August 6, 2011

पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला समिक्षा तथा Archive

अगष्ट ६ मा नेपाली समय अनुसार  बिहान १० बजे पाँचौं अन्तर्राष्ट्रिय नेपाली ब्लगर भेला संचालन भएको थियो । दौंतरी ब्लगमा भएको उक्त अनलाइन भेलामा ५० जना जति ब्लगर जम्मा हुनुभएको थियो भने आउने र जाने क्रममा ३० जना सम्म एकै पटक भेला हुनुभएको थियो । यस पटकको भेला सभापति या स्वागत भाषण नराखिकनै फरक तरीकाले गरिएको थियो । नेपाल, जापान, युरोप, अमेरिका आदि ठाउँबाट ब्लगरहरु भेलामा आउनुभएको थियो भने ब्लगर दिलीप आचार्य प्लेन चढ्ने क्रममा एयरपोर्टबाटै भेलामा आउनुभएको थियो । व्यक्तिका विचार फरक भए जस्तै हरेक ब्लगरका मत पनि फरक थिए भने केही कुरामा भने सबै ब्लगर सहमत भएका थिए ।

भेलामा कपी पेस्ट को अचुक सजाय के होला ? कसरी इफेक्टीभ ब्लगर बन्ने ? ब्लगमा समस्या के के छन् ? ब्लगबाट क-के फाइदा लिन सकिन्छ ? जस्ता कुरा भएका थिए । साथै केही ब्लगरहरुले ब्लगरहरुको बर्गीकरण गरीनुपर्ने र ब्लगरको आचार संहिता लागू गरिनुपर्ने आदी जस्ता कुरा राख्नुभएको थियो ।
ब्लग सामग्री चोरीको चर्को मारमा पर्नुभएका नेपाली ब्लगरहरुले अब भने केही राहत पाउनुहुनेछ।

कपी पेस्टको बिरुद्दमा लागेको फेसबुक संजालबाट अब भने ब्लग चोरीलाई धेरै हदसम्म हटाउन सकिने भएको छ। इफेक्टीभ ब्लगर बन्न मिहिनेत, भाषामा ज्ञान, मौलिकता आदी हुनुपर्छ भनेर ब्लगरहरुले स्पष्ट पार्नुभएको थियो। भाषिक शुद्धताको लागि ध्यान दिने कुरा पनि भएको थियो । नयाँ तथा पुराना ब्लगरलाई ज्ञान दिने नेपाली ब्लग भित्तोको पनि प्रशंसा भएको थियो । नेपाली ब्लगरहरूबीच संवाद बढाउन गुगलको नेपाली ब्लगर ग्रुपलाई थप ब्लगरमाझ पुर्याउने पनि सल्लाह भएको थियो । केही ब्लगरहरु ब्लगबाट जिबीको पार्जन पनि गर्न सकिन्छ भनेर देश बिदेशका ब्लगको उदाहरण दिनुभएको थियो । ब्लगरहरुले त्यस्ता केही उपाय पनि सिक्ने अबसर प्रदान गर्नुभएको थियो ।

चिनिएका तर प्रत्यक्ष गफ नभएका ब्लगरहरुले संवाद गर्न पाउनुभएको थियो भने ब्लगको उद्देश्य र उपादेयितामा भिन्न मत हुनेबाट ब्लगको आ-आफ्नो तरीकाबाट ब्याख्या गरिएको कुरा निकै रोचक र घोचक भएको थियो । ६-६ महिनामा हुने ब्लगर भेला अर्को भेला जेनवरीमा हुनेछ ।