June 26, 2011

सपनाको राजधानी र गजलको माहौल

यात्री शेखर

फोटो राखेर सुतेपछि सिरानीमा सपनी देखिनँ नभन्नु ।
मनको बलेँसीमा कुल्चिएर पनि आँगन टेकिन नभन्नु ।
हो तिमीले दिएकी छ्यौ, मैले पिएको छु मर्म तिम्रो,
दुई शबद कोरेर दिइ सके पछि चिठ्ठी लेखिँन नभन्नु ।
उनका यी शेरको निक्कै तारिफ भयो एउटा गजलमय जमघटमा । झापा, मोरङ्ग, सुनसरीमात्र हैन काठमाण्डौ देखिका गजलकार भेला भएका थिए शनिबार इटहरीमा । त्यही माहौलमा हो सिताराम सुचारुका यी गजल शेरको तारिफ भएको । सुचारुको गजल संग्रह सपनाको राजधानी विमोचनको बाहनामा भएको जमघट गजलमा गतिलो जम्यो ।
तिमीले पठाको चिठ्ठीमा खाम थिएन ।
कुनै पनि हरफमा मेरो नाम थिएन ।
कस्तो लेख्छौ प्रमी, खै कस्तो लेख्छौ,
तिमीले लेखेको शब्दको कुनै काम थिएन् ।
यस्तै यस्तै
कतै मायाका शेरहरु कतै राष्ट्रियताका भावहरु अनि कतै विकृति र विसंगती बिरुद्धका प्रहार केही जिवनका मुल्यहरु समेटेका शेरले भरिपुर्ण सपनाको राजधानी विमोचन कार्यक्रममा पनि यस्तै गजलहरु वाचन भए अरुबाट । काठमाण्डौको ब्यस्ततामा बिरामीका कथा ब्याथासंग परिचित डा निरज भट्टराईको यो अभिब्यक्तिले तिनै भावनालाई मलजल पुर्याउँछ ः
सिङ्गै आकाश पिँजडामा राख, चरा रमाउदैन ।
चराले आकाश हैन, पिँजडा मन पराउदैन ।
जस्ले यो गीत सुनेको छ त्या बहिरो भएको छ, तैपनि यो गीत नसुनी यहाँ कोही निदाउँदैन ।
भर्खरै सकिएको राष्ट्रिय कविता महोत्सवमा तेस्रो भएका बाबु त्रिपाठी र राबत दुवै उत्तिके जमे इटहरीको कार्यक्रममा बाबु त्रिपाठीले आफ्नो गजल सुनाए यसरी
बाढी घुम्दै आयो अरु केही गरेन् ।
सबथोक बगायो अरु केही गरेन् ।
मेरो घरमा आएर चराले पनि,
आफ्नो घर बनायो अरु केही गरेन् ।
काठमाण्डौबाट आएका मनोज न्यौपानेका गजल पनि उत्तिकै दमदार थिए । यता मोरङ्ग सुनसरी र झापाका गजलकार झन
के कम हुन्थे र जे वी थुलुङ्गको गजल गयक साजन राइले गाए, सिताराम सुचारुको गजल सुजाता विष्टले गाइन उसैगरी । टिका अत्रेय, तीला लेकाली, पुनम अधिकारी, इश्वर लम्सालले आफ्ना
गजल सुनाए स्वरको जादु देखाउदै सबैको भन लोभ्याएर ।
कार्यक्रमको अर्को रमाइलो थियो हेमन यात्रीको सञ्चालन । उनले बा आमाले खाएको रक्सी लागेको देखि जिव्रो लटपटिने कुरा झिकेर उपस्थितहरुलाई हसाइ रहे हसाइ रहे । सर्जकको रचनामा उनले दिने प्रतिक्रियाले पनि हाँस्न बाध्य पाथ्र्यो कुनै वेला । त्यसैमा रमाइलो थपियो अर्को । कवि कृष्णभुष्ण बलले गाए जेवी थुलुङ्गको गजल साजन राइ जसरीने त्यसवेला सबै जना चकित भए बलको स्वर सुनेर ।
विरेश राई, कृष्णउदाशी, एकराज दोसाँध, हेमसागर तिम्सिना, करुणा राईका गजलले पनि वा वाही पाए । मिश्र बैजयन्तीले सपनाको राजधानीलाई गरेको टिप्पणीमा सबै एकमत भएका थिए । उनको प्रस्तुतीलाई सबैले मन पराएको आभाष पाउन कसैलाई गाह्रो भएन किनकी उपस्थित सबैले त्यो मन पराएका थिए ।
अन्त्यमा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल र कवि मनु मन्जिलका प्रस्तुती कायृक्रमका लागि बढी बजनदार बने साहित्य र गजल पारखीका लागि उनिहरुले गजल र कविताको विशिष्टता प्रष्ट्याए उदाहरण सहित । इटहरी नगरपालीकाको सास्कृतिक भवनमा भएको कार्यक्रममा चार घण्टा वितेको पत्तो नपाउदै सकियो कार्यक्रम तर पनि अझै धेरै गजलकारहरु आफ्ना सिर्जना सुनाउन नपाएर बिच्कीए भन्दै थिए कार्यक्रम सञ्चालक हेमन ।