November 20, 2009

कामरेडहरु, संघियतामा जातिय मानसिकता त्याग्नुस

पुष्पजीले एकलव्यजीको पोष्टसंगैको कमेन्टमा मेरो धारणा वा प्रश्नलाई केटाकेटी पाराको लाग्यो भन्नु भएको थियो, तर मलाई फलानो जातिको यो प्रदेश, अनि फलानाको यो प्रदेश भन्ने मनचिन्ते झोली रुपी चिन्तन र माग अपरिपक्व मात्र हैन अनाडी पनि लाग्छ भनेर मैले भनिसके, अझ यो भन्दा पनि धेरै लाग्छ भन्दा पनि फरक पर्दैन । धेरैजना जातीय र भावनात्मक राजनीतिलाई मान्छे बटुल्ने साधन बनाउनेहरुलाई मेरो प्रश्न : तपाइले कुन जातिलाई राज्य दिनु हुन्छ ? किन दिने , के पुष्पजीले भने जस्तै टुरिस्ट आएर जातीय पहिरनमा लगाएको फोटो खिच्छन र देश विकास हुन्छ भनेर ? कामरेडहरु, तपाइहरुलाई थाहा होला काठमाडौ सांस्कृतिक शहरको रुपमा चिनिन्थ्यो । तर अहिले काठमाडौ पर्यटकको लागि सांग्रिला रहेन । यसलाई नेवा प्रदेश बनाउदैमा यो धरोहर फेरि फर्किन्छ ? हैन फर्किदैन, अव्यवस्था र लथालिंगको थुप्रो हटाउनुस त्यसै सुध्रिन्छ । म आंफै पनि पर्यटक बनेर धेरै देश घुमेको छु घुमिरहन्छु पनि । मलाई थाहा छ मान्छेहरु के रुचाउंछन, किन घुम्छन र कसरी घुम्छन भनेर। वातावरण र संस्कृति राज्य छुट्ट्याएर बलियो वा प्रचुर हुने हैन । काठमाडौको इन्द्र जात्रा बाहुन, क्षेत्री, तामाङहरुले पनि मनाउंछन । तनहु, पाल्पा र स्याङजाको बोटेबजार मगर, नेवार, बाहुन, क्षेत्री, दमाई आदि इत्यादि सबैले मनाउंछन । खेमराज गुरुङले गाएको गित वाला एकादशी बजार, पक्कै पनि खेमराजले वा भोजपुरतिरका गुरुङहरुले मात्रै मनाउदैनन् अरुले पनि मनाउंछन । तपाईंलाई थाहा नहोला तीज नेवारहरु बाहेक काठमाडौ बाहिर लगभग ठाउं अनुसार सबै जातिले मनाउंछन । तर तीजको लाखे नाचको लागि नेवार नभई कसैले पुजा शुरुवात गर्न पाउंदैन । लाखे नाच विनाको तीज र कृष्णाष्टमी धेरै ठाउंमा कल्पना पनि गर्दैनन मान्छेहरु । अब कुन संघले वा कसको राज्यले कसलाई संरक्षण गर्ने हो थाहा भएन । यी संस्कृति बचाउन आफ्नै राज्य चाहिन्छ भन्ने कुरा पनि विश्वास गर्दिन म । कस्ता मान्छे हुन, वा कस्तो संस्कृति हो बजेट वा जागीर नपाए संरक्षण नहुने ?

कामरेडहरु, मैले कुनै बेला बि एस्सी पढ्दा देश कति धनी छ भनेर जांच्न त्यस देसमा कति सल्फ्युरिक एसिड उत्पादन हुन्छ भनेर थाहा हुन्छ भन्ने एउटा टेस्क्ट बुकमा पढेको थिएं। कसैले भन्छन देशमा कति बुल्डोजरहरु गुड्छन त्यसले देशको विकासको गति बताउंछ । कसैले भन्छन देशमा प्रति व्यक्ति बिजुली, वा ग्यास जस्ता संसाधन खपत हुन्छ त्यसले मान्छेको जीवनस्तर देखाउंछ भन्छन । यी यस्ता मापदण्डहरु आ-आफ्नै व्याख्या अनुसार होलान, कसैले कति जुलुश र कति चर्का नारा लगाउन सक्यो भने देशको मानव विकास सुचक माथि उठ्छ भन्ने सम्झेलान ।

