May 20, 2012

फेसबुकबाट सापटी

 Baru sambidhan nabane nabanos...Tara yo pyaro desh jaati jaatiko tukra nabanos....mero haardik anurodh......maobaadile salkayeko aago le aaja desh jaliraheko chha..haami aba pani nabole kahi le Bolne ho...lau an aawaz bulanda paarnu paryo..
धेरै समय भयो फेसबुक र दौंतरीबाट टाढारहेको। आज समय निकालेर फुसबुक नियांले। लाइक, डिसलाइक,ट्यागका जालले भरिएको पेजमा एक जना डाक्टर साथीले प्रोफाइल स्टाटसमा माथि लेखिएको कुरा राखेका थिए।
जेठ १४ नजिकंदै जांदा नया नेपालको नयाँ संविधानको नाटकको क्लाइमेक्स तिर पुग्दै छ। एक हुलले जात जातिको भरमा राज्य राख्नु पर्ने भनेर नेपाल बन्द नसकाउँदै अर्को थरीले जात जातिको भरमा राज्य राख्न हुँदैन भनेर नेपाल बन्दको तालीका तयार पारिसकेका हुन्छन्। राई लिम्बुले पूर्वमा बन्द नसकाउंदै ब्रामण क्षेत्रीले पोखरामा बन्द सुरू गर्दछन। सुदूर पश्चिमका पनि के कम, अखण्ड सुदूर पश्चिम भनेर २ हप्ता जन जिबन ठप्प पारीदिन्छन।
बुढा पाका भन्थे मान्छे मरे भनेर हैन कि काल पल्क्यो भनेर चिन्ता गर्नु। त्यस्तै भएको छ नेपाल। २ - ४ जनाको ज्यान लिनु र देशको शासन ब्यबास्थाको खिली उडाउनु लाई आन्दोलन ठान्ने माओवादीको रोग अहिले देश भरी राम्रैसंग सल्किएको छ र माथि ती साथीले फेसबुकमा बाँडेको प्रसङ्ग प्रया नेपालीको चिन्ताको विषय भएको छ। आफ्नै कार्यकर्ताले वितण्डा मच्चाए आन्दोलन हुन्छ अर्को समूहले त्यही गरे अपराध। पार्टीहरूले आफ्नै पकेटका भोटरहरु उचालेर आफ्नो दुनो सोजाउने काम अब सबैले सिकेका छन। चाहेको कुरा नपुगे उपाय सरल छ - नेपाल बन्द। त्यसको विरोधमा को उत्रिने? पार्टीहरू उत्रिने कुरै भएन किनकी त्यो अस्त्र आफूहरूले प्रयोग गरिसकेका छन र भविष्यमा पनि प्रयोग हुन सक्छ। जनताले प्रतिकार गर्ने कुरै भएन, जो मर्यो मर्यो, अरू कठै भन्ने मात्र हुन। आखिर जुन पार्टी सरकारमा गए पनि सुरक्षा संयन्त्र त्यही हो। पटक पटक असफल त्यो संयन्त्रले जनताको सुरक्षाको चासो नामसँग मात्र सम्बन्ध छ।
जेठ १४ आउने पक्का छ। त्यसलाई कसैले रोक्न सक्दैनन्। अदालतको निर्यणले गर्दा संबिधान सभाको आयो पनि त्यसै दिन टुङ्गिन्छ। यसको अर्थ संविधान जारी हुन्छ हुन्छ। पार्टीहरूले आफूले काम गरेको देखाउनु छ। खोस्टो भए पनि संविधान जारी हुन्छ। राम्रै जारी भए पनि विरोध पक्कै हुनेछ तर झारपाट संबिधान आए त सरकारले ठुलै विरोधको सामना गर्नुपर्ला। कागजी ज्ञानका विज्ञ मानिने हाम्रा नेताहरूले अरूको देशमा देखेको जस्तै राज्य गणराज्य बनाएर विकासको छलांग मार्ने सपना भने सपनामै सीमित रहनेछ। सुर न सार भात खान तयार भने जस्तो आर्थिक,कानुनी हिसाबबाट स्पष्ट नपारी कागजमा देश बाँडेर संविधान बनाउँदा देश लँगडो त हुन्छ नै, अझ एउटा बर्गलाई पेलेर अर्को बर्गलाई काँधमा राखेर संविधान जारी गरे देश झन खिचातानीमा अल्झने छ। आशा छ जनताले फेरी अर्को आन्दोलनको सास्थी ब्योहर्न नपरोस्।