June 24, 2009

मर्निङ वाक

'बढी भयो', सभासदज्यू कमिजतिर औँला खेलाउँदै आफैँसँग फतफताउनुभयो । यो कमिज उहाँ आफैँले पहिरिनुभएको कमिज थियो । उहाँ मर्निङ वाकमा दौडिरहनुभएको थियो, तर दौडिन सकिरहनुभएको थिएन ।

'बाफ रे, साँच्चै हद बढी भयो', सभासदज्यूले ख्याप्प कमिजको बटनले खाएको गर्धन झुकाउँदै दोहोर्‍याउनुभयो । वरिपरि चोकमा दर्जनौँ गोडाहरूको प्रातःकालीन खलबली मर्निङ वाकको चालमा गुञ्जिरहेथ्यो । धोक्रे हाफ प्यान्ट फटाउने काँटको फिला थर्काउँदै रतनशेखर सेठ पनि सभासदज्यूकै बगलमा दौडिन आइपुगे ।

'हुजुर, के बढी भयो ?,' सेठले कुरा उठान गर्दै व्यापारिक लबजमा सुझाए-'बढी भयो त बढिया नै भयो नि हैन र हुजुर !' संसारका समस्त ठूला मान्छे 'मर्निङ वाक'मा एकजुट होऔँ भन्ने लयमा सेठले चश्माभित्रका आँखा फनक्क घुमाए ।

'अरे के बताऊँ रतनबाबू, सम्हाल्नै नसक्ने बढी भयो, के गरूँ-के गरूँ ?' कमिजको बटनतिर अलमलिएका औँला हावामा दरफराउँदै सभासदज्यूले कुरो घुमाउनुभयो । कुरा घुमाउने उहाँको प्रिय सोख हो । उमेरमा सभासद्‌ज्यूले के-के घुमाउनुभएथ्यो, तिनै अभ्यासले पाकेर आज ठूलै हूललाई ठूलै कुरामा घुमाउने दायित्वमा स्थापित हुनुहुन्छ । सभासदज्यूको पिरोलो देखेर झोक्रिनुसाटो उल्टो सेठजीका आँखा हर्षले धपक्क बले । सेठजीले चमत्कारिक उपाय कतै फेला पारेझैँ टपक्क टिपेर सुझाए-'तो कुछ फिकर नकर्नुस् हुजुर, कौन कुरा बढी भयो ओ सब हामीलाई दिइदिनुस् तो टेन्सनै साफ !'

सेठका कुराले सभासदज्यूको मुहारको ध्वाँसो पग्लिएन । उहाँले कमिजमाथि फेरि हत्केला मुसार्नुभयो । सेठजी भने सभासदज्यूसँग बढी भएको चिजबिज पाउने आशले दौडिँदादौडिँदैको चाल रोकेर धोक्रे हाफ प्यान्टमाथि लत्रिएको कुर्ता सम्हाल्दै सामुन्नेमा उभिए ।

'उहू सेठ, के ठट्टा गरेको ?' सभासदज्यूले रुन्चे अनुहारको एउटा फक्लेटामा तत्काल छाएको व्यङ्ग्यको तरङ्ग पोख्दै बल्ल रहस्य खोल्नुभयो-'मेरो पेटको बोसो पो बढी भयो भनेको त !' जिस्क्याउनुभयो-'सेठको त पहिल्यैदेखि कुर्ताभरि निसासिएर बसेको बडेमानको भकारी छँदैछ, उल्टै मेरो बढेको पेट दिऊ ?' यति भनेर उहाँले आफ्नो कमिजको फेर उचालेर सेठतिर देखाउनुभयो । पर्वमा बज्न ठीक्क दमाहा प्रकट भयो ।

'अरे हुजुर, क्या बात कर्नुहुन्छ', बढी चिजबिज पाउने उत्साहले तन्किएका सेठका आँखा माछाविहीन जाल जस्तै सामसुम्म निचोरिए । 'हामीले त सोच्यो- संविधानसभाको चक्करमा छिरेर डेली तलबपानी और वो सुझावउझाव कलेक्सनले कुछ ज्यादा नै मालमत्ता जम्मा भइगएछ, बढी भयो भनेर कस्तरी लालच जगाउनुभयो हे हे हे …', घाँटीका लुँदा हल्लाउँदै सेठजी मुस्कुराए । सोधे-'हुजुर, मेचमा आरामसे पिठिउँ अडेसा लाकर बैठिराख्नुभोहोला, तब थोडी अडेसा लाएकोतरफ पेट जाओस् ? अडेसामा ठोक्किएर धकेलिएपछि पेट त आगे नै आइहाल्छ नि !'

'तब त हेर्नु न, एक वर्षभो संविधानसभामा चुनिएपछि बढेको पेट घटाउन कुद्‌याकुद्‌यै छु र पनि फिटिक्कै घट्या छैन ।' सभासदज्यूले खिन्न हुँदै दुःखद उदरकथा कहनुभयो । सोझासीधा जनता भने मर्निङ वाक नगर्दा पनि हावा खुस्किएको बेलुन जस्तै पेट सुकाएर बसिरहेछन्, देशका नेता र सभासदलाई भने यो के-के चर्तिकला गर्नु परिरहेको, सेठको ठूलो टाउकोले केही सोच्न सकेन । सभासदज्यूले शङ्का जनाउनुभयो-'कतै यो दिनदिनै भत्तारसद र महिनैपिच्छेको तलब त नपचेको होइन सेठ ?' उहाँलाई हामी ठूलाहरूले मात्र किन मर्निङ वाकमा पेट घटाउन सास्ती खेप्नुपरेको भन्नेमा झोंक चल्यो ।

'ओ हुजुर, कसके काम कर्नुस् , पेट पुरानै लाइनपर आइहाल्छ, यो मर्निङ वाकको बदला काममै कुदाकुद कर्नुस्', कारखानामा थेत्तर कामदारलाई अह्राएजस्तै सेठजीले साउतीको स्वरमा भने । सभासदज्यूको चिन्तित आवाज सुनियो-'अरू केही होइन, यो अपचको समस्या हो, त्यसैको प्रमाणचिन्ह हो मेरो घनघोर पेट । यसलाई घटाउन मैले अरू मर्निङ वाकमा जोडले कुद्‌नैपर्छ ।' भन्नासाथै सभासद्‌ज्यू तुरून्तै वेग मारेर अघिल्तिर हुइँकिनुभयो ।

पछिल्तिर एकलासमा सेठ सभासदज्यू गएतिर कराउँदै थिए-'अरे हुजुर, वो तो ठीक छ, तर के हुन्छ हामी जनताको पेट, यो देशको हालत के हुन्छ ? हुजुर संविधानको के हुन्छ..... के हुन्छ ?'

*तस्बिर: आर्यसिटी.कम