Showing posts with label कथा/ साहित्य/ निबन्ध. Show all posts
Showing posts with label कथा/ साहित्य/ निबन्ध. Show all posts

July 24, 2013

परामर्श

‘प्राप्ति ! आज मेरो डक्टरकोमा जानु छ ल   ९  बजे!’ बद्रीले अनुनय साथ हेर्दै भन्छन।

‘ओहो! आज त मलाई वर्कसप को तयारी पो गर्नु छ त। बाहिर बाट मानिस आउन थालेका छन। त्यस्को ब्यावस्था गर्नु छ। सक्ने काम त आफै  गर्नुस न सधै भरि मेरै भर परेर हुन्छ !‘ प्राप्तिले ऐना हेर्दै सुस्त तर खस्रो आवाज निकाल्छिन्। बद्रि संग यस्को प्रतिउत्तर छैन। दिनभर मन्त्रालयमा मथिल्लो तहबाट आउने आदेश अनि वर्षौको अस्वस्थता!-आफ्ना कमिकमजोरी बाहिरकालाई देखाउनु भन्दा आफ्नै जीवन संगिनीको रुखो शब्द भित्र मानसिक रुपमा सुखानुभूति प्राप्त गर्ने प्रयास गर्छन बद्री!

‘सुन न, आज तिमी एक दुई घन्टा पछि गए हुदैन, संगै जाउ न डाक्टरकोमा , 'को छ साथ् मा' भनेर सोध्छन नर्सहरु, निकै एक्लो र कम्जोर महसुस हुन्छ. '' बद्रि फेरी उही कुरा दोहराउछ्न .

‘यस्तो जरुरीकाम त समय मै गर्नु पर्यो नि । कहाँ अघि र पछिको कुरो गरिरा?प्राप्तिले अनिवार्यता देखाउछिन’फेरि बिहानै ३-४ जना क्लाइन्ट आइसकेको हुन्छ। सधै ढिला हुन्छ।  ।‘प्राप्तीले चियाको कप उस्को टेवल माथी टक्रक्क बजाउदै राख्छिन।

‘अरु बढी केहि चाहियो भने माया संग माग्नु ल! मलाई हतार हुन आट्यो। पर्खिरहेका होलान।‘ प्रविधिको विकासले कहाको मान्छे लाई कहा पुर्याइदिन्छ त्यसै अनुरुप प्राप्ति आज भोलि प्रत्यक्ष परामर्श सुबिधा उपलभ्ध गराउन थालेकि छिन वेब क्याम मा फेसबुक अनि याहु च्याट मार्फत ।

‘अनि माथिल्लो दराजमा छन सबै हस्पिटलको डकुमेन्टहरु, बिर्सेर गएर मलाई फोन नगर्नुहोला मलाई फुर्सद हुदैन पुर्याउन फेरि। ‘लौन भुसुक्क बिर्सिएछु !! हेर्नुस त आज छोरीको स्कूलमा प्रोग्राम छ रे जसरी भएनि जानुहोला। १० बजे पुग्नु पर्छ।‘ प्राप्तीले स्याण्डलको लेस मिलाउदै बद्रीलाई थुप्रै कुरोको संझना गराउछिन।

‘के आयो फेरि’  छोटो रिङ सुनेर प्राप्तिले बद्री तिर हेरेर सुस्तरी भन्छिन। नजिकै सोफामा बसेर चिया पिउदै गरेको बद्रीको आँखा जानि नजानी प्रप्तिको सेलफोनमा श्रीमतीको पुरानो मित्र  विश्वको  फोटो सहित  टेक्स्ट  म्यासेज मा ठोकिन्छन  ‘come online sweet heart, i am desperate.’



अस्तु !
http://ashmako.blogspot.com/2013/07/blog-post.html

January 24, 2011

किताब - लघुकथा




त्यो किताब लेख्न सजिलो थिएन ।

किताब भित्र सम्पूर्ण नेपालीको भावना समेटिनु पर्थ्यो । यसले नया नेपाललार्इ संबोधन गर्नुका साथै वास्तविक परिवर्तनको आभाष दिलाउन सक्नु पर्थ्यो । प्रगतिशील राष्ट्रले अबलम्बन गर्नु पर्ने स्पष्ट दिशानिर्देश र उसले हिड्ने नया गोरेटोको खाका कोर्नु पर्थ्यो
अनि समतामुलक न्यायप्रणालीको हँसिलो अनुहार प्रतिबिम्बित गर्नुपर्थ्यो किताबले ।

त्यसैले किताब लेखिने उर्दी जारी भयो । सैयौंको संख्यामा देशभरिका बडे बडे लेखकहरु भर्ना भए । उनीहरुको मुख्य काम त्यो महत्वपुर्ण किताब लेख्नु थियो ।

सर्वविदितै कुरा हो, शान्त वातावरणविना, हल्ली खल्ली र भाडभैलोको अवस्थामा लेखनकार्य सम्भव हुदैन। दिन, महिना र बर्ष बित्दै गयो किताब लेखिएन । कुर्दा कुर्दा पाठकहरु निराश भए ।

एकदिन मैले यसो चियाएर हेरें, उनीहरु कापी कलम बोकेर घरबाट त निस्कदा रहेछन तर दिनभर चौरमा पारिलो घाम तापेर मस्त निदाउदा रहेछन, अनि कसरी लेखिन्थ्यो त त्यो किताब ?

बुझ्दै जादा थाहा पाएँ, त्यो किताबको नाम "संविधान" रहेछ ।



कृष्णपक्ष,इजरायल

January 2, 2011

कथाकारको कथा - ए, को होस तँ ?

भरिलो यौवन झैं समय अब नयाँ बर्षका दिवसहरु माथि टेकेर पाइला चाल्न थालिसकेको थियो । पृथ्वी युगौं देखि जो अनवरत घुमिरहेथ्यो, एउटा रित एउटा नियम, सुर्य परिक्रमाको एउटा अर्को अध्याय उसले पनि पल्टाई सकेको थियो ।

ब्लग, टुइट या फेसबुक । डिजिटल भित्ता भरि उसरी नै छाएका थिए अंग्रेजी नयाँ बर्षका यी कामनाहरु - तस्विर, शव्द र चलचित्र बनेर । त्यही बर्ष थियो जो एक बर्ष अगाडी नयाँ थियो, यसरी नै आएको, अनेकौं कामनाहरु बोकेर , गुज्रिएर गयो । अब सम्झनामा मात्र रहनेछ । अगाडी घमाइलो सूर्य जस्तो उज्याला नयाँ दिनहरु थिए । जसको आगमनको खुसीमा समय एउटा उत्सव मनार्इ रहेको थियो ।

"नयाँ बर्षको हार्दिक मङ्गलमय शुभ कामना ...."

आफन्त साथीसंगी वा कुनै साइनोको परिचय बोकेर हिड्ने सबैका ओठओठ बाट पोखिईरहेका थिए यी शव्दहरु ।

"के तँ आज पनि कथा नै लेखिरहेको छस? "
तन्मयतालाई भंग गर्दै कसैले सोध्यो । मेरै कथाको कुनै पात्र, कुनै चरीत्र मानौं त्यो म आफैं हुँ । उसको आवाज इनारबाट कोही चिच्याए झैं अस्पष्ट सुनियो ।
"कहाँ गए तेरा पात्रहरु ? तँ किन एक्लो छस? के लेख्दैछस ?"


December 4, 2010

सुकन्या अर्थात नीलिमा

शर्मिला खड्का दाहाल


तातो नारी शरीरको निश्वासले र्स्पर्श गर्छ । म ब्युँझन्छु । म अचेतमा छु । आँखा मुस्किलले उघ्रन्छ । फेरि बन्द हुन्छ । सबै इन्द्रियहरू निष्प्राण छन् । बिस्तारै परिवेशको जानकारी लिन खोज्छु । आफूलाई असर्मथ पाउँछु । फेरि इन्द्रियहरू परिचालन गर्न खोज्छु । कसोकसो दहिने हात उठाएर नारी शरीर को मुखमा लान्छु । ऊ मेरो देब्रेपटि्टको छातीमा आफ्ना हृष्टपुष्ट छाती जोडेर सुतेकी छे । मुस्किलले नाकमा फूली छ भन्ने थाहा पाउँछु । उसको आधा शरीर मेरो शरीरमा जोडेकी छे । जिउ शिथिल छ, आफ्नो हैन अरू कसैको जस्तो लाग्छ । बोल्न खोज्छु  शब्द निस्कदैनन् । मुटु र मस्तिष्कको समन्वय मिलिरहेको छैन । मस्तिष्क शून्य छ । केही सोच्ने शक्ति नै छैन । केही समयपछि मस्तिष्कलाई झट्का दिन्छु । केही कुरा चलचित्रझैँ घुम्न थाल्छन् । 
    म कहाँ छु ? कोसँग सुतिरहेको छु ? कतै धेरै पिएर यस नारीको भविष्य त खराब गरिन् ? अहँ, मैले अहिलेसम्म कहिल्यै कुनै स्त्रीजातिलाई यौनवासनाको नजरले हेरिनँ । त्यसो भए मसँग सुत्ने यी महिला को हुन त ?
    म सायद कुनै जङ्गलको झुपडीजस्तो सानो घरमा छु । बाहिर चराचुरुङ्गी उज्यालो हुन लागेको संकेत दिइरहेका छन् । म सम्झन्छु । म काठमाडौबाट पश्चिमको विकट पहाडी जिल्लामा जिल्ला अधिकारी अथार्त सिडिओ भएर खटिएको छु । म स्मरणशक्ति तन्काउँछु ।


November 29, 2010

अनिर्णयको बन्दी

शर्मिला खड्का दाहाल

अमेरिकाको केन्ट राज्य- बाहिर निकै चिसो छ । सडकहरू सुनसान छन् । चहलपहल केही छैन । शून्यता र नीरवताले वातावरण निलेको छ । आज विदाको दिन- दिन त्यसै उराठलाग्दो भएको छ । त्यसैले न्यास्रोपना र एक्लोपनाले अझ बढी गाँजिरहेछ । झन् रिचर्डको सम्झनाले थप नैराश्यता जगाइरहेछ । पोहोरको चिसोमा रिर्चडसँग बिताएका न्याना दिनहरूको सम्झनाले झन् चिसिन पुग्दछु म । उसँग बिताएका प्रत्येक क्षण मस्तिष्कमा ताजै भएर उम्रिन्छन् । गन्तव्यविनाको यात्रा थियो रिचर्ड र मेरो, तर पनि मैले साथ छोड्न सकेकी थिइन । छुट्टीको दिन अझ बढी सताउने गर्छ मलाई उसको यादले । अचानक कलवेल बज्छ । रिचर्डको आकृति आउँछ अनि कतै हराउँछ ।
      "ओहो भिनाजु कहिले आउनुभयो नेपालबाट ?"
      "केहीदिन भयो , तिम्रो पार्सल थियो ल्याइदिऊ भनेको समय नभएर.. अनि सालीज्यूको के हालखबर छ ? ह्वाट अबाउट यु ? "
      "सालीज्यूलाई भिनाजुले नै बिरानो सम्झनु भएपछि के हुन्छ । "
यस्तै गफ चन्छ प्रो. डा. शान्ताराम र मेरो । ऊ मेरो भिनाजुको साथी त्यसैले भिनाजु नै भन्ने गरेकी छु । कहिलेकाहीँ म जस्तो डायनामिक लेडी जीवनसाथी बनाउन पाइनँ भनेर तीतो ओकल्ने गर्छन् मसँग उनी, तर पनि आफ्नो पत्नीप्रति इमान्दार नै छन् । नत्रभने व्यक्तिगत स्वतन्त्रताले निलेको अमेरिकी संस्कारमा रमाउन उनलाई कुनै गाह्रो पर्ने थिएन । यसो नहुनुमा मेरो दुइवटा अनुमानित कारणहरू छन् । पहिलो त उनी अति ब्यस्त हुनु हो, अर्को चाहिँ भेनाजुको साथी भएर पनि हुनसक्छ । अरू जे सुकै भएपनि मसँग ख्यालठट्टा  गर्नमा चाहिँ पछि पर्दैनन् उनी । " ओहो दिदीले कति मीठो लप्सीको अचार पठाइदिएकी रहिछिन् । "


November 25, 2010

भ्रमपीडा !

शिव प्रकाश


उ आज आफ्नै कथा लेखिरहेछ । अरुका कथाव्यथा लेख्दालेख्दै थाकेका हातले आफ्नो कथा लेख्न उसलाई मरुभूमिको पैदल यात्रा जस्तो भएको छ । उसको मस्तिष्कमा तिक्तता र मनमा रिक्तता छाइसकेको छ । मन, मस्तिष्क दुबै एक प्रकारले मरुभूमि जस्तै भएको छ । उ बाँचेको छ, हारेर ! उ हाँसेको छ, रोएर !
उ मान्छेभित्र मान्छे निरन्तर खोजिरहेछ ।
उ सबैलाई मान्छे देख्छ तर कसैलाई मान्छे भेट्दैन । उ सोच्छ- यो मेरो दृष्टि भ्रम हो !
उ मान्छे पढ्छ तर मान्छे बुझ्दैन । उ सोच्छ- यो मेरो अज्ञानता हो !
उ मान्छे बोल्छ तर मान्छे, मान्छे बोल्दैन । उ सोच्छ- यो मेरो मुर्खता हो !
उ मान्छेलाई सबैभन्दा ठूलो मित्रु ठान्छ तर मान्छेलाई नै सबैभन्दा ठूलो शत्रु देख्छ । उ ठान्छ- यो मेरो पुर्वाग्रह हो !
उ मान्छेलाई सबैभन्दा नजिकको ठान्छ तर मान्छेसँग नै सबै भन्दा बढी त्रसित छ । उ सोच्छ- यो मेरो कायरता हो !
मान्छे, मान्छेको यो संसारमा न त उ मान्छे भेट्छ, न त उ मान्छे देख्छ, न त उ मान्छे बुझ्न सक्छ, न त उ मान्छे बोलेको
  सुन्छ !
अब उ आफूसँग आफैं सशंकित हुन्छ – “मान्छे के हो, जड हो कि चेतना ? अस्तित्व हो कि शून्य ?”
“म के हुँ ?”
उसको विचारमा संसार उल्टो हुदैछ । त्यसैले उ उल्टो विचारलाई सुल्टो ठान्न थालेको छ, सुल्टोलाई उल्टो । उ सुल्टोभित्र उल्टो र उल्टोभित्र सुल्टो देखिरहेछ, सुनिरहेछ, पढिरहेछ, बुझिरहेछ । उ उल्टो देशमा सुल्टो मान्छे् भएर बाँचेको छ ।


October 31, 2010

नियम

के पढि राख्नु भा?’
'नकाराउ न, प पढ्दै छु?’
त्यहि त, के बारेमा हो?
'किन चाहियो तिमीलाई? कत्ति नै जान्ने जस्तो- आज एउटा लेक्चर दिनु छ क्या ‘महिला,घर अनि नियम।'
‘निकै मज्जाको रहेछ नि ,साच्चै महिलासंग पुरुष पनि आउनु पर्ने होइन र? के पुरुष नियम र घर संग जोडिदैन र?!
‘हो हो तिमीलाई सबै मज्जाको लाग्छ शीला तर तिमी कहिल्यै बुझ्दिनौ कसरी जोडिन्छ।‘

भन्नुस न के हो त्यो भनेको?अनि कसरी जोडिन्छ ? ‘ शीला यसरी नजान्ने हुन रत्ति भर अड मान्दिनन्। किनभने समझदारिता चाहिन्छ नि घर परिवार मा !उनी भित्र को आत्म विस्वास वास्तवमा उन्को जीवनको कडी नै हो!’हेर घर भनेको ढुंगा र माटोबाट दिइएको एउटा आकार हो। तर नियमले त्यसलाई मन्दिर बनाउछ । त्यै मन्दिर बनाउने काम महिलाको हो । एउटा
  घर घर परिवार सफल हुनलाई महिलाको हात हुन्छ’’


October 7, 2010

विश्लेषण

आदरणिय दिदी बहिनीहरु!

