March 27, 2011

चट्पटे मन

– राजेश नतांश

काया बच्ची भा'की छे । मानौं, उसको बाल्यकाल फेरि फर्किआएको छ । ऊ बाघले झम्टिएझैँ झम्टिन्छे । एकलौटी अडान नछोडि लडीबडी गर्छे । घरमा पालिएको बिरालो जसरी मेरो काखमा बस्न आउँछे । अनि मेरो सर्टको कलर समातेर मलाई
प्रेमालिङ्गनमा कस्छे । त्यसपछि ऊ बच्चीलेझैँ अनुरोध गर्छे– 'ओई ! चट्पटे खान जाम न !'
उसको उमेर बीस कटेको छैन तर लाग्छ ऊ अझै बालिकै छे । लाग्छ, जिस्किने,चल्ने उसको दैनिक कर्म हो । झन् राक्षसी स्वभावले हाँसी भने भने त बित्यास् नै पार्छे ! तर मलाई उसका बालसुलभ क्रियाकलापहरु एकदमै प्रिय लाग्छन् । म उसका अभिलाषाहरुप्रति तत्कालै सहमति जनाइहाल्छु– 'जाऔँ,हिँड् ।'
आकाश आगोको भुग्रोमा परिणत भएको छ । अर्थात रातो–पहेँलो घाम टल्किरहेको छ । गोधूलि साँझ छ । दुर क्षितिजमा बादलका राता धब्बाहरु प्रज्वलित भइरहेका छन् । उड्नपंक्षीहरु दिनभरिको घम्साघम्सीपछि आ–आफ्नो बासस्थान फर्किरहेका
छन् । चरनतिर गएका गाईबस्तुहरु धुलो उडाउँदै पंक्तिबद्ध आफ्नो गोठ फर्कदै छन् । बसन्त ऋतुको पूर्वसन्ध्या छ । वातावरण एकदमै रोमाञ्चक बनेको छ । बरपीपलहरुमा पालुवा अँकुराइरहेको छ । सायद्, चित्रकार हुदोँ हुँ त म यो सौन्दर्यलाई