
तर यस्तो राजनीतिको मसला मात्र मन पराउने पारखी किन भयौं त हामी ? कता कता छाती भित्र दुखेझैं प्रश्न उभियो ।
गिरिजाबाबु पनि रहेनन् । उनी स्वर्गे भएको भोलिपल्टदेखि नेपाली राजनीति अचानक सल्बलाउन थाल्यो । एकातिर उनको सपना पूरा गर्छु भन्दै कांग्रेसदेखि माओवादीसम्मले कसम खान थाले भने उता तीन वर्षदेखि खारेजीमा परेका राजाले समेत राजतन्त्र समाप्त भएको कुरा हावादारी ( काल्पनिक) भनेर चुनौति दिन थाले । उच्च स्तरीय राजनैतिक संयन्त्रमा पार्टीहरू बीच स्वर्गिय गिरिजाबाबुको उत्तराधिकारी को हुने भन्ने मुद्दामा हानथाप हुन थाल्यो भने अकंटक कोईरालाको उत्तराधिकारी को हुने भन्दै उनको पार्टी नेपाली कांग्रेसमा पनि नेताहरू बीच लुछाचुँडीको अवस्था पैदा हुन थालेको देखियो । नेपाली राजनितको पछिल्ला २० वर्ष केनद्रमा रहेका कोईरालाको अवसानले एउटा शून्यता सिर्जना गर्नु स्वाभाविक पनि होला । यसकारण राजनीति यसरी सलबलायो कि अचानक, सरकार ढाल्ने , ढल्ने , नया बन्ने वा बन्न नदिने खालका खेलहरूको एकै चोटि रडाको चलिरेहको महशूस हुन थाल्यो ।
संविधान सभाले संविधान बनाउने दायित्व लिएर काम थालेको समय साढे २२ महिना भत्ता वितरणमा बितीसक्यो र अब यो सभाका केवल डेढ महिना दिन बाँकि रहँदा , संविधान कति लेखियो कसैलाई थाहा छैन । तर, निर्धारित मितिमा संविधान बनाइन्छ, बन्दैन, कुनै हालतमा बन्दैन , हैन सहमति भए दशै दिनमा पनि बनाइन्छ भन्ने खालका विविध खुद्रा दावाहरूको होहल्ला बीच देशको राजनीति हरेक तरहले किंकर्तव्यबिमुढ बनेको देखिन्छ । अब बचेखुचेका डेढ महिनामा कतैबाट रेडिमेड ड्राफ्ट बनेको संविधान छापेर ल्याउन पनि नभ्याइने स्थिति रहेको भए पनि नेपाली राजनीतिका विदुषक पात्र वा जोकररूपी नेताहरूले विविध खालका तमाशे दावाहरू गर्न छाडेका छैनन् । गाँठी कुरा हो, दलहरूको बीचमा सहमति नभई संविधान बन्दैन मात्र हैन संविधानको एक अक्षर लेखिन पनि सम्भव छैन र दलहरू बीच सहमति हुने कुराको सम्भावना सुदूर क्षितिजसम्म पनि देखिएको छैन । संविधान बनाउने मिती घर्किँदो छ तर खेल सत्तामा को जाने ,सत्ताबाट कसलाई पछार्ने वा कसकससंग समीकरण बनाउने भन्नेमा पार्टीहरूको सारा ध्यान केन्द्रित छ ।
माओवादी संविधानसभाको सबैन्दा ठूलो दल हो तर ऊ आफ्नो प्राइभेट सेनाको बलमा भोलि गर्न सकिने एकल सत्ता कब्जा योजनाको राजनीतिक उद्देश्य च्यापेर बसेको छ । अरू दलहरू उसलाई यही विश्वासपूर्ण आशंकाको नजरियाले हेर्छन् तर आफ्नाप्रति अरुको यस्तो सोचाइ वा हेराइ हुनुहुन्न भनेर उसले यो आशंका निवारणका लागि कुनै प्रयास गरेको पाइन्न । बरू, कुनै दलहरूको साथ लिन नसके पनि वा नचाहे पनि उसले सरकारको दावा आफ्नो हुनु पर्ने रट छाड्न सकेको छैन । सरकार गठन गर्न चाहिने ३०१ सदस्यको समर्थन भएको सामान्य बहुमत साबित गर्न पनि नसक्ने तर सरकार आफ्नै हुनुपर्छ भन्ने विद्रुप दावा लिएर माओवादी आफ्नो सरकार नभएसम्म संविधान बन्दैन भन्ने कुरो दोहराउँदै , संविधानसभाको आयु काउण्टडाउनमा उद्यत छ । उता , भएभरका खुद्रा मसिना दलको जसोतसो बहुमत खडा गरेर आँफै निर्वाचनामा नराम्ररी पराजित बनेर पनि कागतालीमा प्रधानमन्त्री भेट्टाएका माधव नेपाल र उनको सरकारले माओवादीको समर्थन बिना संविधान बनाउन नसक्ने कुरा लगभग निश्चित जस्तै छ । स्वयं पराजित माधव नेपाल, उनको स्वयं बिभाजित पार्टी र फुटेको घैँटोका टुक्रा झैँ माओवादीको रिसले बलात् जोडिन पुगेका २२ दलहरूको यो अकर्मण्य गठबन्धनले , संविधान बनाउन सकेन र सक्दैन भन्ने कुरा बिगत १० महिनाको यिनको कार्यकालले प्रमाणित गरिसकेको छ । अहिलेको सरकार र सरकारमा बसेका मन्त्रीहरू केवल मौका पाउञ्जेल चुस्न र ढाडिन मुलुकरूपी गौ प्राणीका शरीरमा टाँसिएका कीर्नाहरू हुन् र यिनीहरूबाट कुनै कुराको उपति हुने वाला छैन भन्ने कुरा जगजाहेर हुँदाहुँदै पनि यसको अर्को गतिलो विकल्प देखा पर्न नसक्नु , वर्तमान नेपाली राजनीतिको उदेक लाग्दो पाटो हो ।
माओवादी भन्दैछ सरकारमा ऊ स्वयं नहोउञ्जेल संविधान बन्दैन र माओवादी सत्तासीन बने पछि मात्र बन्न सक्छ । तर संविधानसभा गठन भएपछिका तत्कालीन ९ महिना जति माओवादी नेतृत्वमा सरकार हुँदा पनि सिन्को नभाँचिएको त हामीले देखिएकै हो । सत्ता बाहिर वा सत्तामा रहँदाका बखतका माओवादी कार्यशैलिको उपयोगितावादी तरिकाले आफ्ना लागि सहकर्म गर्न लायक सकारात्मक पात्रहरू बिरलै उसले बाँकि राखेको पाइन्छ ।तसर्थ, अब माओवादीको सरकार बन्यो नै भने यो भन्दा बढी के नै होला र भन्ने प्रश्न स्वाभाविक बन्छ ।