September 17, 2017

स्थानिय चुनावमा कस्ता उम्मेदवारहरुलाई भोट हाल्ने ?


‘नेपालको संविधान २०७२’ घोषणा हुने ताका केहि विद्वान मित्रहरुले तर्क राखेका थिए,  स्थानिय निकाय सकेसम्म दलिय राजनीतिबाट मुक्त हुनुपर्छ र त्यो कुरा संबिधान मै ग्यारेन्टी गरिनुपर्छ| केहि गरि नगरप्रमुख वा गाउँप्रमुखमा त्यस्तो हुन सकेन भनेपनि वडा प्रतिनिधिहरु र त्यो भन्दा तलका पदहरुमा राजनीतिक उपस्थिति हुनुहुदैंन | नेपालको सामाजिक चालचलन, पहिचान र  स्थानिय सामान्य विकास निर्माणमा समेत दलिय राजनीतिले पुर्याउन सक्ने नकारात्मक प्रभावलाई गहिरो गरि विश्लेषण गर्दा यो विचार अत्यन्त सान्दर्भिक थियो | तत्कालिन नेपाल इन्जिनियर्स एशोसियसनको ३० औँ कार्यकारी परिषदको तर्फबाट सरकारलाई बुझाईएको सुझावमा समेत यो कुरा प्रष्ट लेखिएको छ |

विगतलाई सम्झदा २०५०-५१ साल तिर गाउँघर, छरछिमेकमा दलिय राजनीतिको अत्यन्त चर्को प्रकोप थियो, विकास निर्माणको कुरा त परै राखौं, सामान्य अइचोंपैंचो, मेलापातोमा समेत आफ्नो रगत भन्दा दलको प्रभाव बढी थियो | सामाजिक बहिस्करण तथा  छरछिमेकमा झगडाको मूल कारण फरक राजनीतिक विचार हुने गर्दथ्यो, पानी बाराबारको अवस्था थियो| एकै थातथलोमा हुर्किएर सदियौं देखि दुखसुख, विहाबारी, मर्दापर्दा समेत संगै हुने मान्छेहरु बिचपनि एकप्रकारको निषेधको भावना थियो| हामी केटाकेटि हुदाँ समाजमा देखिएका यस्ता निकृष्ट दलिय राजनीतिको प्रभावले अझैं सम्म मेरो र म भन्दा तलको केहि पुस्ताहरु नराम्रोसंग ग्रसित छौं | हरेक कुरालाई दलिय चस्माबाट हेर्ने, समाजमा केहि गरौँ भन्ने सोच बोकेका मान्छेहरुलाई अनावश्यक राजनीतिक ट्याग लगाउने, सामाजिक सम्बन्धमा समेत दलिय सोचलाई अगाडी राख्ने प्रवृति त्यहि बेला नै छिरेको रोग हो र यस्ता रोगहरु भित्र्याउनमा स्थानिय दलिय निकायहरु बढी जिम्मेवार छन् | पछिल्लो २६ बर्षे बहुदलीय राजनीतिक यात्रामा जुनै पार्टीले नेतृत्व लिंदापनि आधारभूत रुपमा उल्लेखनिय समाज परिवर्तन गर्न नसकेको र शिक्षामा भएको तुलनात्मक विकासको कारणले जुनै पार्टीको वकालत गरेपनि त्यस्तै हो भन्ने र राजनीतिक विचारकै आधारमा भेदभाव गरिने प्रबृत्ति कताकता कमजोर त भएको छ तर प्रसस्तै प्रभाव अझैं बाँकी नै छ | समाजलाई जोड्ने पहिलो कडी स्थानिय सस्कृति, परम्परा, भाषा, धर्म,सामाजिक सम्बन्धहरु हुन्छन् र ति चिजहरु दलिय राजनीति भन्दा धेरै नै माथि हुनुपर्दछ | हामी नेपालीहरु सदियौं देखि धेरै गहिरो र जेलिएको सामाजिक सम्बन्धले बाँधिएका छौं र यो हाम्रो पहिचान पनि हो| हाम्रो जस्तो अर्धशिक्षित समाजको तल्लो निकायमा चर्को दलिय राजनीतिको उपस्थीति हुँदा हाम्रो पहिचान झल्काउने मान्यताहरु कमजोर हुन सक्छन् |

