January 13, 2009

आफ्नै भावना दौतरी प्रती

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

आफ्नो यात्राको झन्डै दुई दसक बित्न लाग्दा पनि यो यात्राको तीर्खा मेट्न सकिन। हुन पनि हो। जो कोहिमा प्रतिभा छ, प्रष्फूटन गर्ने ठाउँ छैन। कला छ, स्थान छैन, भावना र चाहना छ, हौशला छैन भने त्यस्ता प्रतिभाहरु त्यसै सेलाएर, मरेर जान्छन। तर अहिले हामीले त्यस्तो ब्यथा झेल्नु परेको छैन। यस्तै आफ्नो प्रतिभा पोख्ने बिसौनी पाएकाछौँ। हामीले सबै अनलाइन पत्रीकाहरु प्रती अनुग्रहित हुनै पर्छ। एक जमाना त्यस्तो पनि थियो। जतिबेला आफ्ना रचना हरु झोलामा बोकेर छपाइ माग्ने अनुनय बिनय गर्दै हिंड्नु पर्दथ्यो तर अहिले हामीलाई त्यस्तो परिस्थितीसँग सामना गर्नु परेको छैन। त्यो आफ्नो रचना छापिए वापत रु‍ एकसय पाउदा पनि हामी कत्ती हर्षित हुन्थ्यौ। महिनामा यौटा रचना छापिए भने हामीमा खुशीको सिमाना रहदैनथ्यो। त्यही एकपटक छापिएको रचना पढेर नै मलाई त दिनको पच्चिस-तीस वटा मेरा शुभ चिन्तकहरुका पत्रहरु आउँदथे। हो त्यही पत्रहरु नै मेरा लेखनयात्राका प्रेरणाहरु हुन। म ती पाठक र मेरा प्रेरकहरुलाई कहिल्यै भूल्न सक्दिन। वहाँहरुका प्रेरणाले नै मलाइ यहाँ सम्म आज ल्याइपुर्याएको छ। म सबैप्रती हार्दिकता प्रकट गर्दछु। आज म बिदेशमा छु ता पनि आफ्ना मनका भावनाहरु बिसाउने चौतारी पाएर म आफ्नो भावनाहरुलाई सबै सामु पोख्न सक्षम भैरहेकिछु जसरी आज दौतरिको छात्तिमा मेरा भावना र चाहनाहरुलाई सबै सामु छरी रहेकी छु। आशा छ म आफ्नो देशमा नभए पनि मेरा श्रीजनाहरु मेरो देशमा जीवन्त हुनेछन। जसरी मैले ''परदेशबाट''भन्ने कबिता सङ्रह आफ्नो देशको सम्झनामा समर्पण गरें जस्लाई अलिक ढिलै भए पनि दौतरिले सार्वजनिक गरिदियो। दौतरी म तपाईं प्रती आभार प्रकट गर्दै त्यही सङ्रहभित्रका एउटा कबिता सुम्पदै छु। आज्ञा अवश्य दिनेछौ दौतरी जुन कबिता ले २०५४ मा राष्ट्रिय पुरस्कार ग्रहण गरेको थियो। म मेरा पूराना शुभचिन्तक हरुमा फेरी यो कबिता मार्फत झुल्किन चाहन्छु दौतरिको सहारा लिएर ।

''नासो''


जिजीबिषाको खोजिमा उस्ले
कयौ पटक सर्टिफिकेट्लाई
फोटो कपी गर्दा गर्दै
अब त ---उस्को प्रमाणपत्रको
असली रूप नै मेटिसकेको छ ।
अनी--- असंख्य पाषाण मुर्तिहरुसँग
बिन्ती चडाउदा चडाउदै
उस्को अभिष्ट माथि
बज्रपात हुँदै गैरहेछ।
नौलो,नौलो भलाद्मिका अनुहारहरु
पढ्दा पढ्दै अब त ---,
ऊभित्रका आकाक्षाका अक्षरहरु
क्रमश:मेटिदै गैरहेछन।
आज एउटालाई भेट्ने
भोली अर्कोलाई सिफारिस
चडाउने क्रममा
उस्को आयु पनि छोटिदै गैरहेछ।
दिनानुदिनको दौडाइमा
ऊ त्यही रह्यो,त्यस्तै रह्यो ,
बरु ---सर्टिफिकेटले बुढ्यौलिको रूप फेर्यो
उस्को टाउकोमा सेत्ताम्मे कपास फूले
त र ---उस्ले जिजीबिषाको
अडान पाउन नसकी
लाछी मन लिएर म्रीत्यु पर्खिन
वाध्य हुनु पर्‍यो,
प्रमाण पत्रलाई केवल
''नासो''सम्झेर
बाँच्न मन्जुर हुनु पर्‍यो ।