माओवादीको विचार र व्यवहार यस्तो छ कि उसले मित्र कमाउन र मित्रहरू संग सहकार्य गर्न भन्दा जोरजुलुम गर्नु र शत्रू कमाउनुलाई क्रान्तिकारिता ठान्छ । शत्रू कमाउने वा अरूलाई शत्रू घोषणा गरेर उसका बिरूद्ध सदा शत्रूवत् संघर्षको सम्बन्धमा खेलिरहन मन पराउने यस्तो शक्तिमा जन्मजात सहकार्य, सहमति र समन्वयको सर्वथा अभावको स्वभाव हुनु अनौठो कुरा भएन । अत: माओवादीले गणितिय विधिबाट बहुमत साबित गरेर आफ्नो नेतृत्वमा कथंकदाचित सरकार बनाइहाल्यो भने पनि , संविधान लेखन वा निर्माणको गहन मुद्दामा एक फड्को चल्न नसकिने परिबन्द फेरि सिर्जना हुँदैन भन्ने आधार कत्ति पनि देखिएको छैन । जुन शक्ति संसद भित्र ४०% स्थानको सबैभन्दा ठूलो दल रहेर पनि अरू केही गणितिय मतहरू समीकरणमा ल्याउन नसक्दा सत्तामा पुग्न नपाएर तड्पिइरेहको छ , उसले सर्वसम्मत वा दुई तिहाइ बहुमतले अनिवार्य अनुमोदित भएर लेखिनु वा पारित गरिनु पर्ने संवैधानिक हरफहरूमा सर्वपक्षीय समर्थन जुटाउन कसरी सक्ला ? यो किमार्थ कल्पना गर्न सकिन्न ।
प्रष्ट छ , माओवादीको नेतृत्वको सरकार नबनेसम्म संविधान बन्दैन किनभने गणितिय बहुमतले जोडिएका २२ दल मिलेर हिजोका बिद्रोही शक्ति माओवादीलाई परगेलेर संविधान बनाउन सकिँदैन । र माओवादी नेतृत्वको सरकार बनेपछि पनि माओवादीका कारणले संविधान झनै बन्दैन किनभने उनीहरूमा सहमतिय राजनीतिको संस्कार र अभ्यास दुबै छैन । भनेको वा चाहेको जस्तो एकदलीय संविधान बन्ने कुरामा कुनै अर्को दलले उनीहरूको विचारमा सहमति दिने सम्भावना पनि कतै छैन । अत: , माओवादीले चाहे माधव नेपालकै नेतृत्वमा पनि संविधान बन्ला किनभने , माधव नेपालाई संविधानसभामा संविधान समतिको अध्यक्षता गर्न नै स्वयम माओवादी नेता प्रचण्डले ल्याएका हुन् । कालान्तरमा यो सम्बन्ध तीति बन्यो कुरा अर्कै भयो ।
तर , माओवादी वा कुनै एक वा त्योभन्दा बढी ठूला दलहरूले असहयोग गरेका वा नचाहेका खण्डमा संविधान बन्दैन भन्ने कुरा स्पष्ट छ । विश्वास र अविश्वास प्रस्ताव , सत्ता आरोह र अवरोहका खेलरूपी घनचक्कर भित्र संविधान निर्माणको मुद्दा निरिह च्यापिइरहेका यो बखत भन्न करै लाग्छ ' संविधान बन्दैन किनभने यो आँफै बन्दैन र बनाउनेले यसका बारेमा सोचेकै छैनन्' । संविधान बन्न सहमति चाहिन्छ , र हुनै नसक्ने भनेकै सहमति रहेको यो मोडमा संविधान आँफै बन्ने कुरै भएन।
"मौका सबको मिलता है" भन्ने झण्डै एक दशक पहिले हेरेको सत्या भन्ने हिन्दी फिल्मको डायलग धेरै पटक सान्दर्भिक भएको देखेको छु । अहिले पनि एउटा दर्हो मौका आएको छ नेपाललाई सांकेतिक रुपमा भए पनि भारतलाई घच्घच्याउने मेशिन रिडेबल पासपोर्ट छपाउन नदिएर, र यसमा अहिलेसम्म उत्कृष्ट खेलेको छ लेखा समितिले । नेपालको राजनीतिमा गन्हाउन हतारिएकी र देशलाई बाबुको लाली पप ठान्ने महा महिम सुजाताको मुखलाई नसके पनि हातलाई सम्म अहिलेसम्म कन्ट्रोल गरेको छ लेखा ले ।
अहिलेको दुनियामा अधिकांश देशहरु बिचको सम्बन्ध, सामिप्यता या अन्तर्देशिय मित्रता आर्थिक कुटनीति र नाफा नोक्सानसंग जोडिएका हुन्छन । यसो भनेर सांस्कृतिक र अन्य किसमका सम्बन्धहरुको अर्थै छैन भन्न खोजेको हैन । अमेरिका र युरोप एकदम घनिष्ठ मित्रहरु भए पनि यिनिहरुको मित्रताको चुरो बेला बेलामा माइक्रोसफ्टलाई ठेगान लगाउने युरोपको कारवाही र एअरबसले पाएको अमेरिकी सेनाको इन्धन भर्ने ठेक्का खोसिदिने अमेरिकी चलाखी जस्ता कुराहरुले देखाइरहन्छन । यसको बदला केहि वर्ष भित्रै युरोपले चुकाउने छ किनकि "मौका सबको मिलता है"। अझ भाषा र भुगोल जोडिएको जर्मनीले स्विस ब्यांकमा रहेका आफ्ना नागरिकहरुको गोप्य खाता विवरण चोर्न एउटा इटालियन ह्याकरलाई मिलियन डलर दिन्छ , यतिबेला कानुन वा छिमेक भन्दा आफ्नो स्वार्थ हेरिन्छ । किनकी "पैसा बोलता है" !
हो अहिले नेपालले यदि भारतले आफुलाई थिचो मिचो गरेको छ र आंफुलाई समान व्यवहार गरेको छैन भन्ने लाग्छ भने मौका यहि हो । नेपाली जनताले भारतलाई हामीले विश्वास गर्दैनौं भन्ने संदेश दिन चाहन्छन भने हो, मौका यहि हो । भारतले जहिले पनि नेपालले जे भने पनि मान्छ भन्ने ठान्छ भने त्यसको जवाफ दिने मौका यहि हो, सांकेतिक रुपमा भए पनि । अझै पनि हैन टाइम छैन छिटो चाहियो, अब छिमेकि त हो उधारो भए पनि उसैले दिन्छ भनेर अर्को पटक पुन आंगनमा „सुसु“ गर्ने ठाउं दिने हो भने भन्नु केहि छैन नत्र अहिले नेपालले यो काम भारतलाई नदिएर अन्य प्रतिस्पर्धीलाई दिएको खण्डमा भारतले एक पटक पक्कै सोच्नेछ , किनकि "पैसा बोलता है" । र यो भन्दा अर्को दर्हो र सुरक्षित आर्थिक-कुटनितिक मौका झ्याप्प नआउन सक्छ । नबिर्सौं एउटा कोडाक जस्तो एउटा फोटो सम्बन्धी सामाग्री बनाउन नेपाल आएको कम्पनीलाई भारतले "भ्रुण" समेत नष्ट हुने गरी मिल्काइदिएको । जब भारतले हामीलाई उंभो लाग्न नदिन यस्ता तिकडम गर्छ भने हामीले मौकामा जवाफ दिन पर्दैन ?
