October 10, 2009

चन्द्रमामा विस्फोट र ओबामालाई नोबेल !

चन्द्रमामा विष्फोट-- खोज कि हमला?

Nasa Photo शुक्रवारको दिन (थाहा छैन त्यतिबेला चन्द्रमामा दिन थियो कि रात) नासले चन्द्रमामा पानीको खोजको लागी भिषण विस्फोट गरायो । करिव २ टन वजन भएको रकेट ९,००० किमि प्रतिघण्टाको गतिमा चन्द्रमाको दक्षिणी ध्रुवमा ठोक्काईयो । भिषण विस्फोटका कारण चन्द्र धरातलका ३५० टन टुक्राहरु करिब १० किलोमिटर माथिसम्म उछीट्टीएको समाचारसंगै यस मिसनका नासाका प्रशासक Doug Cooke ले यसलाई “विज्ञान र अन्वेषणको लागी महान दिन” भएको घोषणा गर्दा म भने १० कक्षामा पढेको विजय मल्लको “अन्तिम भोज” सम्झदैँ थिएँ ।

विज्ञान, अन्वेषण र नयाँ नयाँ खोजका साथ नासाले हाम्रो संसारलाई धेरै कुरा दिएको छ यसलाई न्यून मुल्यांकन गर्नु हुँदैन । तर के यसो भन्दैमा खोजी वा प्रयोगका कुनै सिमा नै हुँदैनन् त ? । चन्द्रमामा पानीको खोज, करिब चालीस बर्ष देखी नै चली रहेको छ । तर खोजको यो भन्दा निर्मम तरिका कहिल्यै अपनाईएको थिएन । अहिले यो बिषयका समर्थन र विरोध दुबै देखिएका छन । समर्थनमा यस खोजले अन्य अन्तरिक्ष अन्वेषणमा मद्दत पुग्ने बताईए पनि चन्द्रमामा यसरी नियोजीत हमला गर्ने अधिकार नासालाई कस्ले दियो भन्ने कुरा मुख्य   रुपमा उठेको छ । 

हो, माथी भनेजस्तै नासाको धेरै देनहरु होलान तर जे जस्तोसुकै भएपनि यो एउटा नितान्त अमेरिकी संस्था हो र चन्द्रमामा यस किसीमको विस्फोट गराउने उसको आधिकारिकता माथी प्रश्न उठनु मलाई पनि सान्दर्भिक लाग्छ ।

ओबामालाई नोबेल पुरस्कार ! Obama

चन्द्रमामा पानीको खोजको नाममा भएको भयंकर विष्फोटको समाचारसंगै यो हप्ता अर्को पनि एउटा चर्चाको समाचार आयो । अमेरिकी राष्ट्रपतिलाई नोबले पुरस्कार दिने । उसै पनि राजनीति र त्यसमाथी पनि अमेरिकी राजनीतिमा खासै चासो नरहेपनि ओबामाले आफ्नो कार्यभार सम्हालेको १ बर्ष पनि पुगेको छैन । यो बीचमा उनको सादापन, सिदा बिचार र अमेरिका र विश्व अर्थतन्त्रको सुधारमा उनको सोच र लगनका उनी लोकप्रिय छदैँछन र उनका केही भावि कार्यनीति पनि लागु हुँदै होलान, तर यस बिचमा उनलाई शान्तिको लागी नोबेल पुरस्कार दिईनु पनि अबिबादित रहन सकेन ।

स्वंय अमेरिकामै पनि Cicago Tribune ले गरेको एउटा अनलाईन सर्वेक्षणमा ७१.३% मतदाताले उनलाई पुरस्कार दिनु नपर्ने कुरा व्यक्त गरे।

ओबामा एकजना असल व्यक्ती भएकोमा कसैको दुई मत नहोला, तर अहिले नै विश्व शान्तिकोलागि नोबेल पुरस्कार पाउनु पर्ने उनको योगदान के रह्यो? , यो कुरा चाही अलि हजम भएन !

अन्तमा बुस प्रशासनका बेलामा संयुक्त राष्ट्रसंघका दूत रहेका John Bolton को एउटा भनाई जस्ताको त्यस्तै यहाँ राख्दै छु :

"I think the Nobel Committee couldn't vote in our election in 2008, so they decided to vote this year,"