सामान्य ग्रामिण विकास निर्माण तथा सार्वजनिक सचेतनामुलक कामहरु जहाँ स्थानिय जनताको एकता, प्रत्यक्ष सहभागिता र योगदानको आवश्यकता पर्दछ त्यस्तो ठाउँमा दलिय राजनीतिको उपस्थिति हुनु राम्रो हुँदैन| निर्माणका कामहरुले गति नलिने त छँदै छ, यसको अलावा राजनीतिक मद्भेदको कारणले सबै स्थानिय जनताले अपनत्व महसुस नगर्ने र उचित योगदान पनि गर्न नखोज्ने हुनाले कामको दीर्घकालीन परिणाम नआउने हुन सक्छ | यसले गर्दा राज्यको तर्फबाट धेरै खर्च गरेको देखिने तर स्थानिय स्तरमा खर्चको परिणाम नदेखिने हुन्छ जुनकुरा कसैको लागि पनि हितमा हुँदैन |

उसो भए के स्थानिय तहमा मात्रै न्यून दलिय उपस्थिति हुँदा सबै राजनीतिक भेदभाव र यसले भित्र्याएको नकारात्कम परिणामहरु सबै हटेर जाला त ? फेरि प्रादेशिक र राष्ट्रिय चुनाव त छदै छ नि, त्यसले फरक पार्दैन ? तुलनात्मक रुपमा स्थानिय तहमा न्यून दलिय उपस्थिति हुने हो भने धेरै नै फरक पर्दछ | प्रादेशिक वा राष्ट्रिय चुनावमा स्थानिय चुनावमा जस्तो घर-घर टोल-टोलको झगडा, छरछिमेकको वैमस्यता, राजनीतिक दुराभाव र रिसइवी राखिराख्ने हुँदैन| राष्ट्रिय चुनावहरुमा आफ्नो नाता सम्बन्ध, अइचोंपैंचो, मेलोपातो गर्नेहरुको बिचमा सामान्य मद्भेद बाहेक तुलनात्मक रुपमा धेरै ठुलो दर्हार आउँदैन | हामीलाई जनस्तरमा दलिय स्वार्थबाट अभिप्रेरित हुँदै मद्भेदको विउ रोप्ने भन्दापनि सबैलाई एउटै मालामा गाँस्न सक्ने इमान्दार नेतृत्वको खाँचो छ | राष्ट्रिय स्तरमा विविध प्रकारको राजनीति चरित्र देखिओस तर तल्लो तह धेरै हिसाबले एक ढिक्का हुन जरुरी छ|

अब चुनाव त आईसक्यो, अहिले आएर चुनाव सम्बन्धि प्रावधानहरु परिवर्तन हुनेपनि होइनन्, जति कुरा गरेपनि आखिर अहिलेकै पार्टीहरुले नै प्रतिनिधित्व गर्ने हुन्, यस्तो बहसको के महत्व छ भन्नेपनि हुन सक्छ | सरसर्ती हेर्दा यस्तै लाग्छ तर यो बहसको महत्व छ | कुनै न कुनै दल कै प्रतिनिधिलाई भोट हाल्नुपर्ने अवस्थामा पनि स्थानिय मतदाताहरुले आफ्नो आस्थाको पार्टी उम्मेदवारलाई नै अन्धाधुन्द भोट हाल्ने मनस्थितिलाई त्यागी सामाजिक एकता, संस्कार, सद्भाव र आफ्नो समाज प्रति अपनत्व बोकेको मान्छे हेर्नुपर्दछ | सामाजिक सम्बन्ध, मेलमिलाप, जागरण र विकास निर्माणमा विगत देखि योगदान गरेको, समाजसेवी, सकारात्मक सोचले भरिएको, स्वप्नदर्शी इमान्दार उम्मेदवार कुनै पार्टीमा जोडिएर आएपनि उसलाई त्यो पार्टी भन्दा माथि राख्नुपर्दछ | राजनीतिक विचार अनुसार रास्ट्रिय तथा प्रादेशिक सरकार बन्दछ, उसले आफ्नो आर्थिक नीति, विकास नीति, सामाजिक सुरक्षा नीति जस्ता विविध नीतिहरु बनाउँछ, लागु गर्छ तर स्थानिय सरकारले स्थानिय जनतासंग प्रत्यक्ष सरोकार राख्ने दैनिक कार्यहरुमै ध्यान केन्द्रित गर्नुपर्दछ, कसरी बिना भेदभाव उनीहरुलाई सहज सेवा दिने त्यसमै केन्द्रित हुनुपर्दछ | स्थानिय स्तरमा दलिय स्वार्थलाई अगि सार्ने मान्छेले या त सामाजिक मान्यताहरुको महत्व र त्यसको दीर्घकालीन असर राम्रोसंग बुझेको हुँदैन या कुनै व्यक्तिगत तृष्णाबाट अभिप्रेरित भएको हुन्छ | यी कुराहरुमा राजनीतिक दलहरु गम्भीर र जिम्मेवार हुँदै स्थानिय निकायहरुलाई दलिय राजनीति भन्दा कसरी टाढा राख्न सकिन्छ सोच्नु पर्दछ र त्यस्तै आदत बोकेका व्यक्तिहरुलाई चुनावमा प्रस्तुत गर्नुपर्दछ | क्षमताका हिसाबले पनि अबको नगरपालिका वा गाउँपालिकामा अनुभवी र ठुलो प्रसासनिय समुहलाई परिचालन गर्न सक्ने योग्यता र क्षमता भएको व्यक्ति हुनुपर्दछ|  
       
