December 4, 2010

सुकन्या अर्थात नीलिमा

शर्मिला खड्का दाहाल


तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् । 
    म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
    म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।