March 6, 2011

बिदेशमा धनकमाउने सपना

कृष्ण के श्रेष्ठ"काल्स"

धन कमाउने ठूलो सपना देख्दै छु म विदेशमा
थाकेको यो ढाड घाममा सेक्दै छु म विदेशमा

उहाँ छँदा नाम्लो पनि नछोएका हातहरूले
सकी नसकी भारीहरू थेग्दै छु म विदेशमा

सक्दिनँ म हिँड्न पनि दुखिएका पैतालाले
ऐया! आमा भन्दै भुइँ टेक्दै छु म विदेशमा

संघर्षका तिखा तीर मैतिर ताक्दा खेरि
भाग्यलाई ढाल बनाई छेक्दै छु म विदेशमा

आमा ! अब फर्किन्छु हलो जोत्न स्वदेशमै
भनी गजल वेदनाका लेख्दै छु म विदेशमा

कृष्ण के श्रेष्ठ"काल्स" द्वारा सिर्जित अनाममण्डलीबाट प्रकासित गजलसंग्रह "धन कमाउने सपना"को विमोचन कार्यक्रममा फाल्गुन २८ दिनको २:३०मा मा पद्म कन्या क्याम्पस (डेनिस हल) हुंदैछ। अबश्य पाल्नुहोला।