(२०५४ साल मा नव कविता राष्ट्रिय पुरस्कार प्राप्त भएको कबिता )



के भनु र खै?

आज नेपाली खबरमा त्यही छायो जस्ले सबैलाइ नरमाइलो बनायो। एउटा अबला नारी,वरीपरी दर्जनौं गुण्डा। कलम बोक्ने ती साहासी महिलाको खुकुरी बोकेका कायरहरुले जिबन खोसे। नेपालमा आजकाल मानब अधिकार त हराइसक्यो। आमाका कोख रित्तीने,पत्निका सिन्दुर पुछिने, दुधे बालक टुहुरिने दिनानु दिन भइरहन्छन, तर उमा सिंहको हत्याले हामीहरु पशु भन्दा पनि तल गयौं कि झस्काइरहेको छ। अब त शान्ती भयो कि भनेको हामी झुक्किएछौं। भोली कसैले अपराध गरेको आरोप लगाउला, कसैले कारबाही गर्ने बचन देला तर मर्ने मार्ने काम भुतपूर्व शान्ती क्षेत्र नेपालमा रोकिने भएन।

भोलीको नेपालका बाटा धेरै छन, सबैले भन्छन हामी झन अग्रगमन तिर लम्किदै छौं। कतै हामीले एकै फड्कोमा मानबताकै छलागं त पार गरेनौं? । देश बिकासको नाममा, नया नेपालको नाममा आज हामीलाइ बाच्न पनि मुश्किल भएको छ। घरबाट निस्के भरे फर्किने हो कि होइन पत्तो छैन,आज थाकेर सुतेको ज्यान भोली उठ्ने हो कि होइन ग्यारेन्टी छैन। हामी अनिस्चित नेपाल तिर लम्किदै छौं। जत्था जत्था झुन्ड झुन्डमा बाडिएको बर्तमान नेपाले त्यसै त हामीहरुलाइ हिनताबोध गराइरहेको छ, उमा सिहंको घटनाले त मुख नै बन्द गरायो। अनुहार नै कालो बनायो। के भनु र खै?



माघी, कमैया र कम्लरी

बसन्त-

प्रत्यक बर्ष माघे संक्रान्ती लाई नेपालका आदिबासी थारु समुदायले माघी पर्बको रुपमा मनाउछन। घर्-घरमा जाड-रक्सी बनाईन्छ। सुङुर काटिंछ र ढिक्री पकाईन्छ अनि नांच गान गर्दै रमाइलो हुन्छ।आफ्नै परम्परागत किसिमका बिशेष खानेकुरा पाक्छन। अनि कोसेली बोकेर नातेदारको घरमा गै शुभ-कामना आदान प्रदान गर्ने चलन छ। केहि बर्ष पहिले सम्म जाडले मात्तीएका र अतिहुदा बाटोमा लडीराखेका हुन्थे। र यो क्रम आजकल कम भएको हुनुपर्छ। यो महत्वपुर्ण सास्कृतिक पाटो सङै अरु दुईवटा पक्षहरु माघी सङ जोडीएर आउने गर्छन। पहिलो हो कमैया र कम्लरी प्रथा अनि दोश्रो हो अधीया प्रथा। माघी यो समुदायको नंया बर्ष पनि हो। धेरै बाचा-बन्धन र ब्यवहारीक कुराहरुको सुरुवात र अन्त्य यसै समयमा हुने गर्दछ। अन्य जात जातीले यो पर्ब आफ्नै तरिकाले मनाउछन्। थारु बस्तीमा हुर्केको, बढेको नाताले आफुले देखेका कुराहरुमात्रै यहा राख्ने जमर्को गरेको हुँ।