'आज म यहाँहरुको अघि यसरी ऊभिन पाउदा भाव विह्वल भएको छु।
तपाई दिदीबहिनी मात्र होइन तपाईहरु आमा हो । आमा सृष्टीको मुहान हो र ममताको खानी हो।'
उ बोल्दै थियो। 'आजको युग भनेको सभ्यताको युग हो। सभ्यताको शुरुवात हो नारी ! ऊठ्नुस! जाग्नुस!धर्मको ढोगी बनेर होइन कर्मको हत्केलाहरु उठाउदै। अब नारी घर र चौघेरा, पर्खालको पहरेदार होइन सिंगो राष्ट्रको महान योद्दा बन्नु पर्छ.' तालीको गडगडाहटले ऊ भित्र झन उत्साह बढि रहेको थियो।
‘पुरुषको बोलवाला रहेको यो समाजलाई नारी शक्तिको गुन्जयमान ध्वनी चाहिएको छ ।हामी सबै मिलेर नारी ध्वनीलाई प्रतिध्वनीत गरौ। अब यहाँ, नारी पुरुष बिच भागबण्डा हुने छैन स्वामित्वको ,बरु ,शंखघोस् हुनेछ एकताको!


September 25, 2010

फटिंग्रे

यो कथा मैले धेरै पहिले यै दौतरीको लागि भनेर लेख्न शुरु गरेकी थिए । कारण वस ढिला भयो ।यस्का मथिल्ला दुइटा भाग यहि दौतरीमा पहिले नै आइसकेको छन ---आशा छ यो मेरो कथा लेखनको पहिलो प्रयास हो हजुरहरुलाई मनपर्ने नै छ! -आश्मा
*******************************************************

कहिले काही मलाई त्यो गाँउको यादले निकै सताउछ । त्यो घर, त्यो आगन, ति उकाली-ओराली, खोला-पाखा ,जहाँ उ र म संगसंगै हिड्ने, डुल्ने र खेल्ने गर्थ्यौ। म सधै सधै अतितका पानाहरुलाई पल्टाइरहेकी हुन्छु।चाहेँ सपना होस चाहेँ बिपना मेरो मनसपटलमा लगातार घुमिरहने त्यो आकृति
  मेरो मुटुमा अमिट छाप बनेर बसेको छ। जब बिर्सन्छु मबाट केहि हराएको महसूस हुन्छ, जब संझन्छु मन भित्र अदृष्य भावनाहरु खट्किन्छ—यो वर्षौको समय अन्तराल पछि पनि बाल्यकाल
 को उही छायाँ मेरो वरिपरि घुमिरहेको पाउछु-


April 26, 2010

बसन्त र पुर्वेली साहित्यिक माहौल


बसन्तको सुरुवातसगैं पुर्वमा साहित्यिक जमघट बाक्लै भैरहेका छन् । फागुन अन्तिमदेखी सुरु भएको साहित्यको जमघट यात्रा हिजो सम्म निक्कै बाक्लो रह्यो । यस पटक यो बसन्त र्सिजनाको याम भएको छ पुर्वका कवि साहित्यकारका लागि । यो डेढ महिनामा झापा मोरङ, सुनसरी र पाँचथरमा दर्जनबढी सम्झनामा रहन योग्य कार्यक्रम भए । झापाको दमकमा त्रिदेशीय गजल महोत्सवदेखी सुरु भएको यात्रा शनिबार मोरङको पथरीमा भएको झकास पुरस्कार वितरणसम्म आइ पुगेको छ । दमकमा फागुन २८ र २९ गते
  भएको गजल महोत्सवमा नेपनल भारत र भुटानका करिव दुइसय श्रष्टाले गजल वाचन गरे । चैत २ गते पाँथरको फिदिममा साहित्यको कुम्भ मेला नै भयो । नेपाल प्रज्ञा प्रतिष्ठानका प्रथम कुलपति बैरागी काँइला नै कार्यक्रममा आएपछि त साहित्यकारहरुको भिड नै लाग्यो त्याँहा । त्यस


November 14, 2009

हर्के र प्रजातन्त्र

हर्के आफूलाई ज्यादै भाग्यमानी ठान्थ्यो । सानै छँदा उसका बाले उसलाई ७ सा’लाँ कसरी प्रजातन्त्र आएर जनताको राज चल्न सुरु भएको हो भन्ने बताएका थिए र उ सधैं आफुलाई स्वतन्त्र नागरिक सम्झन्थ्यो ।

त्यसपछि उ जवान भयो र ४६ सालतिर फेरि आन्दोलनका कुरा चल्यो । गाउँको स्कूलमा ३ कक्षे पढ्दा पढ्दै खन-जोत नगरे अगेनामा आगो नबल्ने स्थिति आएकोले उसले अरु पढ्न पनि पाएको थिएन । गाउँका केही ठालुहरुलाई सोध्दा ‘७ सालको प्रजातन्त्र त नक्कली हो, अब चाही असली प्रजातन्त्र आउँछ’ भन्ने चाल पायो । प्रजातन्त्र पनि सक्कली र नक्कली हुन्छ र? उसले राम्ररी बुझेन, तर उसको ७ सालाँ प्रजातन्तर ल्याउने बाऊ बितिसकेका थिए फेरि यस पटकको प्रजातन्त्र पछि ‘गाउँ- गाउँमा बाटो, टोल-टोलमा स्कूल, सबैलाई काम, सस्तोमा माम’ दिने नाराबाट उ आकर्षित भयो र उ आफैं पनि लाग्यो आन्दोलनमा ।

खै के हो कुन्नी ४६ सालको असली प्रजान्त्र पनि २ -४ बर्ष नपुग्दै फेरि नक्कली नै भएको गाँई-गुई सुन्न थाल्यो उसले । पटक पटक प्रजातन्त्र ल्याउँदै, तीनै प्रजातन्त्र ल्याउने नेताहरुले फेरि त्यसैलाई नक्कली भनेको कुरा उसले बुझेन, तर यस्तो ठूला-ठुला कुरा बुझ्न आफ्नै पढाई कम भएको निर्क्योल निकाल्यो उसले ।

१०-१२ बर्ष गाँउमा ज्यान जोगाउनै मुश्किल भयो हर्केलाई । कहीले जनसेनालाई भई नभै भात पकाएर खुवाउनु पर्ने त कहीले जनसेनालाई खुवाएकोमा पुराना सेनाबाट लठ्ठी खानु पर्ने । जे होस अब भने किसानको ऋण माफ हुने, गाउँबाट सामन्ती साफ हुने । निजी बिद्यालय हटाईने, सरकारीमा शुल्क घटाईने। खाना, नाना र छाना सबैलाई बरोबर पाईने आकर्षक योजना सुन्यो उसले गाउँकै चौतारीमा ।

आजसम्म त यस्तो राम्रो योजना यस्तो सजिलै पुरा हुने उसले कहिल्यै सुनेको थिएन ।‘घर घरमा धारा, पानी खलल, बिजुली बत्ती गाउँ-गाउँमा, देशै झलल’ सुन्दा मात्रै पनि उसलाई जोश आउँथ्यो “ आफ्नी बुढीले आधा घण्टाको बाटोबाट पानी बोकेर ल्याउँदा र छोरा छोरीले मट्टीतेलको अभावका कारण टुकी बत्ती समेत बालेर पढ्न नसकेकोमा मन कुढिए पनि अब भने दिन फिर्ने भो भनेर फेरी उ होमीयो आन्दोलनमा ।

अरु त के जान्थ्यो र, उही ठुलाले जे भन्यो त्यही गर्‍यो । कुनै दिन खेतमा पानी लाउन छाडेर पनि जुलुसमा गयो, कहीले भैंसीलाई घाँस पराल छुटाएरै भए’नी धर्नामा बस्यो । उसका धेरै दिन यस्तै यस्तै देश बनाउने काममा बिते। जे होस बुढीले डोकाँ’ पानी बोक्न नपरे र छोराछोरीले सित्तैमा स्कुलमा पढ्न पाउने र आफ्ना घराँ नि सस्तोमा बिजुली बल्ने भए अरु जे सुकै होस उसले सोचेन। कति दिन भोक-भोकै दगुर्‍यो, कति पटक, लाठि र बुट पनि खायो, तर हिम्मत हारेन, घरकी बिरामी बुढीलाई पनि छाडेर उ ‘नयाँ नेपाल’ बनाउनै लाग्यो ।

धेरै दिन पछी उसले गाउँमै सुन्यो ‘जनताले जिते रे’ । कम्ता खुशी भएन हर्के, छिमेकीको रेडियोमा यस्तो खबर सुन्दा !, गाउमै पनि अबिर जात्रा निस्क्यो सबैजना नाचे, हर्केले पनि घराँ गएर बुढीलाई खुशिको खबर सुनायो ।

दिन, हप्ता, गर्दै महिना बिते, हर्के आँगनमै धारा, कोठामा बत्ती र छोराछोरीको स्कूलमा पैसा तिर्नु नपर्ने खबर आउँछ कि भन्दै कान ठाडो गर्दै हिड्थ्यो । तर खै त्यस्ता खबर त केही आएनन् उल्टै स्कूलमा पनि केजाती हो कर तिर्नै पर्ने भा’कोले झण्डै महिना दिन गाउँकै स्कूल पनि बन्द भए र कर समेत लागेको ‘फीस’ झनै बढी भएको कुरो पो सुन्यो हर्केले ।

उता केजाती कुरा नमिलेर हो गाउँमै खुलेको दूध चिस्याउने र संकलन गर्ने एउटा उद्योग पनि एक दिन जलाईएछ । अब हर्केका घरमा बन्ने १-२ लिटर दूधले पनि बजार पाउन छाड्यो । बाध्य भएर हर्केले ५-६ कक्षेमा पढ्दै गरेका छोराछोरीलाई घरकै काममा लगाउनुको विकल्प भेटेन ।

बुढी बिरामी परेकी धेरै दिन भो। गाउँमा केही नलागेर हर्के उसलाई शहर लाने बन्दोबस्तमा लाग्यो । ऋन,सापटी गरेर बुढीलाई काठमाण्डौ लग्न खोजेको पनि के के हो अग्रगामी सुधारको माग र स्वायत्तताको आन्दोलनले उसको बाटो खुलेको छैन ।

अघिल्लो हप्ता बल्ल-तल्ल हर्के बुढीलाई लिएर शहराँ पुगेको छ, तर खै आज पनि नागरीक सर्बोच्चताको लागि भयानक आन्दोलन र’छ । बल्ल बल्ल शहर पुगेका हर्केका जोडी शहरमै अलपत्र छन। एकापट्टिका वर्दिधारीहरु उसलाई ‘यहाँ भन्दा अगाडि नबढन’ भन्दैछन । अर्को तर्फका आन्दोलनकारी उसलाई ‘यो देशै तिम्रो हो त्यसैले जती सक्यो अगाडि बढ’ भन्दैछन ।

उ अलमल्लल छ । एकाथरी नागरीक सर्बोच्चता बनाउन थालेका रे, अर्काथरी जनताकै मौलिक हक जोगाउन लागेका रे । दुबैथरी जनताकै लागि लागिपरेका हुन भने विवाद के छ त्यो पनि बुझ्न सकेनन् हर्केका बुढा-बुढीले ।

अस्पतालको हडतालले बिरामी देखाउन पा छैन, गाडिको हडतालले गाउँ फर्कन नि पा छैन। एउटा मन्दिरको सत्तलमा सात दिन बसेपछि हर्केका जोडी बेहाल छन। शारीरिक पीडा र ग्लानिबस बुढीले हर्केलाई सोध्छीन, “...हैन बुढा! यसपालाको प्रजातन्तर पनि नक्कली नै रे ‘च कि क्या हो ?”

