August 10, 2008

फेरि यमदुत नै बन्ने चाहना ?

बाल्यकालका दिनहरुको कुरा याद आउंछ । कहिले काहि म आमासंग झगडा गर्दा रीस पोख्न पस्केर थालमा दिएको भात फाल्ने धम्की दिने गर्दथें । बिचरा आमाले छोराले भात नखाला र भोकै होला भन्ने पीरले सबै कुरा वा बाल शर्तहरु मानेर खाना खान मनाउने गर्नुहुन्थ्यो । बाल्यकालमा हामी सबैको भोगाइको कुरा यस्तै हुन्थे । त्यति मात्र नभएर छिमेकीसंग होस या दाइ भाइ वा बाबुसंगको रीस यी सबैका कारण सिर्जित बाल धम्कीको शिकार सबैका आमाहरु नै हुने गर्छन ।

त्यस्तै बाल तमासा अहिले देशमा माओबादि मण्डलीले गर्दैछ । आफ्नै कुबुद्धि र गैर जिम्मेवारिपनको शिकार आंफै बनेको छ र २ र ३ जम्मा ५ मात्र हुन्छ भन्ने लघु सोंचाइले २ र ३ ले ६ पनि बनाउंछ भन्ने विर्सेको छ । केहि दिन बिचको देशको अचम्मको चालले मुलुक सहि दिशामा जान्छ कि भन्ने झिनो आशामा बसेकाहरुलाई फेरि पनि आफु गलत रहेछु भन्ने सोच्न कर लगाएको छ । एमालेसंग एउटा सम्झौता गरी केहि घण्टा भित्रै अडान बदलेर अर्को निर्णय गरी एमाले लाई बिल्याउन खोज्ने उसको रणनीति वा निर्णयले उसको बेइमानीपना सबै सामु छर्लङ पारिदिएको थियो नै उसको राजनीतिक कच्चापन उदाङो पारिदिएको छ । माओबादिको गद्दारिपना र माओबादिको संचालन रिमोट कन्ट्रोलद्वारा हुंदोरहेछ भन्ने कुरो उनीहरु भित्रकै पोलापोलले ईंगित गरिरहेको छ । यस्तै घटना माओबादि र देउबा सरकारको बिचको शान्ति संझौताको वैठकको पालामा पनि भएको थियो । सबै कुरामा मिलिसकेर हस्ताक्षर गर्ने प्रकृयामा पुग्न लागेका माओबादि एक फोन कलको कारण संझौता भंग गरेर भागेका थिए । त्यति मात्र हैन आंफु भित्र नै मारामारमा उत्रिन लागेका सज्जनहरुको हरकतले माओबादि नामको कम्निष्ट पार्टीको विभाजनको दिन धेरै टाढा छैन भनेर पनि सोच्नु पर्ने हो कि भन्ने लाग्न थालेको छ ।

अहिले एमाले र कांग्रेस धर्म संकटमा फसेका छन् । न त आफुहरु मिलेर सरकार बनाउन बहुमत पुग्छ न त माओबादी विश्र्वास गर्न लायक भइसकेको छ । यस्तोमा फेरि मधेशी फोरम हालीमुहालीमा पुग्यो भने र परमानन्द झाले देखाएको कास्टिङ पुर्णाकी नाटकको रुपमा मञ्चन हुने मौका पायो भने “नेपालीको भाग्य कोर्ने” आशा गरिएको “समावेशी” संविधान सभा र यसका अपवित्र उत्पादन र हरकतबाट राष्ट्र र राष्ट्रियता कति पटक बलात्कृत हुने हो सम्झन डर लाग्ने स्थिति आइसकेको छ ।

म जस्ता कुनै पार्टी प्रति लेनदेन नभएका व्यक्तिहरुको सबैको एउटै आशा कि त सबै पार्टीहरु मिलेर सरकार चलाएर राम्रो संविधान बनाउनुका साथै देशलाई पनि उन्नतिको मार्गमा डोरयाउन होइन भने कलंक नलागेका व्यक्ति लिएर जिम्मेवार केहि पार्टीहरु मात्रै भए पनि त्यो लक्ष पुरा गरुन भन्ने हो । तर हिजो सम्मको जंगल देखि सडक सम्मको नायक बनेको माओबादीले यसरि देश र प्रजातन्त्रको हित चाहनेहरुलाई लोप्पा ख्वाइसकेको छ र झन् धम्की र बार्गेनिङमा उत्रन थालेको छ ।