कमैया प्रथा अहिले त उन्मुलन् भैसकेको छ। उनिहरुको बिभिन्न मागहरु पुरा गराउन भलै अझै आन्दोलन् गर्न किन नपरोस। दश बर्ष अघि सम्म पनि यो नराम्रो प्रथा हो भनेर सायदै कमै मान्छेले लिन्थे होला। अझै पनि स्कुल जाने उमेरका केटीहरु कम्लरी बसेकै होलान-ठुला नेता देखी सहरियाहरुको मा। तर यो निकै कम् भैसकेको छ। मेरो बिचारमा कमैया र कम्लरी प्रथा दास प्रथाकै आधुनिक र अर्को रुप हो। श्रम शोषण त छदै छ। यो सङ सङै मानसिक, सामाजिक, कम्लरीहरुको यौन शोषण हुन्छ। न्युन पारिश्रमिकमा काम गर्ने, काम गर्ने समय निस्चीत नहुने-उठे देखी नसुते सम्म काम गर्नु पर्ने। बिरामी भयो भने उपचारको कुनै ब्यवस्था नहुने। लाउने खाने को त कुनै कुरै नहुने। कमैयाले बाहिरको काम गर्ने-खास गरि खेतिपाती सम्बन्धी काम। कम्लरीले घर भित्रको सबै काम-नानी बाबु हेर्ने देखी लिएर भान्साको काम गर्नु पर्ने।


मैले त्यति बेला देखे अनुसार हाम्रो गाउ तिरका थारुहरु तिन खालका थिए आर्थिक अनि सामाजिक हिसाबले पनि। सबै भन्दा तल त कमैयाहरु हुने नै भए । अनि त्यसपछि अरुको जग्गा अधिया जोत्ने र नम्बर एक आफ्नै जग्गा भएका अलि सम्पन्न। आफ्नै सम्पत्तीले खान लाउन पुग्ने। नम्बर एक समुहका अलि पढे लेखेका पनि। अनि केहि हल गोरु वा राङा भएकाहरुले अरुको जग्गा अधीया जोत्न पाउछन। गोरु भन्दा राङा नै जोत्ने। त्यसको फाईदा भनेको जोत्ने बेला सम्म जोत्यो अनि बुढो भयो भने मो:मो जिन्दाबाद। गोरुलाई त्यसो गर्न मिलेन। बिचरा एक हल राङा पनि नहुनेहरु कमैया बस्नु पर्ने। परिवार नै अरुको घरमा। बाउ कमैया, आमा ओर्गीनि, छोराहरु गोठालो, छोरिहरु कम्लरी। प्राय जसो लोग्ने मान्छे जुन घरमा कमैया बस्यो त्यही घरमा आइमाई ओर्गीनि हुने। छोरिहरु पोखरा, काठमान्डौ तिर। कतिपय त्यतै हराएर गए। मेरै छिमेकी परिवार आफ्नी हराएकी छोरि खोज्दै हिडेको देखेको छु। ओर्गेनी र कम्लरीको यौन शोषण पनि हुन्छ। त्यसको कुनै सुनुवाई नै नहुने। एकजना जमिन्दारको बिग्रेको छोराले बाबु आमाकै अगाडी छोरिलाई जबर्जस्ती बलात्कार गर्थे। त्यसको कसैले प्रतिकार गरेको मैले थाहा पाइन।


खुशीको खबर के छ भने यी प्रथा र बिकृतीहरू बिस्तारै कम हुदै छन। आशा गरौ यो माघीमा गत साल कमैया, कम्लरी र ओर्गिनि बसेकाहरुले पुन नयां सालमा नबिकरण गर्न नपरोस। बास्तवमा यो एककिसिमले दशकौ देखी चलि आएको हुदा जिबन पद्धति बनिसकेको थियो। अनि सामाजिक संरचनामा घुसेको थियो। अब आफ्नो काम आफैले गर्ने बानि बसाल्ने र आफ्नो जग्गा आफुले जोत्न सके मात्र राख्ने गर्‍यो भने यो प्रथा कम होला। अर्को तिर ति गरिबहरुको जीबन यापनको बैकल्पिक ब्यवस्था गर्नु पर्छ।

एकपटक फेरि: सखिए हो माघकी गुरि गुरि जांड