July 11, 2018

डा. देवकोटा फेरि फेरी पनि नेपाली भएर जन्मिरहुन्


डा. उपेन्द्र देवकोटाको अन्त्यष्टिमा सहभागी हुने इच्छा हुँदाहुदैँ पुरा हुन सकेन, सायद उनलाई सम्झंदा मलाई धेरै पछिसम्म त्यहि खड्किरहने छ | मरण जीवनको सबैभन्दा अकाट्य सत्य हो भनेर बुझ्दाबुज्दै पनि सहज स्वीकारोक्ति प्राय कसैलाई पनि नहुने रहेछ | डा. देवकोटाको मृत्यु प्रसङ्ग, अन्तिम दिनहरुमा गरेका गतिविधिहरु, सक्रिय व्यवसायिक जीवनकालमा गरेका योगदान र अन्तिम समयमा उनले दिन खोजेको सन्देशलाई लिएर दिमागमा केहि कुराहरु खेल्यो |



स्वदेशमा मृत्युवरणको इच्छा हुनु, आई. सि. यु. को बेडबाट गाउँमा जाने रहर जाग्नु, पुर्ख्यौली घरको पिंडीमा अन्तिम समय बिताउने रहर लाग्नु, सिस्नेपानी धाराको चिसोपानीले मृत्युसँग खेलिरहेको शरीरलाई सिंचित गर्ने इच्छा हुनु डा. देवकोटाको केवल लोकलाई देखाउन थिएन; अन्तर्मनको अगाध राष्ट्रप्रेम र मातृभूमिप्रतिको कदरवोध थियो भन्ने मलाई लाग्छ | धेरै पहिले पाठ्यक्रममा पढेको बालकृष्ण समको “इच्छा” कविता जबरजस्त दिमागमा आयो | सायद देवकोटाको अन्तरवोधले यहि इच्छा गरेको थियो, “संसार देखें तर म तिम्रै काखमा समर्पित हुन आएँ, यो भन्दा ठुलो वात्सल्यप्रेम मैले कहिँ कतै भेटिन, सप्रेम मलाई तिम्रो काखमा विश्राम गर्न देउ|”  
     
इच्छा यो छ महेश अन्तिम जसै यो मृत्यु शैय्या जलि |
मेरो रक्त सुकाउला म गरुँला अन्योल भै छटपटी ||
त्यै बेला मुखमा बुटीहरु परुन् नेपालकै केवल |
जे जेमा हिम शैलको छ मधुरो मिठो चिसो चुम्बन ||

मलाई डा. देवकोटाले मृत्युवोध गर्दै प्राण त्याग गर्ने अवसर प्राप्त गरे, उनको इच्छामरण भयो भन्ने लाग्छ जुन कुरा वैदिक दर्शन अनुसार बुद्ध पुरुषहरुलाई मात्र प्राप्त हुने गर्दछ | सायद उनले यस्तै पल कुरेर बसेको हुनुपर्छ:

बज्ला मन्दिरमा तथास्तु जब यो घण्टा दिंदै उत्तर |
हाँस्दै शान्त भै उही समयमा नेपाल हेरी मरुँ ||

परम्परागत पोसाक दौरा सुरुवाल, ढाका टोपी देवकोटाले त्यसै ढोंग पार्नमात्र लगाउने इच्छा गरे होलान् भनेर म सोच्न पनि सक्दिन | देवकोटालाई परलोकमा पनि नेपाली हुनुको सहज परिचय दिनु थियो सायद उनको मृत्यु भेषले यहि संदेश दिईरहेको थियो :

पाउँ बस्न मरेर आखिर गई स्वर्गीय त्यै ठाउँमा |
नेपालीहरु छन् मरिकन सबै जन्मिरहेका जहाँ ||

यस लोकमा मृत्य आजसम्म कसैले टार्न सकेको छैन | कवि शिरोमणि लेखनाथ पौडेलको ब्रह्मले देखेजस्तै सायद देवकोटाको भौतिक शरीरले काम गर्न छोड्दा ईश्वर आफैँ दुखित भएको हुनुपर्छ |     
यो दुःख भोग्ने परमेश्वरै हो
यो देह उसको रहने घरै हो ।
यो भत्कँदा दुःख अवश्य मान्छ
सुटुक्क सामान लिएर जान्छ ।।