‘प्रजातन्तर नक्कली हैन बुढी, नेता नै नक्कली रहेछन... नत्र एउटै देशाँ तीन पटक प्रजातन्त्र कहीँ आउँछ…” हर्केको मुखबाट अचानक निस्कन्छ “...नेता नक्कली भएसम्म सक्कली प्रजातन्तर कहिल्यै आउँदैन जनतालाई... ”



September 23, 2009

बस स्टप-

एउटा पुरानै कथा वार्तालाप शैलीको!
बस स्टप-
" हाssssई! खै त यार, बस त आएन त?"
" मान्छे समात्दै कोच्दैहोला नि बसमा उता थापाथली तिरै.."
" आज नि मु- हाकिम झोक्किने भो यार मेरो त, तीन दिन भै सक्यो सधैँ ढिलो!"
" हाहाहाहाहा! साँच्चि यार तेरो हाकिमको थुतुनो सम्झ्यो कि मलाई त कोक्याएर हाँसो उठ्छ! हाहाहाहाहाहा!"
" हाहाहाहाहहा..के गर्नु यार जस्तो भएनि त्यसैको अन्डरमा बस्न परिरा छ!"
" बुढि चाहिँ पा'को हो बजियाले! तर त्यसकि बुढिको माया लागेर आउँछ, च्व... च्व.. च्व..कसरी रात काट्दी हो बिचरी?"
" जसरि काटे नि काटोस... एत्रा पिर हाम्लाई..कसैलाई आँखा नदेख्ने छँडुल्लीहरु, पैसो देखेसि उमेर सुमेर केहि नचाहिने!, हामि जस्ता ठिटा मर्या थ्यौँ र त्यस्तो फुटबल जस्तो बुढो संग जानु पर्ने यिनिहरुलाई?"
" पैसो कमा न मु- त्यस्ता तरुनि त रोजि रोजि"
" त्यो सन्तोषेले त्यसलाई आमा भन्छ कि के भन्छ होला?"
" यत्रो नि भन्दैन आमा तेल्ले, एक त सौतेनी आमा, अर्को त्यो भन्दा २ बर्ष मात्र जेठी"
“ तर त्यसले त सन्तोषेलाई छोरा जस्तै माया गर्छे रे भनेर भन्दै थ्यो हाकिम अस्ति कुन दिन हो पन्ते खरदार संग!”
“ गरिहाल्छे नि माया त हाकिमलाई भन्दा नि धेरै, अचेल त क्याम्पस नि जाँदैन रे सन्तोशे, दिनभरि घर बस्छ रे आमा संग…खितितितिति”
“ हाहाहाहहाहाहा”
“हाहाहाहहाहाहाह खितितितिति”
“ चुप लाग् मुला हाकिमले सुन्यो भने जागिर चेट हुन्छ”
“ के डराको? तेरो हाकिमले याँ त्रिपुरेश्वरको बस स्टपमा गर्या कुरा सुन्ला नि अब”
“ ओइ!!! उता हेर् त!”
“कता्”
“उता पसल बाहिर के!”
“ ओहो! एक्लै जस्ति छे”
“ हो हो एक्लै छे”
“ मेरो त मुखमा पानी आयो हाहाहाहहाहा, आजकल जे पनि बिकासे हुन्छ खितितितिति”
“ हाहाहाहहाहा चुप् लाग मु- , तँ त्यो बाहेक के देख्थिस् र”
“ बस नै कुरिरा जस्तो छ”
“यत्तिको पाए त बिहे गर्थेँ यार!”
“ “
“ “
“ ओइ! के एकोहोरो घुरिरा् तेल्लाई?”
“ म संग आँखा जुधा जस्तो लाग्यो, सोझि जस्ति छे यार”
“ बाहिरबाट सबै सोझि देखिन्छन्”
“ ऊ, देखिस्? फेरि हेर्या थि मलाई!”
“ ल ल मोज गर्, गफ् दिन जा न हिम्मत छ भने!”
“ ओइ! …ओइ!.. त्यो चुरोट भित्र राख् त मुला, झन सोझि जस्ति छे भन्दै छु यहि बेलाँ चुरोट झिक्छ!”
“ मुला अघि तान्न मन लाग्यो भन्या हैन?, अहिले हिरो बन्न चुरोट राख् भन्छ”
“ फस्ट इम्प्रेसन राम्रो राख्नु पर्छ रे के”
“ तँ इम्प्रेसन राम्रो बनाउँदै गर् आफू त तानिन्छ मजाले बस नआउन्जेल!”
“ “
“ “
“ल ल बस आयो! त्यो संगै उक्लनु पर्छ हिहिहि”
“ओहो बल्ल आयो बस! ल ल संगै टाँसिएर बस्लास्!
“बस नि कोचाकोच रेछ”
“ “
“ “
“ छिटो हिँड् आज त हदै ढिलो भैसक्यो”
“ पख न मुला, त्यो चढेकै छैन”
“ खोइ त त्यो त चढिन त!”
“ बस भिड भएर होला!”
“छिटो! छिटो! छाड्दे मुला केटि सेटि हिँड्, बस चलाउन लाग्यो!”
“ ह्याsss! यसै ढिलो उसै ढिलो, अर्कोमा जाउँला त्यो संग”
“बहुलाइस् कि के हो?”
“ बस् न यार, लाइफमा कुनै केटिले नि यस्तरी हेर्या थेन यार मलाई, पर्खि न अर्कोमा जाउँला”
“ यसमा त अब जान खोजे नि पछि पछि दौडे मात्रै हो, ऊ टेकु पुग्न लागि सक्यो बस त”
“ हिहिहिहि”
“ के हो लभ नै पर्यो कि के हो?”
“ हामितिर हेर्दै थि अघि, हाम्लाई नि भिडभाड मन पर्दैन भन्ने राम्रो इम्प्रेसन पर्यो तेल्लाई!”
“ अर्को बस चाहिँ के खालि आउला र खै?”

“ ओई! अगि भर्खर फुक्या हैनस एउटा चुरोट? फेरि किन निकाल्या?”
“ एक त बस चढ्न दिँदैन अर्को मैले चुरोट खाँदा नि उस्को इज्जत जाला जस्तो गर्छ मु-“
“हिहिहिहि”
“ओई! हेर् त, त्यो बाइक तेरो मैया निरै रोकियो!, केटि नि बबाल मस्किरा छे त, क्या हो?”
“ ह्या मुला, चिन्या मान्छे होला नि त्यो बाइकवाला”
“हेल्मेट खोल्यो बाइकवालाले! केटो त ह्यान्सी रेछ नि!”
“ दाई, भाई कोहि हो कि?”
“ के को दाई भाई नि, ऊ हेर् त पछाडि बसि टाँसिएर”
“ “
“के भयो??? हेर् तेरि मैया पछाडि बसि ढेपिएर, त्यसको ब्वाइफ्रेन्ड जस्तो छ!
“हँ? हम्मम्”
“ खितितितिति! तेरि सोझि मैया त गई ब्वाइफ्रेन्ड संग टाँसिएर….हाहाहहाहाहाहा……मुला बेकारमा बस छुटाइदिएर!”
“ चुरोट झिक् झिक्!”
“खितितितितति हाहाहाहाहहा अब चुरोट चाहियो यल्लाई हाहाहाहा”
“चुरोट झिक् न मु- अनि म ट्याक्सि खोज्छु,….. मैले थाहा पाइसकेँ आज ढिलो भयो भने जागिर चेट!”
“हाहाहाहाहा”
“ -- जस्तो दिन्दगी साला! त्यो सन्तोशेको लाईफ देखेर इर्ष्या लाग्छ”
“ ट्याक्सीsss”
“ट्याक्सीsss”


September 15, 2009

पर्खाई....

(पहिले नै लेखेको र अरु ठाउँहरुमा पोस्ट गरेको थिएँ, यहाँ पनि गर्न मन लाग्यो)


उसले चुरोटको अर्को लामो सर्को तान्यो।
बस, टेम्पो, मोटरसाइकल, साइकल र मान्छेहरु सबै अधैर्य देखिन्थे ऊ जस्तै। धुलो त मानौँ भुईँबाट बसाइँ सरेर हावामै कतै आफ्नो साम्राज्य फैलाऊन खोज्दैथियो। चुरोटको धुवाँ उडाउने बित्तिकै उसले एकपटक नराम्रो संग खोक्यो र फेरि उतै हेर्न थाल्यो।

३ जना एक अर्काको अनुहार ठोक्काऊलान जसरि नजिकै उभिएर बोल्दै थिए।
“पैँतिस हजार…दुबई पठाइदिउँ?”
“कति लाग्छ नि लाग्न चाहिँ?”
“एक लाखमा भिसा आइपुग्छ!”
“एक लाख!”
“मेरो आफ्नै भान्दाईको म्यानपावर हो, दुबई गएर आउँछन् बर्षमा ३-४ पटक, चिनेको कम्पनिमा हो जानासाथ काम सुरु हुन्छ, सोच् राम्ररि!”
उ सडकतिर हेर्न थाल्यो।
“साला म्यानपावरहरु! ठगेर धनि हुन्छन र अझै अरुलाई कमाउने सपना देखाउँछन्!”
“के गालि गर्नु, एक लाख त हैन २०-३० हजारमा जान पाइने भए भोलि नै उड्न हुन्थ्यो यो नरकमा आधीपेट खाएर बस्नु भन्दा त!”
उसले थुक्यो र फेरि चुरोटको सर्को तान्यो।
“अझै आइन त?”
उसले आफैँलाई प्रश्न गर्यो र उता हेर्न थाल्यो।
उसलाई यसरि घाम र धुलोमा कुर्न साह्रै बोर लाग्छ।
“बालाजु हो? ल ल आउनुस छिटो!”
बस नजिकै रोकिएको थियो र फुच्चे खलाँसिले उसलाई सोधिहाल्यो।
ऊ केहि नबोलि मुख बिगारेर अलि पर सरेर बस भन्दा पर हेर्न थाल्यो।
“ओ दाई नचढ्ने भए किन बस रोक्ने ठाउँमा उभिन पर्यो?”
बस गुड्दै थियो र खलाँसि ऊ तिर हेरेर बोल्दै थियो। उसलाई हेपिएको आभाष भयो।
उसलाई खलाँसिको टाउको बसको टायरमुनि हुलिदिन मन लाग्यो। बस गुड्दै पर पुग्यो,खलाँसिले उसलाई गिज्याउने भावले हेरिरहेको जस्तो लाग्यो।
उसले चुरोट मुखसम्म ल्यायो र मुख बिगारेर हुत्याएर फालिदियो। फिल्टर सम्म बलिसकेछ।
ऊ फेरि उतै हेर्न थाल्यो।
“ के मर्थि र मुखले मात्र ठिक्क पार्छे सधैँ!”
उसले मुख बिगार्यो।
“दाई एक रुप्पे दिनोस न?”
गाला र निधारमा कट्कटिएको मयल लिएर पँहेला दाँत देखाउँदै एउटा खाते ऊ संग पैसा माग्दै रहेछ।
“के पैसा? चुप लाग् साले खाते!”
उसले खातेलाई हप्कायो र खातेसंग छोइएला कि भनेर अलि पर सरेर अर्कै दिशामा हेर्न थाल्यो।
पर ४ जना केटिहरु कुनै स्कुल ड्रेसमा शायद बस कुर्दै रहेछन्।
उसको नजर त्यतै गयो।
“सालीहरु सब घुस्याहाका छोरिहरु होलान्! बाउले ठगेर ल्याउँछ यिनिहरुको मोज!”
केटिहरु एकआपसमा कुरा गर्दै हाँस्दै थिए।
उसका आँखाले केटीहरुले लाएको स्कर्टमुनिको घुँडाहरु तुलना गर्न थाले।
“ यी सबै केटासंग सुत्ने बानि परिसकेका हुन्!”
उसले आफ्नो अनुमान मनमनै आफैँलाई सुनायो।
“साली रश्मी अझै मर्दिन!”
स्कर्टबाट देखिएको घुँडाबाट माथिको अंग कल्पनामा बनाउँदै उसले रश्मीलाई सम्झियो।
कुनै स्कुलबस केटीहरुको नजिक रोकियो।
केटीहरुको हल्ला बढ्यो।
बसको ढोकाबाट कुनै भर्खरको केटाले हात झार्यो र पालैपालो सबै केटिको हात समात्दै बसमा तानेर चढायो।
उसले फेरि मुख बिगार्यो।
“ बिग्रने केटि धेरै हुन्छन बिगार्ने केटा कम हुन्छन!”
उसले सोच्यो।
उसको अनुमानमा काठमान्डुमा अल्पसंख्यक खेलाडी केटाहरुले बहुसंख्यक केटिहरुलाई बिगारेका हुन्छन्।
ऊ बिगार्नेमा कहिल्यै परेन वा मौका पाएन।
“र.. हरु के हेर्छन कुन्नि?”
उसले फेरि आफैँलाई प्रश्न गर्यो।
“गाँठ भए जे पनि पाइन्छ काठमान्डुमा!”
उत्तर पनि ऊ आफैँले दियो।
केटिहरुलाई तानेर बसभित्र उकाल्ने केटा बसको ढोकामा उभिँदै हाँस्दै थियो र बस गुडेर उसको नजिकबाट गयो।
“साले म भन्दा ५-६ वर्ष कान्छो होला, लाईफको मोज सबै थाहा पाइसक्यो!”
उसको निधारमा ईर्ष्याको लहर जन्मियो।
उसले घडि हेर्यो र फेरि मुख बिगार्यो।
“रश्मी आइपुग्नु पर्ने हो अब त!”
उसले फेरि उता हेर्यो।
“अस्तिको त्यो बाइकमा हालेर लाने रन्जन बोकासंग यसको पक्कै पनि लसपस हुन पर्छ!”
“रन्जनेले दुख दिन्छ भएको नभएको गफ लाउँछ भन्छे अनि त्यसैसंग बाइकमा टाँसिएर हिन्छे साली!”
उसको बिग्रेको मुख झन बिग्रियो।
“ साला अर्को वर्ष यतिबेला सम्म त कसो एउटा बाइक नकिनौँला!”
उसले खल्ति छाम्यो र फेरि चुरोट सल्काएर तान्न थाल्यो।
“यु आर अ नाइस गाइ नि निरज, तिमी त्यो रन्जने जस्तो बिग्रेको छैनौ नि त्यसैले त तिम्रो माया लाग्छ मलाई!”
रश्मीले उसलाई भनेको सम्झियो।
“बिग्रेकोसंग किन जोल्ठेर हिन्न पर्या नि तेल्लाई चाहिँ?”
उसले रिसमा प्रश्न गर्यो, शायद आफैँलाई।
“ह्या बाइकमा घरसम्म पुर्याइदिन लगाकि होलि नि कम्ता बाठि छे त्यो!”
उसकै मनले उत्तर दियो।
उसलाई थाहा छैन किन हो, एकैछिनमा उसलाई रश्मीको माया लाग्छ र रश्मी प्यारी, पवीत्र, सोझि लाग्छ र एकैछिनमा उसलाई रिस उठ्छ र रश्मी चालु, चरित्रहीन र धुर्त लाग्छ।
उसले फेरि घडि हेर्यो।
“उसकै काम गरिदिन भेटौँ भन्छे उहि आउँदिन आधा घन्टा भन्दा बढि भैसक्यो!”
उसको रिस फेरि बढ्न थाल्यो।
एक पटक हैन दुई पटक हैन धेरै पटक उसले रश्मीलाई यसैगरि कुरेको छ र रश्मी यसैगरि आइदिएकि छैन। उसको रिस यसैगरि आकाशमा पुगेको छ र रश्मीको सामु परेपछि रश्मीको मिठो बोलीमा नआउनुको कारण सुनेपछि ऊ सधैँ पत्याउन बाध्य भएको छ।
उसलाई थाहा छैन ऊ किन मनमा उब्जेको रिस र प्रश्न रश्मीको अगाडि देखाउन सक्दैन।
ऊ अलिकता बेचैन देखियो।
“यस्ता संग लभ गरेर के बस्नु?!”
उसले फेरि घडि हेर्यो र केहि सोचेर चुरोट फाल्दै बाटो काट्यो।
एउटा कम्यूनिकेशनको बुथ भित्र छिर्यो।
“दाई एउटा लोकल कल!”
पसलेले केहि नबोलि फोन देखाइदियो।
उसले कतैको नम्बर घुमायो।
“हेलो! रश्मी छ?”
“हजूर म निरज!”
“साथि!”
“हो निरज नै हो हजुर!”
“ए! त्यहि त अहिले सम्म आइन भनेर यसो फोन गर्या! हस् त म कुर्छु अझै!”
ऊ पैसा तिरेर बाहिरियो, र फेरि सडकवारी पहिलेकै ठाउँमा आयो।
“ अलि ढिलो हिँडिछे जस्तो छ, मैकहाँ जाने भनेर हिँडेकि रे!”
ऊ अलि सन्तुष्ट देखिन्थ्यो।
“बिचरी टेम्पोमा कोच्चिएर हिँडिरहेकि होलि!”
उसको मनमा माया र सहानुभूती पलायो।
“खान कता लैजाने होला?”
उसले मनमनै भन्यो र खल्ति छाम्यो।
“छ्या त्यो समोसापसलमा त नाइँ पाखेहरु मात्रै हुन्छन!”
उसलाई रश्मीले भनेको याद आयो। उसलाई फेरि हल्का रिस उठ्यो।
“खल्तिमा डो नभएसि पाखे न साखे, त्यति नि बुझ्दिन साली!”
“बेकरीको मम क्या दामि हुन्छ नि निरज!”
फेरि उसलाई रश्मीले भनेको याद आयो।
“त्यसको बाउको कमाई त्यहि हो, तेल्लाई कसरि थाहा हुन्छ काठमान्डुको सबै महंगा रेस्टुरेन्टको मेनु??”
रिसले उसको निधार फेरि खुम्चियो।
“खै अझै मरिन? यति दुख दिन हुन्छ तेल्ले मलाई?”
“ओ निरजss!”
नजिकै एउटा बाइक रोकियो।
ध्रुवे रहेछ।
उसले दाँत देखायो।
“काँ जान लाग्या? हिन् म छोड्दिन्छु!”
“हैन यार तँ जा, पछि भेटौँला मेरो काम छ!”
उसलाई ध्रुवे गए हुन्थ्यो भन्ने लाग्यो।
“त्यसैलाई कुर्या त होलास नि तैँले। के त्यस्तो केटिको पछि लागिरा तँ? अगि भर्खर रन्जनेले तन्दुरी रेस्टुरेन्ट भित्र लिएर गा’ छ त्यसलाई तँ साले यहाँ कुरिराख्!”
ध्रुवेले हेल्मेटभित्रको आँखा चम्काउँदै भन्यो।
उसको मुटु हल्का उफ्रियो, अनुहार अलि बढि कालो भयो।
“हैन यार तेस्ता केटिलाई म किन कुर्थेँ, अरु नै काम छ क्या पछि भनौँला!”
“ल त, तँ यहिँ घाममा पाकेर बस् म गएँ!”
ध्रुवे हिँड्यो।
उसलाई औडाहा भयो।
“साली मलाई यता कुराएर त्यो बोकोसंग रेस्टुरेन्ट जान्छे!”
उसको मुख झनै बिग्रियो।
उसले टेम्पो रोक्यो।
टेम्पोमा दुईजना मोटि आइमाईहरुको बिचमा ऊ लगभग हराएको थियो। टेम्पो घाममा तातेको थियो र ऊ भित्रको औडाहा भन्दा बाहिरको गर्मि कम थिएन।
टेम्पो लैनचौरबाट लाजिम्पाट पुग्यो।
बाटो भरि तन्दुरी रेस्टुरेन्ट हेर्न उसले निकै सकसका साथ टाउको तन्काइरहेको थियो।
उसले टेम्पोको छत एकपटक ठटायो।
ड्राइवरले शायद सुनेन, टेम्पोको स्पिड उस्तै थियो।
रिस, जलन, गर्मि र औडाहामा उसले ४-५ पटक जोडले टेम्पोको छत ठटायो।
टेम्पोले ब्रेक लगायो, सबैले उसलाई वाल्ल परेर हेरे।
ड्राइवर भुन्भुनाउँदै थियो।
“आफ्नो बाउको टेम्पो भन्ठान्छन साले पाखेहरु!”
उसले ड्राइवरले बोलेको सुने पनि सुन्या नसुन्यै गर्यो।
बाहिर ओर्लेर पैसा फुत्त फाल्यो र एकातिर हिँड्यो।
फत्फताउँदै ड्राइवर टेम्पो चलाउन थाल्यो।
उसले रेस्टुरेन्ट देख्यो।
सर्ट प्यान्टबाट लगभग पुरै बाहिर निस्केको थियो। उसले सर्ट प्यान्टभित्र कोच्यो। उसलाई थाहा थियो उसको व्यक्तित्वले रेस्टुरेन्ट छिर्नु भनेको बेराहरुको गहिरो अविश्वासको आँखा आफ्नो टाउको देखि खुट्टासम्म बग्न दिनु हो।
रेस्टुरेन्टको ढोका खुल्यो।
ऊ सकपकायो र ढोकाको छेउमा उभियो।
रश्मि कुर्थाको सल मिलाउँदै फटाफट बाहिर निस्किइन र अलि पर पुगेर भुइँमा हेर्दै उभिइन्।
उसको मुटुको धड्कन बढ्यो।
फेरि ढोका खुल्यो। रन्जन हेल्मेट समातेर फुत्त निस्कियो र रश्मी उभिएको ठाउँमा गयो।
उसलाई दुवैले देखेनन्।
“ स्टुपिड मान्छे के गरेको अगि?”
उसले रश्मीको स्वर सुन्यो र लगत्तै रन्जनको हाँसेको स्वर सुन्यो।
“को थियो र त्यहाँ? बेसि डराउने क्या तिमी?”
रन्जन बाइक स्टार्ट गर्दै थियो। रश्मि पछाडि बसिन्।
बाइक गुडेर टाढा जानु भन्दा अगाडि उसले रश्मीको आवाज सुन्यो-
“ अस्तिकै बाटोबाट लैजाऊ है? धेरै दुख दिने हैन नि भन्द्या छ…….दुई घन्टामा घर पुग्न पर्छ उफ्!”
बाइक टाढा पुग्यो।
ऊसको मुटु उफ्रेको उफ्रेई थियो।
रेस्टुरेन्टको ढोका खोलेर एउटा बेरा उसैलाई हेरिरहेको हरेछ।
“के हेर्या दाई? तपाइँ हामिसित यस्ता केटि हिँड्दैनन्, यो दाई त हरिप छ, फेरि फेरि ल्याउँछ केटिहरु!”
ऊ ऊसले केहिबेर अघि गरेको आफ्नै अनुमान सम्झँदैथियो, बिगार्ने केटा कम हुन्छन्!



