March 31, 2011

सारा खुसि बन्दकीमा राखें

- प्रकाश सापकोटा

जसको लागि सारा खुसि बन्दकीमा राखें
कोशी, कैले उर्लिएको गण्डकीमा राखें
उही पर भइदिंदा कस्तो होला मन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन

फुल्ने हाँगै सुम्पिएर आफु झर्दा पनि
छाति पुरै ओछ्याएर माया गर्दा पनि
भोग्नु कति गाह्रो हुन्छ फगत एक्लोपन
सुन्नेलाई थाह हुन्न भोग्नेले नै भन

न त वल्लो घाटको भएँ न त पल्लो तीरको
न मसानको हुन सकें, न त मन्दीरको
जिउनु कति गाह्रो हुन्छ भौंतारिई कन
देख्नेलाई थाह हुन्न भोग्नेले नै भन

मार्च- २४, २०११ (त्रोम्सो, नर्वे)