December 27, 2008

लघुकथा - सकारात्मक प्रश्न

आचार्य प्रभा, अमेरीकाIMG_0268[2]

त्यसदिन म दुखित भएँ, कारण त्यस साहित्यिक कार्यक्रमको उपस्थितिमा एउटा फुचे केटाको ब्यङ्यात्मक र अस्वभाविक प्रश्नहरुले मलाई कता कता आफ्नो लेखकिय बिधाको परिचयबाट बन्चित बनाएझै महशुश भयो (जो केटा नेपाल बाट भर्खर मात्र अमेरिका भित्रिएको रहेछ )हुन पनि त यो ब्यस्त दुनियाँमा आएर म ब्यस्तताभित्र हराएकी छु मैले यहाँ आफुलाई समय र कमाइको रफ्तारमा मात्र दौडाइ रहेकी छु। कहाँ फुर्सद र ?भावना र कल्पनालाई सप्तरङी इन्द्रेणिको माला बनाएर साहित्यको भंडार् भर्ने ?। अनी कस्को समय छ र साहित्यिक परीवेश भित्र हराउने ? अनी आफ्नो अस्तित्व कहाँ खोज्नु र पाउनु मैले ? । यस्तै यस्तै प्रश्न र दुबिधामा अल्झिएर आफ्नो अतित मा हराउन पुग्छु म । दु:ख ,पीडा, समस्या ,अभाव साथ नै भए पनि लेखन क्षेत्रमा आफु रमाएको आफुले अरु बाट पाएको सम्मान ,एउटा छुट्टै अस्तित्व, आफ्नो बेग्लै छवी तर आज गास,बास, कपासको राम्रो बन्दोबस्त भएपनी सम्पन्नता र बैभव को लिस्नो चढि रहेता पनि आफ्नो लेखकिय अस्तित्व गुमेर त्यो फुच्चे केटाले गरेको ब्यङ्यातमक पर्श्नहरुले म कता, कता मर्माहत बन्न पुगे र सम्झिन थाले उस्का ब्यङ्यात्मक पर्श्नका लहरहरु ।

''तपाइ लेख्ने मान्छे हो र ?''
''खै त मैले नेपालमा तपाईंको नाम सुनिन त ?''
''खै तपाईं के के लेख्नु हुन्छ ?(ब्यङ्यात्मक भाव ले मेरो डाइरी तान्दै पल्टाउन थाल्छ )
म पनि बिच बिच्मा उस्का पर्श्नका जवाफ दिरहेकी हुन्छु ।
''तपाइ ले गीत पनि लेख्नु भएको रे ?''(अलिक अगाडि मैले अर्को ब्यक्तिसँग कुरा गरी रहेको सुनेर उस्ले त्यस प्रकारको प्रश्न मलाई गरिरहेको थियो )''क- कस्ले गाएकाछन त तपाईंका गीत हरु'' भन्दै ब्यङ्यात्मक हासो उडाउदै अहिलेका केही चर्चित एक दुई वटा ब्यान्ड हरुको नाम लिन्छ । म मध्यम बर्गका गायक हरुको नाम लिन्छु ।''ए तिनिहरु त हराइ सके'' भन्दै ब्यङ्यात्मक हासो उडाउछ अनी फेरी उस्ले त्यसरी नै अर्को प्रश्न तेर्स्याउछ ''तपाइ त्यो अहिलेको बरिष्ट लेखक  ……लाई चिन्नु हुन्छ ?भनेर उस्को नाम लिन्छ अनी म झन अवाक बन्छु त्यो फुचेले जस्को नाम लिएको थियो ऊ त्यही केटो थियो जस्लाई मैले मेरै घरमा साहित्यिक परीवेश बनाएर साहित्यिक गोस्ठिहरु गरी एउटा लेखक बन्ने प्रेरणा दिएकी थिए र फल स्वरूप उस्को प्रतिभामा अंकूर पलाई रहेको थियो।