मैले बुझे अनुसार धेरै नव शासकहरुमा काठमाडौ र बाहिरको परिस्थिति एकैनाशको मान्छन । अनि काठमाडौले के बुझ्छ भने अहो, यत्रो पैसा ! यो त सबै काठमाडौ प्रदेशमा लगाउन पाए कति मालामाल हुन पाइन्थ्यो । तर जुम्ला देखि ताप्लेजुङ सम्मको मान्छेले मेलम्चि ल्याउन लाखौं आफ्ना थाप्लोमा ऋण बोकेको कसैले देख्दैन । सबैले काठमाडौ वा पोखराका कालोपत्रे सडक (बिजोकै हालतको भए पनि) देख्छन, खाली खुट्टा भारी बोकेर डोल्पा वा मनाङतिर ५-६ दिन लगाएर नुन बोकेको कसैले देख्दैन किनकि ती अमुकहरुको कुनै पार्टी छैन । भोट कि त एक गिलास रक्सीको भरमा दिन्छन, कि त फलाना बाबु साहेबले भनेका भरमा दिन्छन कि त कसैले बन्दुक तेर्स्याएको भरमा दिन्छन । कामरेडहरु, कन्जर्भेसन अफ मास वा इनर्जीको सिध्दान्तलाई मान्नेहरु मध्य कसैले के पनि भन्छन भने बिल गेट्स वा माइकल ज्याक्सनहरुका बंगला र गाडिहरु काठमाडौ वा बिहारका सिकर्मी डकर्मी वा कुल्लीहरुका कमाईबाट छिनिएका हुन। किनकि मान्छे जन्मदा सबै उस्तै हुन्छ । मान्छे के हो भन्ने जान्न अस्पताल वा मुर्दाघाटहरुमा गए पुग्छ । मान्छे धेरै शक्तिशाली प्राणी हो र सबै भन्दा नीरिह पनि ।

अस्ति एकजना पर्यटकले भनेका थिए घान्द्रुक घुमेर उनलाई लाग्यो रे मान्छेहरु २१औं शताब्दीमा यसरी पनि बस्दा रहेछन भनेर । उनले इतिहासमा पढिने आदिमानवको जस्तो अवस्था नेपालमा देख्न पाइदोरहेछ भनेर दंग परे । खोइ कतिजना नेपालीलाई यी कुराले गर्वित तुल्याउला तर मलाई चाहि अप्ठेरो महसुस भयो ।


