April 4, 2008

घुम्दै फिर्दै रुम्जाटार

जती पनि लेख रचना हरु पढ्छु सबै माओबादीको बिरोधमा नै लेखेको देख्छु। माओबादीहरु द्वारा भएका अचाक्ली, ज्यादत्ती आदिको निन्दामा नै शब्द खर्चिएका छन। तर कसो गर्दा वा कसो हुँदा यो माओबादी प्रकोपबाट देश र जनताले छुटकारा पाउछ त भन्ने बिषयमा प्राय सबै मौन छन। बिरोध गर्न सजिलै हुन्छ। समस्याको कुरा गर्न सजिलै हुन्छ। तर समाधान के हो त? यस बिषयमा किन लेखिदैन? किन सोचिदैन? संबिधान सभाको चुनाव हुँदैछ। माओबादीले बहुमत सीट जित्नु समाधान हो कि माओबादी इत्तर कांग्रेस वा एमालेले जित्नु समाधान हो?माओबादीको उद्दन्ढ त देखेकै छौं, यिनीहरुको बहुमत आउनु पक्कै पनि समाधान होइन। कांग्रेस वा एमालेले बहुमत ल्याएर माओबादी किनारा लाग्ने अवस्था आउनु पनि समाधान होइन, किनकी बाह्रौं बर्षसम्म रगतको खोलो बगाएर आएको पार्टी निर्वाचन पछी चुपचाप बस्ला भनेर मान्न सकिन्न।
जिम्मेवार राजनैतीक पार्टीहरुले कसरी हुन्छ माओबादीहरुलाई प्रजातान्त्रीक मुलधारमा अवतरण गराउने तर्फ सोच्नु पर्थ्यो। माओबादीहरु निर्वाचनमा भाग लिएर प्रजातान्त्रीक संस्कार अनुरुप निर्वाचनको परिणाम स्वीकार गर्ने अवस्था सम्म पुगेकै छैनन र उनीहरुबाट प्रजातान्त्रीक संस्कारको अपेक्षा गर्नु बेकार हो। त्यसकारण माओबादीलाई केही समय कांग्रेस्-एमालेहरुले संगै लिएर जानु पर्ने थियो। ताते-ताते गर्दै प्रजातान्त्रीक बाटोमा बामे सर्न सिकाउनु पर्ने थियो।
यो संबिधान सभाको चुनाव भएकोले कुनै पार्टी बिशेषको बहुमतले संबिधान निर्माण गर्ने पक्कै पनि होइन।त्यसकारण अहिलेको संसदको जुन संरचना छ, सोही अनुसार तालमेल गरेर अघि बढेको भए पनि हुन्थ्यो। त्यसो गर्दा संबिधानसभामा माओबादीको सन्मानजनक उपस्थिति हुन्थ्यो र उनीहरुलाई देशि-बिदेशी प्रतिक्रियाबादीहरु मिलेर समाप्त गर्न लागेको भन्ने भान पर्ने थिएन।अब अहिले सबै एक्ला एक्लै चुनाव लड्न थाले पछि यो निर्वाचन् एउटा जीवनमरणको सवाल् बनेको छ र अहिले जति पनि भिडन्त आक्रमण भैरहेको छ, यो सबै एक्ला-एक्लै चुनाव लडनाको कारणले भैरहेको छ। जसको राजनीति, संगठनको आधार नै बल प्रयोग, हिंसाबाट टिकेको हुन्छ, उनीहरुले आक्रमण नगरेर के गर्छन् त?
ल मानें, दलहरुबिच् तालमेल सम्भव भएन, ठिकछ तर माओबादीका केही शिर्ष नेताहरुको लागि ठाउं छोडिदिन पर्थ्यो।त्यसो गर्दा उनीहरुका कार्यकर्ताहरुलाई पक्कै पनि चित्त बुझाउने ठाउँ हुन्थ्यो र अहिलेजस्तो मारमुंग्रीमा लाग्ने थिएनन् होला। यस बिषयमा समयमै सोचिएको भए पक्कै पनि अहिलेजस्तो दिनहु भिडन्तका समाचारहरु सुन्नु पर्ने थिएन होला।