     राष्ट्रिय र प्रादेशिक चुनावमा दलका चुनाव चिन्ह नै हेर्न परेपनि हेरौंला, केन्द्रिय राजनीतिक स्थायित्वको लागि त्यो राम्रोपनि हुनसक्छ तर स्थानिय चुनावमा भोट हाल्ने बेला आफुले मान्दै आएको दल भन्दा माथि उठौं,  माथि उल्लेखित गुणहरु बोकेको मान्छे छ भने स्वतन्त्र वा दलगत उम्मेदवारहरुमा फरक नदेखौं, छानी छानी भोट हालौं, सदियौं देखि स्थापित हाम्रा उदाहरणीय सामाजिक मान्यताहरुलाई उच्च प्रार्थमिकतामा राखौं | बहुप्रतिक्षित स्थानिय चुनावले फेरि २०५०-५१ सालको जस्तो दलिय राजनीतिक रोग गाउँमा नभित्र्याओस |

-    - दिनेश चन्द्र पन्थी




राइनास नगरपालिका, लम्जुङको नगर परिकल्पना कार्यशाला, २०७४-५-२४

(Workshop on Municipal Visioning of Rainas Municipality, Lamjung, Nepal, 2017-09-09 )

      २०७४-५-२४ (September 09, 2017) शनिवार राइनास नगरपालिकासंगको समन्यव र सर्वोदय सेवा आश्रम तथा भि.एस.ओ. नेपालको संयोजनमा नगरपालिकाको केन्द्र तिनपिप्लेमा नगर परिकल्पना (Municipal Visioning) सम्बन्धि एक कार्यशाला गोष्ठी सम्पन्न भयो | विशेष पहिचान सहित राइनास नगरपालिकाको परिकल्पना (Vision) तयार गर्ने र त्यसै अनुरुप रणनैतिक, आवधिक तथा संरचनागत योजनाहरुलाई  योजनाबद्ध रुपमा अगाडी बढाउदै राइनास नगरपालिकाको दिगो विकास गर्ने अभियानका साथ विगत देखि गरिएका प्रयासहरूको निरन्तरता स्वरूप यो कार्यक्रम गरिएको थियो |   

यस गोष्ठीको उदेश्य, योजनावद्ध विकासक्रमको पहिलो चरण अन्तर्गत नगरपालिकाको निर्वाचित प्रतिनिधिहरु तथा स्थानीय सरोकारवाला व्यक्तिहरुलाई भेला गराई विषय विज्ञहरुको प्रत्यक्ष मार्गदर्शनमा नगरपालिका परिकल्पना अभ्यास (Municipal Visioning Excercise) गराउने थियो |  त्यसै अनुरुप विषय बिज्ञ डा. संजय उप्रेती (उप प्राध्यापक, पुल्चोक क्याम्पस) ले मुख्य कार्यपत्र तथा प्रेम दवाडी, दिनेश चन्द्र पन्थी र बद्रि भट्टले सहयोगी कार्यपत्र प्रस्तुत गरिसकेपछी उपस्थित व्यक्तिहरुलाई पाँच (५) वटा समुहमा विभाजन गरि नगर परिकल्पना अभ्यास गरिएको थियो | कार्यक्रमको सहजीकरण स्थानीय अगुवा समाजसेवी कृष्ण ओलियाले गर्नु भएको थियो भने कार्यक्रमलाई संचार माध्यमसंग जोड्ने काम बिक्रम न्यौपानेले गर्नुभएको थियो |   