यहाहरुलाई थाहा नभएको अर्को कुरा (किनकी यहाहरुलाई त जुलुश, घोषणापत्र र पत्र पत्रिकामा चुलिएको कुरो बाहेक अरु थाहा नहुन सक्छ ) मेरो जन्मथलो र पुर्ख्यौली राज्यको राजा दमाइ थिए । किन अरुले राज्य पाउंदा दमाइहरुले नपाउने ? किनकी अहिलेको जातिय संघिय स्वरुप “प्रभु”हरुबाट निर्देशित छ । अंशुवर्माले चलाएको निर्देशन अहिले पनि विभिन्न प्रभुहरुबाट निर्देशित हुदै चलिरहेको छ । जातिय र क्षेत्रीय रुपमा बनेका भारतका मणिपुर, मेघालय, नागाल्याण्डहरु किन पछि छन ? केन्द्रको कारणले ? होइन आफ्नै कारणले । केन्द्रलाई केहि मतलव छैन । देशबाट छुट्टिने किसिमको दंगा नहोस अरु भांड मे जाए भन्छ केन्द्रले । युरोपका धेरै देश घुम्दा पनि कहि कतै जातिय राज्य (सर्विया, अल्बानिया तर्फ नजाऔं) र व्यवस्था देखेको छैन । बरु ३ वटा राष्ट्रिय भाषा भएको र एउटा ठाउंको भाषा अर्को ठाउंकाले नबुझ्ने बेल्जियम र दुइटा भाषा भएको स्विट्जरल्याण्डमा पनि यस्तो लफडा देखेको छैन । सबै देशहरुमा नेपालको केन्द्रले गर्ने काम नगरपालिका र गाउंहरुले नै गरिदिन्छन त्यसैले कसैलाई संघको आवश्यकता र संघिय राज्यको हेड क्वार्टर धाउनु पर्ने कारण देखेको छैन । एकपटक रोममा पुग्दा एउटा कुनै इटालियन ग्रुपले सांस्कृतिक नाच देखाइरहेको थियो , मलाई खुब मन पर्यो अरु ठाउं हेर्न छोडेर पनि त्यहि हेरेर बसिरहें । ती कुनै संघ वा राज्यका प्रतिनीधिहरु थिएनन बरु संस्कृतिलाई जोगाइराख्न स्वतस्फुर्त रुपमा तातेका ग्रामीण क्षेत्रका वासिन्दाहरु थिए र तीनिहरुको जात या राज्य के हो भनेर बुझ्न मलाइ कुनै दरकार परेन किनकी मेरो लागि उनीहरु सिसिलिया देखि मिलानसम्म जहांको भए पनि इटालियनहरु थिए । अर्को कुरा स्कटल्याण्डको स्कर्ट लाउने संस्कृती स्कटल्याण्ड छुट्टै राज्य हुदैमा अपार वृध्दि भएको छैन । ग्लास्गो र एडिनवर्गमा सुन्न नपाएको ब्यागपाइपरको धुन ह्यामवर्ग र ब्रसेल्समा सुनेको छु । हाम्रै देशमा पनि म हिन्दु होइन भन्नेहरुले पनि तिहार सकिएको १ हप्ता पछि सम्म पनि देउसी खेल्दै हिडेको फोटो नदेखेको र समाचार नपढेको होइन । कामरेड, यी उदाहरणहरुले मलाई के निश्कर्षमा पुग्न बाध्य बनाउंछ भने, कुरोको चुरो कसरी पैसा झार्ने भन्नेमा अडिदो रैछ । तपाइहरुले भन्नुहोला कस्तो संकिर्ण विचार राखेको ? तर यसले आम स्तरमा देखिएको सोंचको चित्रण गर्छ ।

अझ अर्को दुखदायी कुरा त नेपालको जातियताको लडाईले विदेशमा समेत नचिनेका नेपालीहरु र चिनेकैहरुको बिचमा पनि सौहाद्रपुर्ण वातावरण रहेन । पहिले जस्तो कुनै नेपाली हो कि भन्दै आंफै गएर “नमस्कार तपाई नेपाली हो ?” भन्ने स्थिति अहिले धेरै ठाउमा देखिदैन । त्यति मात्रै होइन न्युयोर्कमा १ वर्ष जति पहिले एकजना नेपाली मर्दा जातिपातिको कारणले शव नेपाल पठाउने पैसा पनि उठेन रे । कामरेडहरु, तपाइहरुको अग्रगामी सोचको कारणले सिर्जित अदृश्य दिक्षाले नेपालीहरु माझ न्युनतम मानविय संवेदना पनि हराउंदैछ। कामरेडहरु, भावनात्मक विष डमडम बन्दुकको गोली र सायनाइड भन्दा घातक हुन्छ । किन नेपाल जस्तो देशमा यस्ता विषहरु पोखिएका छन ? सामान्य कुरामा विदेशी प्रभू देख्नुहुन्छ तपाइहरु, तर तपाइहरुको दिमागभित्र विष भर्ने प्रभुहरु देख्नुहुन्न, होइन त यो बिडम्वना ?

कामरेडहरु, मैले काम गर्ने कर्मथलोमा जुन देशका मान्छेहरु कार्यरत छन, सबै देशको झण्डा प्रवेशद्वार भित्र राखिएको छ र जहिले पनि त्नेपालको झण्डा हेर्दै मान्छे झुम्मिरहेको देख्छु । मान्छेको पहिचान मान्छेले बनाउने हो, आंफै अरुले बनाउदैन । त्यसको लागि नारा जुलुश हैन काम गर्नु पर्छ । भड्काउने र फोड्ने हैन बनाउने र सपार्ने नसके चुप लागेर बस्ने गर्नु पर्छ । धेरै पश्चिमाहरुको सफलताका कडि यिनै हुन । घरै पिच्छे छुट्टै जात भएका पश्चिमाहरुले त्यसलाई आफ्नो घर भित्रमात्र सिमित गरे , तर हाम्रा लागि अझै यी संजिवनी बुटी छन, हैन त कामरेड यो विडम्वना !