एकपटक चुनावी प्रक्रियामा, संबैधानीक प्रक्रियामा उनीहरुलाई ल्याइसकेपछि अघि बढ्न सजिलो हुनेथियो। उनीहरुको सेनाको ब्यबस्थापन् हुनेथियो र उनीहरु बढी जिम्मेवार हुनेथिए।एमाले र कांग्रेस, जो माओबादीलाई राजनीतिको मूलधारमा हामीले लिएर आयौं भनेर डंका पिट्छन्, अहिले नै निर्वाचनमा बहुमत् ल्याएर आफू एक्लै अघि बढ्न हत्तारिन हुने थिएन। यहांनिर यी दुबै दल चुके र देश् फेरि घुम्दै फिर्दै रुम्जाटार-अर्थात माओबादी समस्याले कहिले निकास नपाउने अवस्थामा पुगेको छ।


संबिधान सभाको सेरोफेरोका "राष्ट्रिय मजाकहरु"

विभिन्न समाचार माध्यमहरु: विभिन्न पार्टीबाट समानुपातिक उम्मेद्वार बनाइएका २२७ जना द्वारा नागरिकता पेश नभएको

प्राबिधिक शिक्षा, CMA पढ्न आवेदन दिन नागरिकता चाहिन्छ, पियनको दर्खास्त दिन नागरिकता चाहिन्छ, तर संविधान सभाको लागि भने विना नागरिकता आवेदन गर्न पाइने !!

के संविधान सभा भनेको पियन पद वा CMA को पढाई भन्दा महत्वहिन हो ? २५ वर्ष नाघेका तर नागरिकताको आवश्यकता वा उपयोगीता नजानेकाले भोली संविधानमा कस्तो नागरिक हक, दायित्व, प्रणालीको कुरा समावेश गराउने प्रकृयामा बहस गर्ने होलान् !!

यो त सन्ता सिंहको जोक भन्दा पनि गजबको जोक भएन र!

आफ्ना कार्यकर्ताहरुलाई संयमित हुन प्रचन्डको निर्देशन , माओवादीले कसैलाई आक्रमण नगर्ने

पत्र पत्रीकाका समाचार (अझ फोटो सहित): रसुवामा काङ्रेस उम्मेद्वार माओवादी बाट कुटिये
माओवादी जवाफ: लाखौं नगदको बिटो बोकेर मतदाता किन्दै हिंडेको बेला स्थानिय जनता एवं कार्यकर्ताले बिरोध गरे पछी उल्टै गुण्डा लगाएर जाइ लाग्दै हाम्रा कार्यकर्ताहरुलाई घाइते तुल्याको, त्यही भएर स्थानिय बासिन्दाले चुनाव प्रभाव पार्न खोज्ने लाई कार्वही गरेका हुन।
"क्या जवाफ !!, आँफै छानविन, आँफै सजाय, ठ्याक्कै भ्रष्टचार निवारण शाही आयोग जस्तो !"

संविधानसभाको निर्वाचनको पूर्व सन्ध्यामा देशवासीका नाममा भनेर एक दुई दिनभित्रै राजा ज्ञानेन्द्रको सम्बोधन आउने samudrapari.com

“राजा ज्ञानेन्द्रको संविधानसभालाई शान्तिपूर्ण र भयरहित वातावरणमा निष्पक्ष ढंगबाट भाग लिन देशवासीलाई आह्वान गर्दै एक दुइ दिन भित्रै सम्बोधन आउने बताईएको छ ”

राजतन्त्रात्मक गणतन्त्र भएको देशमा सम्बोधनमा राजाले पनि गणतन्त्रको पक्षमा वकालत गरे भने पनि अनौठो मान्नु पर्दैन, पशुपती शम्शेर देखी सुर्य बहादुर थापासम्म गणतान्त्रिक पथमा छन भने ज्ञानेन्द्र पनि के कम !

