January 23, 2011

म नेपालमा भएको भए ?(Nepal- The Country of Load Shedding)

विदाको मेसो पारेर भएभरका नेपाली ब्लग चाहर्दै थिएं। कुनै बेला कपि पेष्ट र चोरिएका सामग्री बारे गरिएको
गनथनको याद आयो। अन्जली तिमल्सिनाका चोरिएका सामग्री त के भयो कु्नी तर दिलीप आचार्यले भने चोरिएका सामग्रीको क्रेडिट लिइछाड्नू भयो। ३ बर्ष अघि दौंतरीले बनाएको स्वस्थानी फाइल धमाधम Rangeen Chara,X-Nepali, आदी जस्ता साइटले कपि गर्दै राखेका रहेछन्। यसो सोचें हामीले पनि सबैले सुनुन नै भनेर राखेका हौँ, उनिहरुले पनि बांढे स्वस्थानी माताले सबैको कल्याण गरुन।

हिजो आज नेपालमा फोन गर्यो प्राय फोन उठ्दैन। कि त मोबाइलमा चार्ज हुँदैन कि त मान्छे सुतिसकेका हुन्छन। बत्ती छैन ,मोबाइल कसरी चार्ज गर्ने? सबैका मोबाइल पिपलका पातले चार्ज हुदैन क्यार। जाडोको समय,दिन छोटा,लाइन नभए पछि रेडियो,टीभी सबै चट,अनि त सिरकको सहारा, ओक्षान जिन्दाबाद। साँच्चै नेपालमा अहिले मान्छे मात्र होइन टीभी,मोबाइल,राइस कुकर आदिको जिबन पनि कष्टकर छ। बिजुली भए ति सामानको भाग बढ्थ्यो। अब त मान्छेलाई टीभी देख्दा पनि रिस उठ्दो हो। त्यो सिसाको भाँडो के काम?