तर अचम्म सिमानामा झण्डा गाड्ने र एस एस बीको सिपाहीको लाठि खाएर "राष्ट्रको इज्जत राख्ने" नेताहरु हुन वा खुकुरी नचाउंदै कालापानी पुग्नेहरु हुन यस विषयमा मौन छन । अरु त अरु भारतीयहरुको हुण्डी नखाने पत्रकारहरु पनि मौन छन । किन क्वारेन्टाइनमा थन्किनु परेका ट्रक, कोडाक आदिका आफ्नै हातले लेखेका कहानी पनि विर्सन्छन नेपालि पत्रकारहरु ? के नेपाली पत्रकारहरुको स्मरण शक्ति ९० वर्ष नाघेका गिरीजा प्रसादको भन्दा क्षीण छ ? सबैले बुझ्नु पर्ने हो कुरा हो एक पटक नेपालले भारतलाई जवाफ दिनै पर्छ । र जवाफ रेलिङ भांचेर, झण्डा गाडेर, खुकुरी हल्लाएर वा उपनामहरु दिएर हैन शिष्ट पाराले दिनु पर्छ किनकी "पैसा बोलता है" र सानो पैसाको ठुलो बोलीले पनि दर्हो संदेश दिन सक्छ । हैन भने यस्तो बेलामा पनि त्वं शरणं जाने हो भने त्वं शरणंबाट माथि आउन धेरै समय लाग्न सक्छ या असंभव पनि हुन सक्छ ।
लेखक विजयकुमार श्रेष्ठ
धादिङ्ग, हाल जोइन्ट वेस बलाद ईराक
परा पुर्वककालमा आफनो शरिरलाई वस्त्र विहिन बनाएर हिड्ने मानव जातिहरु केहि समय पछि मनका भावनाहरुलाई पविर्तन गर्न तिर लागे र केहि अङ्गलाई ढाकछोप गरेर हिड्दामा कस्तो होला भन्ने कौतुहलतालाई मनमा खेलाउन थाले । आफनो समबेदनशिल अङ्गहरुलाई प्रत्यक्ष नजरबाट हेर्दा जति असोभानीय देखिन्थ्यो त्यहि अङ्गलाई कृतिम साधनको सहायताले छोपेर समयले मागे अनुसार प्रदर्शन गर्दा अझ बढि शोभायमान देखिन्छ भन्न तिर सोच पुर् याउन थाले । परा पूर्वकालमा मानव जातीहरुले आफनो बल बुद्धीले भ्याएसम्मको उपाय लगाएर बन जंगलका पात पतिङगर र बोक्राको सहायताबाट आफनो शरिरलाई ढाक छोप गर्न तिर लागे । मानव जातीहरुले आफनो शरीर ढाक्नको लागी विभिन्न उपाएहरु लगाएर देखाउन नहुने अङ्गहरुलाई रुखका बोक्राहरुको सहायताले छोपेर मानव जातीको पहिचान गराउन सफल भएका थिए । यस्तै क्रममा आफनो आनी बानि पनि परिवर्तन गर्दै गए । हरेक दिन नयाँ नयाँ कुराको सृजनाको उत्पतीहरु
गर्न तिर कम्मर कसेर लागे । केहि समय पश्चात नै ति मानव जातिहरुले आफनो वंशसमाजको परिकल्पना गर्न थाले । महिला र पुरुषको भुमीकाहरु अलग अलग हुनु पर्छ भनेर कामको विभाजन तिर लाग्न थाले । एक अर्कामा देखा देखी सहबास गर्ने मानवहरु केही समय पश्चात एक अर्का देखी सर्माउने दकस मान्ने हुन पुगे र एकले अर्कालाई माया ममता र आदर भावले हेर्न तिर लागे । त्यसको केहि समय पश्चात गास वास र कपासको आवश्यकतामा एक अर्कामा सहयात्री भएर लाग्न थाले । केहि समय पश्चात नै परिवारको भुमीकामा बाधिन सफल हुन पुगे । हिजोको जंगली जिवनमा भोगेका तिता मिठा कुराहरुलाई सम्झेर कहिले काहि सपना हो कि विपना हेा भन्ने तिर सच्ने गर्दथ्यो । जव परिवार भएर एक अर्कालाई जिम्मेवारिको भारि बोकाउन थाल्यो त्यस पछि हरेक कुराको सृजना तिर आप्से आफ उजागर भएर लागे उनीहरुले शरिर ढाक्नुको महत्व र परिवार भएर बस्नुको महत्वलाई विस्तारै बुझदै गए । केहि समय पछि समाजको सृजना तिर लागे र मानव जातीको विकास गराउन सफल भए । मानिसलाई एक अर्कामा सहवास गर्न भाई चाराको नाता लगाउन देखि लिएर सबै कुराको विकाश गराउन सफल भएका थिए हाम्रा पुर्खा । त्यस पछि समाजको जग बसाली सके पछि एक अर्कामा तेरो र मेरो भन्ने कुराको प्रार्दुभाव हुन गयो । हरेक कुराको जगेर्ना गर्न तिर लागे र भोलीको लागी चाहिन्छ भन्ने सोचको पछाडि अडिग भएर आफनो आफनो परिवारको भविष्य प्रति चिन्तित भएर एउटा पुर्ण विकसित समाजको उत्पति गराएर पृथ्विमा मानव समाजको बस्ती बसालेका थिए ।
समाजको सृजना भए पछि एक अर्कामा नाता गोता र मान सम्मान जस्ता कुराहरुको विकसित हुदै गयो । हिजो वस्त्र विहिन भएर हिड डुल गर्ने मानिसहरु केहि समय पश्चात आफनो शसिरको गोली गाठा भन्दा माथिको भाग कसैले देख्यो भने सर्माउने हुन लागे । महिला र पुरुष सगै बसेर कुरा कानि गर्नसम्म हिचकिचाउन थाले । सानाले ठुलालाई माया ममता गर्ने दिन दुखीलाई आफुले सकेको सहयोग गर्न तिर लागेर भाई चाराको परिचय देखाउन सफल भएका थिए । आफनो धर्म सास्कृती अस्तीत्वको जगेर्ना गर्नको लागी हरेक कुरामा बन्धनको ताल्चा झुन्डयाउन थाले । एक आपसमा मिलेर गाउँ समाज र देशको विकाशतिर लाग्न थाले । समय वित्दै गयो हरेक कुरामा परिवर्तन भन्ने शब्दले मानिसहरुलाई गाज्न थाल्यो । आज यसो गरे कसो होला भोली यसो गर्दा कस्तो होला भन्ने कौतुहलतामा गाजिन थाल्यो । केही वर्षसम्म एकले अर्कालाई आदर मान मर्दनले सत्कार गर्न तिर लागेका थिए । समयले कोल्टे फेर्दै गयो ।