एक सामान्य मान्छेले गर्न सक्ने भन्दा धेरै योगदान गरे डा. देवकोटाले | उनको जीवन परिमाणमा  भन्दापनि परिणाममुखी भयो भन्ने लाग्छ | आफ्नो व्यवसायिक जीवनमा लगभग चौंतिस हजार मानिसहरुको प्रत्यक्ष शल्यक्रिया गरे, करिव सात लाख मानिसहरुको उपचार गरे, आफ्नै पसिनामा विशेषज्ञ सेवा सहितको स्नायु अस्पताल स्थापना गरे, सयौंको संख्यामा स्नायु विशेषज्ञ उत्पादन गरे | सबैभन्दा ठुलो कुरा त अन्तर्राष्ट्रिय स्तरको ज्ञान, शिप र उपाधि हुँदाहुँदै बर्षौंबर्ष सर्वसाधारण नेपालीहरुको सेवामा जुटीरहे जेठो सरकारी अस्पताल मार्फत | आफ्नो व्यवसायिक जीवन बाहेक उनि भित्र समाज सुधारको तीव्र चाहना थियो, नेपाल बन्नु पर्छ भन्ने गहिरो चिन्तन थियो जसको कारणले बेला बेलामा उनीबाट राजनीतिक स्वरपनि सुनिने गर्दथ्यो | त्यहि मानवीय अन्तर संवेदना र उत्कण्ठाले उनलाई स्वास्थ्य मन्त्रीको जिम्मेवारीसम्म पुर्यायो | देवकोटाले आफ्नो माटो पुरै बिर्सिएर विशेषज्ञता बेचिरहेका उच्च शिक्षित भनाउँदा हजारौं नेपालीहरुलाई एक गतिलो पाठ पढाए | हो, नेपालमा असुविधाहरु धेरै छन्, आधारभूत विषयहरुमा पनि थुप्रै समस्याहरु छन्, कतिपय सामाजिक सोचहरुले पनि प्रसस्त पिडाहरु दिने गर्छन, कहिले काहीं गहिरो निरासाहरु पनि हुने गर्छ तर डा. देवकोटाको अन्तरबोधले यो भन्दा भू-स्वर्ग सायदै देखेन, मातृभूमिको सेवाले दिने तृप्ति अन्त भेटेनन् | आधारभूत प्रकृति सबैतिर उस्तै हो भने मान्छेले गरेर हुने काम त यहाँपनि त गर्न सकिन्छ होला | कहींकतै बाट कसैले शुरुवात त गर्नै पर्छ | त्यसको इमान्दार प्रयास आफ्नो ठाउँबाट डा.देवकोटाले गरे भन्ने मलाई लाग्छ | म बुझ्दछु, विदेशमा रोजगारीको शिलशिलामा जानु धेरैको वाध्यता छ, विश्वव्यापीकरणको समयमा आफ्नो विशेषज्ञता अनुसारको काम जहाँपनि गर्न सकिन्छ, गर्नुपनि पर्छ तर आफ्नो संस्कार बिर्सेर होइन, नेपालीत्व छोडेर होइन बरु नेपालसंग जोडिएर, जिम्मेवारी वोध गरेर |

ईज्जत, नाम र दाम कमाएपछी अवकाश प्राप्त जीवन नै भएपनि नेपालमै व्यतित गर्ने, आफुले जीवन भरि सिकेको ज्ञान, अनुभव यहीं बाड्ने र कमसेकम देवकोटाको जस्तै मृत्युवरण नेपाली भुमिमा गर्ने चाहना धेरै स्थायी रुपले नेपाल बाहिर बस्ने नेपालीमा उब्जियो भनेपनि तिनका पुस्ताले मातृभूमिको महत्व बुज्नेछन् | देवकोटा कै प्रसङ्गलाई हेर्दा एक- दुई जना मात्रले त त्यति फरक पार्न सक्ने रहेछन भने संसारभरि रहेका यस्तै विज्ञ नेपालीहरुले अलिकति पनि यस्तै सोच बनाउन सके कति राम्रो होला !

हुन त हाम्रो संस्कारमा राम्रो कामना गर्नुपर्दा जन्ममृत्यको बन्धनबाट सदाको लागि मुक्तिको कामना गरिन्छ तर म चाहन्छु डा. देवकोटा फेरि फेरी पनि नेपाली भएर जन्मिरहुन्, उनि जस्ता सपुत देशलाई बारम्बार चाहिने छ | कवि मोहनहिमांशु थापाले भने जस्तै देवकोटाको मागपनि पक्कै यहि थियो :

मलाई सगरमाथाको देश चाहिन्छ, म आफ्नै देशमा रम्न चाहन्छु,
मलाई छहराको देश चाहिन्छ, पहराको देश चाहिन्छ ।

------------------------------------------------------------------------------------------------------
-    दिनेश चन्द्र पन्थी "दीप"
             २०७५-०३-२६