गान्धी बन्न प्रचन्डको निर्देशन
(Kantipur, April 3)

यो निर्देशन आफ्ना कार्यकर्तालाई होइन अरु पार्टीका उम्मेद्वार र कार्यकर्तालाई हो !
भन्न खोजेको के भने, चुनाव सफल बनाउनलाई अब एक हप्ता YCL ले जती पिटे पनि विपक्षीहरु गांधी जस्तै सहंशिल् भएर बस, दुई चार गोली, खुकुरी सहनु पर्छ माओवादीको प्रतिकार नगरि गांधिवादी भएर बस , नत्र ………………भयंकर हुन्छ !!


प्रचन्डको हत्या प्रयास
(Kantipur, April 3)

सिरहाको लहान सभामा आफूलाई हत्या गर्न एक मिनेटमात्र बाकी रहदा षड्यन्त्रकारीलाई वाईसीएलले समाएको प्रचन्डले दाबी गरे ।

एक मिनेट पछी हत्या हुँदैछ भन्ने कुरो काम्रेडले कसरी थाहा पाए ! यो कुरो यमराजले नै भनेको हुनु पर्छ । १५-१६ हजार मान्छे मार्दा पक्कै पनि यिनको यम राजसँग चिन जान वा अझ "अघोषित सहकार्य" भएको हुनु पर्छ र नै उनलाई कसैले मार्न लागेको कुरो एक मिनेट पहिले यमराजले त्यही आएर भनेको हुनु पर्छ ! नत्र त मनुवामा एस्तो खुबी कहाँबाट आउथ्यो होला र!


दुइ कन्टेनर

"बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। "
माओबादीको बिकाससंगै नेपाली शब्दकोशको पनि राम्रै बिकास भो। कती त प्रयोगै नहुने शब्द मुखैमा झुन्डिन पुगे भने कति नया शब्दको बिकास भयो। लौ भन्नुस त छापामार कहिल्यै प्रयोग भएको थियो होला? चक्रपथ सुनेको देखेकै हो, प्रचण्डपथ होला त शब्दकोशमा?
खुशीको कुरो केही गरे पनि तह लगाउन नसकिने भालुको कम्पट माओबादी चुनाबमा आए। यस्तै रमितै रमितामा संबिधान सभाको चुनाव पनि हुने भयो।तर के चुनाबको भोली पल्ट के हुन्छ कसैले सोचेको छ? बास्तबमा भन्ने हो भने नेपाल अहिले २ कन्टामेन्टको बिचमा छ। जंगलका मोओबादी बन्दुक थन्काए जस्तो गरेर गाउंमा किल्ला गाडेर बसेका छन भने शहरका खाओबादी राजदरबारमा टाउको लुकाएर बसेका छन। यो कुरो निश्चिच छ, ४-५ सिट काट्न माओबादीलाइ कठिन हुनेछ भने ४-५ सांसद राजाले पाउन झनै कठिन छ। आफुलाइ बाघ ठान्नेहरु आफ्नो जुघां उखेलीदा के टुलुटुलु हेरेर बस्छन? संबिधान कागजको खोस्टो हो, कानुन पालना गरे संबिधान नै चाहिदैन, पालना नगेर जत्रो ठुलो ढड्डा बनाए नि बिहारको चाल। दुइ दशक पहिले संबिधान बन्दा दिपावली भएको थियो,यस पटक बन्दुक पडकाउलान तर केही दशक पछि अर्को संबिधान सभाको रमिता नहोला भन्न सकिन्न किनकी दुइ दशक पहिला संबिधान यिनै कांग्रेस, कम्निष्टले बनाएका थिए जुन अहिले लाजै पचाएर अर्को संबिधान सभामा उठ्दै छन।
अनुमानीत परीणाम आउने हो भने संबिधान सभाको रिजल्ट पछि माओबादी सर्कसको जोकर र राजा कर्लब्रेकको जोकरमा सिमित हुनेछन। ल भन्नुहोस त जंगलको राजा र शहरको राजा फाल्तु जोकर भएपछी आरामसंग बस्लान त? मैले संबिधान सभाको मुखैमा अशुभ कुरा गरेको होइन न त म संबिधान सभा नहोस भन्न नै चाहान्छु। बास्तबमा भन्ने हो भने अहिले संबिधान सभाको चुनाव गोली र बारुदले भरी भराउ जंगलको कन्टामेन्ट र शहरको कन्टामेन्टको बिचमा हुंदैछ जुन जतिखेर पनि बिस्फोट हुन सक्छन र जता पनि फर्केर जस्लाइ पनि सिध्याउन सक्छन। फेरी पनि संबिधान भन्ने कागजको खोस्टोमा देश बन्दक बनाएर जनताको रगतको होली खेलेको देख्न नपरोस,यही छ पशुपतीनाथसंग मेरो प्राथना।


