April 16, 2008

माओबादीको राजनीतिको मूलधार प्रबेश-एमालेको योगदान

अहिले माओबादीको अपत्यारिलो बिजयको जती चर्चा भैरहेको छ, लगभग त्यती नै चर्चा एमालेको पराजयको भैइरहेको छ। एमालेको पत्तासाफ, एमालेको दिन सकियो आदी इत्यादी शिर्षकमा लेख रचना टिप्पणीहरु आइरहेका छन। खुच्चिङ् गर्नेहरु पनि छन्।दुख मनाउ गर्नेहरु पनि छन्। तर समग्रमा देशले के चाहेको थियो भन्ने कुरा तिर मानिसहरुले ध्यान दिईरहेका छन्। सबै जना माओबादीको जित वा एमालेको हारको बिष्लेषण गर्न नै ब्यस्त छन्।मूल् मुद्धा कुनै पार्टी बिशेषको जित वा हारको होइन।मूल् मुद्धा देशमा शान्ति पुनर्श्थापनाको थियो, जसको लागि माओबादीलाई राजनीतिको मूलधारमा ल्याउनु थियो र कथंकदाचित माओबादीको हार भएको भए त्यो असम्भव जस्तै थियो। भलै यो चुनावमा कांग्रेस्-एमालेहरुको हार भएको छ, तर माओबादीहरु जंगल् जान बाट रोकिएका छन् र देशमा शान्ति पुनर्श्थापना हुने बलियो आशा जागेको छ।के यो ठूलो कुरो होइन?
एमालेको पराजयमा खुशियाली मनाउने वा खिसिट्यूरी गर्नेहरुले यो कुरा बिर्सिरहेका छन् कि एमालेले माओबादीलाई राजनीतिको मूलधारमा कत्तिको योगदान् दिएको थियो भनेर। नेपाली कांग्रेसले माओबादीलाई आतंककारी, उग्रबादी भनिरहदा एमालेले जहिले पनि उनीहरु राजनैतिक शक्ति हुन् भनेर प्रतिबाद गरिरह्यो। अनेक खतरा मोलेर सिलिगुढीमा माधव कुमार नेपाल माओबादीलाई भेट्न गए, पटनामा भेट्न गए। आतंककारीलाई भेट्न जानेहरुपनि आतंककारी नै हुन् भनियो।एमालेले हरतरहले माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन मिहेनत गर्यो। राजाले भित्तैमा पुर्याएर अचेड्न नखोजेका भए गिरिजा-देउवाहरु कहिले पनि माओबादीसंग सहकार्य गर्न राजी हुने थिएनन् होला।

लोकतंत्रको स्थापना पस्चात् पनि एमालेले माओबादीहरुलाई शान्तिप्रक्रियाबाट बिमुख् नहुन् भनेर हदै सम्म लचिलो बन्यो।कांग्रेस र माओबादीका अडानहरु बिच् आफ्नो अडानहरु छोड्दै गयो तर अबुझहरुले उल्टै एमालेलाई अडान नभएको ढुइमुले पार्टी भनेर भने।अब सत्ता हातमा आइहालियो, माओबादी भाडमा जाउन जस्तो गरेर कांग्रेसले ब्यबहार गर्यो तर एमालेले गणतन्त्र र समानुपातिक निर्वाचन् प्रणालीको मुद्धामा, जुन एमालेको पनि आफ्नो मुद्ध थियो, माओबादीलाई साथ दियो र माओबादीलाई संसद छोडेर जंगल जान बाट रोक्यो। यसमा पनि एमाले माओबादीको टांग मुनि छिर्यो भनेर हल्ला गरियो। तर एमालेले जे गर्यो माओबादीहरुलाई शान्ति प्रक्रियाबाट बिमुख नहुन भनेर गर्यो।
केही गल्तीहरु भएका छन्। केन्द्रीय राजनीतिमा अल्झिरहदा जनतासंग संबन्ध टुटेको छ र माओबादी दबदबाको कारणले एमालेको संगठन कमजोर रहेको छ। तर यो नै संसारको अन्त्य होइन। गणितीयरुपमा हेर्दा एमालेको पराजय भएको छ,तर माओबादीलाई राजनीतिको मूलधारमा ल्याउन एमालेले दिएको योगदान् महत्वपुर्ण छ र यस मानेमा एमाले बिजयी भएको छ। देश र जनता भन्दा पार्टी ठूलो ठान्नेहरुको लागि मात्र यो एउटा हार हो। देश र जनताको लागि राजनीति गरेका हरु यो हारबाट बिचलित् हुंदैनन्।



तरंगको भोट र माओबादि जित

नेपालमा भएको संबिधान सभाका परिणामका बारेमा अब कुनै अडकलबाजि गरिरहनु परेन। अहिले सम्मकै स्थितिमात्र हेर्दा पनि अब बन्ने संबिधान माओबादिले जस्तो भन्छ करिव करिव त्यस्तै नबने पनि त्यसमा माओबादिको बर्चस्व रहनेमा भने कुनै शंका रहेन ।