August 9, 2009

फूलको चोट

शिव प्रकाश

उल्टो भइरहेछ उसको जीवनमा सधै, सबै कुरा ! छातीमा ढुङ्गा बज्रदा उसले त्यति पीडाको अनुभूत गरेन जति एउटा कोमल फूलको चोटबाट गर्यो । उसलाई कथा थाह छैन तर "हरेक मान्छेको विगतलाई विउँझाएर वर्तमानमा ल्याउँदा कथा बन्दो रहेछ" उ अहिले आफ्नै कथा आफैं भनिरहेछ - "फूलको चोटको कथा !"

उसले सेतो फूल मन पराउन छोडेको छ !

ढुङ्गाको चोटभन्दा फूलको चोट झन् गहिरो हुदोरहेछ, झन् पीडादायक हुँदोरहेछ । निको भएर जाँदोरहेछ ढुंगाको चोट, तर कहिल्यै निको नहुदोरहेछ फूलको चोट ! सधैं दुःखिरहदो रहेछ चस्सचस्स भित्रभित्रै, सधैं दुखिरहदो रहेछ ! सायद ढुङ्गा र फूलमा फरक पनि यतिमात्र हुँदो हो …। !

सीताशालाई सम्झदाँ शिवासु सधै त्यो सेतोफूल सम्झन्छ । मुटुमा बिजेको काँडा भएर बसेको छ त्यो सेतोफूल शिवासुको छातीभित्र ! खुशीका क्षणहरु सम्झन्छ तर ती क्षणहरुसँगै पीडाका भेलहरु उर्लेर आउँछन् । शिवासु अझै भित्रभित्रै आतंकित हुन्छ "कतै ती भेलले अझै मलाई नबगाउन् ।" उ आफूलाई अझै भयभीत देख्छ ।

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्रवर्ष वितिसक्दा पनि सीताशाका वारेमा उभित्र द्धन्द अझै छ । मानौं उभित्र एकप्रकारको युद्ध चलिरहेछ ! उ आफैं एउटा युद्धभूमि भइरहेछ र एउटा युद्ध नायक पनि ! दुबैपक्षको नेतृत्व उ आफैंले गरेको छ । यो युद्धमा उ आफै एक अर्काको शत्रुपक्ष भएर उभिएकोछ !

सीताशा ठीक थिई वा म आफू गतल थिए ? सीतासा गलत थिइ वा म आफू ठीक थिएँ ? युद्ध निरन्तर छ उभित्र ! सीताशा-शिवासु ! शिवासु-सीतासा ! गलत-ठीक ! ठीक-गलत ! एउटा भीषण मनोवैज्ञानिक युद्ध विभिषिका उसको मनमस्तिष्कमा अझै मडारिरहेछ । उ मुक्ति चाहन्छ यो द्वन्दबाट । तर न सीताशालाई विर्सन सक्छ न त्यो फूललाई र न त आफ्नो भूललाई ! न त्यो युद्दबाट मुक्ति !

उ सोच्छ - द्वन्दको कारण सीताशा हैन, फूल हो । हैन, द्वन्छको कारण फूल हैन; सीताशा हो । दुबै थरी सोच्छ, दुबै थरी स्वीकार्छ, दुबै थरी नकार्छ ! हो पनि, होइन पनि ! होइन पनि, हो पनि ! सायद मान्छेमात्र यस्तो प्राणी हो जो हो र होइनको विचित्र व्यवहार र अनिश्चित विचारभित्र बाँचेको हुन्छ ! शिवासुको क्षणिक विश्लेषण हो यो मान्छेका बारेमा - हो पनि, होइन पनि; होइन पनि र हो पनि !

पन्ध्र वर्ष वितिसकेको छ । पन्ध्र वर्षमा उसले एउटी आइमाईमान्छे सीताशालाई चिन्न सकेन । तर एउटा लोग्नेमान्छे उ आफैंले आफैंलाई पनि आजसम्म चिन्न सकेको छैन । उ अझै रनभुल्लमा छ । यो संसारले नबुझ्ने र नसुन्ने एउटा प्रश्न यही संसारलाई गर्छ - 'मान्छे सबै मजस्तै हुन् कि म अरु सबै मान्छे जस्तो हुँ ?' उसका यस्ता हरेक प्रश्नहरु त्यो फूलसँग सम्वन्धित छन् । हरेक घटनापरिघटना, दृष्यपरिदृष्य सबै त्यो फूलसँग सम्वन्धित छन् । अर्थात फूल नहुदो हो त यी कुनै कुरा हुदैनथे ! अथवा सीताशा नहुदी हो त त्यो फूल पनि हुदैनथ्यो ! अथवा त्यो फूल त्यतिबेला नै फ्याकिदिएको भए .....?

सीतासाको नाउँसँगै सधैं त्यो सेतोफूल सम्झन्छ । वास्तवमा सम्झनु पनि पर्देन नदी सम्झने वित्तिकै नदीसँग पानीको विम्ब आए जस्तै सीताशासँग फूल आउँछ । नदीको पर्याय पानी भए जस्तै सीतासाको पर्याय फूल भएको छ त्यो सेतोफूल ! तर पानीको पर्याय नदी नभए जस्तै फूलको पर्याय सीतासा भने हैन - भन्ने ठान्छ ।

फूल धेरै प्रकारका हुन्छन् र मान्छे पनि ! उसले एउटा कविता पढेको हुन्छ -

निश्छल छ फूल

फूलको निश्छलताभित्र प्रतीक छ प्रेमको

उपमा छ आत्मीयतको, वैभव छ विश्वासको

तर फूलभित्र काँडा पनि हुन्छ !

फूल कागजकोपनि हुन्छ !

फूल सम्झेर सुम्सुम्याएको सीतासाभित्र तिखारिएर बसेका विषालुकाँडाको अनुभव उसले गरसिकेको छ । अब न फूलप्रति विश्वास हुन्छ उसलाई न मान्छेप्रति !

सीताशासँग हिडेका बाटाहरु सम्झन्छ, पाटाहरु सम्झन्छ । खेतबारीहरु सम्झन्छ, उकालीओरालीहरु सम्झन्छ । हातहरु सम्झन्छ, साथहरु सम्झन्छ; सँगै विताएका रातहरु सम्झन्छ । रातका मातहरु सम्झन्छ, रातका बातहरु सम्झन्छ । रातको मौनता सम्झन्छ, मादकता सम्झन्छ । रात बौलाएको सम्झन्छ, रात मुर्झाएको सम्झन्छ । घोडा चढेको सभ्झन्छ, बग्गी चढेको सम्झन्छ । समुन्द्रको किनार सझन्छ, जंगलको बाटो सभ्झन्छ । हिउँका फाल्सा सझन्छ, गाउँका खोल्सा सम्झन्छ । शरह सम्झन्छ, गाउँ सम्झन्छ । हिलो सम्झन्छ, धूलो सम्झन्छ । तर प्रत्येक सम्झनासँगै त्यो सेतो फूल सम्झन्छ ।

सीताशाबाट शिवासुले धेरै राम्रा कुराहरु सिक्ने मौका पाउँछ ति सबै सम्झन्छ तर तिसँगै त्यो फूल पनि सम्झन्छ ! राम्रासँगै केही नराम्रा कुराहरु पनि सिक्छ ति पनि सबै सम्झन्छ र ति सबैसंग त्यो फूल पनि सम्झन्छ । फूल - सीताशा ! सीताशा - फूल ! अर्थात शिवासुको मुटु छेड्ने त्यो शूल…त्यो सेतोफूल !