समयले कोल्टे फेर्दै फेर्दै आधुनिक र विकसित परिभेषमा पाईला टेक्न सफल भए । मानिसहरु दिन डाहादै धनि बन्ने र आफु शक्तिशालि बन्ने सपनाले गाज्न थाल्यो । अहमताको रोगको समाजमा विजारोपण हुन गयो । कसरि हुन्छ एकले अर्कालाई तल पारेर दमन शोषण गर्ने परिपाटि मानव समाजमा फैलीन थाल्यो । हरेक दिन एकले अर्कालाई होच्याउने नराम्रो दृष्टिले हेर्ने र धन दौलतको लागी गिद्धे सोचाईमा लागेर आफनो कोहो अर्का कोहो भन्ने नजरले पनि हेर्नलाई छाड्ने परिभेषमा पुगे । परिवार के हो समाज के हो र कतिसम्म मान मर्दनको सस्कारलाई कुल्चनु हुन्छ कतिसम्मलाई कुल्चनु हुन्न भन्ने कुराको पहिचान हुन छाडा्यो । हिजोका ति जंगली युगका मानवहरुको परिस्थिती र परिभेषसँग जुधेर बाध्य भएर खुलम खुल्ला वस्त्र विहिन भएर गुजारा चलाएका थिए भने आज भोलीका मानव जातीले धन दौलतको धिनलाग्दो लाचारिमा फसेर धृणित कामहरु गरेर जंगली स्वाभाव देखाई रहेका छन । अनि भन्ने गर्दछन स्वातन्त्रताको सदुपयोग गरेको र मौलिक हकअधिकारको पहिचान देखाएको भनेर फुक्ने गर्दछन् । आफनो स्वातन्त्रताको हकलाई समाजमा प्रस्तुत गरेको भन्दै समाजमा धिनलाग्दा प्रबृद्धिका सुचना दिन आजका नर नारिहरु पछि परेका छैन । बेमौसमी फल फलाएर गाउ शहरमा दुर्गन्धको हावा फैलाउन सफल भएका छन् हाम्रा शिक्षित परिभेषमा मौलाएका अस्थिपाजरले भरिएका कोमल रुपी बासनादार कोमली । लुकाएर त्यो पनि दुई जनाको सहमतिमा राजी भएर गर्ने कार्यलाई सन्चार माध्यममा प्रस्तुत गराएर दिन डाहडै खुल्लम खुल्ला प्रतिस्पर्धामा लाग्न थालेका छन् । को भन्दा को कम भनेर आफनो गुप्ताङ्ग प्रर्दशनमा लागेर राता रात कुवेर बन्ने सपनामा डुबेर गुप्ताङ्गलाई खेल मैदान बनाएर हरेक दिन नयाँ र नौलो कार्य सृजना गर्न तिर लागेका छन् । अनि भन्ने गर्दछन यो त मेरो मौलीक हक अधिकारले दिएको कुरा हो भनेर पछिसम्म परेका छैनन् ।
के यहि हो त नौलो परिवर्तन नयाँ नेपालमा जो मानिसहरु देशको गहनाको रुपमा स सम्मान पाएर देश र समाजको हित हुने कुरामा लागेर भोलिको पुर्खालाई नयाँ सन्देश दिनु त परै जाओस जनावरले पनि नगर्ने घृणित कार्य गरेर गाउँ समाज र देशको बेईज्ज हुने गरि आफनो मौलिक हक अघिकारको सदुपयोग गर्न तिर कम्मर कसेर लाग्ने गरेका छन् । हावा नचलीकन पात अवश्य हल्लिदैन भन्ने उखान सर्वबिदितै सुन्दै आएका छौ । देशको गहना स्वारुप ससम्मान पाएका मानिसहरुले मनलाग्दी गर्दै हिड्ने अनि मेरो आफनो कुरामा किन अरुको टाउको दुखाई भनेर अछुतो बन्न खोज्ने प्रबृद्धिले नयाँ नेपालमा जरा गाडि सक्यो । अब देशमा यसरि नै खुल्लम खुल्ला रुपमा छाडा छोड्ने हो भने भोली गुप्ताङ्ग प्रदशनिको होडिङ बोर्डले बजारमा तहल्का मच्चाउन नसक्ला भन्ने कुरामा दुई मत छैन । त्यसैकारणले देश परिस्थिती अनुसार चल्न र चलाउन सक्नु पर्ने कानुनको पनि आवश्यकता परि आएको छ । त्यसैले गर्दा अब बन्ने सविधानमा सुरा सुन्दरिहरुको सम्भोगको विषमा पनि भिन्नै कानुनको आवश्यकताको महसुस नयाँ नेपालको नयाँ सविधानमा व्यावश्था गरिर्नु पर्ने आवश्यकता देखिन आएको छ । अनि के नै भयो त नयाँ परिवर्तन हिजाका पुर्खाहरुले सन्चार माध्यमको सहारा लिन सक्ने थिएन भने आजका नव जागरुक देशको गहना कहलाएकाहरुको चर्तिकलामा परिवर्तन देख्न नेपालीले पाएका छौ । नराम्रो काम आफै गर्ने अनि पार्टि विसेक बनाएर अपहरण गराएर कुकृत्य लुकाउन खोज्ने यहि नेै हो हिजो र आजका परिवर्तनले दिएका नयाँ अनुभुती हो भनेर भन्नु शिवाय हामी जनतालाई अरु आभास हुने छैन ।
दीगो शान्ति , लोकतन्त्र र गणतन्त्र प्राप्तिको चाहनामा मुखरित जनआन्दोलन र जनताको विश्वास, नेपाली राजनैतिक दलहरूले पनि अंगिकार गरेकै हुन कि भन्ने आँकलनमा नेपाली जनता थिए । कांग्रेस, एमाले र माओवादी समेतले पुराना गल्ति र भूलहरूलाई फेरि नदोहोराउने प्रण गर्दा , हामी जनता पुलकित भएका थियौँ र सोचेका थियौँ अबको राजनीति ईमान्दारितापूर्ण लोकतान्त्रिक आचरण सहितको हुनेछ । तर अपशोस, दलहरू बद्लेनन् र उनीहरूको प्रण खोक्रो र फोस्रो मात्र प्रमाणित हुँदै गयो भने हामी कसैको गलत आश्वासनमा कति सजिलै फुस्लिन्छौँ र फुरूङ्ग बन्छौँ भन्ने कुरा पनि प्रमाणित भयो । यो बुझ्न कत्ति अप्ठ्यारो छैन कि राजनैतिक दलहरूको , बेइमानी जारी रहनुका पछाडि उनीहरूको ‘ मै खाऊँ , मै लाऊँ’ भन्ने प्रवृत्ति जिम्मेवार छ । यस्तै लुब्ध प्रवृत्तिका कारण दलहरू राष्ट्रिय र नागरिक मुद्दामा सहमत बनेर मुलुकको अनुहार फेर्ने कुरामा एकमत हुन कहिलै सक्दैनन् र परस्परमा अविश्वास को खाडल सिर्जना गर्दै मुठभेडको माहौलमा रम्न मन पराउँछन् । आफ्नो दलको मात्र सदैव एकलौटी वर्चस्व कायम गर्ने राजनीतिक सोच लिएर राजनीतिमा लागेकाहरू जब लोकतन्त्रको नक्कली आवरण धारण गरेर आफ्ना कुत्सित निरंकूश मुद्दा खोज्न लागिपर्छन, सामान्य जनताले चिन्न सक्दैन कसको असल इरादा के हो अथवा कुन सक्कली वा कुन नक्क्ली हो भनेर ।