म हर्षले बिभोर पनि भएं किन कि मैले उत्साह र प्रेरणा दिएको केटो यौटा बरिष्ट लेखक मा गनिएको सुन्दा त्यस्ता हजारौ युवाहरुको म प्रेरणाको श्रोत थिए तर आज त्यो फुच्चेले मेरो औकात तौलिएर यदी त्यो बरीष्ट लेखकलाई चिने भने मात्र म यौटी लेख्ने महिला हुँ भन्ने उस्को भाव ले पर्श्न गर्दा साचै म अवाक बने।  मैले साँच्चै आफुलाई अती नै ओझेल मा धकिलिएको महशुश गरे र आँफैलाई धिक्कारे अनी सोचें, साच्चै म आफ्नो सानो देश र ठाउँमा यौटा चम्किलो तारा नै थिए भने आज यती ठुलो देशमा आएर धुलोको कण समान नै भैछु । अनी त्यो फुचे केटोको पर्श्नलाई मैले सकारात्मक् नै ठाने, हुन पनि त हो; अमेरिका आएको चार बर्ष भयो उस्ले मेरो नाम कहाँ बाट सुनोस ?अनी कसरी मेरो परिचय् पाओस यहाँ आएर मेरा लेख्ने हातहरुले कलम को मोह बिर्सिएर पसिना को मर्म मात्र बुझ्न थालेका छन अनी कसरी म लेखिका भएको प्रमाण कसैले पाउनु ? । हो, अहिले म आफ्नै रेस्टुराँको ''गूड् वेटरेस '' भएकी छु सबैलाई बाड्ने मीठो भावनात्मक शब्दहरुको बद्लामा ग्राहक हरुलाई मीठो मुस्कान छर्दै ''नमस्ते ''को सट्टा मा ''हेल्लो हाउ आर यू ?' 'भन्ने ब्यवसायिक वाक्य मात्र बाड्न सक्षम भएकी छु। मेरो परिचय् ''राईटर्''बाट ''वेट्रेस'' मा अनुवाद भएको छ । आजकल राम्रो लेखिका बाट ''गूड् वेट्रेस'' भन्ने प्रशङ्सात्मक शब्दहरु पाउन थालेकी छु ।

हो, मेरो परिचय् यही भएको छ। मैले नौलो पहिचान पाइरहेकी छु पुरानो अस्तित्व बाट म ओझेल भाईरहेकिछु, अनी म फेरी त्यो फुच्चेको प्रश्नहरुलाई आत्मसात गर्न पुग्छु। साच्चै, यथार्थ मा उस्का प्रश्न हरु सहि थिए भन्ने मलाई भान हुन्छ यस्तै कल्पनामा म हराइ रहेको बेला अनायस एउटा ग्राहक को वाक्यले म झस्किन्छु उस्ले भनी रहेको हुन्छ ''मे आइ गेट सम मोर वाटर ''? । म हठात को साथ जग को पानी उठाएर उस्को ग्लास भर्न पुग्छु उस्ले हाँस्दै ''थ्यान्क् यू'' भन्छ म उस्लाई ''वेल काम ''भन्दै अरु टेबलमा पाहुना हरुसँग मुस्कान साट्न थाल्छु ।



शुभकामना मेरी तिमीलाई

बिजयकुमार श्रेष्ठ, धादिङ्गकटुन्जे (हाल ईराक)

मेरी तिम्रो पखाईमा मेरा आँखा थाकि सकेको थियो
छिटै भेट हुने बाचा गरी दिएर विदा भएको थियौ
ति बाचा गरेको दिनलाई कुरी बसेको धेरै भएको थियो
सुर्य चन्द्रको रफतारमा तिमीलाई भेट्ने पर्खाइमा बसेका थियौ ॥
तिम्रो सम्झनामा पोहोर गाएको गितको भाखा गुन्जिरहेको थियो
तिमीलाई सिङ्गारिदिन पाउदा यो मन हर्ष र खुशिले रमाउने थियौ
तिम्रो आगमनमा सारा सन्सारको मुहारमा खुशि ल्याएकॊ थियो
रिस र रागलाई छाडेर शान्तिको बिगुल फुक्ने अशिक दिएका थियौ ॥
सधै भरि तिम्रो भजन गाउने बाचा लिएका थियो
सधै भरि तिमीलाई सिङ्गार्ने आशा राखेका थियौ
तिम्रै शक्ति र उपदेशमा ब्रम्हाण्डको सृष्टि गरिदिएका थियो
सबैलाई नयाँ सोच र जागरको सृजना गराई दिएका थियौ ॥
सबैको घरमा खुशियाली र सुख शान्ति ल्याई दिएका थियो
स्वागत छ मेरी तिमीलाई जन्म दिन मनाउन दिएका थियौ
सन्सारमा नै परिवर्तनको दियो जलाई दिएका थियो
जन्म दिनको शुभकामना हामी सबैले दिएका थियौ ॥


