June 15, 2009

मेरो कथा मेरो व्यथा

- गुरु केदार बराल
उत्तर अमेरिका
आज जगतले देखिरहेको छ
म बाहिरी हाँसो हाँसि रहेको छु
हरपल आत्मा रुवाएर
जसो तसो वाँचेकै छु
वेदनाको डढेलोले ह्दय जलाउँदा
भित्र भित्रै निभाउने गर्छु
मोती झै मेरा आँशुका दाना
उनकै लागि साँचेको छु
उमंगका पर्खाल भत्काएर
उनी खोई कता लागिन्
फेरी जागरुक हुने आँट त छ
तर धेरै जाँगर उनैले लगिन् ।
भूल मेरो के थियो र !
उनले लााछना लगाइन्
मेरो अगाडि केही नभनी
गाउँ सहर हल्ला फिँजाइन ।
सारा दर्द र पीडाहरु
मन भित्रै दवाई राखेको छु
जलेको यो आत्मा भित्र
चोखो प्रेम साँचेको छु ।


जिन्दगीको रङ्गमञ्चमा

Prabin Thapa


जिन्दगीको रङ्गमञ्चमा हार न जितको भान भयो
कल्पनाको संसार भित्र सपनाहरुको चिहान भयो

आफ्नो विश्वाश आँफैसँग टुट्न फुट्न थालेपछी
रस चुसी थुकी फाल्ने फुटपाथको पान भयो

माथि जाने भ-र्याँङ पाइन तल काँहो थाहै छैन
न त यता न त उता बिचमै ताना तान भयो

दु:खै दु:ख जिबनभरी पिंडा भन्दा केही पाइन
हाँस्नु पर्छ मैले भन्ने बेकारको गान भयो

रित यस्तै चल्या होकी बुझ्नै सकिएन
दोसल्ला अर्कै ओढ्ने मलाई कस्तो सम्मान भयो


हामी

- एकलव्य
रूखा पहाड, सतह र चट्टानहरू
हाम्रो भूगोल भएर होला,
चरित्रमा हाम्रो पीडा खोपिएको छ ,
जीवन र व्यवहारमा हाम्रो
आक्रोस र अभिप्सा रोपिएको छ ,
अरूकै आङमा जुम्रा खोज्न आतुर
हामी , भैँसी बोकेर शरीरमा
निरन्तर जंघार तर्न खोज्दैछौँ,
जंघारहरू हाम्रो जडताको दयामा
साँगूरो बन्दैनन् , विनम्र बन्दैनन्
सर्वग्रासी जंघारको भोकले हरदम
हाम्रो अस्तित्व निर्लिप्त पारेको छ
गन्तव्यलाई अझै पर सारेको छ ।
अधैर्य मनहरू सदियौँ यसै पाकेका छन्
उमंग र उत्साहहरू शुष्क थाकेका छन्।
यहाँ, रिसले आँफैलाई खाने गरेको छ
पदचाप मुनि पहिरो जाने गरेको छ ।।
जलाउँदै सभ्यताका आवरणहरू
टायर, रेलिङ र सडकसंग
फतवा र स्वघोषणाका जडसत्यहरू
घृणा र मृत्युदण्डको नीव खोप्न, हामी
निरन्तर एक बहानाको खोजीमा छौँ
विनिर्माण र विध्वंसको रोजीमा छौँ ।
त्यसैले, गास , वास र कपासका आसमा
हिंसा , आवेग र आक्रोसको त्रासमा
अन्तहीन क्रान्ति र युद्दका श्रृंखलाहरू
हाम्रो अनन्तको परिचय बनेका छन् ।

म , मेरो र मेरो विचारको दलिल बोकेर
आक्रोस, घृणा र निषेधका सूत्रहरू घोकेर
राजनीति, वाद र पात्रहरूको मेरोपन बनाउँदै
म निरन्तर ‘म’ औ ‘ऊ’ का धून बजाउँदै
युद्द र क्रान्तिका रोमाञ्च रचिरहन्छु ।
वर्जित छन् मेरो अभ्यन्तरमा
असहमत ‘ऊ’ हरू
गर्वित छन् केवल सहमत ‘म’हरू
मेरो मनोवादमा म यही लेखिरहन्छु।

आफ्नै उन्मादको , यो इकारसको उडान
मातृवात्सल्यमा खाइँदो एउटा माकुरा
आफ्नै प्रकाशको उज्यालोमा खिइँदो मैन सदृस
आफ्नै भारको अभिशाप, दुरूह त्यो पहाड
बोकेर माथिंगलमा , हामी बाउन्ने बनेका छौँ
आफ्नो अकर्मण्यताको, दोष अरुमा खोज्दै
हामी निरिह, मद्दिम बलिरहेका छौँ
आफ्नै रापको तापमा क्रमश: जलिरहेका छौँ ।