शिवासुले एउटा झिनो निष्कर्ष निकाल्छ - मैले आफूलाई भन्दा सीताशालाई राम्ररी चिनेको छु, यस अर्थमा चिनेको छु कि मैले आफूलाई सम्पूर्णरुपले हेर्न सक्दिन तर सीताशालाई सम्पूर्ण देखेको छु । सीतासाले मलाई लुकाउँन बाँकी नै के थियो र तर ……! उ मनमनै भन्छ - 'सीतासाको मन बाहेक सबै देखेको छु । देखेँ तर चिनिन, चिन्नु पनि कसरी मन त मैले कहिल्यै देख्दै देखिन ! ‌‌‌‌। मान्छे चिने पनि मान्छेको मन नचिन्नु भूल हो त ?'

हरेक फूल देख्दा उ सीताशा सम्झन्छ । सीताशा जस्ता हरेक आइमाइहरु देख्दा उ त्यो सेतोफूल सम्झन्छ । सीतासालाई चाहेर पनि विर्सन सक्दैन र सम्झेर पनि सधैं सम्झन चाँहदैन । तर विडम्बना …सोचेजस्तो जीवन र जीवन जस्तो सोचाइ कहाँ हुन्छ र ! सीताशा पनि छे, त्यो फूल पनि छ । सीतासा अझै हाँसिरहेकी छे यो धरीतमा त्यो फूल अझै सुरक्षित बसेको छ तर कतै कुनै पत्रुमा ! र, त्यो फूलको चोट अझै फक्रिरहेछ शिवासुको हृदयमा ! सायद सीताशालाई त्यो फूलको कुनै हेक्का छैन - सीतासाले यस्ता फूल धेरैलाई दिएकी हुन सक्छे ।

त्यो दिन साँझ झमक्क परिसकेको थियो । गेटमा उभिएर सीताशाले उसलाई हातमा सेतोफूल, गालामा रातो हुनेगरि चुम्बन र हृदयभरीको शुभकामना दिएर विदा गरेकी थिई । सीताशाका शव्दहरु सम्झन्छ - 'शिवासु धेरैधेरै शुभाकामना ! तर विदेश गएर यताउता धेरै नबरालिनु, यसपटका तिम्रो पालो । तिमी जानु र म जानु भनेको एकै हो शुभकामना …! शुभकामना …! ! शुभकामना ,,,,,! ! !

जागीर खाएकोदश वर्ष भै सकेको छ, उसको यो पहिलो विदेश भ्रमण ! उभित्र उत्सुकता र कौतुहलताहरु उद्वेलित भइरहेकाछन् । एक दिन कै लागि भए पनि विदेश जानु भनेको हाम्रो समाजमा यसै पनि इज्जतिलो ठानिन्छ त्यसमाथि करीव एक महिनाको भ्रमण, त्यसमाथि सुख्खा जागिरेका लागि एउटा रसिलो र भरिलो आम्दानी । सोच्यो - 'जीवनमा पहिलोपटक डलर पनि देख्ने भइयो ।' शिवासु फुरुक्क परेर घर फर्कियो । बाटामा उसले पहिलो पटक पुरा एक किलो खसीको मासु किन्यो साथमा एक क्वाटर मन्जो पनि ! औधी खुशी थियो घर आइपुगेको थाहै भएन । सीताशाप्रति विषेश शिष्टाचार तथा कृतज्ञता ज्ञापन गर्न फोन गर्यो, फोन उठेन ! आधाघण्टा पछि फेरि गर्यो, फेरि उठेन ! अर्कोआघा घण्टा पछि फेरी गर्यो, फेरि उठेन ! हरेक आधाघण्टा पछि उसले लगातार गरिरह्यो, बल्ल छैठौं पटक फोन उठ्यो तर फोनमा आवाज अर्कै थियो ! साध्यो - जवाफमा 'म काम गर्ने देवकी' भन्ने आयो । सीतासाका बारेमा सोध्यो - 'दिदी आउने वित्तिकै बाहिर जानु भो र बाहिरबाट आउने वित्तिकै घप्लक्क सुत्नु भो' ।' अपत्यारिलोजवाफ पायो, आश्चार्यचकित भायो ! तर पनि खुशीले रातभर रातसँग बातमारी रह्यो, निदाएन ।

अब सारा साथीभाइबाट वधाइ पाइने भइयो- नाना कल्पनापरिकल्पना गर्दै खुट्टा भुँइमै भएता पनि मन बोइङ्गमा उडाउँदै भोलीपल्ट उ विषेश स्फुर्तिसाथ अफिस पुग्यो । तर अफिसको सूचनापाटीमा उसको नाउँ थिएन, त्यो सीटमा एकमात्र निर्विकल्प उमेद्वार भनेर सीताशाको नाउँ टाँसिएको थियो । सीताशाको घरैछेउमै डेरा बस्ने उसको सहायकले खुसुक्क कानमा भन्यो - 'सर सीताशा म्यामलाई हिजोराति अबेला मन्त्रीको गाडीले पुर्याउन आएको देखेको थिएँ ।'

शिवासुले त्यो दिनदेखि सेतोफूल मन पराउन छाडेको छ ।

आखिर प्रेम गर्ने र नगर्ने दुबैले गर्ने त एउटै हो - भोग ! अर्थात भोक मेटाउने भोग - सम्भोग ! प्रेम र मित्रता त एउटा नाउ मात्र हो जुन नाउमा सबै प्रेमी र मित्रहरुले दुबै खुट्टा हालेका हुदैनन्, त्यसैले प्रेमामा मित्रतामा घात-प्रतिघात हुन्छन् - मैले सुनिरहे ।

मित्रता ! मित्रताभित्रबाट प्रेम ! प्रेमभित्रबाट धात-प्रतिघात ! घात-प्रतिघातबाट शत्रुता ! शत्रुताभित्रबाट पुनः मित्रता ! यसरी नै सुनायो शिवासुले त्यो फूलको चोटको कथा …!


July 22, 2009

कमेन्टको उन्नत खेती !

शिव प्रकाश

वैजन्तीलाई मेलै डायनोसरको कथा सुनाएको थिएँ । वातावरण नमिलेर पृथ्वीबाट डायनोसर लोप भए जस्तो मेरो दशवर्षे जागीरकालमा म पनि लोप हुने अवस्था आएकोले अस्तित्व रक्षाको लागि विदेश पलायन भएको रहस्य बताएको थिएँ ।

वैजन्ती मप्रति ज्यादै कृतज्ञता र सन्निकटता देखाउँछे । थाह छैन, किन हो ? उसले एकदिन फोन गरेर भनी - 'म पनि एक्लै छु घुम्न आउनुस् न ।' आशय के हो- मैले कुन अर्थमा बुझ्छु, अरुले कुन अर्थमा बुझ्छन्, उसले कुन अर्थमा भनेकी हो ? त्यो आफ्नो ठाउँमा छ !

मैले 'हेरौं' मात्र भने । उसले अलि अप्ठ्यो मान्दै कुरालाई अर्कोतिर मोडी ! उ आफू पनि साहित्य सृजनाकर्मी हो र मेरो एउटा पाठक पनि ।

'एक दशक अगाडि जाने हो भने तपाइँ त नेपालमा स्थापित भै सकेको लेखक हो । बीचमा ग्याप हुनु भो फेरी अहिले इन्टरनेटले तपाइँलाई लेखनमा फर्कायो ।',उ भन्दैछे, म सुनिरहेछु ।

'हुन त तपाइँ समकालीन लेखनमा सकि्रय हुनुहुन्छ । तपाइँका कविताहरु वास्तविक छँटाका छन् कथाहरुले यौन, मनोविज्ञान र समाज तीनै कुरा अँगालेका छन् तर पनि यी श्रृजनाहरु डायनोसर हुन बेर छैन !'

मैले भने- 'कुरा बुझिन ।'

'मेरो मतलब तपाइँका कथा, कवितामा त्यति धेरै "कमेन्ट" छैनन् नि ! कस्ता कस्ता झूरका कति "कमेन्ट" आउँछन् !'

मैले भने- 'मतलब बुझिन !' थपेँ- 'कमेन्टसँग डायनोसरको के सम्वन्ध छ ?'

उसले भनि- 'कमेन्ट नै भएन भने त्यो रचना आफैंमा डायनोसर ठानिदैन र !'

मैले भने- 'यो मनोवैज्ञानिक आत्मरतित असरमात्र हो । मान्छेले मेरा कथा, कविता पढ्दैन् होला, मन पराउँदैनन् होला र त कमेन्ट लेख्दैनन् ! तर म सृजना लेखिरहन्छु ।'

उसले भनि- 'थोरैले मात्र पढेर र बुझेर कमेन्ट लेख्छन् । सबैले पढ्दा पनि पढ्दैनन् । पढ्ने-नपढ्ने, बुझ्ने-नबुझ्ने तपसीलका कुरा हुन् । तर कमेन्टका लागि कमेन्ट लेख्ने र "पपुल्यरिटी" बढाउने हो क्या ! शिर्षकै नहेरी ठोकीदिने - वाह ! क्या राम्रो रहेछ "कीप इट अप इत्यादी …" । अनि तिन्ले पनि आफ्नो मा त्यसैगरी खुइँखुइँती धस्काई दिन्छन् । अरुले हेर्दा ओहो ! कस्तो राम्रो होला कति धेरै "कमेन्ट" !’

मैले भने- "कमेन्टू" को यो उन्नत खेती गर्ने रहस्य मलाई थाह छैन !

बोस्टन, अमेरिका ।


July 15, 2009

कल्पनाको सम्झना मायालुलाई

रवि कुमार गौतम
हाल बलादईराक

हजारौ हजार तिता मिठा शब्दहरु यो मन मस्तिकको अन्तर कन्दराबाट प्रकट भईदिदा यो निर्जिव रुपी कलमको माध्यमबाट अर्थ पुर्ण जिन्दगीको भावपुर्ण परिकल्पनामा कुशलताको कामना गर्दै उज्जवल भविष्यको मिठो सपना बुन्दै लामो जिवनको छोटो यात्रामा मायालुको यादमा प्रदेशी जिवन विताउने चेस्टा गरिरहेको छु ।

शायद श्वास प्रश्वासको प्रक्रियामा बम र बारुदको धुलो र धुवाँलाई अग्रस्थान दिदै धनाड्य बन्ने चाहानामा यो उराठ लाग्दो मरुभुमिमा १२ घण्टा काममा जोतिएर पनि आत्मीय मायालुलाई नजिक बनाउन नसके पनि भौतिक रुपमा मायाको शब्दजाललाई टाडा बनाएर दिन प्रतिदिन सँगमको परिकल्पना बोकेर जिवनको यात्रालाई छोटयाउदैछु । आखीर भगवान बलिदेबको लिला भनु या जे भने पनि सृष्टि कर्ताको चक्रव्युह न हो भनेर भन्नु बाहेक अरु के नै सोच्न सकिन्छ र ? हृदयमा पिडा भएर पनि देखावटिपनको सन्सारमा सदा खुशि रहि रहने यो स्वार्थी संसारमा मिठा मिठा सम्झनाका कोसेलीहरुलाई पलपलमा उब्जिएका तरेलीहरु यो सेता कोरा कागतको मैदानमा निर्जीव तर संन्सारलाई चमत्कार गर्न सक्ने र विनास पनी गर्न सक्ने शक्तिवान कलमको सहारा लिएर भावपूर्ण जिन्दगीको सुनौला रुपी यात्रालाई सुखदसमुन्नती समृद्धिको लागी सृष्टिकर्तासँग दिनहु कामना गरिरहेको छु ।

बाचा त हामीले जोडि ढुकुरको भएर जिउने खाएका थियौ तर के भनौ आखिर अदृश्य भए पनि जिन्दगीको हरेक पल हरेक कोणबाट माया र ममतामा सजाएको नै थिए जस्तो लागेको थियो । दैवको लिला भनौ या त समयको खेल भनौ विधिको विडम्बनाले गर्दा यस्तो हुन गयो । तिम्रा ति कोमल मनको सारथि भएर अदृश्य माया दिए कै थिए । आफना मनमा गुम्सिएका तरङ्गहरु खुलस्त रुपमा तिमीले फुकाउन किन हिचकिचावट गरेका थियौ आखिर सम्पूर्ण सजिव प्राणिको मन मस्तिष्क र हृदयको कुना कन्दरामा बास बसि रहने र दुख र सुखको सामना गर्नु पर्ने यो नै भगवानको कर्तव्य भएकोले मानिसले चाहेर पनि जिन्दगीमा सबै चिज पाउँदो रहेनछ भन्ने कुरा तिम्रा ति अन्तरयामी शब्दहरुको भावबाट प्रष्ट बनाई दियौ । कल्पनाको संन्सारमा वालुवाको महल बनाए झै तिम्रो मन मस्तिकलाई मेरो हृदयको कुना कन्दरामा सजाएको थिए । आखिर मैले तिमीलाई हृदय देखि नै माया गरेकै थिए । तिम्रो हरेक लक्षमा मेरो साथ रहि रहने छ भने कै थिए । तर पनि तिमीले आफुलाई स्वार्गको अप्सरा जस्तै सर्वकृस्ट ठान्यौ । मेरो पवित्र मायालाई कसिङ्गर सम्झेर हावामा उडाई अरुको संसारमा रमाउन चाहन्थ्यौ भने किन मायाको फोस्रो जाल बुन्नु थियो छर्लङ्ग हुने गरि मेरा सामु भनेको भए पनि अविर जात्रा गरेर बिदाई दिने थिए । माया र प्रेम भनेको पाउन मात्र गरिदैन गुमाउनु पनि हो । विश्वास दिनेलाई माया भनेको जिवनको अभिन्न अङ्ग हो खेल सम्झने हो भने मायालु एउटा अस्तिपंजरको हाड र मासुको थुप्त्रो नै त हो जिन्दगी । अरुको खुशिलाई आफनो खुशी हो भनेर आफुमा भएको दुख पिडा र बेदनालाई मलम लगाउन उराठ लाग्दो मरुभुमिको एकान्तमा बम र बारुदको प्रबाह नगरि अतितका पलहरुलाई सम्झेर बस्दै गहभरि आशु बगाउदै वर्तमानसँग रमाउन बाध्य भएको थिए । आखिर जति नै धनाढ्य शिक्षित सुन्दर भएपनि एकदिन यो स्वार्थी संसारबाट खाली हात यमराजको घरमा अवश्य पनि जानै पर्ने दिन आउनेछ । यो सृष्टिको सुनिश्चित नियम नै हो । त्यसैले यो लामो दुई दिनको जिन्दगीको मुल्यवान समयलाई सही ठाउँमा सदुपयोग गरि हासि खुशी रमाउने बाचा त दिएको थिए । शायद मेरो औकात थिएन सुन चाँदि र हिरामोतिले झकि झकाउ बनाउन सक्ने तापनि पवित्र माया दिएर सदा खुशी राख्ने प्रयत्न गरेकै थिए चौरासि परिकारको भोजन र महलमा राख्न नसकेपनि साग र सिस्नो खुवाएर भए पनि खरको झुपडिमा पवित्र माया दिएर ओठ भरि मुस्कान दिई रहने थिए ।