कांग्रेसलाई क्रान्तिकारी भनेर गरिने जथाभावी परिवर्तनमा चित्त बुझ्दैन , एमलेलाई क्रान्तिकारी साम्यवाद र लोकतन्त्रको समन्वयमा सन्तुलन मिलाउँदामा नै गाह्रो छ उता माओवादीलाई आँफू विजेता भएको भ्रममा सबै कुरा आफ्नो मान्यता अनुसार जबर्जस्ति चल्नु पर्ने क्रान्तिकारिताले उचालेको छ । तर वास्तविकता के हो भने , नेपाली जनताले निरंकूशता तर्फ बढेर, आँफू नै राज्यको पर्याय ठान्ने र जनतालाई भुसुना ठान्ने महेन्द्र र ज्ञानेन्द्र ब्राण्डको राजतन्त्र बिरुद्द अभिमत प्रकट गरेका हुन् र परिवर्तन सम्भव पारेका हुन् । जनताको परिवर्तनतर्फको रूझानमा जनपक्षीय लोकतन्त्र , विश्वमान्य लोकतान्त्रिक अधिकारप्रतिको ठोस चाहना केवल प्रतिनिधिमूलक रूपमा देखावटी ढंगले नभएर , यस्ता हक र अधिकारलाई कसैको नियन्त्रण भन्दा परबाट व्यवस्थित पार्नु पर्छ भन्नका लागि थियो । यो परिवर्तन , कदापी एउटा सम्भावित अधिनायकवादको चंगूलबाट उद्दार गरि अर्को चण्डालको हातमा सुम्पनका लागि थिएन ।
माओवादीको नागरिक सर्वोच्चताको आन्दोलन माओवादीकै शव्दमा केवल माओवादी सरकारको निर्माणका लागि मात्र हो र नागरिक सर्वोच्चता ‘ हामीलाई सत्ता दिनपर्छ’ भन्ने मागको अर्को व्याख्या मात्र हो भने ,नेपालका यी कथित क्रान्तिकारी सबैभन्दा लुच्चा ढोंगीहरू हुन भन्नै पर्छ । माओवादीको नागरिक सर्वोच्चताको माग लोकतान्त्रिक मूल्य मान्यताको कडी हो भन्नुमा अत्युक्ति छैन, तर एउटा राजनैतिक दल जसको सामर्थ्य नै उसका प्राइभेट छापामार र अर्ध मिलिसिया दस्ता वाइसिएलको जोरजुलुममा अडेको छ , उसले आँफूलाई व्यवहारत: नागरिक सर्वोच्चताको मातहत ल्याउन नचाहनु बरू राष्ट्रिय सुरक्षा सेना र प्रहरी तथा प्रशासनलाई आफ्नो मातहत ल्याएर आँफ्नो तजविजमा देश चल्ने माहौल बनाउनुलाई ‘सिभिल सुप्रिमेसी’ को जामा पहिराएर सदावहार आन्दोलनको नौटंकी देखाउनु देशको वर्तमान र भविष्य दुवैका लागि बिनाशकारी काम हो । माओवादीको चाहना निरंकूश कम्युनिष्ट पार्टीको शासन व्यवस्था कायम गर्नु रहेसम्म, उसको लोकतन्त्रवादी हौँ भन्ने दावा बेइमानीको पराकाष्ठा हो । व्यक्तिगत दल विशेषको सेना र मिलिसिया लिएर त्यसैका भरमा, अरूमाथि दादागिरी गरूञ्जेल , यस्तो पार्टी नागरिक अधिकार र लोकतन्त्रकालागि प्रतिवद्द हुनसक्छ भनेर कसैले मनले पत्याउने कुरै हुन्न अनि शक्तिखोर भिडियो प्रकरणको प्रचण्ड खुलासादेखि माओवादीका नेतृत्व तहले बोल्ने बोलीमा कतै पनि , भावी नेपालको राजनीतिलाई राजनैतिक समन्वयको सर्वमान्य बाटोमा बढाउने भन्ने प्रण देखिएको छैन बरू तिनका सबैखाले नेताले बोलेका कुरालाई वा तिनका दस्तावेजलाई आधार मान्दा, मौका आउने बित्तिकै राजनीतिलाई आफ्नो तरिकाले हाइज्याक गर्न माओवादी लागिपरेको जगजाहेर हुने गर्छ । यो अधिनायकवादी यथार्थको विचार र व्यवहार बोकेर नागरिक सर्वोच्चताको राग अलाप्नु कथित क्रान्तिकारी राजनीतिको उदेक लाग्दो पक्ष हो । नागरिक शासन, नागरिक सर्वोच्चता र विधिसम्मत पद्दतिप्रतिको माओवादी विचार , व्यवहार , बोली र दस्तावेज प्रष्ट नबेन सम्म , यो जनतालाई ‘हुक’ मा फँसाएर आफ्नो ढडिया भर्ने कुत्सित एजेण्डा भन्दा बढी केही हुने छैन ।
संविधानसभाको सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व गर्ने नैतिक ( बहुमत नभएकाले कानूनी हैन ) जिम्मेवारी माओवादीको थियो र उसले गर्यो तर आँफैले राजिनामा दिएर सरकार छाडेपछि दोस्रो विकल्पका रूपमा बहुमत जुटाएर नै माओवादीको भाषामा अहिलेको कठपुतली सरकार कायम भएको हो । विशेषण त जे दिए पनि भयो , मन पर्नेले एउटा देला नपर्नेले अर्को । अनि बहुमतबाट बनेको सरकार बिघटन गरेर तस्तरीमा राखी ‘ल सरकार ज्यूनार गर्नुस’ भनी माओवादीलाई पुन: सरकार जिम्मा लागाउनु नै नागरिक सर्वोच्चता हुने हो भने यो जस्तो दरिद्र परिभाषा यसको केही हुन सक्दैन । माओवादीले सरकार बनाउन आँफै पहल गर्नु पर्छ र ऊ बहुमत जुटाउन सक्ने सबैभन्दा सजिलो पोजिसनमा भएको दल हो , उसले बहुमत जुटाए अरूले पनि जुटाउन सक्ने समानान्तर स्थिति कदापी रहन्न । यस्तोमा उसले आन्दोलन गर्ने अनु उसको बहुमत जुटाइदिएर अरूले उसैको नामको सरकार खडा गरिदिनुपर्ने यस्तो बालहठलाई लोकतन्त्र भन्ने कि के भन्ने अर्को जोक बनेको छ हाम्रो नेपालमा ।
