November 3, 2007

के गणतन्त्र नै सर्वौषधी हो ? - एकलव्य

एकताका बुझ्ने गरिन्थ्यो संविधानसभाको चुनाव हुने बित्तिकै नेपाली जनजीवनका सम्पूर्ण रोगहरूको निदान हुनेछ । यसको आंशिक सत्य पाटो थियो , हतियार उठाएर कथित क्रान्ति वा आतंकमा लागेकाहरूले उठाएको न्यूनतम राजनैतिक सहमतिका लागि र उनीहरूले भने बमोजिम शान्तिपूर्ण बाटोको लागि यो न्यूनतम प्राप्ति थियो अथवा यहाँ सहमत हुन सकिन्थ्यो , अरूले पनि चाहे भने । फलत: त्यही हुन नसक्ने वा नभैरहेको संविधानसभा निर्वाचन सम्भव पार्नका लागि प्रयास, वार्ता र सहमतिका संस्करणहरूको खोजी भयो । आज यो एजेण्डामा मन , वचन र कर्मले सबै पक्ष आइसके , तर हाम्रो खोजी अरू विषयवस्तुतर्फ आकृष्ट भएको छ र बुझाउन खोजिँदैछ “ यो हुने भनेको संविधानसभाको चुनाबले पनि केही लछारपाटो लाउँदैन” ।

कुरा ठीकै पनि होला, तल फाँटबाट उकालो चढ्दा माथि देखिने पहिलो डाँडाको टुप्पा हाम्रो लक्ष्य हुनसक्छ तर चढेर माथि पुगिसकेपछि महशूस हुन पुग्छ , वास्तविक यात्राले छिचोल्नु पर्ने डाँडाहरूको यो शृङ्खलामा त्यो पहिलो डाँडामाथिको हाम्रो चढाइ केवल शुरूवात मात्र थियो । तर राजनीति डाँडा चढ्दै मनलाई ढाडस दिएर ढाँट्दै हिँडाउने पथिकको यात्रा पनि हैन नि ! व्यक्तिले आँफैलाई आफ्नो विषयगत यात्रामा जसरी पनि अघि बढाओस् तर समष्टिलाई व्यक्तिको सीमिततामा धकेलेर हामी तुलना गर्न पनि त सक्दैनौँ नि ।
अब आएर भनिँदैछ , राजतन्त्रको अन्त्य गर्नुपर्छ र मात्र नेपालीहरूका सबै दु:ख र पीडाको उन्मूलन नै हुनेछ ।
वर्तमान नेपालको राजनीतिमा सबैभन्दा छाएको विषय हो बिगत २५० वर्ष सम्म अकण्टक छाएको नेपाली राजतन्त्रको भविष्य सम्बन्धी मुद्दा । तत्कालीन राजा विरेन्द्रको रहस्यमय ढंगले भएको वंश विनास र तत्पश्चात प्रयाप्त योजना बिना उनका भाइ ज्ञानेन्द्रको निरंकूश राजा बन्न चाहने अन्धो अभिलाषाले निम्ताएको घटनाहरूको सिलसिलाले अहिले नेपाली राजतन्त्रलाई अवसानको विन्दुमा पुर्‍याएको कुरामा विवाद होओइन । नेपाली राजतन्त्रको मियो राजा विरेन्द्र संगै ढलेको थियो र नेपालले यही विन्दुबाट गणतन्त्रतर्फको औपचारिक प्रस्थान शुरू गर्‍यो भन्ने माओवादी नेता बाबुराम भट्टराईको पहिलो भनाइमा सत्यता छैन वा थिएन भन्न सकिन्न । राजनीतिलाई नभोगेका अनि पर्दा पछाडि बसेर पर, गरिमा , प्रतिष्ठा र दरवारिया हुनुको फाइदामा मात्र रजगज गर्दै आएका ज्ञानेन्द्रलाई , आफ्नो दाइ केवल टुलुटुलु हेरेर बस्ने खालको मात्र लाग्नुमा पनि अनौठो थिएन । किनभने सबै कच्चा खेलाडीहरू यस्तै सोच्ने गर्छन , “ मैले