December 8, 2007

माओबादीहरुलाई सिद्ध्याई दिऊँ न त, सकिन्छ?

यहाँ ब्लग लेख्ने लगभग सबै साथीहरु माओबादीहरुलाई मन पराउनु हुन्न र चर्को आलोचना गर्नु हुन्छ। मेरा लगभग सबै साथीहरु पनि माओबादी बिरोधी छन र म आँफै पनि माओबादीको समर्थक् वा उनीहरु प्रति समर्थक वा सहानुभूती राख्ने मान्छे होइन।माओबादका बितेका १२ बर्षको युद्धमा नेपाल र नेपालीहरुले जती दु:ख पाए, त्यसको पीडा अरुलाई भन्दा मलाई पक्कै कम छैन। एउटी सात बर्षीय बालिकालाई बस भित्र जलायर मारिएको,क्रियापुत्रीहरुलाई क्रिया बसिरहेकै ठाँउमा गोली हानिएको,एक् शिक्षकलाई हात बांधेर निर्मम् हत्या गरिएको, चितवनको माडीमा चालिसौं निर्दोष जनतालाई खरानी पारिएको, यस्ता घटनाहरुको जति नै आलोचना गरे पनि कम् हुन्छ। हजारौं, लाखौ मानिसहरु प्रभावित भए, बिस्थापित भए, आफन्त, नातागोताहरु गुमाए। देश एउटा असफल् राष्ट्र तिर उन्मुख भयो। उध्योग धन्दा, उत्पादन बिकास कार्यहरुहरु ठप्प भए।माओबादी युद्धबाट देशलाई मुक्त तुल्याउन अनेक उध्यम गरियो। राजाद्वारा प्रत्यक्ष शासन थालिनु पुर्ब पनि सन्कटकाल घोषणा गरी सेना परिचालन भएकै हो। वार्ता पनि गरे। भएन, दलहरु असफल् भए, म अब आफै अघि सर्छु भनेर राजा स्वयंले शासन हातमा लिएर माओबादीहरुको युद्ध दबाउन पनि कोशीस् गरे र राजा पनि असफल् भए। यस्तो अवस्था रह्यो, न माओबादीले युद्ध जितेर सत्तामा पुग्न सक्थ्यो न सरकार उनीहरुलाई तह लगाउन सक्थ्यो, अर्थात देश एउटा अनिस्चितताको शिकार बन्यो। यो सबैले देखेको भोगेको कुरा हो। माओबादीलाई युद्ध रोकी शान्तीपुर्ण राजनीतिमा आउन रास्ट्रिय, अन्तरष्ट्रिय दबाब बढ्दै गयो र उनीहरु पनि सायद् युद्धबाट दिक्क भए।दलहरुले पनि तपाईहरुले चाहेको कुरो शान्तीपुर्ण रुपमा नै प्राप्त हुन्छ, हतियार् बिसाउनुस् भनेर आश्वस्त पारे र फलस्वरुप् दिल्लीमा १२ बूंदे सहमती भयो। र राजशाही शासन् ढल्यो, शान्ती सम्झौतामा हस्ताक्षर् भयो, माओबादीहरु संसदमा आए, सरकार बन्यो, अन्तरीम् सम्बिधान् जारी भयो र एक् प्रकारले देशले अब एउटा गति लिन्छ कि भन्ने भयो तर अहिले फेरि अन्धकारको कालो बादल् फैलिराखेको छ। दलहरुबिच् परस्परमा अविश्वास बढ्दैन् गैरहेको छ। अहिले स्थिति यस्तो हुंदैछ, माओबादीहरुको चर्को आलोचना हुंदैछ। माओबादीहरु दरबारबाट परिचालित, संबिधान सभा बिरोधी आदिको रुपमा उनीहरुलाई चित्रित गरिदैछ। सुजाताहरु जस्ता माओबादी सहभागी नभए पनि चुनाव हुन पर्छ भन्न थालेका छन् र सबै भन्दा माओबादीका उग्र बिरोधमा चरम भ्रस्टाचारी खुम बहादुर, गोविन्द राज जोशी, गच्चदारहरु जस्तो लागेकाछन् र नेका नेत्रित्वलाई माओबादीसंग "नझुक्न" अर्थात सहमतीमा नआउन दबाब दिईरहेका छन्। माओबादीहरुलाई शान्ति प्रक्रियामा ल्याउन प्रभावकारी भूमीका खेल्ने क्रि प्र सिटौलाको राजीनामा मागिन्छ। भोली माओबादीहरु फेरि जंगल् पसे भने के हुन्छ भन्ने कुरो को हेक्का यिनीहरुलाई छैन।माओबादीको क्रियाकलाप गलत भैरहेको छ र जरुर आलोचना गर्नै पर्छ तर आलोचनाको हद् त्यति हुनुहुंदैन जसले उनीहरुलाई निरास तुल्याओस र फेरि जंगल् लखेटोस।माओबादीहरुको सबै माग पुरा गरेर लम्पसार पर्नु पर्छ भन्ने पनि छैन, त्यसको लागि ब्यापक वार्ता, सहमतीको प्रयास र नागरिक समाज, बुद्धीजीविहरुको प्रयोग् गरेर दबाब परिचालन् गर्नु पर्छ र माओबादीलाई मनाउन पर्छ।
होइन माओबादी बिल्कुलै गलत हुन, यिनीहरु कहिले शान्ती प्रक्रियामा आउदै आंदैनन् र यिनीहरुलाई बिश्वास गर्न सकिदैन भन्ने हो भने त्यसको ओखती के हो त? यिनीहरुलाई निमिट्यान्न पारिदिऊँ न त, सकिन्छ? होइन सकिन्न भन्ने हो भने माओबादीलाई शान्ती प्रक्रियाबाट बिच्काउने काम किन गर्ने? किन एकतमासले उनीहरुको बिरोध् मात्र गरिरहने?
यदि हामीलाई शान्ती चाहीएको छ भने, बिरोधको भाषा बोल्न छोडेर सहमतीको भाषा बोलौ।समस्याको होइन समाधानको भाषा बोलौ। खाली घ्रीणा, द्वेष र बिग्रह मच्चाउने भाषा नबोलौं। सकिदैन, बोल्दै नबोलौं।