April 22, 2010

राष्ट्रिय व्ययाम क्रान्ति : योगदेखि सत्ता कब्जासम्म

मुलुकका राजनैतिक गतिरोधहरू पार लाग्नै नसक्ने भएर हो कि गत एकाध महिना यता नेपालमा राजनैतिक अशान्ति नै ओझेलमा पार्ने गरी , शारीरिक सुस्वास्थ्यका लागि कसरत र व्ययामका शृंखलाहरू सञ्चालित भएका देखिँदैछन् ।
छिमेकी मुलकबाट पाल्नु भएका योगगुरू रामदेब बाबाले , हाम्रो मुलुकका राजनीतिका चटकहरू मञ्चन भैरहने टुँडिखलेमा नै ल्याएर सारा नेताहरूलाई स्वाँ स्वाँ र फ्वाँ फ्वाँ पार्दै उनीहरू भित्र उकुस मुकुस भैरहेको अतिपोषणको विषलाई झार्न लगाउनु भयो । नेताहरू पनि राजीखुशी सबै आसनमा ठसठसी कन्दै समाधिस्थ भए । हाम्रा पोटिला र मधुमेही नेतागणहरू आरनको खलाँती झैँ राम्रै गरी
 टकटकिए भस्त्रिका र कपालभाति मार्फत । यो विचित्र योग मेलामा, सबै पार्टी र नेताहरूको अलग अलग उपस्थितिले के कुरा साबित गर्‍यो भने हाम्रा नेताहरू भलै एकापसको शत्रूताले एकार्काको आँखामा प्रत्यक्ष आँखा गाडेर हेर्ने सम्बन्धमा नरहेका किन नहुन , बीचमा एकजना दादा वा बाबा उभिएर उनीहरूकाका हात समाइदिने र ताते गराइदिने हो भने ई एक ठाउँमा जम्मा भएर शरीरलाई खलाँति झैँ बजाउन र हाँसो नलागे पनि अट्ठाहास हाँस्न तयार बनाउन सकिन्छ । संवादबिहीन हाम्रा
  नेतालाई खाँचो छ भने केवल एउटा बिदेशी सूत्राधारको अनि त यिनले हिन्दू योगवाद र नास्तिक माओवादको फ्यूजनबाट नेपाली क्रान्तिकारी राष्ट्रवादको अवतार जन्माउन पनि सक्छन् जस्तो कि राष्ट्रनायक कामरेड प्रचण्डले घोषणा गर्नुभयो ।

बाबा रामदेवका योग शिविरहरूले , नेपालमा शरीर क्रान्तिको जुन माहौल पैदा गरेर छोडेको छ त्यसको दुरगामि प्रभाव आउँदा दिनमा पनि देखिने नै छन् । योगले गराउने शारीरिक कसरतको मानसिक प्रभाव पनि हुन्छ भन्छन् । योग ले त तन, मन र मष्तिष्क सबैलाई जोड्छ भने विश्वास पनि छ । यदि त्यसो भयो भने , रामदेव बाबाको योगले पार्ने सकारात्मक प्रभावका कारण हाम्रा भ्रष्टाचार , अनैतिकता र अनाचारहरूका पर्याय बनिसकेका राजनीतिक नेताहरूमा सुधार आउँदा , सारा मुलुक र मुलुकवासी लाभान्वित हुनछन् , निसन्देह ।
त्यही योग क्रान्तिकै प्रभाव हो कि कुन्नि किन हो पछिल्ला दुई हप्ता नेपालमा एउटा क्रान्तिकारी पार्टीले पनि विचित्र व्ययाम र शारीरिक कौशलका प्रशिक्षण सुरू गरिरहेको कुरा नेपाली छापामा पढिरहन पाइएको छ । उता ठाउँ ठाउँमा व्ययामको प्रयोगात्मक प्रदर्शनका क्रममा एक दुई जना पार्टी कार्यकर्ताहरूको ज्यान नै गएका घटना पनि सुन्नमा आएका छन् वा पत्रपत्रिकामा पढ्न पाइएकोछ ।