शायद मेरो यो जिन्दगी यो युगमा यस्तै भई हाल्यो । तिम्रा ति अब आउने दिनहरुमा कहिले दुख र संकट भन्ने कुरा नआओस सदा सर्वदा खुशी रही तिम्रो त्यो सुन्दर रुपी मुहार मृग नयनी आँखा बाघको जस्तो कम्मर कोइलीको जस्तो सुवास पुर्ण बोली एक धनाढ्य शिक्षित र सम्पन्न व्यक्तिलाई सुम्पनु र सदा सदाको लागी खुशि रहिरहनु यहि छ मेरो हृदय देखिको नै शुभ कामना ॥

उहि अभागी

रवि कुमार गौतम



June 23, 2009

खडेरी लागेको मन र असार

- गणेश खड्का " प्रतिक्षा "
तिवारी भञ्ज्याङग - ४ , भोजपुर
हाल : भिक्टोरिया ( सिसेल्स )

हरियो भन्नु सालको पात पहेंलो बेसार
यता नि पानी उता नि पानी लागेछ असार ।
पानीलाई पर्‍यो लै रिमिझिमी रुझ्यौ कि रुझिनौ
आँखाको चालले बोलाएँ मैले बुझ्यौ कि बुझिनौ ।

प्रिय सखा डल्ली,
असारको यो झम्के झरी सँगै सुमधुर सम्झना तिमीलाई ।
संपर्क बिनाका थुप्रै वसन्तहरु बितिसक्दा पनि तिम्रो खुट खबर पाउन सकिन,  न त तिमीले नै जिन्दगीको कुन सास्ती खेपिरहेको मेरो पत्तो पाउन सक्यौ होला । खोइ कुन्नी कहाँबाट दिलसराले पत्तो पाइछे मेरो टुङ्गो र चार हरफ लेखी पठाइछे, सँगै तिम्रो पनि अस्पष्ट ठेगाना नत्थी गरिदिएकी रहिछे। मात्रै झझल्कोसँग चित्त बुझाईरहेको मेरो मन किन मान्थ्यो र ? तिमीसामु पुग्ने यत्ती मात्र पनि बाटो मेरो लागि काफी भइहाल्यो । पाउन त पाउँछ्यौ कि पाउदिनौ तै पनि धर दिएन यो मनले । फलस्वरुप सम्झनाका यी लघु शब्दहरु तिमी सामु प्रेषित गरेको छु पुगोस् नै भनेर ।

प्रिय डल्ली, छातीभरी देश बोकेर विवश प्रवासी जीवन ब्यतित गर्नु आफैंमा कत्ती कष्टकर हुंदोरहेछ पाइला-पाइला भोगिरहेछु यो घडी म । सहयात्राका कयौं सुमधुर क्षणहरु चलचित्रका द्रिश्य झैं एक पछी अर्को खसिरहेछन् आँखै अगाडि । तर तिमी छ्यौ कतै दूर देशमा र म छु भूगोलको यो अनकन्टार कुनामा । थाप्लोभरी रिनको भारी बोकाएर भाग्यको जस्केलाबाट जीन्दगिले निर्दयी धकेलिदिएपछी म बिचरो संघर्षको मैदानमा होमिनु बाहेक के नै गर्न सक्थें र अरु ? आज सपना जस्तो लाग्छ हामी मध्य को कहाँ पुग्यो को कहाँ ? जीन्दगिको एउटा पाटो सँगै धकेलेथ्यौँ हामीले । हाम्रो बाल्यकालदेखी तरुण हुँदासम्म मरिहत्ते गरेर जीन्दगीका सबै अवयवहरुमा साथ दिने ती हाम्रा थुप्रै सहेलीहरु कहाँ -कहाँ छन् र के गर्दै छन् ? मसँग अत्तोपत्तो छैन। ती सबै मध्य तिमी विशेष लाग्छ्यौ मलाई । अधिक सम्झना छ यो छातीमा तिम्रो । अब त तिम्रो घरजम पनि भयो होला । त्यो पुष्ट वदन त्यसै-त्यसै झोलायो होला मात्रीत्वको गहिरो सुवासना छर्दै । यही त हो संसारको रित, हामी कोही पनि प्रीथक रहन सक्दैनौ यसबाट । डल्ली, आफ्नो नित्य कर्मको एक फेरो घुमेर फेरी असार हाम्रो सामु आइपुगेछ। भनौ न असार लागेछ, अझ भनौ वर्खा लागेछ। नास्पात्ती, आरुबखडा र ऐंशेलुको झ्याङ्गमा झुम्मिएको त्यो क्षण सम्झ त ?
पानी पर्‍यो सालघारी करायो
वर्खा लाग्यो भेटघाटै हरायो ।
नाच न बाउसे नाच न रोपार दबदबे हिलोमा
छुपुमा छुपु धान है रोप्नु असारे पन्ध्रैमा ।

मानो रोपेर मुरीको सपना साँच्ने मौसम हो यो । र यही हो तिमीलाई मैले सबभन्दा बढी सम्झिने याम । हामी कत्ती रमाउथ्यौ नि यो बेला ? हरेक कर्मवीरले कम्मर कसेर माटोसँग मुटु साट्ने समय यही त हो । पसिनामा मोती फलाउन कहाँ जानु पर्थ्यो र शान्ती भए आफ्नै भूमिमा । असारको यो रिमझिमसँगै अतितको एउटा मिठो अनुभूतिले हर घडी चिमोट्ने गरेको छ मलाई यती बेला । कती ब्यस्त रहन्थ्यौ नि हामी यो मासमा ? एक दिन भेट नहुँदा कती अँध्यारो लाग्थ्यो जगत नै । गैरी खेतको बेठीमा हिलो खेल्दा दुबै जना एकै साथ हिलोमा पछारिएको त्यो हिलाम्य क्षण र लाजले स्याउ बनेको तिम्रो गाला मेरो मानसपटलबाट मेटिएला र त्यसै ?

मेरी प्रिय सखा, हामीले भोगेको त्यो सुमधुर समय अहिले पुरै उम्केर गैसकेछ हामीबाट । परिस्थिती कहाँ त्यो बेलाको जस्तो सहज रह्यो र अब । गाउँमा एउटाको रोपाईं भयो भने पुरै गाउँ नै उल्टेर काम फत्ते गर्ने त्यो मिलेमतो , त्यो सद्भाव र भाईचारालाई अहिले एउटा खेताला पनि नपाउनुले गिज्याइरहेछ। यती सम्म कि तन्नेरिहरुको पलायन ले गाउँमा जन्ती -मलामी पाउन छोड्यो भनेको सुन्दा त्यसै -त्यसै बिरक्तिएको छु ।

खोला पारी म मायाँ लाउँदिन
वर्खा लाग्यो आइरहन पाउँदिन ।
छुपुमा छुपु धानैमा रोप्नु हातैमा विउ छउन्जेल
मिठै मा खाउँला राम्रै मा लाउँला हजुरको जीउ छउन्जेल ।

कामको चटारोले आफ्नी प्रियालाई भेट्न समेत नभ्याउने मनहरु यतिबेला कर्तब्य छोडेर विध्वंसतिर वहकिएको देख्दा -सुन्दा मन कटक्क काटिएर आउँछ। काम गर्ने मान्छेको अभावमा सिम खेत बाँझो हुनुको पीडा एउटा क्रीषी प्रधान देशको लागि कती जर्जर होल कल्पना गर त ? फेरी जब मानव जीवन खाद्द्य असुरक्षा र भोकमारीले जकडिन्छ हामीले आफुलाई क्रीषी प्रधान देश को बासिन्दा भन्न लाज लाग्छ नि होइन र ? छलकपट र अपराध मिसिएको राजनीती हाम्रो देशको सबै भन्दा ठुलो अभिषाप बन्यो । संसारका सबै युवाहरु आफ्नो देश बनाउन जुटिरहेको बेला हाम्रातिरकाहरु चाहीं भत्काउन अभ्यस्त बने। सामाजिक मूल्य र मान्यतालाई चटक्कै भूलेर पाखण्डी र आडम्बरी हुनु हाम्रा युवाहरुको दैनिक जीवनशैली बन्यो । आफुले नैतिक शिक्षा, जीवन पथ र कर्मभूमि देखाएर सँगै डोहोर्याएको मूर्ख पथिक आफ्नै सारथिप्रती आक्रमक बन्छ भने त्यो स्वार्थ र अवसरवादको पराकाष्ठा होइन भन्नु झन् अज्ञानिपन हो। संसारमा यस्तै बेइमानिहरुले शान्त तलाउमा ढुङ्गा हान्दा रहेछन्। मेरै परिसर यस्तो दूषित बातावरणबाट अछुत रहन सकेन। थुप्रै देखेको र भोगेको छु मैले। यस्तै परिस्थिती तिम्रो पनि जीवन भोगाइको एउटा पाटो नबनिरहेको होला भन्न सक्तिन म । बस् चनाखो रहनू ।

प्रिय डल्ली, असारे गाउन तिमी माहिर थियौ । तर अब त अधम हरुले धावा बोलेको गाउँ वेंसीले संस्कृति पनि भूलिसक्यो होला। न हाक्पारे, न रोधी, न दोहोरी, न असारे, न त देउसी-भैलो नै । यो क्षण , यो असार याम , यो पानीको रिमझिम। फेरी मलाई त्यही मिठो अतितले झस्काउँछ। असारको दबदबे हिलोमा रातो पटुकीमा सजिएकी तिमी, अनि मेशिन सरी चल्ने तिम्रा हातहरुले धानको बिउ रोप्दा तिम्रा चुराहरुबाट जाग्ने रोमान्चकारी ध्वनीले अद्द्यावधी मलाई रोमान्चित पार्ने गर्छ। कहाँ छिपेको छ र यो मुटुबाट त्यो क्षण ? डल्ली, तिमी एउटी चन्चले युवती मात्र नभै सिर्जनाकी मुहान पनि हौ असार जस्तै । एउटी साहसी नारी चरित्रको छवीमा देखेको छु मैले तिमीलाई । मलाई अहिल्यै जस्तो लाग्छ - शैलजा दिदी नेपालको प्रथम महिला उपप्रधानमन्त्री हुँदा तिमी खुशीका अश्रुधारा बगाउदै फुरुङ्ग भाकी थ्यौ एउटा अदम्य साहस र उत्साह बोकेर। शायद थाहा पयौ नै होला तिनै तिम्री वीरङ्गना अब हामी सामु रहिनन् । कत्ती रोयौ होला नि फेरी ती साहसी महिलाको अवसानमा तिमी ? के गर्नु, राम्रो मान्छेलाई झूठ बनाउने अनौठो संस्कृतिमा विवश हेलिनु परेको छ तिमीले, मैले र हामी सबले। गरीब जनताको स्वतन्त्रता खोसेर तिनैको विश्वास माथि कुठाराघात गर्ने किसिमको दुषित राजनीतिक संस्कार नसुध्रेसम्म हाम्रो नियती पासोमा परेको हरिण भन्दा काम जर्जर नहुने भयो ।

प्रिय बालसखा , प्रक्रीतिमा असार बर्षे पनि मनमा भने खडेरी लगेको लाग्यै छ । अभावले थाङ्थिलो ग्रीहस्ती, चुहिएको छानो र चर्किएको घरको भित्तो टाल्ने उपक्रम मात्र प्रवासीनुको कारक तत्व बनेन। आँफैंले आर्जेको घरबार आफ्नै भन्न नपाउनु पो सङ्गीन पीडा बन्यो त हाम्रा लागि। देशका अधिकाशं जनताहरु खान नपाएर भोक भोकै मर्न वाध्य भईरहेका बेला हाम्रा नेताहरुलाई कुर्सी र पदका लागि लुछाचूंडी गर्दै फुर्सद भएन। कहिले कहीं त यस्तो लाग्छ - यी गिद्द हरुलाई किन कालले एकै चोटि लाँदैन ? देशको कुरा छोडेर, राष्ट्रियता र स्वतन्त्रताको चिन्ता भूलेर खाली ब्यक्तिगत हुने हो भने तिमी सँग बिताएका पुराना दिनहरु सान्त्वनाका श्रोत बन्ने गरेका छन् मलाई यो बिरानो माटोमा । सम्झिन्छु, तिमीले मेरा उपर दर्शाएका ती अनगिन्ती प्रेमाभावहरु । तिम्रो शुलभ नारी आत्माको पूजा गरेर कहिले थाकुँला र म ? रेडियोमा मेरा नाटक हरु बज्दा तिमी गाउँभरी खुशखबरी गर्दै हिंड्थ्यौ। नाटक बज्ने तिथी मिती पुरै कण्ठ हुन्थ्यो तिमीलाई । ठीक समयको उर्दी गर्दै रेडियो खोल्न घर-घर पुग्थ्यौ तिमी। अझ यत्ती सम्म कि कामको चापा चाप परेमा सानो हाते रेडियो पोल्टामै बोकेर मेला पात जाँदा कत्तिले तिमीलाई नक्कली पनि पनि भने होलान्। गाउँ छोडेर म हिंड्ने बेलामा पिलपिल आँशु झार्दै- 'अब त यो गाउँ मा कहिले नाटक खेल्न पाइएला र ? कहिले नाचगान गर्न पाइएला र ?' भनेकी तिमीले अझै पनि मेरो कानमा गुन्जिरहन्छ उसैगरी । जे होस्, संस्कृतिप्रतिको तिम्रो लगाव साँच्चै प्रसंसा गर्न लायक छ। विध्वंशकारी हरुलाई पाखा लगाएर आफ्नो संस्कृतिका अमूल्य धरोहरहरुलाई बचाइराख्नु तिमी जस्ता कर्मठ नारीहरुको कर्तब्य हो । यो असारमा पनि तिमीले उस्तै पारामा उही भाकामा रसिया भन्नेछ्यौ, असारे गाउनेछ्यौ । जन्मघर भए नि कर्म घर भए नि आखिर नेपाल मै त छ्यौ होल। यही त हो हाम्रो पुण्यभूमि, जन्मभूमि र कर्मभूमि। आरक्षण र अधिकारमा प्रतिशतको नारा उरालेर दाजु-भाइबीच मल्ल युद्द मच्चाउनु भन्दा क्षमता र पौरख प्रदर्शन गर्नु बढी श्रेयश्कर ठहर्छ। तिमीले त्यही गर्नेछ्यौ जो समाज हितको पक्षमा हुनेछ। मनभरी खडेरी लागे पनि असार को सिङ्गै रिमझिम तिमीलाई। तिमी मार्फत असारको रसिलो शुभकामना सबै नेपाली क्रीषक दाजुभाइ-दिदीबहिनिमा बाँड्न चाहन्छु । बस् ।
तिम्रो बाल सखा
जीवन संघर्षको मैदानबाट ।