चान्स पाए , जान्या थिएँ । सबैलाई ठिक पार्दिन्थेँ” । तर अपशोस यसो भन्दै मौका लिनेहरूले केवल अपशोस र असफलताको दलदलमा जाकिने नियति मात्र प्राप्त गरे वा गरिरहेछन् । अरूले बिगारेको, भत्काएको , लुटेको, खाएको वा बद्‍मासी गरेको देख्न वा आरोपको रापमा ताप लिन सजिलो भएपनि विपरित देशामा घुमिरहेको पाङ्ग्राको गतिलाई सुल्टाएर फेरि यात्रा सही बाटोमा लैजानि त्यति सहज कहिल्यै भएको छैन । ज्ञानेन्द्रले त्यही गल्ति गरे , जुन उनको अन्धो र अनुभवहीन महत्वाकांक्षले उनलाई सिकायो । जसले जे भनोस् , नेपाली राजतन्त्रको पतनको असली कारक ऊ स्वयं हो र उस भित्रका घर गरेर बसिरहेका दृश्य-अदृश्य पतन्नोन्मूख कारक प्रवृत्ति नै हुन् । जब वीरेन्द्रको वंश विनासमा रहस्यमय ढंगले भाइ ज्ञानेन्द्रका परिवारका सदस्यहरू मात्र बाँच्न सफल भए , त्यो घटनाको विन्दुदेखि नेपाली जनमनको आस्थामा राजतन्त्रको औचित्यताले प्रश्नै प्रश्नको समना गरिरह्यो । जब नरनारीहरू सडकमा , ज्ञानेन्द्र मुर्दावाद वा भाइमारा राजा चाहिँदैन भन्ने फलाकोका साथ चिण्डे मुण्डे टाउको लिएर टायर बाल्ने उद्यममा लागे , नेपाली मनबाट राजतन्त्रले बिदा लियो । राजतन्त्र जस्तो एउटा परिवारको सर्वश्रेष्ठतामा वा जन्मको आधारमा मान्छे विशिष्ट हुन्छ भन्ने विश्वासमा टिकेको तन्त्र , जनताको आस्थामा पैदा गरिएको भूचालसंगै ध्वस्त हुन स्वाभाविक थियो । अत: ज्ञानेन्द्र नै दरबार काण्डका कर्ताधर्ता थिए भने नेपाली राजतन्त्रको वर्तमान नियतिमात्र हैन यसभन्दा पनि अघि बढेर उनको पत्तासाफ हुनु उचित छ । यदि उनी त्यसका कर्ताधर्ता नभएर केवल परिबन्दका शिकार बनेका थिए भने पनि उनले यो कुरामा चित्त बुझाउनै पर्छ , नेपालको राजा बन्नु उनको नियतिमा कहिल्यै लेखिएको थिएन वा उनी नेपाली राजतन्त्रका असली हकदार कहिल्यै थिएनन् र उनले यो सत्यलाई जति छिटो स्वीकारे त्यति नै उनको मानसलाई सुख मिल्छ । जनताको विश्वासमा रहेन भने , जसोतसो राजा भएर टिकिरहन खोज्ने मूर्खता हिजो हामी र हाम्रा पूर्वजहरूले साँचै मानेर आएका राजाहरूको मृतआत्माप्रति पनि अनास्था हुन्छ।
राम्रा र नराम्रा सबै कुराको एकदिन अन्त्य हुन्छ र यो सत्यलाई स्वीकार्‍यो भने नेपाली राजनैतिक इतिहासका राजतन्त्रात्मक २५० वर्षले दिएको योगदान वा नोक्सानीको चर्चा खुलेर हुनेछ आगामी दिनहरूमा किनभने त्यो कुरामाथि सेन्सर लगाउन घटनाक्रमको यो विन्दुमा राजाको शासन बाँकि रहने छैन । तर , नेपाली राजतन्त्रले राम्रो गर्‍यो गरेन भन्ने बारेमा जति विवाद भएपनि पृथ्वीनरायण शाह, आधुनिक नेपाल र नेपालको