बिजुलीको बिरोध

- नेपालियन

कुरा लागु गरे पनि समर्थन र बिरोध नगरे नेपाल राष्ट्र नै रहदैन। यताबाट सुइय सिठ्ठी मारे, उता बाट गुर्र ढुंगा आउनु नै पर्दछ। अनि मात्र फनफनी घुम्ने घट्ट जस्तै नेपाल र नेपालीको नियती सुनिश्चित हुन्छ । यो नौलो कुरा होइन तपाइ हामीले देख्दा र सुन्दा आंखा र कान थाकीसके। अहिले पनि डिजेलबाट बिजुली निकाल्ने कुरोमा यस्तै घट्ट जस्तो कुरो घुम्दैछ।

पुलचोक पढ्दा नेपालमा हाइड्रो पावरको खुबै स्कोप छ जस्तो लाग्द्थ्यो। अनि ऐच्छिक बिषय पनि Fluid Machine लिएको थिए। पढ्दा ताका जता पानी बगे पनि कति बिजुली आउंछ दिमाग घुमाइ हाल्थें। जब पढाइ सकियो नेपालमा मध्य मर्स्याङ्दी भर्खर भित्रीयो। जागिर पाइएला भनेर खुब ट्राइ मारियो, यस्को अफिस त गुमनाम जस्तै नया बानेश्बरमा रहेछ। मन्त्री र आफन्तकाले युरोमा तलब खान शुरु गरिसकेका रहेछन। सानो तिनो लिंक त भेट्टाएको थिए तर चाकडीको "च" पनि रिझाउन नसक्ने म अनि लमुजुंगको कुनामा जानु पर्ने, बिजुली घरमा काम गर्ने जोस त्यसै मरेर गयो। पछि पढ्ने धुनमा अमेरिका आइयो।

नेपालमा काम गर्दा एक पटक बिराटनगरको डिजेल पाबर प्लान्टमा पुगेको थिएं। थर्मल पावर प्लान्टको बारेमा पढे पनि नेपालमा जता पनि खोलै खोला, खासै चासो राखिएन। तर बिराटनगरको डिजेल पावर प्लान्ट देखेर छक्क नै परेको थिए। छक्क झन परें जब अमेरिकामा आउदा एउटा थर्मल पावर प्लान्ट मेरो पढ्ने बिध्धालय निजिकै थियो। अनि लाग्यो ‘ए डिजेल पावर प्लान्ट नराम्रो रहेनछ !’। अमेरिकामा यस्ता पावर प्लान्ट थुप्रै छन। तर यस्को खासै चासो भएन। तर जब माओबादी सरकार डिजेल पाबर प्लान्टको वकालत गरे र एमाले त्यसको बिरोधमा उत्रियो अनि हाम्रा जे मा पनि बिद्वान पत्रकार महोदय त्यसको मु्लयाकंनमा उत्रिए । यो शनिबार डिजेल पावर प्लान्टको अध्यन गरुं जस्तो लाग्यो। जहिले पनि प्राबाधिक बिषयमा पत्रकार अन्टसन्ट बोल्न थाल्छन मलाइ सोध खोजमा धकेल्छ। यस्तोबेला लाग्छ गएर पत्रकार ब्लगमा उत्रिनु सार्थक छ। आखिर प्रबाधिक क्षेत्रमा पत्रकारले पेट दुख्ने गरी समाचार लेखेको कुनै नौलो कुरा होइन।

