादीले भन्ने गर्थ्यो ‘ यो बिरोधीहरूले चलाएको हौवा हो ‘ । तर गएको हप्ता माओवादी मुख्यालय रहेको कोटेश्वरको पेरिसडाँडाबाट पार्टीका महासचिव दिनानाथ शर्मा मार्फत आफ्नै पार्टीका मजदूर नेता तथा सभासदको नेतृत्वमा पार्टी कै शिर्षतम् मध्येका नेता डाक्टर बाबुराम भट्टराईको हत्याको षडयन्त्र बुनिएको समाचार प्रेस वक्तव्य मार्फत सार्वजनिक गरियो , त्यति बेला लाग्यो संसार साँच्चै गोलो छ । अरूलाई गरेको प्रहार घुँएत्रो झैँ फर्किएर आफ्नै थाप्लामा बजारिन पनि सक्दो रहेछ !