अक्षुण्णताको अतीत र वर्तमानमा शाहराजाहरूको कुनै न कुनै योदान थियो भन्न संकोच मान्नु पर्दैन । हुनसक्थ्यो , त्यो बेला विकल्पमा अरू नै शासक नेपाली राजगद्दीमा छाएका भए झनै राम्रो पनि गर्थे होलान् । तर यसो भएको भए त्यसो हुन्थ्यो होला भन्नुले हाम्रो इतिहास सच्चिन सक्दैन । राजतन्त्रमाथि विश्वास नरहँदा नरहँदै पनि , अवसानको विन्दुमा बाँच्दै गरेको नेपाली राजतन्त्रका लागि सहानुभूति ! तर अबको अहम प्रश्‍न हो , के नेपाली राजतन्त्रको बहिर्गमन पश्चात नेपाली राजनीतिका दिनहरू सुनौला र गुलाबी चमत्कारिकताले भरिएका हुनेछन् ? नेपाली राजनीतिका गत एकसय वर्षका परिवर्तनहरूलाई हेर्दा भने हामी त्यति उत्साहित हुन पर्दैन होला । हामीले क्रान्ति, आन्दोलन र परिवर्तनका धेरै अनुभवहरू गएको सय वर्षमा भोगेपनि , हाम्रो वर्तमानलाई हेर्दा , अपेक्षित उपलब्धिहरूले हामीलाई सदैव छलेर नै हिँडिरहेको देखिएकै हो । मेरो विश्वास छ , हामी यो नियतिको चक्रलाई बदल्न विचार र व्यवहार दुवै कुराले पहिलाका परिवर्तनकारी समयमा पनि तयार थिएनौँ र यसपाला पनि छेनौँ । किनभने यो परिवर्तन पछि हामीले कसरी अगाडि बढ्ने भन्ने कुराको तयारी गर्नु पर्ने कुरालई कहिलै सोच्नु पर्ने नै ठानेनौँ । जब खोक्रो उत्साहमात्र हाम्रो क्रान्तिको आधारबन्छ र त्यसकालागि विचार र व्यवहारको उकेरा लाग्दैन , अनि हरेक रोमाञ्च अर्को कुण्ठामा बदलिनबाट जोगिँदैन । राजतन्त्र त जाने ने भयो जाला , तर यसपछि के र कसरी भन्ने कुराको कहीँ कतै चर्चा छैन । कतै जस्ले सक्ने उतै तान्ने पो हो कि ? सके नियमले, नसके बल र र शस्त्र अस्त्रले भएपनि आफ्नोबाटोतर्फ जबर्जस्ति गुडाउन खोज्ने अभिष्ट बोकेर पो योजना गरिँदैछ कि ? शाहराजा पृथ्वीनारायणले बलपूर्वक एकीकरण गरेको नेपाललाई , उनको अन्याय सच्चाउन उल्टाउन पो खोजिने हो कि ? खरबारीमा उभिएको जर्जर बुढो रूखलाई ढाल्ने त भइयो तर , खै त अरू पाँचवटा रूख समयमै रोपेर भोलिका लागि चौतारीहरु बनाउने हाम्रो प्रयत्न ? कि यो प्रयत्न केवल धोद्रो लागेको बूढो रूखका पात, हाँगा र सीमित मूढाहरू मात्र लैजान चालिएको कृत्य हो ? भोलिको नेपाली राजनीतिका मुद्दाहरू कसरी कुन बाटोबाट निरूपण गर्ने र देशको राजनीतलाई विश्वमान्य लोकतान्त्रिक पद्दतिसम्मत कसरी अगाडि लैजाने भन्ने कुराम नेपाली राजनीतिका
स्टेक होल्डरहरू एक ठाउँमा उभिएर प्रतिबद्द नबनुञ्जेल , नेपाली राजनीतिले अस्थिरता कै नियतिबाट गुज्रिनु पर्ने पो हो कि !
यस्तो प्रवुद्दहरूसंग सोध्न मन लाग्छ , के गणतन्त्र नेपाली राजनीतिको सर्वौषधी हो त ?