रिमिमाझिमी पानी है पर्‍यो असारे मासैमा
हिंडेको हामी धान है रोप्न वेंशिको फाँटैमा
बियाडे दाजु बिउ काढी ल्याउनु बाउसेले बिउ दिनू
हली है दाजु हल गोरु साउँदै हाँसेर गाइदिनू ।



June 22, 2009

बैराग

शेखर ढुङेल

०६-२०-२००९

दसकौं भयो किरण बेखबर भएको । इष्टमित्र, गाउ , शहर , स्कुल , कलेज का साथी सबै बाट .... अरु त अरु, आफ्नै जोडी बच्चाकी आमा जीवन संगीनी , जन्म दिने आमा सित बिछोडको पिडाले समेत छोयो कि छोएन उस्लाई ? कसैले अनुभुती गर्ने मौका पाएका छैनन । फर्कने नफर्कने ? जिउदो छ कि मरिसक्यो कसैले अनुमान लगाएको छैन । किरणको छाया समेतको आभास कतैबाट नगुन्जेको धेरै भयो । चिन्ने जान्नेहरु कहिले काही कुरा काट्छन अती आदर्श अनी महत्वाकांक्षी थियो उ । उस्को आदर्शले उसै लाई खायो पनि भन्दछन कोहि कोहि । यस्तो मान्छे त युरोप अमेरिकामा जन्मनु पर्दछ हाम्रो देशमा के काम अर्कोले थपेको थियो । किरणको आशु र पिडा उसै सित बुझिदिने थिएन कोहि ।

जिन्दगीमा के के न गर्छु भनी टुप्पी बाधेर पढि बि. ए. सम्म पास गरेको थियो किरण ले । समाज को रित र आमा को अनुरोध लाई नाघ्न नसकी पढाई को क्रम मा नै बैबाहिक गाँठोमा बाधिएको थियो किरण । असल बन्छु भनी न त साथी भाई सित बसेर पिउँथ्यो न त धुवा उडाउथ्यो बदनियत पनि थिएन उस्मा । अरुको भाग र हक खोसिने देखे उ टाढै हुन्थ्यो, आफ्नै भाग खोसिए पनि अधैर्य हुँदैनथ्यो, समाज मा न्याय सम्पादनको कुरो उस्को रुची हुन्थ्यो । साथीहरु यसरी माथि चढिदैन कुनै न कुनै हागो त समाउन नै पर्दछ भनी सल्लाह दिन्थे, तर उ एक्लै संघर्ष गर्नुको तितो अनुभब लाई मिठो मानि सहर्स स्विकार्दथ्यो र बिना आफ्नो टेक्ने धरातल त्यो अस्थिर हुन्छ भनी जवाफ दिन्थ्यो ।

एक दुई गर्दै बर्षौ बित्यो किरणले हातमा प्रमाण पत्र बोकी हिंडेको , प्रमाण पत्रको लेमिनेसन पनि पत्र पत्र भै फाटी सकेको थियो । उस्को सोझो पन र आदर्शले बिस्तारै आवारा, गफाडी अनी घमन्डी को भारी बोकाइ रहेको थियो । घरायसि व्यबहारको बोझ उठाउने क्षमता नहुँदा उ आफन्त बाटै गैह्र जिम्मेवार भनी अरोपित भै सकेको थियो ।

कहिले काही अनुनय बिनय गर्दा दुई चार रुपैयाँ को सहयोग गर्ने पनि तर्की हिंड्न थाले । उधारोको बोझले दिन भन्दा रात लाई प्यारो बनाइ सकेको थियो किरणले । सन्तानको बेवास्ता , सङिनी को दैनिक ठास ठुस र घुर्की, आमाको यसो छैन उसो छैन को गन गन ले भित्र भित्रै बिक्षिप्त बन्दै गएको थियो किरण । हरेक बिहानीले उस्का सपना लाई लोक्पा खुवाउदै गएको थियो । अरु को मात्रै होइन अब त किरण स्वयंको भरोसा मा सशंकित हुन पुगेको छ ।

मामा माइज्युको आक्रोस पूर्ण गुनासो थियो कुन्नी के नाम को ब्यापार गर्छु भनी पैसा माग्या थे नदिएर रिसाएका छन, उता दिदी भिनाजु कोस्दै थिए त्यस्तो काम धाम नभएको लाई पैसा सापट दिएर डुबाउनु छ र दु:ख गरेर कमाएको सम्पत्ति ? रिसाए रिसाओस । अाफु चोखो बनेर खोट जती किरणको टाउको मा थोपर्ने को एउटै स्वर हुन्थ्यो । परिस्थितीले किरण लाई संसारको भिड ले एक्लाउदै लगेको थियो । नजिक हुन खोज्यो तर्किने धेरै थिए । सहपाठि,  साथीहरु जो धनाढ्य थिए अनैतिक पेशामा इमान बेच्न हौस्याउथे किरणले साहस गर्न सकेन,  इज्जत र नैतिकताको पर्खाल नाघ्ने हिम्मत किरणले गरेन । हौस्याउने हरु उस्लाई लाछी भन्दथे । किरणको आदर्श र इमान्दारिताले उसै लाई खाइ सकेको थियो । मानसिक तनाब चरम अवस्थामा दौडदै रहदा दुर क्षितिज सम्म आसाको कुनै झल्को छैन उस्को नजरमा । मर्नु भन्दा बहुलाउनु एक मात्र बिकल्प थियो किरण सित आफ्नो हातमा ।

सधैं झै आज पनि किरण झिसमिसे मै उठ्यो । संगीनीको निरास मलिन अनुहारमा क्षमापार्थी याचनात्मक भाबमा हेर्‍यो , संगिनीले कुनै नौलो र उत्साह देखाइनन , नि:शब्द किरण बच्चा हरुको कोठामा छिर्‍यो, दुनियाँ देखी बेखबर बाल सुलभ निन्द्रामा थिए ति .... । मन मनै मुरी मुरी माया दियो । भाब बिभोर भएर टप्किनै आटेको उस्को आशु पछाडि कसैको आवाजले रोक्कियो । थाहा नै नभए झै किरणले ध्यान कतै मोड्ने कोशीस गर्दै थियो तर काँध मा संगीनीको हात उस्ले महसुस गर्‍यो । उन्को आँखा मा हेर्ने साहस किरणले बटुल्न सकेन बच्चा झै लपक्क अँगालो हाल्यो र आशु खसाल्यो लुकाएर । उ अझै निसब्द नै थियो । मन मनै उ माफि माग्दै थियो सुख दिन नसकेकोमा र सदा को लागि मनग्य माया लिदै थियो उनी सित । मन भित्र एउटा अकल्पनिय निर्णय बोकेर ब्युझिएको किरणले अप्रिय बाटो रोजेको थियो । संगीनी सित आँखै नजुधाइ दैनिक बोक्ने गरेको एउटा ब्याग बोकी बाहिर निस्कियो । आमाले पूजा कोठा मा बजाएको घन्टले बच्चा पनि ब्युझि सकेका थिए । उ अगाडि बढ्यो माथि झ्याल बाट बच्चा र तल ढोका बाट जीवन संगिनी ले किरण लाई पछ्याइ रहेको भान थियो । जब भन्झ्याङ बाट ओरालो लाग्नु पर्ने भयो किरण ले साहस गरी घर तिर फर्की हेर्यो सबै को आँखा उस्लाई नै ताकेको ताक्यै रहेछन । किरण थुचुक्क बस्यो र अनायास भक्कानो परेर रोयो धित मरुन्जेल । आफ्नो लाचारी प्रती प्रायश्चित गर्‍यो, माफ माग्यो आँफै सित र यो समाज सित अनी बाटो लाग्यो अदृश्य गन्तब्य तिर । बाटोमा भेटिएका कसै सित पनि हाइ हलो भनेन लगाम लागेको घोडा झै सिधा हिडि रह्यो गोरेटो सडक र हावाइ मार्ग हुँदै ..........

समयको निरन्तरताले सन्तान जवान भैसके । संगीनी बृद्ध भैसकीन ।आमा परमधाम भैसकिन । संगीनीका आँखा अझै बाटो हेरी टोलाई राखेका छन कतै टुप्लुक्क आइपो हाल्छन कि ? कतै हुलाकी ले खबर पो ल्याइ हाल्दछन कि भनेर ...........

समाप्त



June 12, 2009

तीन लघुकथा - पार्टी र लोकतन्त्र

आँफ्नै पार्टीको विचार र व्यवहारमा मर्न मार्न कसम खाएका आफ्ना प्राइभेट सेनाको सुरक्षित घेरामा एउटा मुठीलाई उर्ध्वगामी आकाशतर्फ जोडदार रूपमा प्रहार गर्दै शक्तिखोर कामरेडले आदेश भावमा भन्नुभो, नागरिक सर्वोच्चता लागि छापामारले बिद्रोहको नेतृत्व गर्नुपर्छ ।

***********************************************************************

लोकतन्त्रको पर्याय आँफ्नो दलमात्र रहेको दावा गर्ने एउटा खलिपाक ( भेटेरान) नेताले खल्तिबाट पुत्रीको नाम लेखिएको कागत देखाउँदै केन्द्रीय समीतिका सदस्यहरू सामू भन्नुभो , ' यसको बिरोध गर्नेहरू लोकतन्त्रको कलिलो मुनामा एसिड खन्याउनेहरू हुन' ।

***********************************************************************

लोकतन्त्रको आधार निर्वाचन भएता पनि , आँफू निर्वाचनमा खडा भएका सबै स्थानबाट पराजित एकजना पाका मध्यमार्गी नेताको नेतृत्वमा सरकार गठन गर्दै मुलुकको भीडन्त उन्मुख लोकतन्त्रको उद्दार गर्नु पर्ने निर्णय गरियो । लोकतन्त्रमा कसैले हार्दैन !

************************************************************************

June 9, 2009

सीता दिदीका हत्यारा !


शिव प्रकाश

हलो…! हलो…! हलो……!!, मामा ! म बोलेको नेपालबाट…॥ !
शेखरको मनमा चिसो पस्यो । अमृतको स्वर स्वाभाविक थिएन । हतास र अत्यासपूर्ण थियो । नेपालमा दैनिकरुपमा भइरहेको हत्या, हिंसा, आतंक, लुटपाट, अपहरण आदिको खवरले शेखर जस्ता परदेशमा बस्ने धेरै नेपाली चैनले सुत्न सक्दैनन् जसका परिवार नेपालमा छन् । उसले यस्तै सम्झियो पक्कै केही दूर्घटना भो कि क्या हो !

के भो भन…। भन…। छिटो भन ……॥ शेखर अत्तालिदै सोध्यो ।
मामा…।! मामा…॥! सीता दिदीलाई घर लान सकिएन !
किन के भो र सकिएन …… के भन्न खोजेको छिटो भन !
हामी उहाँलाई आर्यघाट लादैछौं मैले बाटोबाट फोन गरेको ।
अमृतको आवाज अवरुद्ध थियो । रोदन मिश्रित शव्दहरु उसका मुखबाट फुट्न सकिरहेका थिएनन् ।
शेखर चिच्यायो यो हुन सक्दैन । कसरी भो यो सबै यति चाडै…… हे परमेश्वर …॥के गरिस तैले …। कति निर्दयी छस् त !
हो मामा यथार्थ यही हो । हामीले बचाउन सकेनौ । आज उहाँलाई हामी अन्तिम विदाई गर्न वाध्य भयौ । बडो कष्ठसाथ त्यति भनेर अमृतले फोन राखिदियो ।

जीवनमा धेरै उतारचढाव र दुखका खेलहरु झेलेर आठ नौ वर्षदेखि दशदेश दूर परदेशमा रहेको शेखरले सीता दिदीको त्यो अपत्यारिलो मृत्युलाई सहजरुपमा लिन सकेन । जीवनमा पहिलोपटक सपना साँचो भएको महशूस उसले गर्‍यो । गए राती नराम्रो सपना देखेको कुरा त्यतिबेला सम्झियो जतिबेला सीता दिदीको मृत्युको खबर उसले भान्जाबाट पहिलो पटक पायो ।

आफ्नै बाबुलाई वर्षौ देख्नै नपाई दुइ वर्ष अघि परदेशमै बाबुको काजकि्रया गर्न वाध्य भएको शेखरले बाबुभन्दा केही महिना अघिमात्र आफ्नै सासुलाई गुमाएको थियो । यो बीचमा उसले काका, ठूलाबा तथा नातेदारहरु गरेर धरै गुमाइसकेको थियो । परदेशमा रहनु पर्दाको यो पीडाबाट छटपटीरहेको शेखरका लागि सीता दिदीको मृत्यु सबैभन्दा भयानक लाग्यो । बुबा र सासु धेरै वर्षदेखि विरामी हुनुहुन्थ्यो । उमेर पनि पचहत्तर नाघिसकेका भए पनि पाँच सात वर्ष देख्नै नपाई आफ्ना पि्रयजनलाई विदाई गर्नु पर्दाको पीडा कति दुखदायक हुन्छ त्यो पनि उ सहन र समन गर्न बाध्य थियो ।

तर सीतादिदी त भरखरै बाउन्न त्रिपन्न वर्षकी मान्छे ! पढेलेखेकी मान्छे ! आजभन्दा करीव पच्चीस वर्ष अघि एम. कम. पास गरेकी मान्छे !, त्यो जमानामा नेपालका पढेलेखेका नारीहरुमध्ये औलामा गनिने मान्छे ! नेपालको ठूलो बैंक मध्येमा पर्ने कृषि विकास बैंकको प्रथम श्रेणीको अधिकृतसम्म भएर भरखरै रिटायर्ड भएकी मान्छे ! छ बैनी छोरीहरु मध्ये सबैभन्दा साहसिली छोरी । दुष्ट मानसिकता भएका आफन्तहरुबाट घरमा छोरा तथा भाइ नहुँदाको पीडा भोग्न वाध्य भएता पनि एउटा सुसंस्कृत परिवारी छोरी ! अल्पायुमा भएको आफ्ना बाबुको निधन र छोरीछोरी मात्र हुंदाको अवस्थाले आफन्तहरुबाट सताइए पनि अत्यन्त साहस लिएर अधि बढेकी छोरी सीता दिदी !

