May 8, 2009

छविलालको उदांगिएको छवी र उल्लू बनेका हामी

पुष्पकमल दाहालले शक्तिखोर ब्यारेकमा आफ्ना सैन्य दस्तालाई सुर्क्याउन घुर्क्याएका कुराहरू भिडियो बनेर छ्याप्छ्याप्ति बन्दा समाचार सुर्खीमा छाउनु स्वाभाविक बनेको छ ।

एकथरी भन्दै छन् यो त माओवादी नेताले १६ महिना अघि भनेको कुरा हो। अत: यो विषयलाई लिएर अत्तो थाप्नु हुन्न ।

तर, वृहद् शान्ति सम्झौतामा आँफैले सही ठोकेर माओवादी नेताहरूले वर्ष एक जति मन्त्री पदको जागिर खाँदै गरेको त्यो बेला, उसका पार्टीका सर्वोच्च नेता र छापामारहरूका कमाण्डर-इन-चिफ छविलाल उर्फ पुष्पकमल उर्फ प्रचण्डलाई १६ महिना अघि जे बोले पनि पाउने छूट राज्यले दिएकै थियो त ? १६ महिना अघि नेताले जे पनि बोल्न पाउने कानून थिएन भने कसरी उनका एमानका ठूला समर्थकहरूले यसको पैरवी गर्ने साहस जुटाए त ? लौ मानौँ, छविलाल दाहाललाई १६ महिना अघि जे बोले पनि पाउने छूट थियो अरे ! तर, त्यो सार्वजनिक गरिएको भिडियोमा भनिएका कुरा मार्फत माओवादीका सुप्रिमो दाहालले कि त माओवादी छापामार कि त गैरमाओवादी शान्तिवादी नेपाली जनता एकथरिलाई त थाङ्नामा नै सुताउने उल्लु कुरा त गरेकै छ नि !

छविलाल दाहालले अहिले बिभिन्न मुलुकका राजदूतहरू, विपक्षी नेताहरू र नागरिक समाजका कथित अगूवासंग दावा गर्दै याचना गर्दै छन् कि उनको लोकतान्त्रिक गणतन्त्रप्रतिको प्रतिवद्दतालाई शंका गर्दिनु भएन । यदि यो मान्ने हो भने शक्तिखोर व्यारेकका कमाण्डर कामरेड विविध ( रामहरी श्रेष्ठका हत्यारा)लाई समेत संबोधन गर्दै माओवादीको जनगणतन्त्र कायम गर्न सत्ता कब्जाको तरिका र बाटोबारे जुन लेक्चर उनले आफ्ना छापामारलाई पिलाउँदै छन् र जुन भाषणमा उनका आज्ञाकारी छापामारहरू आफ्नो भोलिको विजयको सपनामा भूलेर ठहाका लगाएर तिघ्रा ठटाउँदै आनन्दित बनेका छन् तिनलाई धोका भएन र ? ट्रकका ट्रक सरकारी पैसामा खरिदिएका हतियारको प्रयोग गरी त्यही सरकारलाई 'नेस्तनाबूद' पार्दै सम्पूर्ण छापामारहरूलाई सरकारी सेनामा 'आफ्नै तरिकाले' चाहेजति भर्ना गरेर 'उताकालाई आधा घटाउने' अनि सारा सेनालाई कब्जामा लिने यो रणनीतिले या त मुलुकका गैरमाओवादी सबै शक्तिलाई उल्लू ठानेको छ या त तिनै माओवादी सपनामा लट्ठिएर संसारलाई छविलाल कामरेडले कसरी उल्लू बनाइरहनुभएको छ र माओवादी विजयको खाका कोरिरहनु भएको छ भनेर सोच्ने 'ब्रेनवास्ड' जमात माथि मानसिक शारीरिक र मनोवैज्ञानिक विष भरिरहनुभएको छ, हाम्रा महान कामरेड छविलालजिले।

७,८ हजारको मिलिसियलाई कैयौँ गूणा बढाएर अनमिनको प्रमाणपत्र लिनुलाई पार्टीको सफलता देख्ने र ती सबैलाई राष्ट्रीय सेनामा हाल्न सकेमा जनगणतन्त्र र सत्ता कब्जा अवश्यंभावी हुन्छ भन्ने प्रचण्डको दावामा, कट्टर माओवादीको हौसला जसरी उत्साहित हुनसक्छ त्यसरी नै विश्वमान्य लोकतन्त्रको कल्याणकारी राज्यप्रणाली र पुस्तौँ पुस्ताको शान्ति चाहने सामान्य माओवादी बाहेकको वा अन्य गैरराजनैतिक सोच राख्ने कुनै पनि नेपालीलाई कामरेड छविलालाको पछिल्लो कर्तूतले चिन्तित तुल्याउनु स्वाभाविक हो । यो चिन्ता माओवादीले कट्टर कम्युनिष्ट शैलिको जनगणतन्त्र स्थापना गर्न चाहे मुलुकमा भनेर हैन बरू यो असहिष्णु सोचका कारण नेपालमा अब सिर्जना हुन सक्ने प्रतिरोध र प्रतिशोधी राजनीतिका श्रृंखलाहरूले अझै केही पुस्तासम्मको राजनैतिक अस्थिरता अवश्य निम्ताउने नै छ । आखिर, अतिवादको राजनीतको परिणति 'खतिवाद' र विध्वंश त हो नि ।



हेर्दाहेर्दै

ह्स्त गौतम मृदुल

हेर्दा हेर्दै यहा दृश्य परिवर्तन भएको छ।
पुरानो पात्रको ठाउँमा नया आएको छ
जुन जोगी आए पनी कानै चिरेको भन्दै
देशमा जताततै नया तरंग फैलिएको छ।
उही रुप उही रंगका तिनै सपना देखाउदै
पुरानो पात्रको ठाउँमा नया आएको छ।
कैयौंलाइ बलिबेदीमा होमी बेपत्ता पारी
स्वतन्त्रताको दियो निभाउन खोजेको छ।
सर्वभौम हुने मौका मुठीमा बन्द गरेर
पुरानो पात्रको ठाउँमा नया आएको छ।