March 3, 2009

रुनु न हास्नु भयो

शेखर ढुङेल
०३-०१-२००९


रुनु न हास्नु भयो जीवन
माझदार मा अल्झेर
न अघी न पछी जान सके
नियती मा फसेर
रुनु न हास्नु ---
चियायो बिहानी ले सधैं मलाई
नयाँ भाग्य ल्याएन
गिज्याइ रह्यो चाद मलाई
यो मन मा सित्तल छरेन
रात भर सित्तल छरेन
रुनु न हास्नु ----
वारी पारी डुल्छन आँखा
कीनार मा देखिन्न आशा
निरास , हतास भयो मन
मरु कि बाचु उपाय सुझेन
मेरो मनमा उपाय सुझेन
रुनु कि हासु भयो जीवन
मझदार मा अल्झेर -----


सम्हालिन सकिन

प्रबिण थापा

सम्हालिन सकिन मनको बाध फुट्यो हजुर
उनको मेरो सम्बन्ध आजै देखी टुट्यो हजुर

चैत्र मासको खडेरिमा आँखाभरी वाढी आयो
नचाहेरै उनलाई खुशी मलाई पिंडा जुट्यो हजुर
जिन्दगीको गोरेटोमा सँग सँगै हिड्छौ भन्थ्यौ
बिच बाटामै उनको हात र मेरो हात छुट्यो हजुर

रमाइलो संसार थियो कालो वादल छाइ आयो
अनायसै आजफेरी असिनाले चुट्यो हजुर

अब सधैं हास्छु मात्र दु:ख दुर गयो भन्थे
मेरा सबै खुशीहरु कुन पापिले लुट्यो हजुर


एकदलीय जनतन्त्रका लागि माओवादी संवैधानिक प्रस्ताव:

हिजो Dainikee.com को वेबसाइटमा ब्राउज गर्दै जाँदा बलराम बानियाको एउटा लेखमा आँखा पर्‍यो । बानीयाको सो लेख माओवादीहरूको आगामी संविधानबारेको अवधारणापत्र बारेमा थियो । माओवादीका भाष्यकार मानिने अव्यवहारिक एवं कर्कश व्यवहार र विचारधारी विद्वान डाक्टर बाबुराम भट्टराईको व्यक्तिगत वेबसाइट www.baburambhattarai.com मार्फत नेकपा एकीकृत माओवादीको संवैधानिक अवधारणापत्रलाई सार्वजनिक गरिएको रहेछ । अहिले बिभिन्न राजनैतिक दलका सभासद र नेताहरू सँविधान निर्माणका लागि सुझाव र जनचासो संकलन गर्न भनी गाऊँ र जिल्लातिर पठाइरहिएका बेला, आफ्ना दलका सभासदहरूलाई आगामी संविधनमा राखिने मूख्य वस्तुका बारेमा जाग्रत पार्न र सो अनुरूप हुने खालको सुझावहरू नै संकलन गरी ल्याउन भनी पार्टीले अवधारणापत्र सार्वजनिक गरेको रहेछ ।

अवधारणापत्र सार्वजनिक हुनु आँफैमा कुरा ठिकै हो जस्तो देखिन्छ तर जब हामी माओवादीको आगामी संविधानको अन्तर्वस्तु कस्तो हुने रहेछ त भन्ने कुरा बुझ्ने चासो तर्फ लाग्छौँ , कुनै उदारवादी लोकतन्त्रका पक्षधरका लागि सबैभन्दा अत्यास त्यतिबेला लाग्न पुग्छ जतिबेला यो कथित जनवादी लोकतन्त्र पक्षधर भनाउँदो दलको ‘नियन्त्रित लोकतन्त्र’ र ‘कम्युनिष्ट जनवाद’ प्रतिको अनुरक्ति छताछुल्ल हुन पुग्छ । यस्तो लाग्छ, माओवादीको अभिष्ट र एजेण्डा उनिहरूले विस्तारै उजागर गर्दै छन् र उनीहरूले व्याख्या गरिरहेको कथित जनगणतन्त्र अरू केही नभएर उही पुराना निरंकूस कम्युनिष्ट राष्ट्रहरूको मृत लाशमाथि कृत्रिम श्वास-प्रश्वास भरेर खडा गरिएको नौलो स्वरूप मात्र हुनेछ । अवधारणापत्रको सबैभन्दा निरंकूस व्यवस्था हुनेछ, ‘आवश्यकता अनुसार दलमाथि प्रतिवन्ध’ को प्रवाधान । यो व्यवस्था अनुसार केन्द्रीय सत्ताको नियन्त्रण कम्युनिष्ट पार्टीको अधिनस्त हुनेछ र सो पार्टीले इच्छाएका राजनैतिक दलहरू र वर्गीय वा जातीय दलहरू मात्र निर्वाचनमा खडा हुन सक्नेछन् । अन्य उदारवादी एवं विश्वमान्य लोकतन्त्रका हिमायती दलहरू भने साम्राज्यवादी र सामन्वादी पक्षधर मानिएर , प्रतिवन्धित पनि हुन सक्नेछन् । यो कुराको तजबीज कम्युनिष्ट दल माओवादीले तोकिदिए हनुसार हुनेछ ।