हिजो सम्म आदर्श र विकासको गफ छाट्ने माओबादि राष्ट्रलाई निकास दिने गठबन्धन बनाउने काममा आफैं बाधक बन्दैछ । झन यस्तो परिस्थितिमा बढी जिम्मेवार भएर प्रस्तुत हुनु पर्ने माओबादी आंफै मधेशी फोरमलाई पनि मात गर्दै सौदा बाजीमा उत्रिएको छ । एकातिर मधेशको दुहाइ दिएर रातारात उदाएका पार्टी भन्दा पनि विश्र्वासको कसीमा गिरेको माओबादिलाई अब कसैले विश्र्वास गर्न भन्दा पहिले १० पटक सोच्नु पर्ने बाध्यताको स्थिति आफुलाई अग्रगामी र सर्वे सर्वा ठान्ने माओबादीले नै पैदा गराइदिएको छ । अर्कोतिर माओबादी नीतिगत वा निर्णयगत हिसाबमा सम्मत हुन नसक्ने रहेछ र नेतृत्वको बोली आफ्नो मात्र खुशी वा समझदारीले नचल्ने खसी बजारको दलालको जस्तो रहेछ भन्ने खुलस्त देखिएको छ ।

संविधान सभाको चुनावबाट नै अधिनायकबाद लाद्ने लघु सोच सफल नहुने हो कि भन्ने कुराले माओबादि वा त्यस भित्रका अनुदारहरुलाई पिरोलेको छ । त्यसैले हिजो माओबादीको नया बन्ने सत्ताको जर्नेल बन्ने सपना देख्नेहरु हुन वा प्रधानमन्त्री बन्ने सपना देख्नेहरु हुन सबै ले जे पायो त्यहि बोल्न थालेका छन् । अनि एकदिन प्रचण्डको, अर्को दिन हिसिलाको त कहिले कसको धम्की आउन थालेको छ “शान्ति प्रकृया खतरामा छ”, “हामीलाई फेरि जंगल नफर्काइयोस”, “देशमा सिभिल वार हुन्छ” आदि आदि ।

हिसिला यमीको “सिविल वार” को धम्कीलाई उद्धृत गर्दै आज नेपाल भ्रमणमा जाने हरुले भिजिट गर्ने युरोपको एउटा वेब साइटमा नेपाल भ्रमणमा जानेहरुको लागि अहिले खतरा हुन सक्छ भन्ने किसिमको खबर प्रकाशित गरिएको छ । अर्थात फेरि नेपाल सुरक्षित छैन भन्ने बुझ्न लागेका छन बाहिर बाट हेर्ने मान्छेहरु ।

१० वर्षमा देशको कायापलट गराउंछु भन्ने हरु नै किन अरु भन्दा नालायक बन्न तम्सिदै छन ? बोल्नु भन्दा अगाडि सोच्न जरुरत नठान्ने र धम्कीलाई नै आफ्नो अस्त्र बनाउने कि देश बनाउन मिलेर अगाडि बढ्ने ?

त्यसैले अति भयो ! अझै पनि प्रचण्ड एण्ड कम्पनिको घुर्कीलाई सहने वा उनका शिविरका छापामारलाई निशस्त्र गरेर खोरमा हाल्ने ? होइन भने संसदीय प्रजातन्त्र स्विकारिसकेपछि र गणतन्त्र आइसकेपछिको अवस्थामा बन्दुक बोकेर राष्ट्रलाई धम्क्याउन पाइन्छ ? के “१० वर्षमा स्विट्जरल्याण्ड बन्ने” हौवा पिटाइएको देशमा मान्छेको बाच्न पाउने अधिकारलाई समेत चुनौति दिंदै खुलेआम यमदूत बन्ने धम्की दिन पाइन्छ ?