June 12, 2009

तीन लघुकथा - पार्टी र लोकतन्त्र

आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ ।

***********************************************************************

लोकतन्त्रको पर्याय आँफ्नो दलमात्र रहेको दावा गर्ने एउटा खलिपाक ( भेटेरान) नेताले खल्तिबाट पुत्रीको नाम लेखिएको कागत देखाउँदै केन्द्रीय समीतिका सदस्यहरू सामू भन्नुभो , ' यसको बिरोध गर्नेहरू लोकतन्त्रको कलिलो मुनामा एसिड खन्याउनेहरू हुन' ।

***********************************************************************

लोकतन्त्रको आधार निर्वाचन भएता पनि , आँफू निर्वाचनमा खडा भएका सबै स्थानबाट पराजित एकजना पाका मध्यमार्गी नेताको नेतृत्वमा सरकार गठन गर्दै मुलुकको भीडन्त उन्मुख लोकतन्त्रको उद्दार गर्नु पर्ने निर्णय गरियो । लोकतन्त्रमा कसैले हार्दैन !

************************************************************************

“र” उसको नाउँ भारत हो

शिव प्रकाश
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
समवेत दुःख पोख्छ
रुन्छ मेरो दुःखमा
दुःखको अवरणले ढाक्छ आफूलाई
चुहाउँदै गोही आँशु भित्रभित्रै
हास्छ, नाच्छ, रमाउँछ
मेरो सुखमा.
उमङ्गभाव खुशी देखाउँछ
खेलाउँदै सुपर्णखा र शकुनीहरु भित्रभित्रै
स्वागत द्वारमा विषकुम्भहरु भेरर
शतरंजाहरु फैलाएर वैठकमा
बस्छ मेरो खुशीमा खुशी वाड्न
आदि ....... इत्यादि ……!
असल मित्र हो
उ मेरो
आगो लाग्दा मेरो घरमा
बाल्टी बोकेर अगाडि उही आउँछ
तल्तिरबाट आगो सल्काउन
अगुल्टो उसैले झोसेको हुन्छ
पछिल्तिरबाट मट्टीतेल खन्याउन
खेताला उसैले खटाएको हुन्छ
घर झगडा सधैं मेरो
मिलाउँन मित्र बनेर
भित्रभित्र धुरा पस्छ
मुखले राम राम “राम” बोल्छ
भित्रभित्रै त “र” “वार” चलाउँछ
सुखदुःखको साथी
असल मित्र हो
उ मेरो
मित्र मात्र होइन भाइ सम्झन्छु
म उसलाई भ्राता भरत देख्छु
तर उसको नाउँ भारत हो
“र” उसको नाउँ भारत हो
आदि ....... इत्यादि ……!!