अर्को कुरा बाहुन क्षेत्री, कामी, सार्की आदि र काठमाडौ बाहिरका नेवार समेतलाई राज्य चाहिदोरहेनछ अहिलेका नेताहरुको परिभाषामा । सिधा अर्थ के हो भन्दा जसले बल मिच्याइ र नेपाल बन्द गराउंछ देश उसैले पाउंछ । हामी केटाकेटीमा एक खुट्टे खेलेर कोठा जित्ने राज्य गेम खेले जस्तो । कामरेड, मागेर पाइन्छ भन्ने मानसिकता त्याग्नु पर्छ । जसले मेहनत गर्छ उसले फल पाउनु पर्छ भन्ने मान्यता लागु गर्नु पर्छ ।

मेरो मान्यतामा नेपालमा अझै पनि केहि परिवर्तन वा विकास हुन्छ भने केवल प्रगतिशील विचार बोकेका र अहिले पनि अगाडि देखिइरहेका वामपन्थीहरुबाट सम्भव छ न कि गिरीजा र गच्छेदार वा सुर्य बहादुर र गोरे बहादुरहरुबाट । देश बनाउन नसक्नुमा गिरिजा बाबुको कत्रो “महान योगदान” छ भन्ने कुरा दौंतरीमा नै करिब १ वर्ष पहिले धारावाहिक लेखहरु लेखिका थिए, मैले यहा भन्नै पर्दैन ।

करिव २ दशक अगाडि सारा विश्व एउटै देश र सारा मान्छे एउटै जातिका हुनेछन भन्दै मुठ्ठी उचाल्दै भुमिगत जिवनमा आफुले पनि गाएका सर्वहाराका गीतहरु अझै पनि मलाई याद छन । तर कामरेडहरु आंफै गर्ने भन्दा बिगार्नेहरुको जालमा फसेका छन र के हो प्राथमिकता भन्ने कुरो विर्सेका छन । गर्छु भन्नेहरुले भांडभैलेहरु र दिमागमा तन्तु नभएका झुण्डहरुबाट सिध्दान्त, बिचार र भिजनलाई जोगाइराख्न कति हम्मे हम्मे होला बाबुरामहरुलाई सोध्नुस ।

मेरो मान्यता संघियता देउसी भैलो र ६०१ जनाको नौटंकी भन्दा महत्वपुर्ण र दुरगामी असर राख्ने वृहत र आवश्यक योजना हो । यसको लागि धनुषवाणको लडाई होइन वृहत सोंच, भिजन र डिजाइन चाहिन्छ । यो योजनामा अब मैले राज्यरुपी जागीर पाएं वा पाउछु भन्नेहरुलाई माथि पारेर होइन कि देशको समग्र विकास र भलाइ सोच्नेहरुको सोचलाई कदर गरेर गरिनु पर्छ । होइन भने बिचार आआफ्नो हो, कस्तो भविष्य खोजेको हो सबैले आंफै जानुन र “जान्नेहरुले” नै भोगुन ! कामरेडहरु, मेरो विचार केटाकेटी भएकोमा मलाई दुख छैन तर राजनीति र कार्यप्रणाली नबुझेका तर आंफुले धेरै बुझेको छु र अग्रगामी छु भन्ने देखाउन खोज्ने उग्र कामरेडीपन प्रति चाहीं दुख लाग्छ । यस्ता कुराहरु नै समग्र देशको विकासका लागि मात्र नभएर आ-आफ्नै पार्टीका लागि पनि घातक हुन ।


अनि कामरेडहरु, घर जलेर आगो बल्दा केटाकेटीहरु पनि थपडि बजाउंदैनन बरु रुन्छन, केवल शिशुहरु मात्र बलेको उज्यालो देखेर दंग हुन्छन ।


बोली रुखो भएकोमा क्षमा पाउं कामरेडहरु !