हरेक समुहको काम सामूहिक छलफल पश्चात नगरपालिकाको अग्रणी क्षेत्रहरु (Lead Sectors) पहिचान गर्ने, पहिचान गरिएको क्षेत्रहरुको आधारमा एक परिकल्पना नारा (Vision Statement) बनाउने र उक्त नारालाई वास्तविकतामा उतार्न सक्ने आधारहरु प्रस्तुत गर्नुपर्ने थियो | अभ्यासको लागि सबै समुहलाई एक देखि डेड घण्टाको समय दिईएको थियो भने दस मिनेटको प्रस्तुति गर्ने समय छुट्याइएको थियो | पाँचवटा समुहले परिकल्पना गरेका नाराहरु निम्न अनुसार थिए :

समुह १ :
“राइनास नगर : कृषि, पर्यटन र शिक्षाको आधार”

समुह २ :
कृषि, पर्यटन, शिक्षा र संस्कृति : स्वास्थ्य एवं रोजगारमा राइनासको संवृद्धि”

समुह ३ :
“राइनास संवृद्धिको अभियान : स्यरिय शिक्षा र कृषिमा ध्यान”

समुह ४:
आधुनिक कृषि र पर्यटकीय  शहर : समावेशी र वातावरणमैत्री राइनास नगर”


समुह ५:
“कृषि, शिक्षा र पर्यटन प्रबर्धन : समृद्ध राइनासको अभियान”

      सबै समूहले आआफ्नो कल्पनाहरु प्रस्तुत गरिसकेपछि पुन विषय विज्ञले सबै परिकल्पनाहरुलाई एकत्रित गरि साझा कल्पना (Common Vision) पहिचान गर्न अभिप्रेरित गर्नु भयो | केहिबेरको छलफल पश्चात सबैको साझा परिकल्पना “कृषि, पर्यटन र शिक्षा” मा आधारित हुने गरि अन्तिम रुप दिन नगरपालिकाका मेयर सिंह बहादुर थापालाई कार्यशाला गोष्ठीबाट उठेका सबैकुराहरु सहित सहभागीहरुले तयार गरेका पोस्टरहरु हस्तान्तरण भयो | नगरपालिका परिकल्पना अनुमोदन भैसकेपछि त्यसलाई विकासको मियो मानेर नगरपालिका भित्र गरिने हरेक क्रियाकलापहरुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा परिकल्पनासंग जोड्नु पर्ने कुरा विज्ञ डा. उप्रेतीले भन्नु भयो | सहभागीहरुबाट प्रस्तुत गरिएका साझा अवधारणालाई नगरपालिका पदाधिकारीबाट अनुमोदन गरि जनमानसमा लाने, सर्वसाधारणहरु सबैमा मुखरित गर्ने र त्यसै अनुरुप रणनैतिक योजना, आवधिक योजना तथा संरचनाहरु निर्माण गर्दै जाने कुरामा मेयर सिंह बहादुर थापा र उपमेयर धन कुमारी गुरुङले प्रतिबद्धता जनाउनु भयो | कार्यक्रममा सुन्दरबजार नगरपालिका र पालुंगटार नगरपालिकाका मेयरहरुलाई पनि आमन्त्रण गरिएको थियो |

उक्त कार्यक्रम पश्चात परिकल्पनामा आधारित हुँदै सम्भावित रणनैतिक योजनाहरुको तर्जुमा सम्बन्धि छलफल गर्ने र नगरपालिकालाई सुझाव दिने उदेश्यले स्थानीय कृषि विज्ञहरु, पर्यटन विज्ञहरु र शिक्षाविदहरुको सुची (Experts Roster) तयार गर्ने अभियान शुरु भएको छ | आफ्नो क्षेत्र र  विज्ञता सहित सम्पर्क फोन, ईमेल उपलब्ध गराईदिन विषयविज्ञ राइनासवासीहरुमा अनुरोध गरिन्छ |   
परिकल्पना नारा (Vision Statement) सम्बन्धि छलफल चलि नै रहेकोले यहाँहरुलाई उपयुक्त लागेको सोच, सपना र सुझाव दिई आफ्नो विषय तथा पेशागत सम्बन्ध (Professional Connection) गाउँसम्म विस्तार गर्न र सकारात्मक सोचका साथ दिगो राइनास विकासको अभियानमा सहभागी हुन सबै राइनासबासीमा विशेष अनुरोध छ | धन्यवाद |

-    दिनेश चन्द्र पन्थी
dineshpanthy@gmail.com, ९८५१०७०९१२