यसरि सर्सती हेर्दा माओबादी आफ्नो बाटोमा सफल भएकै मान्नु पर्छ । हुन त प्रजातन्त्रमा कसैको हार हुदैन भनिन्छ तर त्यो सिद्धान्तमा जे भए पनि हार्नेको पिडा हार्नेलाईनै थाहा हुन्छ ।

प्रजातन्त्रमा कसैको हार नहुदों हो त, न त माकुने ले हडबडाएर राजिनामा दिनु पर्थ्यो, न त एमालेले सरकारमा नबस्ने निर्णय गर्नु पर्थ्यो । बास्तबमा सिद्धान्त र बोलीमा जे भए पनि राजनीति यस्तो ठाँउ हो जहाँ यौटाले नहारि आर्कोले जित्दै जित्दैन ।

दल र पार्टीगत रुपमा हेर्दा अबस्था यस्तो भए पनि सामान्य नागरिक, जो कुनै पनि दल वा गुट संग बिशेष झुकाव राख्दैन, उसलाई कुनै पनि दल वा गुटको भन्दा पनि समष्टीमा देश बिकासको वा अझ सिधै भन्दा जिवनस्तरको सुधारको दरोकार र आशा छ उसलाई सत्ता वा शक्तिमा कुनै पनि दल वा गुट हुनुसंग खासै कुनै सम्बन्ध हुदैंन । सरोकार हुन्छ त केवल आफ्नो चाहनाको पूर्ती को ।

तेस्रो विश्‍व र त्यसमा पनि दक्षीण एशियामा बेला बेलामा सत्तासिन दल सडकमा आउने र केहि समय अघी सम्म कसैले सोच्दै नसोचेको दल वा गुट शक्तिमा आउनुमा यहि कुनै पनि दल प्रति बेसरोकार वा अपक्षपाती जनमानसको भोटले काम गर्छ । यहि तटस्थ मतदाता जसलाई हामि कहिले काहि "Neutral Voter" पनि भन्छौं, ले संसारको राजनैतीक रंगमञ्चमा धेरैचोटी उथल‍-पुथल मचाएको छ ।

राजनितिमा खासै चाख नराख्‍ने तर व्यक्तिलाई भोट दिने एक जमात मतदाताहरु पनि यहि बर्गमा पर्छन । जसको भोट समय र परिस्थिति अनुशार हरेक चोटिको चुनावमा फरक फरक नेता वा दललाई जान सक्छ

कुनै दलसंग पूर्ण रुपमा आबद्ध भएका वा बोली चालिको हिसाबमा कुरा गर्दा "टिकट लिएका" भनिएका व्यक्ति पनि कहिले काहि आन्तरीक बिबाद वा कुनै नौलो विचार वा बादको प्रभावमा आएर र कहिले काही चाहि आफ्नो दल प्रतिको बितृष्णाले गर्दा पनि अरुलाई मत दिन तयार हुन्छन् ।

मलाई लाग्छ यसपालको चुनावमा बहुसंख्यक त्यहि तटस्थ मतदाताको भोटको कारण नेपालको चुनावी परिणाम हामिहरुले सोचे भन्दा फरक आयो । लोकतन्त्र, प्रजातन्त्र वा जे सुकै भने पनि माथि भने जस्तै चुनाव भए पछि हार जित त अवश्‍य नै हुन्छ तर यो चुनावि जितलाई कुनै "बाद" वा दलिय "सोच" को जितको रुपमा भने लिन सकिने स्थिति भने छदैं छैन । यो यौटा केवल whimवा तंरगको भोट हो यसलाई माओबादिले आफ्नो "pocket vote" वा पेवा सम्झेमा त्यो माओबादिको लागि टुलो भुल हुनेछ, किनकि हालको तंरग केहि समय पछि फितलो हुंदै जानेछ भने भविश्यमा त्यस्ता नया नया अरु तरंगहरु पनि पैदा हुन सक्नेछन् ।

हार्ने ठुला दलले भने यसपाला पक्कै पनि कसैलाई न्यून मुल्याकंन गर्न हुदैन भन्ने ज्ञान प्राप्त गरेकै हुनुपर्छ ।

तर स्थिति जे जस्तो भएपनि माओबादिलाई ईतिहासकै ठुलो मौका मिलेको छ आफूलाई प्रमाणित गरेर देखाउने, त्यसलाई उनिहरुले पक्कै पनि हलुका नलेलान् । हैन भने जसरि आज आफूलाई चरम मुल्याकंन गरेर कांग्रेस र एमालेले पराजय भोग्नु परेको छ त्यो भन्दा लज्जास्पद पराजय माओबादिले छिट्टै भोग्नु पर्छ ।

आशा गरौं जनताको अगाडी केहि लाग्दैन भन्ने बुझेर माओबादी सुबाटोमा हिडने छन् ।