यो हप्ताका नेपाली छापाका समाचार र तिनले प्रकाशित गरेका फोटोहरू समेतलाई पत्याउने हो भने , अहिले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विशाल शारीरिक व्ययाम, अभ्यास , लाठी , खुकुरी र सामान्य हतियार प्रशिक्षणका कार्यक्रमहरू सञ्चालित गरिएका छन् । यिनको उद्देश्य एउटा निश्चित दल विशेषले जनताका नाममा जनबिद्रोह गराइ नेपाली राजनीतिको सत्ता कब्जा गर्नु हो भनेर पत्रपत्रिकाले रिपोर्टिङ गरिरहेका छन् । सत्यतथ्य आआफ्नै परिभाषामा आधारित हुने नेपालमा , कुराको एउटा पाटोलाई समातेर पत्याउन पनि सकिन्न , तर वैशाखको यो टण्टलापुर गर्मी र खडेरीको धूलो उडाउँदै यो भीषण व्ययाम आन्दोलन अकार्थमा त भैरहेको छैन कसैले पनि अनुमान गर्ने कुरा भयो । एउटा पक्षले जनतालाई आत्मरक्षाको जरूरी परेको हुनाले यसो गरिएको हो भनिरहेका छन् त कसैले अन्तिम भीडन्त गर्दै कुनै एउटा राजनीतिक पार्टी विशेषको राज्यसत्ता कायम गर्न यो शारीरिक र शस्त्रार्थ तयारी गरिएको हो । कुराको वास्तविकता जे पनि हुन पनि सक्छ हात्ति तर्साउन, नाङलो ठटाउन, मल्ल युद्ध गर्न, क्रान्ति गर्न वा कुश्ति वा त्यस्तै खालको खेल तमाशा गर्न । यो भिषण तयारीका पक्ष वा विपक्षमा केही गर्न सकिने सामर्थ्य आफ्नो रहेन । तर , यो व्ययाम क्रान्तिको देशव्यापी स्वास्थ्य योगदानलाई नजरअन्दाज गर्न भने मिल्दैन । यस्तो कार्यबाट निश्चय पनि नेपाली युवामा स्फूर्ति र ताजगीपनको मात्रा भरिने छ । तर , भीषण शारीरिक प्रशिक्षणको बाटोबाट नै राजनैतिक सत्ता लिने , छिन्ने , खोस्ने वा पल्टाउने चलन चल्यो भने त हाम्रोमा पछिसम्म यही बाटो उचित ठानिने संस्कार बस्न पनि सक्छ । अर्थात् जस्को लाठी उसैको भैँसी हुने परम्परा । आज लाठीधारीहरू यता , भोलि स्वार्थ नमिल्दा उता हुने हाम्रो जनजीवनको शैलि र परम्परा रहेको हुनाले यस्तो संस्कारले त लाठीधारी आफ्नो बनाउने र अरूको भैँसी बलपूर्वक आफ्नो बनाउने शृंखला शुरू गराउन पनि सक्छ । यो बाटोबाट मुलकमा शान्ति ,अमन चैन र अनुकुल परिवर्तनहरू कसरी सम्भव होलान् र ? भएका परिवर्तनहरूलाई संस्थागत गर्ने वा गुम्न नदिने परिवेश निर्माण गर्दै सकेसम्म सबै पक्षको निचोडबाट विवादहरूलाई समाधान गर्दा पो परिवर्तनहरू दिगो होलान् । नत्रभने यस्तै शारीरिक तन्दुरुस्ति प्रशिक्षण र तालिमहरूबाट वालक लोकतन्त्रको तोडमरोड मालिस भैरहेने भयो ।


3 Comments:

Anonymous said...

A good one. Yogo must make these aggresive people calm!

mskhanal said...

hahahaha gud article

Ramesh said...

yo ta bhaisi lai basuri sunaye jasto bhayo ni. jati sunaye pani buje po. tehi ho ramdev ko yoga hamra nepali neta lai.

Post a Comment

>>> कमेन्टको लागि धन्यवाद !