माओवादी अवधारणापत्रमा अन्तर्निहित माथि उल्लिखित व्यवस्था प्रचण्डपथ वा नेपाली माओवादीहरूले स्वतन्त्र रूपइमा विकास गरेको नया र वैज्ञानिक सोच हो भन्ने हावा पिटाइ केवल एउटा झूटो प्रपञ्च हो । यसरी कम्युनिष्ट पार्टी संग अनुरूप हुने सोच र विचार भएका राजनैतिक समूह र वर्गीय वा जातीय संगठनलाई मात्र झूटो र देखावटी राजनैतिक पर्तिष्पर्धामा भाग लिन लगाएर , राज्य र राज्यसत्ताको पूर्ण नियन्त्रण एउटा कम्युनिष्ट पार्टीको कब्जामा लिने शैलिको जनवाद नै आज क्यूवा, उत्तर कोरिया र चीनीया मोडेलका कथित‘ पिपल्स डेमोक्रेसी’ हरू हुन् । यस्तो डेमोक्रेसीहरूको अजीबोगरीब गणतन्त्रमा शासनको एकाधिकार कम्युनिष्ट पार्टीको हुने नै भयो , त्यसपछि अदालत, सेना , प्रहरी , प्रशासन , शिक्षा र समग्र प्रणाली नै बिभिन्न कम्युनिष्ट नेताहरूको प्रभारीत्व मातहतमा नियन्त्रित हुन्छ । पार्टीका नेताहरूको मातहतमा बिभाग, आयोग र प्रभाग अनि प्रकोष्ठ निर्माण गरी तिनले दिएको निर्देशनमा मुलुकको सबै कानून, राजनीति र प्रशासन चल्नु पर्ने व्यवस्था , यस्तो जनवादी डेमोक्रसिका खास खास विशेषता हुन् । केवल कम्युनिष्ट पार्टीले चाहना राखेको शैलिको राजनैतिक व्यवस्था र त्यसलाई स्वीकारेर नियन्त्रित जनतन्त्रमा रमाउन मान्ने दलहरू मात्रको राजनैतिक सहभागिता रहने यो नौटंकी प्रणालीलाई नै माओवादीले भन्ने गरेको ‘ जनताको जनवादी गणतन्त्र’ को रूपमा बुझ्नु पर्ने कुरा अवधारणापत्रको पेटबोलीमा छर्लङ्ग देखिएको छ । आजसम्म उनीहरूले भन्ने गर्थे ‘ हामीले परम्परागत लोकतन्त्र चाहेको हैन’ तर छर्लङ्गिएको छ , उनीहरूले चाहेको त ‘ रूढीवादी जनतन्त्र’ पो रहेछ जहाँ राज्ययन्त्रका सबै अंग अवयबहरू कम्युनिष्ट दलको निर्णय र नियन्त्रणमा मात्र कार्यरत रहन सकून । यस्तो जनवादमा देशमा त्यस्ता विचित्र नामका दलहरू हुनेछन् जसको थर गोत्र संसारको उत्कृष्ट दावा गरिने पञ्चायती तन्त्रमा युवक, मजदूर, किसान, भुतपुर्व संगठनको रूपमा अस्तित्वरत थिए र अब तिनको नव-जनवादी अवतारलाई हामीले भोग्नु पर्ने हुनेछ, यदी माओवादीले भने अनुसार नै हुने हो भने । एउटा दलको निर्दलीय तानाशाही तन्त्र भित्र उसैका भातृ र छौँडा संगठनका विद्रुप विद्रुप नामाकरण गरेर तिनलाई टुप्पीमा पकडेर एकदलीय निर्देशित कथित जनतन्त्रको परिहासमय शासन कायम गर्न पो जनताको रगतको मुलुकमा यत्रो खोलो बगाइएको रहेछ , अहिले आएर प्रष्ट हुँदैछ ।

आगामी नेपालमा तमुवान दल होला अमूक देव गुरुङले नेतृत्व गरेको , मगराँत दल होला कुनै रामबहादुर थापाको नेतृत्वमा, अनि कुनै खुम्बुवान दल होला गोपाल खुम्बु वा त्यस्तै पात्रको नेता गिरीमा अनि यिनै दलहरूको बहुदलीय लोकतन्त्रमा प्रचण्डको महान लोकतन्त्रले संसारलाई चमत्कार देखाएर आश्चर्य पारिरहेको हुनेछ वा गोत्र हँसाइरहेको हुनेछ । त्यहाँ न त अहिलेको कांग्रेस वा अरू कुनै अन्य उदारवादी दलहरूको राजनितिले ठाउँ पाउनेछ न त विश्वमान्य लोकतन्त्रका स्वरूप र विशेषता देख्न वा भोग्न पाइनेछ किनभने यस्ता दलहरू त साम्राज्यवाद अनि सामन्तवादका मतियार ठहराइएर प्रतिबन्धित बनाइनेछन् ‘ जनताको जनतन्त्रमा’ ।

राजनैतिक प्रयोग र देशमा स्थापित हुनपुगेको यो नया तन्त्र केवल एउटा विचारमा ब्रेनवास्ड बनेको सैन्यबल र पार्टी कार्यकर्ताको नियन्त्रणमा जकडिएको हुनेछ । यो, १९१७ मा कुनै मुलुकमा जगाइएको र ९० को दशकमा श्मसानमा पुर्‍याइएको मृतात्मा , फेरि विद्वान बाबुराम भट्टराईको पुनर्सम्पादनमा वेबसाइट मार्फत नेपालमा प्रवेश गर्ने जमर्कोमा छ । लाग्छ, इतिहासका सबै घटना ,प्रवृत्ति र कुराले आफ्नो चक्र पुरा गर्छन् र नेपालमा राजा महेन्द्रको एकदलीय प्रयोगको प्रेतात्मा अर्को नाम र काया लिएर नेपाल भूमि प्रवेशको जोखाना हेर्दै छ, भीषण क्रान्तिकारिताको बहुरूपिया जामा लगाएर । यस्तै जनतन्त्रको आवश्यकता हो भने आउनुस् खुलेर यस्को स्वागत गरौँ , किनभने यो नै सबैभन्दा अकाट्य वैज्ञानिक राजनैतिक पद्दति हो रे !

-एकलव्य