यथास्थतिवादी कहलिएका कांग्रेस र एमाले अनि १८ दलले, सरकार ओगट्ने काम गर्न सक्लान तर संविधान निर्माणको काम फत्ते गर्न सम्भव छैन किनकि यसमा माओवादी अनिवार्य र मुख्य घटक हो । संविधान नै निर्माण नहुने हो कि भन्ने सन्दर्भमा सरकारको नेतृत्व माओवादीले लिनु आवश्यक छ तर यो सडकमा मिलिसियालाई लाठी र मुङ्ग्रासहित उतारेर लिन खोज्नु उरणठ्याउलोपन हो , यसरी सरकार पाइएला तर भोलि अर्काले पनि यही तरिका अपनाउँदा , यसलाई अवैध भन्ने नैतिकता माओवादी सामु हुने छैन । शेर बहादुर , गगन थापा र दीपका कार्की माथि बर्सिने ढुङ्गाले भोलि प्रचण्ड वा बाबुरामको टाउकोमा घाउ नबनाउला भन्न पनि सकिन्न , पृथ्बी गोलो छ समय चक्र झैँ घुमिरहन्छ भन्छन् ।
चर्को श्वरमा चोर आयो भन्दै चिच्चाएर , गाउँलेको ध्यान अर्को पात्रतिर मोडेर आँफै धन र सामान कुम्ल्याउन खोज्नेलाई एकैछिन पछि पत्ता लगाउन सकिन्छ । माओवादीको नागरिक सर्वोच्चताको आलाप म परिष्कार वा परिशोधन पनि ऊ स्वयंबाट शुरू हुन जरूरी छ । राष्ट्रपतिका कारण भन्दा माओवादीले नै छापामार र मिलिसियाको बलमा तमाशा गरूञ्जेल , देशमा नागरिक सर्वोच्चता कैद भैरहेको हुनेछ र माओवादी नै नागरिक सर्वोच्चताको प्रमुख बाधक बनिरहने निश्चित छ। उसको राजनैतिक उद्देश्य एकदलीय कम्युनिष्ट निरंकूशतातर्फ लक्षित रहेर , छापामार बलको दादागिरीमा रमाउञ्जेल अरूलाई ऊ माथि विश्वास गर्न गाह्रो पर्ने निश्चित छ । भलै उसको रजाईँ उसैलाई जनवाद लाग्ला तर अरूलाई यो नै जनउत्नपीडन हो । यो अविश्वासको वातावरणमा, के कुराले शंका र र अविश्वास निवारण गराउन कारगर भूमिका खेल्न सक्छ त्यो सबैभन्दा बढी माओवादीलाई थाहा छ र हुन जरूरी छ । अत: नागरिक सर्वोच्चताको कोकोहोलो जति सुकै मच्चाएर मुलुकलाई दनदनी बाले पनि , नेपाली राजनीतिमा नागरिक सर्वोच्चताको बल माओवादी खेलाडी कै खुट्टामा छ । माओवादीले चाहे भने तिनकै कारण बन्धक बनेको 'सिभिल सुप्रिमेसी' को मुद्दा समाधान हुन टाढा वा अप्ठ्यारो छैन । तर तिनले सच्चा नागरिक सर्वोच्चता चाहलान् त ?
भरखरै संविधानसभा भएको दलहरू बीचको सहमतिले भने अनुसार नेपालको आगामी संवैधानिक व्यवस्थाले न्यायलयका न्यायधीशहरूको नियुक्ति व्यवस्थापिका र कार्यपालिकाले गर्नेछ । यो सहमति भावी नेपालमा लोकतान्त्रिक पद्दतिमा हुनु पर्ने शक्ति पृथक्कीकरणको सिद्धान्तको पूर्ण बिरूद्ध छ । जब राज्यका तीनवटा अंगहरू – व्यवस्थापिका , कार्यपालिका र न्यापालिकालाई स्वतन्त्र रूपमा कार्य गर्न नदिएर एउटा वा दुईटाको मातहतमा अर्कोलाई राख्न खोजिन्छ, त्यहाँ लोकतान्त्रिकताको मर्मले धोका खाँदैछ भनेर विश्वस्त भए हुन्छ । यो , अधिनायकवादको सूत्रपात गर्ने पहिलो कडी हो । दोस्रो विश्वयुद्धताका हिटलरको नाजीवादी मन्त्रिमण्डलमा संचारमन्त्री ( प्रोपोगाण्डा) रहेका डाक्टर जोसेफ गोएबल्सले ( Dr. Joseph Goebbels) भन्ने गर्थे , “ Justice must not become the mistress of the state, but must be the servant of the state policy” । सुन्दामा राम्रो हो कि जस्तो सुनिने यही नीतिको बाटो भएर , नेपालका भ्रष्ट र अपठित नेताहरूले , आफ्ना लागि अवरोधक बन्न सक्ने न्यायलय र अदालतलाई यसरी आफ्नो मातहतमा ल्याउन लगाएर , तानाशाही अधिनायकवादको बाटोमा मुलुकलाई धकेल्न जानेर वा नजानेर सहयोग गरेका छन्।
भनिन्छ, अदालत पनि भ्रष्ट भयो । तर के नेताहरूको पाखण्ड, गवाँरपन र भ्रष्टाचार मुनि अदालत वा न्यालयको स्वतन्त्रता बनिरहन सक्ला ? अनि, सोच, विचार, क्षमता र योग्यताले पंगू रहेका हाम्रा राजनैतिक दलका बाहुबली र बन्दूके नेताहरूको अघोरी इच्छाहरूका मातहतमा हाम्रा नागरिक अधिकार र स्वतन्त्रताप्रतिका जुझारू भावनाहरूले शरण पाइरहन सक्लान् ? क्षमता , प्रतिवद्दता र इमान्दारिताका कसिमा पूर्ण अयोग्य तर लडभीड, भ्रष्टाचार, घुसखोरी र आफ्नाहरूलाई पोस्न मात्र जानेका यस्ता पाखण्डी नेताहरूको अभिभावकत्वमा मुलुकका सम्पूर्ण संरचना र अभिभावकत्व सुम्पेर हामी सुरक्षित रहेन सक्ने स्थिति देशमा छ ? यस्तोमा , मुलुकमा एकदलिय तानाशाही शासन पद्दति लादेर , व्यक्ति र नागरिकमाथि अमानवीय व्यवाहर गर्न खोज्ने भोलिका सम्भावनाहरू बाट हामीलाई संरक्षण दिने निकाय कुन हुने ?
