November 28, 2008

जय ब्लग! ह्याप्पी ब्लगीङ।।

तपाईले गुगल, याहू वा अन्य कुनै सर्च ईन्जिनमा 'blog' लेखेर खोज्नु भयो भने, हजारौं वा लाखौं होईन, करौडौं पेजहरु भेटिनेछन । शुरुमा 'अनलाईन डायरी' भनिने यो ब्लगको क्षेत्र, विस्तारित भएर हाल साहित्य, समाचार, विज्ञान लगाएत समाजका हरेक क्षेत्रको विचार र सूचना प्रवाह गर्ने यौटा सशक्त माध्यम बनी सकेको छ ।

हरेक सेकेण्डमा केयौं नया ब्लग बन्ने क्रम जारि रहेकाले ब्लगको संख्या कति छ त भनेर निश्‍चित आँकडा दिन सकिने स्थिति छैन र केवल यो निरन्तर बढदै गएको छ मात्रै भन्न सकिने स्थिति छ ।

हाम्रै देशको कुरा गर्ने हो भने, Blogger मा करिव ८,४०० अनि Wordpress र आफ्नै डोमेनका बल्गसमेत गर्दा नेपालीका नाममा दर्ता भएका बल्ग करिव ९-१० हजारको हाराहारिमा रहेको रहेको मेरो प्रारम्भिक अध्ययनले देखाएको छ ।('दर्ता' लाई जोड दिनुको मतलव ति मध्य अधिकांश ब्लगहरु नियमित छैनन्)

ब्लगको ईतिहास हेर्ने हो भने; १९९४ मा त्यतिवेला बिद्यार्थी रहेका Justin Hall ले शुरु गरेको links.net लाई नै विश्‍वको प्रथम बल्ग मान्न सकिन्छ । त्यतिबेलासम्म सरकारी कार्यालय, बहु-देशिय कम्पनि वा केहि ठुला बिजनेस हाउसको मात्रै अधिपत्य रहेको ईन्टरनेटको पृष्ठहरु Justin Hall को ब्लगको शुरुवातले सर्वसाधारणको पहुँच बढन थाल्यो ।

ब्लगको रुपमा ईन्टरनेटको पृष्ठहरु सर्वसाधारणको पहुँचमा पुगे पनि बल्ग बनाउन कम्तिमा पनि वेबपेज डिजाईन र HTML सम्बन्धि केहि ज्ञान चाहिने भएकोले निजि बल्गहरुको अझै राम्ररि विकास हुन सकेको थिएनन् । तर जब १९९९ मा Evan Williams र Meg Hourihan ले Pyra Labs को गठन गरी निशुल्क रुपमा करिव करिव 'तयारी' ब्लग पेज उपलब्ध गराउन थाले त्यसपछि भने ब्लगिङको दुनियाको ईतिहास भिन्दै भयो।

यसरी Pyra Labs, (जुन अहिले गुगललेल लिएको छ र Blogger को नामले चीनिन्छ) ले साधारण कम्प्युटर सम्बनधि ज्ञान हुनेले आफै साज-सज्जा गरि चलाउन सकिने पेजहरु उपलब्ध गराए पछि ब्लगको दुनियामा बाढि नै आयो ।

हाल आएर विषय बस्तुको विबिधता मात्रै होईन, पढन, सुन्न, हेर्न र प्रतक्ष कुराकानी गर्ने सबै खाले सुबिधा ब्लगमा उपलब्ध हुन थालेको छ ।

नेपाली ब्लगको कुरा गर्दा दर्ताको संख्या निक्कै भए पनि नियमित संचालनमा आएका ब्लगको संख्या भने १००-१५० को हाराहारिमा छन ।

नेपाली बल्गरहरुको सूचीकरण गरेर राख्ने पहिलो वेबपेज bloggers.com.np मा करिव ६३३ ब्लग दर्ता भएका छन । त्यस्तै nepalibloglist.blogpost.com मा ३२० त hamrocircle.blogspot.com मा ५० को हाराहारिमा नेपाली ब्लगको प्रवृष्टी देखीन्छन् । तर नियमित अपडेट हुने वा बितेका तिन महिना अघिसम्म अपडेट भएका ब्लग गन्ने हो भने त्यसको संख्या डेश सय भित्र हुन्छ र एक महिना अघि सम्ममा अपडेट गरिएका ब्लगको संख्या करिव १२० जति मात्रै छन र त्यसमा पनि मुख्यतया नेपाली भाषामा मात्रै लेखिने ब्लग १०० जति मात्रै छन ।

नेपालि युनिकोडको विकास र माथि उल्लेखित प्रदायकहरुले उपलब्ध गराईदिएका निशुल्क पृष्ठ अनी बदलीदो परिस्थितिका बिच बढि भन्दा बढी नेपालि ब्लगहरु बन्नु पक्कै पनि खुशिको कुरा हो ।

अबका ब्लग केवल आफुलाई मन परेका पेजहरुको लिन्क राख्ने वा साथी-भाईका फोटोहरु राखेर व्यक्तिगत सूचना दिने मात्रै रहेनन। आधुनिक ब्लग विश्‍वभरि छरिएर रहेका सबैको जमघट स्थल, विचार, सूचना र समाचारको आदान प्रदान र नया खोज वा कुनै पनि सामाजिक वा समुहिक कार्यको लागी हातेमालो गर्ने स्थान पनि बनि सकेको छ ।

हामी आफ्नो विचार सम्प्रेषण गर्न स्वतन्त्र छौं र ब्लगले हामिलाई सहि अर्थमा त्यो स्वतन्त्रता दिएको छ, जहा तपाईको विचारमाथी कुनै पनि तगारो वा बन्देज लाग्दैन । मलाई लाग्छ भोलिका दिनमा ब्लगको क्षेत्र र प्रभाव अझै फराकिलो र दह्रो हुने छ । दिनदिनै यसको प्रविधिमा आएको सुधार, सरलता र विबिधताले समाज र देशको निर्माणमा पनि पक्कै पनि प्रतक्ष भूमिका खेल्न सक्ने छ ।

अन्तमा मेरो एकजना विदेशस्थित साथी केहि महिना अगाडी कामको लागी अन्तर्वार्तामा गएका रहेछन। अन्तर्वार्ता लिनेले उनको वैयक्तिक विबरण हेरेपछि सोधेछन "तिम्रो ब्लग छ?"। पढाईको हिसाबले ईन्जिनिएर भए पनि यो क्षेत्रमा त्यत्ति ध्यान नगएकोले उ एकैछिन अलमल्ल परेछ। पछि अन्तर्वार्ता लिनेलेनै उनलाई 'तिम्रो वायोडाटाले तिमिले के पढ्यौ र के जान्छौ भन्ने देखाउँछ तर तिम्रो बल्ग भएको भए तिमि के सोच्छौ र कस्तो विचार राख्छौ भन्ने पनि थाहा हुन्थ्यो" भनेपछि उ अलि प्रष्ट भएछ ।

जे होस अन्तर्वार्ता लिने सबैले सबैलाई यस्तो प्रश्‍न नगर्लान र केवल ब्लग लेखेकै भरमा कसैले राम्रो काम पाउलान नै भन्ने पनि कुनै ग्यारेन्टि छैन। तर यो विचार सम्प्रेषण गर्ने यौटा सशक्त माध्यमको भने हामिले भ्यायसम्म प्रयोग गर्नै पर्छ । जय ब्लग! ह्याप्पी ब्लगिङ।।