May 2, 2010

बोष्टन हैन प्योङयाङ जाऔँ

कतिपय क्रान्तिकारी मित्रहरू युरोप , अमेरिका, जापान र अष्ट्रेलियामा बस्छन् तर उत्तर कोरिया र क्यूवाको गीत गाउँछन् । एउटा नाम चलेको ब्लगमा साम्राज्यवादी भनिने गरेको अमेरिकाको न्यू योर्क र बोष्टनमा बसेर, नेपालमा अराजकता अव्यवस्थाका अर्को नाम बनेका माओवादीको किर्तन गाउने माओवादी भाटहरूका लेख पनि कहिले काहीँ पढ्न परेको छ । यो देख्दा अवश्य उदेक लाग्छ । यी उग्र कम्युनिष्ट व्यवस्थाका मतियारहरू किन यति धेरै आडम्बरी बनेका होलान् भनेर । यदि उनीहरूले समर्थन गरिरहेको र भजन गान गरिरहेको उत्तर कोरियन वा क्यूबाली ढाँचाको उग्र कम्युनिष्ट व्यवस्था साँचै नेपाली जनताको मुक्तिदाता विचार हो भने , ती व्यवस्थाले नै राज्य चलिरहेका मुलुकहरु संसारका सबै भन्दा अछूत र निम्न कोटिका किन बने मैले अहिलेसम्म बुझेको छैन । किन हिजोका पूर्व युरोपेली कम्युनिष्ट राष्ट्रहरूको त्यो हविगत भयो ? किन हिजोदेखि आजसम्मका सबै कम्युनिष्ट राष्ट्रहरु नरसंहार र पछौटेपनको अर्को नाम मात्र भएर इतिहास बने ? नेपालका माओवादीले अँगालेको राजनैतिक विचार र दर्शनले नेपालको कायापलट हुने भए , किन एउटा अपवाद चीनलाई छाडेर बाँकि कम्युनिष्ट संसार यति बिघ्न तुच्छ बन्यो ?