अहिले नेपालमा निश्चित राजनैतिक शक्तिहरू , आफ्नो दलको एकाधिकारवादी लक्ष्यमा अदालतको स्वतन्त्र अस्तित्व बाधक हुनसक्छ भनेर यसलाई समयमै नियन्त्रणमा लिनुपर्छ भन्ने अभिष्ट लिएर योजना बनाउँदै काम गरिरहेका देखिन्छन् भने अरू शक्तिहरू यो कुराको गम्भीरतलाई बुझ्नै नसकेर यिनै कुटिलहरूको स्याल भाकामा होहो मिलाएर , नेताहरूको सर्वोच्चता स्थापित भएमा आँफूहरू जस्तो करतूतबाट पनि मुक्त हुन पाइने सोचमा मख्ख परेर स्वतन्त्र न्यालयको घाँटी मिचेर यसलाई निमिट्यान्न पार्न आतुर देखिन्छन् । घाँटीमा आएको गलगाँडको उपचार घाँटी मिचेर हुँदैन । विद्यमान न्यायलयका विकृतिहरूलाई हटाएर स्वतन्त्र न्यायलयको गरिमालाई स्थापित गर्न सकेमा मात्र न्यायलयले व्यक्तिको हकअधिकारमा संरक्षक भूमिका निभाउन सक्छ , नत्रभने आज विषयको गम्भीरता र मर्मलाई नबुझी लहैलहैमा गरिने निर्णयहरूले भोलि डरलाग्दो एकाधिकारवादी तानाशाही पद्दतिको सूत्रपात गर्दा , व्यक्ति र जीवन निरिह बन्न सक्ने कुरामा हामी सचेत भएनौँ भने , दु:खका बेला हाम्रो रक्षा गर्न कोही आउने छैन ।
देशको कानून र न्यायलयलाई राज्यतन्त्रको नीति बनाउने गोयबल्स निति पछ्याएर , अदालतलाई आज जुन नियन्त्रणमा लिन खोजिएको छ, विश्व इतिहास सांक्षी त्यो निरंकुशताको हतियार बनेर व्यक्तिको स्वतन्त्रतामा मात्र जाइलागेको छ । अत: ‘ न्यायं रक्षति रक्षितं’ ( गीतामा धर्मोरक्षति रक्षितं भनिएको छ अर्थ=धर्मको रक्षा गर धर्मले तिम्रो रक्षा गर्नेछ ) भने जस्तो कानून र न्यालयको रक्षा हामीले गरेनौँ भने परेको बेला हाम्रो रक्षा पनि हुने छैन ।
-एकलव्य
करीब २ वर्ष पहिले दौंतरीको ढोका खोल्दा शायदै सोचिएको थियो कि यो सामुहिक ब्लगिंगको चस्कासंगै यहांसम्म पुगिन्छ । खासै क्रियाशिल नभए पनि बेला बेलामा २-४ लाइन लेखेर होस या यताउताका रमाइला कुरा टिपेर होस दौंतरीमा बांड्ने जमर्को गर्दा गर्दै वर्ष दिन नाघिसकेको पत्तै भएन । दौंतरीको लागि खटिरहेका साथिहरुले एउटा अनौठो भेलाको लागि कम्मर कसिसकेका थिए तर म भने अन्तिम समय सम्म पनि भेलामा “उपस्थित” हुन्छु भन्ने सोचेको थिइन । धेरै जसो नेपाली भेला आ-आफ्नै नीहित स्वार्थका लागि हुने, “मपाई पार्टी गठन” गर्ने थलो हुने र अझ “लण्डन भेला” जस्तो भेला सकेर एउटा सौहाद्रपुर्ण वातावरणमा बिदा-बादि हुने basic courtesy लाई भुलेर औंला तेर्स्याउने र पाखुरा बजार्ने स्थल हुने भएकाले भेलाहरुमा मेरो उपस्थितिको रजिष्टरलाई भुतकाल तिरै छोडेर आफ्नै दिन चर्या र कर्ममा रमाउने बानी परिसकेको थियो । तर दौतरीको नया प्रयोग र त्यसमा पनि नया सोच भएका र केहि गर्नु पर्छ भन्ने बिचार भएका कर्मयोगी ब्लगरहरुको बिचको यो नया प्रयोग भएका कारण १ दिन अगाडिसम्म आइपुग्दा यसलाई “मिस” गर्नु हुन्न भन्ने स्थितिमा पुगेको थिएं ।
अन लाइन कन्फ्रेन्स र सेमिनारहरुमा धेरै पटक भाग लिएको भए पनि नेपाली ब्लगरहरुको भर्चुयल भेला मलाई नयां लागिरहेको थियो । छोटो समय, सिमित प्रचारका बाबजुद तीन दर्जन भन्दा धेरैको उपस्थितिले देखाइरहेको थियो कि जमाना “वास्तविक” भन्दा “भर्चुयल” संसारतर्फ फड्को मारिसकेको छ । भेलाको उत्साहजनक सफलताले देखाइरहेको थियो कि हो हामी “भर्चुयल वर्ल्डका” लागि लायक भइसकेका रहेछौं । यसै सन्दर्भमा भर्चुयल वर्ल्ड कति शक्तिशाली भइसकेको रहेछ भन्ने एउटा चर्चित उदाहरण यहां उल्लेख गर्न मन लाग्यो, यो हो पाइरेट पार्टी ।
पाइरेट पार्टीको स्थापना स्विडेनमा २००६ को जनवरी महिनामा भएको थियो र यसको स्थापनाको मूल मर्म थियो “इन्टरनेट पाइरेसी” गर्न पाउनु पर्छ अर्थात इन्टरनेटबाट व्यक्तिगत प्रयोजनको लागि गीत, डाटा, फिल्म वा इन्टरनेटमा उपलब्ध जुन सुकै सामाग्री निशुल्क डाउनलोड गर्न पाउनु पर्छ (कपि राइट नतिरी सामाग्री भोग गर्नु पाइरेसी हो भन्ने शब्दार्थ यहां भनिरहनु नपर्ला)। मार्क्सको सिद्दान्त र लेनीनका भाषणले कुनै बेला भुइंचालो ल्याएको युरोपमा मार्क्सबाद र लेनिनबादी “सर्वहारा” वर्गको क्रान्ति इतिहास भैसकेपनि उपयोगिताबादी र चरम भौतिकताबादी समाज भित्रका “नयां सर्वहारा”हरुको अनलाईन संगठन गठन होला र यसले तहल्का ल्याउला भन्ने कसैले सोचेको थिएन होला। रिकार्ड फाल्कविन्गेको “लहड”मा जन्मेको यो पार्टी अहिले स्विडेनको तेस्रो ठुलो पार्टी बनिसकेको र भविष्यको विश्वव्यापी “भर्चुयल” पार्टी बन्न सक्ने भय विकसित देशका मूलधारका राजनीतिक दलहरुमा पक्कै पनि छाइसकेको हुनु पर्छ । झट्ट सुन्दा जंकी र “आवारा” हरुको भिड जस्तो लाग्ने यो पार्टीले अहिले युरोपियन पार्लियामेन्टमा पनि एकजना सदस्य पठाउन सफल भइसकेको छ भने स्वीडेनमै ७० प्रतिशत भन्दा बढि ३० वर्ष भन्दा कम उमेरका युवाहरु यसका सपोर्टरहरु छन । हाल स्विडेनमा यस पार्टीका ४९,००० जना संगठित सदस्य छन र सदस्यताको आधारमा यो स्विडेनको तेस्रो ठुलो पार्टी बनेको छ । यसको भातृ संस्था युथ पाइरेट्स स्विडेनको सबै भन्दा ठुलो युवा संगठन भएको छ ।
यस पार्टीका ३ वटा उद्देश्य रहेछन :
१. कपी राइट प्रणाली हटाउने (व्यक्तिगत प्रयोजनको लागि कपी राइट नियम लागु हुन नहुने)
