June 19, 2010

मान्छे

संसार हो साथी मान्छेले ढुङो नि देउता बनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

उधारोमा नाम किनेर निर्लज दात ङिच्याउदै
सुझबुझ नभा स्वाँठ नै आँफैलाई ज्ञाता भनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन

भरोसाको पासो थापेर मौकाको खोचे थाप्नेहरु
निचोरेर घाँटी निर्धाको जितको खुशी मनाउछन
कुल्चिएर छाती मान्छेकै मान्छेले जात जनाउछन


असुरक्षित पूर्वोत्तर भारतका नेपालीहरूको पीडा

- कृष्ण पौडेल

बिगत केही हप्ताहरूदेखि नेपाली छापा र मिडियाका माध्यमहरूमा भारतको पूर्वोत्तर राज्य मेघालयका नेपालीहरूको दु:ख र पीडाले चर्चा पाएको छ । मेघालयका रैथाने खासी जातिले त्यहाँ सदियौँ वा दशकौँदेखि श्रमिक र पशुपालन व्यवसायमा लागेर जीवनयापन गरिरहेका नेपाली भाषीहरूमाथि गरेका हिंसात्मक आक्रमण , २० औँ नेपालीको हत्या र त्यसकारण सिर्जित मानवीय उत्सर्जनका घटनाहरूले नेपाली मिडियामा प्रशस्त ठाउँ पाएको देखिएको छ ।

स्थानीय खासीहरूले मेघालयका पहाडी क्षेत्रहरूबाट सयौँ नेपाली परिवारहरूका घर गोठहरू जलाएका छन् वा बलजफ्ति विस्थापित गराएका छन् । यी परिवारहरु सहाराबिहीन बनेर छिमेकी राज्य आसाम र बंगाल हुँदै नेपाल फर्किन थालेका समाचार पनि आइरहेका छन् । हामी नेपालीहरू मध्ये कतिपयलाई लाग्न सक्छ , यी नेपालीहरू को हुन् र कहिलेदेखि त्यहाँ पुगेर बसोवास गर्न थाले त ?

यी मध्ये कतिपय परिवारहरू विगत केही सय वर्ष भन्दा बढी समयदेखि भारतमा छरिएर रहेका हुन् भने अरू कामको खोजीमा नेपालबाट अस्थायी समयका लागि त्यहाँ पुगेका छन् । भारतको आसाम लगायत पूर्वोत्तर राज्यहरूमा ३,४ सय वर्ष अघिदेखि बसोवास गरिआएका नेपालीहरूको जनसंख्या पनि उत्तिकै विशाल छ । संख्या निश्चित किटेर भन्न नसकिए पनि , भारतका बिभिन्न प्रान्तमा छरिएर रहेका नेपाली भाषीहरूको संख्या ६० लाख देखि १ करोड बीच रहेको अनुमान छ । यो संख्या मध्ये , सिक्कीम, दार्जिलिङ गोर्खा पार्वत्य परिषद, उत्तराञ्चलको देहरादून वरिपरि पुस्तौँदेखि बसोवास गरिरहेको मोटामोटी १०-१५ लाख नेपालीहरू मात्र तुलनात्मक रूपमा सुरक्षित छन् । नेपालीहरूको सघन बसोवास क्षेत्रमा रहेका हुनाले अपेक्षाकृत रूपमा सुरक्षित जनसंख्या हो यो । हुनत दार्जिलिङ क्षेत्रमा पनि नेपालीभाषीहरू बीच नै गोर्खाल्याण्ड आन्दोलनको विषयमा पक्ष विपक्ष बनेर संघर्ष जारि छ र त्यहाँ नेपाली समूहरू बीच नै हिंसाका घटनाहरू फाटफुट देखिने गर्छन । तर पनि , यी क्षेत्रहरूबाट यी छिटपूट संघर्षका कारण नेपाली भाषीले आफ्नो थातथलो छाडेर हिँड्नु पर्ने अवस्था नआउला भन्न सकिन्छ ।