छापामार

-पुरुषोत्तम सुबेदी

क्रान्तिको चर्का कुराले ,
तरकारिमा नुनै चाहिएन मलाइ ।
जनबादका चिप्ला मलमले ढिडो निल्न ,
गुन्द्धुक चाहिएन मलाइ ।।
हंसिया हतौडाले सज्जित रातो झण्डा ,
मेरै आङको बस्त्र सम्झे ।
जर्ज बुशको अगाडि आफ्नै उपज ,
प्रचण्डपथलाई छेप्यास्त्र सम्झे ।।
भाई गुमायं दाइ गुमाएँ ,
गुमायंँ सबै श्री सम्पत्ति पनि ।
छोरा-छोरी पनि बिषिर् दिएं समाते बन्दुक ,
गर्छु केहि परिर्बतन भनि ।।
उधारो जनबादको लागि नगद ढिडो र गुन्द्धुक पनि दिएँ ।
मन गणन्ते क्रान्ति कथामा छारो भैरेको बलि चढायँ ।।
अब त के रह्यो र म संग ?
मै रिक्तिए पछि थन्किए हतियार ।
लोक तन्त्रको नयाँ थरले पोतिएको गणतन्त्र अगाडि आई भयो लम्पसार ।।
आशा थियो पेट भरि खाने अनि एक सरो आँङभरि लगाउने ।
अनि हरेक बर्षआउने परम्परागत दशै तिहार लोसार इद रमादानमा रमाउने ।।
खै के भनुँ अब म त लुटिय छैन मेरो कोही कतै पनि ।
परिर्बतन बलिदानीको घुमाउरो बाटो त रुम्जाटार पो रहीछ जाने ।।
मलाई के थाहा मेरो पर्खाइमा कोही पनि आउँदैन
भैरेको बलिदानी पनि आउँदैन
तर पर्खि बसे मेरो भाई मेरो दाई अनि मेरो भैरे समयले मलाइ बिर्षदैन ।।
प्रतिक्षा निकै गरे बषन्तको तर देखिन्छन रुखा फाँटहरु चारैतिर ।
कहिले होला हरियाली नयाँ बषन्तको आगमन हुन्छकि कि चाउरे मुहार रसिला आखिर ।।
लौन म त बिच बाटैमा परे गणतन्त्रलाई भाइ दाइ र भैरे सापट दिय ।
आखिर म घर पनि पुग्न सकिन मेरो जनबाद पनि आएन
लोकतन्त्र पनि आएन गणतन्त्र पनि आएन ।।
मेरो भाइपनि आएन मेरो दाइपनि आएन छोरो भैरे पनि फर्केन
आखिर बषन्त पनि आएन, कर्याङ कुरुङ पनि आएनन ,
काँक्रा फर्सि पनि रोप्न पाइएन