January 27, 2009

आदरणीय आमा-बुबा, दिदी-बहिनी र दाजु-भाइहरू !

आदरणीय आमा-बुबा,
दिदी-बहिनी र दाजु-भाइहरू,
सधैं भिन्न हुन्छन हाम्रा
भनाई र गराइहरु ।

सराप्न मिल्ने संस्था पनि
छैन अब कसो गरुँ?,
हात जोड्छु सबै संग
आफन्त र पराईहरु ।

निल्नु न ओकल्नु भो
यो सत्ता पनि अब,
मिलाउन त गाह्रो रै’छ
हिमाल, पहाड तराईहरु ।

जादू गरि हाल्छु भन्ने
सोचेँथे पहिला त मैले,
झनै सबै चिढिंसके
हिन्दू, मुश्‍लीम ईसाईहरु ।

नया नेपाल बनाउन
परिवर्तन धेरै गरें,
सवालाखको विछ्‍यौना र
टोपी-टाई को लवाईहरु ।

भो बाबा! गाह्रो रै’छ,
देश चलाउने काम त,
बरु सत्ता कब्जा गर्छु
बन्द गरी सवाईहरु ।

*सवाई: लय हालेर गाउन मिल्ने एउटा नेपाली लोक भाका ।