शेखर यस्तै यस्तै कुराहरु सोचिरहन्छ सीता दिदीका बारेमा । सीता दिदीको मृत्युलाई उसले स्वाभाविक मान्न सकिरहेको छैन । उ पत्याइरहेको छैन ।

दुइ घण्टा पछि जोसनाको फोन आयो हाकिम के गर्न सीता दिदीलाई बचाउने धेरै प्रयत्न गरियो तर सकिएन । जोसनको बोली स्पष्ट थिएन । बोलीमा बोलीभन्दा पनि वेदना थियो । घुक्कघुक्क र सुक्कसुक्कको आवाज बढी थियो ।

म पछि फोन गर्छु हाकिम…॥! र अहिले घरमा फोन नगर्नु दिदीहरु झन् रुनुहुन्छ । जोसनाले धेरै कुरा गर्न सकिनन् ।

जोसनलाई पनि केही बर्षअघिदेखि आमाको अभाव खड्किएको । त्यसमाथि आफ्नो सबैभन्दा नजिकाको साथी श्रीमान् परदेशमा ! त्यसमाथि अचानक माहिली दिदीको मृत्यु ! जोसनलाई जीवनमा कताकता आँधीतुफान आएर सबै भताभुंग बनाउन खोजिरहेछ जस्तो लागिरेको छ । उसले फोनमा भनेकी थिइ अब दिदीहरु के गर्ने होला ! सीता दिदी ठूलो साहस हुनुहुन्थ्यो घरको !

सीता दिदी अरु दिदीहरु भन्दा अलि झोक्की र रिसाहा भए पनि उसको सोझो पनलाई साहै माया गर्थी र बेलाबेलामा शेखरलाई भन्थी के गर्नु सीता दिदी साह्रै सोझो छ एकहोरो छ भनेको मान्दैन र त साखुल्ले पल्टेर भए नभएका उल्टापाल्टा कुरा सुनाएर एकहोर्याएर आफ्नो दुनो सोझो गरिरहेका छन् । शेखरले पनि सोच्यो ुयस्तो अपराध सायद यो दुनियाँमा कसैले गर्दैनन् होला ! शेखर अझ अबरुद्ध भयो । राजनलाई फोन गरेर काममा बोलायो र कामबाट विदा लियो ।

बग्दा बग्दैको नदी रोकिए जस्तो ! उड्दा उड्दैको चरा आकासबाट खसे जस्तो ! हेर्दाहेर्दैको एउटा रमणीय हिमाल सम्पूर्ण ढले जस्तो ! आफ! उभिएको धरातल भासिए जस्तो ! आकाशगंगा आगो लागेर खरानी भए जस्तो ! कस्तो कस्तो लाग्यो शेखरलाई ! हो बाबुको मृत्युको खबरले उ ज्यादै दःखी भएको थियो र त्यति असहज भएको थिएन जति सीता दिदीको मृत्युको खबरले उ भयो ।

सीता दिदीले अर्को ज्वाईको तुलनामा शेखरलाई त्यति नजिकको नठाने पनि उसले सीता दिदीलाई कहिल्ये टाढाको व्यवहार गरेन । उसालाई विश्वास थियो सीता दिदीको आँखा एकदिन खुल्छन् । जोसना पनि शेखरलाई यसै भन्थिन हेरिराख्नु हाकिम मान्छे हो एकदिन त आँखा खुलिहाल्छ नि । मान्छेको छाला ओढेको मान्छे जस्तो देखिने मान्छे र मान्छेमा फरक त मान्छेले पत्ता लाउन सकिहाल्छ नि । सीता दिदी पनि त मान्छे हो । शेखरले सोच्यो वास्तवमा जसले अरुलाई विश्वास गर्छ त्यो नै मान्छे हो र विश्वासघात गर्ने कुमान्छे हो । मान्छे र कुमान्छेबीचको पहिलो फरका पनि विश्वास र विश्वासघात नै हो । मान्छेले यो संसारमा लुकाउने नै के छ र ! कुनै न कुनै रुपमा कही न कही मान्छेको नाङ्गो र सक्कलीरुप मान्छेले देख्छ नै । कसैले नदेखे पनि लोग्नेले स्वास्नीको र स्वास्नीले लोग्नेको नाङ्गोरुप त देख्छ नै । अरुले नचिने पनि लोग्नेले स्वास्नी र स्वास्नीले लोग्ने त चिन्छ नै ।

तर जतिखेर सीता दिदीका आँखा खुले त्यतिखेरसम्म ढिला भइसकेको थियो । सीता दिदीलाई मानसिक र शारीरिक रोगले निकै चापिसकेको थियो । मानसिक सन्ताप सबैभन्दा ठूलो रोगको रुपमा सीता दिदीभित्र गाँजिइरहेको थियो । धेरै वर्षपछि पोहरसाल शेखरलाई भेट्दा सीता दिदीले कोठामा एक्लै पारेर टिलपिल आँशुले भरिएका आँखा मिच्दै भनेको कुराले अहिले उसलाई केही मान्छेसँग यति घृणा हुन थालेको छ त्यतिको घृणित मान्छे अरु कसैको कोही छैन र हुदैन पनि होला संसारमा !

ज्वाइँ मैले मान्छे चिन्न सकिनछु सकुनीहरु त आफ्नो मान्छे भएर घरमै आउँदो रहेछ । चोर र फटाह चिन्न गाह्रो हुदोरहेछ । अब म यो घरबाट कहिल्यै बाहिर जान्न । यस्तो भन्ने सीता दिदी अन्तत सदाका लागि जानु भो । शेखरले कहिल्यै सोचेको थिएन सीता दिदीले कुनै दिन यस्तो कुरा मसँग गर्नुहुन्छ भनेर । सधैं उनीहरुले शेखरका बारेमा नभएका नकारात्मक कुरामात्र कथुरी रहन्थे । मन्थरा र सकुनीले जस्तो उसका विरुद्ध षडयन्त्रमात्र गरिरहन्थे तर त्यो षडयन्त्र शेखर हैन सीताका विरुद्ध भइरहेको थियो । सीता दिदीले त्यो कहिल्यै बुझ्नु भएन ।

अहिले शेखरको कानमा सीता दीदीको मलिन त्यो आवाज गुन्जिरहेको छ । आँखामा सीता दिदीको त्यो पश्चातापपूर्ण अनुहार झल्झली आइरहेको छ । मस्तिष्कमा सीता दिदीको निष्कपटता अनि नारीसुलभ सोझोपन खेलिरहेको छ । शेखर भित्रभित्रै मुरमुरिन्छ दाह्रा किट्छ मुठ्ठी बटार्छ र भन्छ ूपापीहरु तिमीहरुले सीता दिदीको हत्या गर्यौ ! तिमीहरुनै सीता दिदीका हत्यारा हौ । तिमीहरुले गरेको अपमान अपहेलना र धोकाले सीता दिदीको साहस टुटायौ । निर्वल बनायाै लाचार बानायौं र मृत्युको मुखमा हाल्यौ । उपचार गर्न पनि विमुख गरायौ ।
सीता दिदी साह्रै साहासी हुनुहुन्थ्यो । आँटी हुनुहुन्थ्यो । नाजायज कुरामा कसैसँग कहिल्यै झुक्नुहुन्थ्यो । अरु दिदीबहिनी र आमा पनि सीता दिदीसँग डराउनु हुन्थ्यो । तर जालीको जालमा फसेपछि सीता दिदीको आँत कमजोर भइसकेको रहेछ । चंगुलमा फसेको माछो जस्तो भित्रभित्रै छट्पटिइरहनु भएको रहेछ । भनौ कसलाई भनौ घरको पीडा नभनौ कति सहुँ एउटा स्वाभिमानी मान्छेमाथि भएको मानसिक यातना । यो कुरा सबै शेखरले त्यही दिन मात्र खुलस्त थाह पायो । अरु पनि धेरै कुराहरु भन्ने इच्छा सीता दिदीलाई थियो होला तर अनुकुलता परेन । धेरै कुराहरु बाँकी र थाँति राखेर जान!भो !
शेखरले यो कुरा जोसनलाई पनि भनेको थिएन । शेखर सीता दिदीको संघर्ष र त्यागलाई सम्झन्छ । दाजुभाइ नभएको घरमा दिदीबहिनीहरु जस्तै दिदीबहिनीका लागि दुःख गरेर पढेको र अविवाहित बसेको । एम। कम। पढ्न बसन्तपुरदेखि किर्तिपुरसम्म पुसमाघ असारसाउन नभनी पैदले हिडेर जाने आउने गरेको । जागिर खादै पढ्दै त्यहाँसम्म गरेर तीसौं वर्षको लामो जागिरे जीवन पछि सुख गर्छु भन्ने बेलामा भएको उहाँको असहज अप्रत्यासित अस्वाभाविक र असामयिक मृत्युको जिम्मेवार अरु कोही हैन सीता दिदीले भनेका ।शकुनीहरु नै हुन । हरेक शव्दमा हाँ हाँ र जालमा ताल मिलाउने मन्थरा चरित्रहरु नै हुन । जुत्ता लाउनेलाई थाह हुन्छ जुत्ताले खुट्टा कहाँनिर खान्छ भनेर पढेलेखेर अलिकति ज्ञान आर्जन गर्नेलाई मात्र थाह हुन्छ कि पढ्न लेख्न कति गाह्रो छ भनेर । तर ति शकुनी जस्ता पात्रलाई के थाह यि सब कुरा ! शकुनी चरित्र अर्कालाई पीडा दिनु र अरुको दुखमा रमाउनु हो । यस्तै यस्तै कुराले शेखरको मनमा अहिले डेरा जमाएको छ ।

सम्पत्ति खानु थियो खाएको भए हुन्थ्यो तर सीता दिदीको अबला सोझो र एकहोरोपनको भरमार फाइदा उठाएर बहक्याउनु कतिसम्म नीचता हो हुनत घरमा सबैले उसको चलामाला बुझिसेककेका थिए तर छोरीको मायाले आमा पनि चुप लाग्नु हुन्थ्यो र बहिनीले दुःख पाउँछे भनेर दिदीहरु पनि । तर उसले उनीहरुको संयमतालाई आफ्नी स्वास्नी मार्फत उपयोग गरिहर्यो । शेखर यी कुराहरु जति सम्झन्छ त्यति मुरमुरिन्छ ।

शेखरले आफू परदेशिनु अधि नै भनेको थियो सीता दिदी तपाइँ अलि दुव्लाउँदै गए जस्तो छ एक पटक डाक्टरलाई जचाउँनु । तर त्यसको प्रतिवादमा सीता दिदीलाई उल्टो बहकाए । सायद शेखरलाई समेत दोषी बनाए नजर लायो भनेर । डाक्टरकहाँ गएर केही हुदैन दिदी बोक्सीको आँखा लागेको हो । फलानी बोक्सी हो चिलानी यस्ती हो । फालानो बोक्सो हो त्यसको नजरमा हेर्नु हुदैन । त्योसँग बोल्नु हुदैन । धामीझाँक्री झारफुक भाकल तन्त्रमन्त्र आदिमा सीता दिदीलाई घुमाउने बहकाउने काम वर्षैवर्ष गरिरहेछ । आमा दिदीहरुले कति भन्दा पनि सीता दिदी मान्नु भएन सपेराको मोहनीमा फसेको नागजस्तो सीता दिदी उनीहरुले भनेको हरेक कुरामा टाउको हल्लाइरहनु भो । यस्तो पढेलेखेको भएर पनि के भएको होला सीता दिदीलाई सबैले यसै भन्थे ।

सीता दिदी रिटायर्ड हुदाँ आएको एकमुष्ठ तीस पैतीसलाख ! त्यो पैसाले संगसंगै दुइटा घर बने । एउटा भाडामा लाग्यो । अर्कोमा सीता दिदी आमा र आफ्ना अरु दिदीबहिनी छोडेर उतै सर्नु भो । बुढी भएकी आमालाई त्यो कुराले गहिरो असर पार्यो र आमा थलिनु भो । त्यो कुरा अरु दिदीबहिनीले बुझेका थिए तर बुझ्नु पर्ने ले नबुझे पछि के नै लाग्दो रहेछ र ! सीता दिदी अन्धो हुनु भो ।

नयाँ घरमा आज, भोली, पर्सी गर्दै दिन वित्दै गए । सीता दिदी अब उसलाई बोझ हुन थाल्यो । उ सीता दिदीका अगाडि नांगिदै गयो । दिनभर रत्नपार्क तिर चाहर्ने र पीपलबोटमा टुक्रुक्क बसेर सित्तैमा पत्रिका हेरेर त्यसैको भरमा घर आएर डिंग हान्ने गरेको भेद पनि सीता दिदीको ज्ञानचक्षामा खुल्दै गयो । सडकमा ढुङ्गा हान्न गएर आज यस्तो भो आज उस्तो भो भन्दै कहिले दरबारको मान्छे त कहिले सीआइडी विभागको हँ भन्ने मान्छे जब दिनभर विना काम न काज घरमा कुचो लाएर बसेको देखेपछि मात्र सीता दिदीलाई थाह भो म कस्तो मान्छेको फेला परेछु भनेर ! आफैंलाई हप्काइ दप्काइ गर्दा पनि लोग्नेलाई संसारको अलेक्जेन्डर द ग्रेट जस्तो देखाउन सधैं हो मा हो भन्ने बहिनीप्रति पनि सीता दिदीको आँखा अलि उधि्रयो । यो त ………मान्छे होइन रहेछ ।

आज अलिकति ! भोली अलिकति ! पर्सी अलिकति गर्दै गर्दै जब उसले आफ्नो असली चरित्र पुरै देखायो सीता दिदी उसँग बस्न नसकेर फर्किने निधो गर्नु भो तर त्यतिबेलासम्म आमा वितिसक्नु भएको थियो र सीता दिदी आफैका लागि पनि ढिलो भै सकेको थियो । आमा वित्दा पनि उसले खासै वास्ता गरेन । उसबाट कुनै साहनुभूति वा समवेदना चूहिएन । गोहीको जतिपनि आँशु चुहाउन नसक्ने त्यो मान्छे जस्तो देखिने मान्छेले । सायद उ सीता दिदीको पनि कामना गरिरहेको हुनसक्छ जति छिटो सीता दिदी ………… त्यति चाँडो यो घर……॥ !उसलाई साइनो मानवियता र कर्तव्यपरायणता भन्दा पनि घरसँगको साइनो दह्रो बनाउनु थियो । उ त्यो घरमा भित्रिए पछि मान्छेसँगको अरु साइनोलाई उसले तोडिदियो ।