October 5, 2009

खेर गएका नमस्कार

- जोतारे धाइबा

छिमेकी मुलुकसँग देशको व्यापार घाटा चुलिएर अरबौंको नोक्सानले राष्ट्रिय अर्थतन्त्र भ्वाङ पर्दै गएको सुनिन्छ बेलाबेला । व्यापारमा घाटाको कुरा उसो त नौलो होइन । नाफादायक चोक्टा खान हिँडेकी बूढी घाटाको झोलमा डुबेर मर्नु सामान्य कुरा हो । यसरी घाटा हुनु व्यापार खेर जानुबराबर हो । खेर गएका धेरैधेरै व्यापार जस्तै अचेल नमस्कार पनि खेर जान थालेको छ । हेर्ने हो भने यही नमस्कार मानव समाजको लागि ठूलो उपहार हो । शिष्टाचार र आदरभाव प्रकट गर्ने माध्यम नमस्कार खेर गएपछि नमस्कारकर्तालाई घाटा लाग्नु स्वाभाविक हो । यस्तै घाटाको कारोबार गर्ने नमस्कार ठाउँ न ठहर त्यसै खेर गएर जिन्दगीमा बेलाबेला ठगिनुपर्छ ।

नमस्कारको नशा लागेपछि नमस्कार नै गरुँगरुँ हुन्छ जहाँ पनि जसलाई पनि । यसैले मानवसमाजमा हार्दिकता र आदरभाव प्रकट गर्ने सरल माध्यम भए पनि नमस्कारको खेल जूवाभन्दा कम नशालु छैन ।