२. प्याटेन्ट प्रणाली खारेज गरिनु पर्ने (एउटा प्रमुख तर्क: प्याटेन्टका कारण गरीब देशहरुले औषधीहरु उत्पादन गर्न सकेका छैनन र ती देशहरुमा अकालमा लाखौं मान्छेहरुले ज्यान गुमाइरहेका छन ।)
३. व्यक्तिगत गोपनियता (privacy) व्यक्तिको अधिकार
स्विडेनको अप्टिकल फाइबर भएर जाने आउने सम्पुर्ण डाटाहरु निगरानीमा हुदारहेछन । यस देशले २,५०,००० शब्दहरुलाई सर्च क्याटेगोरी भित्र राखेको छ र यि मध्येका कुनै पनि शब्दहरु भएका इमेल वा कुनै पनि अनलाईन सुचनाहरु जांच भित्र पर्दछन । यसले व्यक्तिगत गोपनियता भंग भयो र यो हटाइनु पर्छ भन्ने यस पार्टीको माग छ ।
डब्लु टी ओ, संगठित र मल्टिन्यासनल "ब्रान्डेड" व्यापारको माध्यमले दुनियामा आफ्नो वर्चस्व कायम गर्न खोज्ने विकसित देशहरुलाई अहिले नेपाल वा भारत देखि पेरुसम्म पड्कने "साम्यवादी" बन्दुकले भन्दा आफ्नै देश भित्रका यी वर्ग ठुलो टाउको दुखाइ बन्ने निश्चित छ ।
हामी जाजरकोटको झाडापखालाको महामारीबाट मुक्ति पाउन नसकेको अवस्थामा र धेरै तेस्रो विश्वका देशहरुमा अनिकाल, महामारी, भोकमरी र सुशान पार्टीहरुका प्रमुख एजेण्डा बनिरहेको अवस्थामा माथिका तीनवटा प्रमुख उद्देश्य बोकेर पनि पार्टी खुल्न सक्छन भन्ने कुरा हाम्रा लागि अर्कै ग्रहको कहानी हुन सक्ला तर भर्चुयल वर्ल्डको यो शक्ति कुनै बेलाको औद्योगिक क्रान्तिसंगैको साम्यबादको लहर जस्तै आफ्नो बर्चस्व स्विडेनबाट अन्य विकसित र अग्रगतिमा विकास तर्फ लम्कदै गरेका विकासोन्मुख देशहरुमा समेत फैलाउंदैछ । गएको युरोपियन संसदको चुनावमा जर्मनीको पाइरेट पार्टीले समेत २,३०,००० भोट ल्याउन सफल भएको थियो । अर्थात संदेश यहि हो मान्छेको मन मष्तिस्कले “भर्चुयल” संस्कार अवलम्बन गरिसकेछ ।
स्रोत: http://www.piratpartiet.se/, बिबिसी र अन्य
धेरै समयपछि नेपालबाट एउटा सकारात्मक समाचार आएको छ। पहिला लुकीछिपी हुने अनि बिस्तारै पेशागत भएर राजनीतिमा प्रवेश गरेको छाडा, हेपाहा र ‘गुण्डा गर्दी’ प्रबृतिमा केहि नभए पनि आजबाट अंकुश लागेको छ ।
भर्खरै नेपालको खबर के छ भनी ईण्टरनेट खोलेको थीएँ । दैनिकीमा आएको एउटा समाचारले केहि हदसम्म भएपनि कानूनी राजको जड अझै बाँकी रहेको र न्याय जिउँदै भएको सूचना दियो ।
हो, कुरा तिनै व्यक्तिको हो, जो हाल दुर्भाग्यवस हाम्रो देशका उपराष्ट्रपति छन् । नेपाली भाषाको मानमर्दन गर्ने र नेपाली जनताको आस्थामा ठाडै प्रहार गर्ने ति उपराष्ट्रपतिलाई आज नेपालको सर्बोच्च अदालतले उनले हिन्दी भाषामा लिएको सपथलाई संविधान विपरित भएको ठहर गर्दै उनलाई पदमा बहाल रहिरहनको लागी नेपाली भाषामा सपथ लिनु पर्ने निर्णय गरेको गरेको छ ।
तात्कालिन समयमा उनले हिन्दिमा सपथ लिंदा पनि यसको चौतर्फी बिरोध भएकै हो, पत्र-पत्रिका, सडक देखी नेपाली ब्लग संसारमा पनि यसको चर्को बिरोध देखिएको थीयो । दौँतरीकै कुरा गर्ने हो भने पनि हामीले सो हेपाहा र विदेशि ईशारामा नाच्ने प्रबृतिको यहाँ, यहाँ र यहाँ बिरोध जनाएका थीयौं ।
समाचार अनुसार सर्वोच्च अदालतका प्रधानन्यायाधीस मीनबहादुर रायामाझी र न्यायाधीस बलराम केसीको संयुक्त इजलासले नेपालको अन्तरिम संविधानमा राष्ट्र भाषा नेपाली हुनेछ भन्ने उल्लेख भएको र सपथको ढाँचा नेपाली भाषामा नै रहेकाले उनले हिन्दी भाषामा लिएको सपथलाई संविधान विपरित ठहर गरेको हो ।
नेपालकै अदालतमा दसकौं बिताएर ‘मेवा’ कमाएका झालाई यो संवैधानिक मर्यादा र सामान्य शिष्टाचार थाहा नभएको पक्कै होईन । तात्कालीन तरल स्थितिमा अन्य कुनै औचित्य विना, छिमेकका ‘माईबाप’ खुसी पार्न मात्रै आफ्नो मातृभाषा समेत नभएको विदेशि भाषामा उनले सपथ लिएको कुरा कसैमा छिपेको छैन ।
एकजना सामान्य नेपालीको नाताले हामीले त्यतिबेला पनि यस कार्यको बिरोध गरेका थीयौं भने आज सम्मानीत सर्वोच्च अदालतले यो निर्णय लिंदा म आफैलाई समेत गौरवान्वित भएको महसुस भैरहेको छ ।
संसारभरि हामि जहा बसे पनि हामी सबै नेपाली हौं र नेपाली भाषा प्रति हामिलाई गर्व छ । कसैलाई हिन्दी वा अरु कुनै भाषा प्रति अगाध मोह छ भने तिनले आ-आफनो घरमा बसेर सो भाषाको प्रयोग गरुन मलाई आपत्ती छैन, तर मेरो देश नेपालको उच्चतम पदमा आशीन हुन ईच्छा राख्नेले आफ्नो देशको कानून र भाषाको खिल्ली उडाउने गरी आफ्नो मातृ भाषा समेत नभएको विदेशि भाषामा सपथ खाने हिम्मत अब कहिल्यै नगरुन ।
आज अढाई करोड नेपालीको स्वाभिमानमा आँच पुर्याएर नेपाली मर्ममा प्रहार गर्नेको हार भएको छ भने यो सर्बोच्चको यो निर्णयले बाँकी सबै नपालीको जित भएको छ ।
तात्कालीन स्थीतिमा यस गैह्र कानूनी कार्यको बिरोध गर्ने र बिरोधमा साथ दिने सबैमा हाम्रो हार्दिक आभार र देशको सर्बोच्च न्यायीक निकायमा कृतज्ञता !!
साथै यो सार्वजनिक सरोकारको बिषयलाई लिएर, शपथ संविधानको प्रतिकूल भएकोले सो बदर गरिपाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने अधिवक्ता बालकृष्ण न्यौपानेले पनि साधुवादका पात्र छन ।
जय नेपाल !
© Dautari Organization 2007-2023