कुरा सिधा रुपमा भन्दा नेपालको बिजुली उत्पादन तथा खपतको हिसाब निकै गोलमाल छ। प्राय एउटा देशमा १०० किलोवाट बिजुलि खपत भए उत्पादन १२५ किलोबाट हुनुपर्दछ। तर नेपालमा १०० किलोवाट बिजुलि खपत भए ७५ किलोवाट पनि उत्पादन हुदैन। अनि लोड सेडिगं नभएर हुन्छ त? यो देशको योजना हाक्ने हाकीमको अन्धोपन नै यही हो। अझ उत्पादन भएको बिजुलीमा चोरी तथा प्रयोग गरेको बिजुलीको रकम नतिर्नुले बिद्युत प्रधिकरण लंगडो नै भएको छ। ल भन्नुहोस त अन्धो र लंगडो भएको ले कती थेग्न सक्छ? । यो तथ्य कसै सामु लुकेको छैन। यो क्षेत्रमा पनि अन्य क्षेत्र जस्तै कानुनको उपहास भएको छ।

लोडसेडिगं हटाउन के गर्ने त?, कुरो रह्यो बिजुली भारतबाट ल्याउने की डिजेल पाबर प्लान्ट बनाएर जनतालाइ तुरुन्तै राहात दिने। भारतबाट बिजुलि निर्यात गर्नु राम्रै कुरा हो। तर भारतले बिजुली कहिले सम्म कती दरमा देला? यो बिजुली कति भरपर्दो होला ? भारत बिश्बकै अर्थतन्त्रमा अगाडी बढ्ने दोस्रो ठुलो मुलुक हो। त्यसैले बिजुलीको लागि भारतमै भर पर्नु त्यती जायज रहदैन। फेरी डिजेल पावर प्लान्ट बनाउन मध्यमर्सांग्दी जस्तो १० बर्ष लाग्दैन। यो १ बर्षमा पनि तयार पार्न सकिन्छ। यसको लागानी खर्च हाइड्रो पाबर प्लान्ट भन्दा १० गुना या अझै कम हुन्छ। फेरी डिजेल प्लान्ट लोड हुंदा चलाउने र अरु बेला बन्द गर्न पनि सकिन्छ तथा यसै समयमा समान्तर रुपमा हाइड्रो पाबर हाउस बनाउन पनि सकिन्छ । यसले नेपालीलाइ रोजगार पनि दिन्छ र भविष्यमा लोडसेडींग भए अरुको भरपर्नु पर्दैन। तर डिजेल पावर हाउस संचालनमा हाइड्रो भन्दा थोरै रकम बढि लाग्रने रहेछ। १० रु मा तयार हुने बिजुली १७ रुपया लाग्ने रहेछ । तर लोडसेडिंगको संकट मोचन गर्ने यो उत्तम उपाए भएन र?

अब केही पावर हाउस थप्नु पर्ने अबस्था छ तर यो कुरा जरुरी छ कि हाइड्रो पावर हाउस बनाउँदा डलरमा काम गर्ने सिस्टम बन्द गर्नुपर्दछ। अनाबश्यक खर्च कम गरे एउटा मध्य मर्स्याङ्दी बन्ने पैसाले दुइबटा मध्य मर्स्याङ्दी बनाउन सकिन्छ। अझ नेपाली सिप लागु गरे एउटा मध्य मर्स्याङ्दी बन्नेले ४ वटा मध्य मर्स्याङ्दी बनाउन सकिन्छ। हाम्रो बिजुली उत्पादन गर्ने संयन्त्र बिदेशीमोहको चुंगुलमा फसेको छ। यस्लाइ हटाउन जरूरी छ। नेपालका हरेक खहरेबाट आफ्नै सिप लगाएर बिजूली निकाले भिबष्यमा न त लोडसेडिंगको चिन्ता हुन्छ न त डिजेल आयत गरेर बिजुली उत्पादन गर्नै बहस बन्दछ। भारतमा बिजूलि निर्यात गरेर कमाउने ठाउ त अझ बांकी नै छ। यि त सबै योजना भए तर यो सुन्दर योजनालाइ सफलता पुर्बक समापन गर्नु उत्तीनै कठिन कार्य हो।